24.8.21

'जम्बुद्वीपमा एक बान्तवा’

सौरभ :-'गुरुमापा लिजेन्ड' २४ साउन कान्तिपुरको एउटा शीर्षक थियो। त्यसैमा केन्दि्रत रहेर 'टुँडिखेलको खरिबोट' शीर्षक ३१ साउनमा आयो। यो लेखोट त्यसैको पृष्ठभूमिमा छ।

भूमिका
टुँडिखेलको पूर्वदक्षिणमा एउटा रूख छ। त्यसलाई दन्त्यकथाको गुरुमापालाई भात र मासु दिने ठाउँ मानिन्छ। गुरु शब्द संस्कृतको भए पनि यहाँनिर नेवारी मान्यताको हो। नेवारीमा गुरुमान्को अर्थ हो, 'मास्टर स्किल्ड'। अर्कातिर संस्कृतको नाल्प र प्राकृतको णप्प मिलेर जंगी, रिसाहाबोधक मापा शब्द बनेको, जबर्जस्ती निक्र्याेलमा बृहत् नेपाली शब्दकोशकारहरू पुगे पनि राई भाषामा माङ्पाको अर्थ तीव्र चमत्कारी शक्ति भएको बिजुवा वा धामी हो।
एक
माङ्पा खासगरी राईहरूमा पनि बहुल बान्तवा राईहरू बीचको उपमा हो। र बान्तवा थर नै बोन मतको रूपान्तरण हो। अर्काे बाटोबाट जाने हो भने दुमी राईहरूको पुर्खा हो मापा, कुलुङ राईहरूको पुर्खा हो माप्ख्या। एक लेखकले मापे राईको मूल थलो खोटाङको बोयासुङ भएको लेखेका छन् (थापा २०३२)। तिब्बती चौरासी सिद्ध परम्परामा लुइपाबाट सुरु भएर भलिपामा टुंगिने नाम सूचीमा ७७ नामान्त पा छन्, जुन आठौं शताब्दीबाट सुरु हुन्छ। त्यसमा नपर्ने मिलारेपा, नरोलपादेखिकाग्युपा, स्यामर्पा, गेलुक्पा आदि अन्य नामहरू समेतका 'पा'ले आठौं शताब्दीमा बज्रयान जन्मनु अघिको बोन परम्पराको 'पा'लाई नै संकेत गर्छ।
 राईहरूको एक पूर्वज हुन् नै खोक्चिलिपा।


दुई
तर यी गुरुमापाको प्रसंग जोडिन्छ, इटुम्बहालसँग, जसको उत्तरपूर्वी कुनामा उनको मुखुन्डो अद्यापि छ (लक १९८५, पेज २९०/यसअघि लमजुङको रागिनास कोटमा लामा गुरुङको सदियौं पुरानो मुखुन्डोमाथि पढिएथ्यो, थापा २०४१, पेज १७४)। उनको अस्तित्व एघारौं शताब्दीमा भएको मानिन्छ। इटुम्बहाल बौद्ध मतको थलो हो। यसले के देखाउँछ भने आज दन्त्यकथाका रूपमा आए पनि त्यो घटना बौद्धाचार्य र बोन आचार्य बीचको मिलाप हो।
तीन
गुरुमापाले मरेका बच्चाहरू खाने गरेको र पछि ज्युँदै पनि खान थालेकाले त्यो छुटाउन चैतेपूणिर्मामा एकमुरी चामलको भात र एउटा सिंगै राँगाको मासु दिन थालिएको कुरा कथाको सार हो। कालो बोनमा हिंसात्मक अभिचारको प्रावधान अवश्य छ। तर तर्कमा सन्तुलन छैन। एउटा बच्चा खाएर पुग्नेले त्यत्रो भात र मासु खाइसक्थ्यो होला? वा जसलाई त्यत्रो मासु र भात चाहिन्छ, ऊ ३ सय ६४ दिन कसरी भोकै रहन सक्थ्यो होला? फेरि कोही सहर छेउमै जिउँदो बच्चा खाने पात्र छ भने त्यसलाई सहरै उल्टेर नोलले कुटेर मार्थे होलान्। आखिर बालादैत्यलाई मारिएको त्योभन्दा पुरानो कथा पढिएकै हो। यसैले वाषिर्क भण्डाराका निम्ति यो इटुम्बहालले गुरुमापालाई ठेकेको रसद हो, बरु उनी बितिसकेपछि पनि हजारौं वर्षसम्म कबुल पालना गर्नु इटुम्बहालको इमानदारीको विश्व कीर्तिमान नै हो।
चार
यात्रामा मानिस अल्मलियो भने अर्थात् मानिलिऊँ त्रिपुरेश्वर जान हिँडेको मानिस डिल्लीबजार पुगेर झल्याँस्स भयो र फेरि त्रिपुरेश्वरतिर लाग्न खोज्दा नक्साल लाग्यो भने त्यस्तोलाई अझै पनि 'गुरुमापा लागेको' भनिन्छ। गैरनेवारहरूले त्यसैलाई 'झुंगी लागेको' भन्छन्। र नभन्दै कुलुङ राईहरूका निम्ति 'छुक्री' पुर्खा हो।
पाँच
चैत पूणिर्माको दिन कुनै पनि साइजका तीन ढुंगा जोडेर टुँडिखेलको कहीं पनि लुकाएर राखिदियो भने पनि भोलिपल्ट छुटयाइराखिएको हुन्छ र त्यो काम गुरुमापाको हो भन्ने चलन छ। नभन्दै राईहरूको अँगेनामा तीन ढुंगाको मात्र चुलो बनाइन्छ सुतुलुङ, फुतुलुङ र उतुलुङदेवको। तीन ढुंगा नछुटयाई चुलो बन्दैन पनि। यसले गुरुमापा काँचो मासु खाँदैनथे र तिनको चुलो निभ्दैनथ्यो भन्ने संकेत गर्छ।
छैठौं र अन्तिम
इटुम्बहालको अर्को अनुश्रुति हो- गुरुमापाले एक भारी सुन बोकेर केशचन्द्रकहाँ पुर्‍याइदिएका थिए। जो आफैं वर्षको एकपटक पाइने भात र मासु पर्खेर बस्छ, उसले एक भारी सुन पुर्‍याउने कसरी? यस्तो बुझिन्छ नेवारीको लुं (सुन) बान्तवाको लुङपुसी (जामुन) हो। 'लुं'सँग लुङपुसीको मिलन अवश्य पनि पाठकहरूलाई हाँसउठ्दो लाग्नेछ। तर उतिपरको नागा जातिको झिलियोङ (पुतली) नेवारीमा झ्यालिन्चा (गाइने किरा) हुनपुगेको छ। नभन्दै न्वागी, च्यान्दाम, हाङमाङजस्ता बोन संस्कार अन्तर्गत नै हो अझै तिलुङ, बुङलावा, बाहिङ राईहरूलाई जामुनका पात र हाँगाहरू अनिवार्य हुन्छ। अरू किसिमका राईहरूलाई पनि होला नै। त्यसैले गुरुमापाको कुटी अहिलेका पतझर रूखमुनि थिएन, कुनै पतझरमुनि कसैको कुटी कहिल्यै हुँदैन पनि। त्यो निश्चय नै सदावहार जामुनको रूखमुनि थियो। राई बहुल पूर्वी पहाडी भेगको अधिकांश स्थान जामुनको भूगोल ३००-१५३० मिटरभित्र नै पर्छ।
जामुन माने जम्बु
'मञ्जुबज्र' बज्राचार्यको नाम जामुन गुभाजु किन भयो भने उनले सन् १६५४ मा बनाएको ब्रह्मटोलको मुसुमबहालस्थित इनारको बीचबीचमा दुईतिर जामुनका काठहरू राखी बीचमा प्वाल परेका ढुंगाका च्यापा फल्याकहरू बिछ्याई (पिँधमा कलश राख्नुअघि) इनारलाई साततले बनाएका थिए भन्ने भनाइ छ।
जामुनको काठलाई पानीले खाँदैन भनेर चिन्न सक्ने त्यो युग थियो। यसैले बालुवामा ढुंगा नभासियोस् भनेर वाग्मती र विष्णुमतीका किनाराका ढुंगाका सिँढी र भकारीहरूका कतिपय पिँधमा जामुनको काठका टेकाहरू राखिएका छन् पनि, जुन १० वर्षअघि थापाथली पुलबाट टेकुसम्म हुतराम वैद्यसँग यात्रा गर्दा पङ्क्तिकारले देखेको हो, उदासी मठ र अन्यत्रको सामुन्ने।
तर सुनीतिकुमार चटर्जीले जामुन पनि कोलीहरूले नेपालमा लगाएका हुन् भनी लेखे। तिनले भनेको जामुन दक्षिण एसियाई मूलको गुलाफ जामुन (साइजिगियम जम्बोज) हो। र यहाँ चर्चा भइरहेको बहुमूल्य रैथाने फरिन जामुन (साइजिगियम क्युमिनी) हो। यसैले पनि आज टुँडिखेलमा जे रूख छ, त्यो अरूको होइन, नेपाली पानीको पहिरो रोक्ने तर आफू नबिग्रने जामुन जम्बु हुनुपथ्र्यो।

यम्बु माने जम्बु
'यम्बु काठमाडौंको उत्तरी क्षेत्र टुँडिखेललाई जनाउने नाम भए पनि काठमाडौं राज्यलाई बुझाउन पनि प्रयोग भएको छ। तिब्बती र तामाङहरूले पनि काठमाडौंलाई यम्बु नै भन्छन्। मूल शब्द यम र बु उपसर्ग रहेको बुझिन्छ। यसले टेबहाल, ओटु, मखन, असन, ठँहिटी समेट्छ। यम्बुका देवता यमलेश्वर हुन् (रेग्मी, २०५१)।
एक
जमयम्बी शब्द इस्वीको ७३३ मै उल्लेख भइसकेको प्रमाण त छ नै। तामाङहरू स्रङचङ गम्पोका घोडचढी भएर आए (चेम्जोङ, १९६७) भन्ने भनाइले यम्बु शब्दलाई कम्तीमा सातौं शताब्दीमा पुर्‍याउँछ। प्रोज्ञयम्बु (सन् ५९३) भनेर पढियो भने यम्बु शब्द छैटौं शताब्दीमै देखिन्छ। यम्बु जोडिएको अरू आठ नाम यसपछिका हुन्। त्यसमाथि भुयम्बु (सन् ६०८), ठयम्बु (सन् ६३४) र बलयम्बु (सन् ७०५) भनेर पढियो भने हाँडीगाउँदेखि पाटन, मनोहरादेखि थानकोटसम्म यम्बु क्षेत्रमा पर्छन्।
थप कुरा, अन्तिम हरफहरू इस्वीको पाँचौं शताब्दीमा मात्र जोडिएको भनेर मानिने वायुपुराण -अध्याय ४८.११-१४, जीपी भट्टको अङ्ग्रेजी अनुवाद-युनेस्कोले जम्बुद्वीपका ६ इलाकामा एउटालाई यम र वर्तमान भारत वरपरको मानेको छ। यसले गर्दा यम्बु कम्तीमा स्वतः चौथो शताब्दीको हुनपुगेको छ। गुप्तकालीन अवशेषलाई पछि थपिएको मानेर हटाउँदा वायुपुराण २ हजार वर्षभन्दा अगाडि पुग्छ।
दुई
नारायणहिटी अगाडि महेन्द्रको सालिक रहेको ठाउँमा यमलेश्वर (दुई शिवलिङ्गका जोडायुक्त मन्दिर) थिए, त्यसैले अहिले त्यहाँ मच्छिन्द्रनाथको रथ घुमाइन्छ भन्ने चलन छ। अर्थात् यही यममा नेवारीको जमिनबोधक बु जोडिएको हो भन्ने राय छ। तर जोडा शिवलिंग पुज्ने रुद्रयामल तन्त्र पाँचांै शताब्दीपछिको हो, जो कास्मिरी शैव धर्मबाट आउँछ। यसैले यम्बु शब्द यमलेश्वरबाट आएको होइन भन्ने स्पष्ट छ।
तीन
अनेक किसिमका तरल पदार्थले घेरिएको टापुका रूपमा पौराणिक जम्बुद्वीपको आख्यान सुन्दै र पढ्दै आए पनि त्यसको प्रेरणा यही यम्बु देखिन्छ। आखिर यंवरा यव.जौबाट जमरा बन्ने हो, यमराजबाट जेमराज र युद्धशमशेरबाट जुद्धशमशेर बन्ने हो।
चार
जहाँ जामुन हुन्छ, त्यहाँ स्याल हुन्छ, त्यसैले उसलाई जबमु भनिन्छ भन्ने कथा (भागवत) मा अस्वाभाविकता छैन। किनभने जहाँ गुटेल (टे्रयिबा नुडिफ्लोरा) हुन्छ, त्यहाँ हरिण हुन्छ भन्ने कुरा स्वाभाविक हो। तर ५ हजार वर्ष अघिको रामायणले जाम्बवान् भनेर लिएको भालु जामुन रङ भएको ब्राउन बियर (अर्सिनस आर्कटस एजाबेलस) हो, नकि तराईमा पाइने स्लथ बियर। किनभने यसलाई हिमालयको राजा भनेर स्पष्टै भनिएको छ।
खैरो भालु पाइन्छ कि हिमाली प्रदेशमा मात्र, नकि अयोध्या र कर्नाटकको किस्किन्धा वनको सिमानामा। अर्थात् त्यसको परिचय हिमाली/नेपाली भूगोलले दिएको हो। पाल्पाको तैनाथवाला हुँदा रुद्रशमशेर राणाले एउटा खैरो भालु मारेर अमेरिकी प्रकृतिविद्लाई दिएका थिए, त्यो धेरै पछिसम्म न्युयोर्कको जुलोजिकल म्युजियममा थियो र आज पनि होला- स्रोत भन्छ।
पाल्पाको उचाइ १ सय ७० फिटले कम छ, काठमाडौं (४ हजार ६ सय फिट) भन्दा। यसबाट एउटा बेला जाम्बवान् धेरै तल उपत्यकासम्म पनि आउँथ्यो भन्ने टड्कारै देखिन्छ।
पाँच
जिम्बु लसुनप्याज परिवार (अलियम) कै हो। खास जिम्बु अलियम हिप्सिष्टम मध्य र पश्चिम नेपालमा मात्रै पाइन्छ, अठार हजार फिटमा, हिउँरेखाभन्दा २ हजार फिट तल। योसँग जिम्बुको नाममा बेचिने अर्को जात अलियम प्रजेलास्कियानम पाइन्छ, निकै तल तेह्र हजार फिटको वरपर, जुन लद्दाख, हुन्जा लगायत तिब्बती पठारमा पनि हुन्छ (१९००-४८०० मिटरबीच)। तर तिब्बती मसलामा यो पर्दैन। नेपालमा डुन्डु -अलियम ट्युबेरोसम/काठमाडौंमा चुलोचा र ललितपुरका केही ठाउँमा ललिचा) सरह प्रयोग हुन्छ। बजारमा जिम्बु बोटको नाममा बेचिनेचाहिँ युरोपियन मूलको चाइभ (अलियम शोइनोप्रासम) हो। जिम्बु प्रयोग हुने मास शब्द जनकपुरका याज्ञवल्क्यको योगदान रहेको
यजुर्वेदमै छ। जसले याज्ञवल्क्य स्मृतिमा चाहिँ लसुन-प्याजको उल्लेख गरे (गुप्तकालीन केही शब्द औंल्याएर यस स्मृतिलाई पाँचौं शताब्दीको भन्दै बाइबलभन्दा पछिको देखाउने पश्चिमा प्रयासमा आप्टेहरू पनि फँसेका छन्। याज्ञवल्क्य वेद र स्मृतिबीच के साढे १० हजार वर्ष बाँचे त?) स्पष्टै देखिन्छ, दक्षिण भारतको मास वैदिककालमै चुरे उक्लियो र जिम्बुचाहिँ यम्बु उपत्यका ओर्लियो। किनभने मासको दाल हिमाली क्षेत्रको खाना होइन। र जिम्बु तराईको खानामा पर्दैन। यसको वर्तमान उपयोग विशुद्ध उपत्यकाको र यजुर्वैदिककालीन नेवारहरूको हो। यसर्थ यम्बु शब्द पौराणिककालीन होइन, वैदिककालीन हो। ३५ हजार वर्षदेखि उपत्यकाको ताल सुक्दै जान थालेको र पछिल्लो ७ हजार वर्षमा निमिट्यान्नै भएको त वैज्ञानिक निक्र्योल नै छ। स्थान विशेषबाट वनस्पतिका नाम बन्न गएका अरू उदाहरण पनि छन्।
धनियाँको संस्कृत नाम कुस्तुम्बुरु हो, जुन भारतको निम्ति कुस्तुन्तुनियाँ र युरोपियनहरूका निम्ति कन्स्ट्यान्टिनोपल हुँदै अहिले इस्तान्बुल हुनपुगेको छ। यसको उत्पत्ति थलो टर्की नै हो। त्यसैको तुम्बुरु टिपेर नेपालीमा टिमुर बन्छ। हामी इरानको खुरासानबाट आएकाले खुर्सानी भन्दैछौं, श्रीलंकाबाट आइपुगेकाले बंगालीहरू यसलाई लंका भन्छन्। पहिलोपल्ट सिमानामा देखिएकाले भेडेखुर्सानीलाई भारतमा सिमला मिर्च भन्छन्, पहिलोपल्ट आसामको अब्बरे जातिमा पुगेकाले अब्बरे खुर्सानी भनिन्छ (अकबरे होइन। उनका बेला यो खुर्सानी भारतमा थिएन)।
जम्बुफल झरेर नदी किनारमा सुनका धुलोमा परिणत हुने विष्णुपुराण/महाभारतको जम्बु नदी यहाँनिर वाग्मती विष्णुमती हुनपुग्छन्। यसरी झन्डै ५ हजार वर्ष अघिको मानिने त्यो महाकाव्यपछिका पुराणहरूले भूगोल मिच्दै गए पनि यम्बुद्वीप अरू कुनै थिएन। जुन जामुन तिब्बतमा हुँदैन, त्यसले यसलाई पाँचौं शताब्दीदेखि देखिन थालेका प्रौढ संस्कृतका पुराणहरू पढेर यम्बु भनेको होइन भन्ने स्पष्टै छ। यसैले पनि त्यहाँ जामुनकै रूख हुनुपथ्र्यो- एनिमेसन सिनेमा 'अवतार'को 'नाभी'जस्तै।

पुछारमा
पाकिस्तानमा परेको पञ्जाबको सलातुर गाउँबाट माटो ल्याएर भारतले बनारसमा पाणिनि मन्दिर खडा गरेको छ (यद्यपि पाणिनि पञ्जाबका हुन् भन्ने पतञ्जलीको राय नै गलत लाग्छ)। अफगानिस्तानबाट पृथ्वीराज चौहानको चिहान उधिनेर माटो ल्याएको छ। र अब रंगुनबाट बहादुर शाह जफरको अवशेष ल्याउने प्रयास चलिरहेको छ। पछिल्ला पुराणहरूले भूगोल मिच्दै जम्बुद्वीपको गलत स्थानान्तरण गर्दै गए पनि यो यम्बुको मध्यमा जामुन रोप्न किन सकिँदैन र मिल्दैन? बुझ्न चाहनेहरूले बुझ्नुपर्ने कुरा हो।
(पंक्तिकारको भदौ १३ गते सार्वजनिक हुने कृति 'असहमति'मा परेको अप्रकाशित लेख 'जम्बुद्वीपको विचरणबाट संक्षेपिकृत।)

भाद्र ३, २०७१ कान्तिपुरमा प्रकाशित

No comments:

Post a Comment