उनीहरू पशुपतिनाथको सट्टा पाटनको कृष्णमन्दिर गए । जबकि वर्षको एक दिन भीड हुने यस्तो मन्दिरका सट्टा ३६५ दिन भीड हुने पशुपतिनाथतुल्य मन्दिर अरू धेरै छन् काठमाडौंमा । तर सम्भवतः उनीहरूलाई कसैले कृष्णमन्दिर निर्माणमा मथुराका कलाकारहरूको हात छ भन्ने सुनाइदिएको छ । यही साम्प्रदायिक ‘चिकेन हर्टेड’ नीति हो भने महेन्द्र राजपक्षले सम्भवतः इन्द्रचोकको इन्द्र मन्दिरलाई मात्र गन्तव्य मान्लान्, जसको निर्माणमा श्रीलंकाका महाविजयको योगदान रहेको भनाइ छ । यद्यपि ‘भारत-अमेरिकी एक्सिस’ भित्रका सल्लाहकारहरू थोपरिएका हाम्रा राष्ट्रपतिलाई निम्त्याउन बाध्य पारेर आइलागेका पाहुनाहरू पशुपतिको नाउँमा जलस्रोतमाथि निर्णायक कब्जा जमाउन टुप्लुकिएका हुन् भन्ने सम्पूर्ण काठमाडौं जान्दछ ।
उता आयस्ता
सुकेकोमा मरणासन्न हुन लागेका भण्डारीहरू, कथित हिन्दु धर्माबलम्बीहरू नेपाली
कांग्रेस र उसको स्वाङे भाइ एमाले एवं मुग्लानी बादशाहीको सर्वाधिक पि्रय पाउभक्त
ताबेदार सूर्यबहादुर थापाको जनशक्ति पार्टी परम्परा र विधिको दुहाइमा उत्रियो ।
जबकि अर्को अर्थ नलागेमा राजपरम्परा नै सही, २ हजार वर्ष पुरानो कुनै एउटा परम्परा
जनमत संग्रहमार्फत फाल्ने हुति पनि नराखेर २६ सदस्यसमेत मनोनयन नभएको अवस्थामा
टेबल ठोकेर समाप्त हुन्छ ।
अझै थप बिग्रिएको
पुरानो लिङ्गलाई विस्थापित गरेर पुनःस्थापित गर्दा आफ्नै दरबारतिर अघोरमुख पर्न
जाँदा पनि सच्याउन नसक्ने, १८५७ को जुत्ता सुल्ट्याउन नसक्ने वाजिद अलि साहजस्तो
ज्ञानेन्द्र परम्पराको रक्षाको नाममा पशुपतिका भट्टहरूको पक्ष लिँदै बोल बोल माछा
मुखभरि पानी शैलीमा वक्तव्य दिन्छन् । सम्यक् पूजामा शाक्य महिलाको हातबाट आफ्नो
गोडा धुवाएको तस्बिर सूचना विभागको क्यालेन्डरमा छापिन जाँदा र पत्नीले पतिलाई
ढोग्ने परम्परा नै रहेको भए पनि कोमललाई आफूले गोडा उचालेर २०६२ सालको दसैंको
टीकामा त्यो पनि जुत्तासहितको गोडामा ढोगाएको दृश्य छापामा आउँदा जनतामा के छाप
पर्न गयो बुझ्न नसक्ने ज्ञानेन्द्रले भट्ट फेरिँदा वक्तव्य दिनुले उनलाई पनि
दिल्लीको नवीनतम पहरेदारमै दर्ता गरेको छ ।
के जुत्तामाथि
ढोग्नु परम्परा हो ? भट्ट व्यवस्था रहेमात्र राजतन्त्र रहनेछ भन्ने ब्रह्मवाक्य त
‘ब्ल्याकमेलिङ’ मात्र रहेछ भन्ने बुझ्दा पनि पुर्खा पृथ्वीनारायणको ‘चेतना भया’ अझै
चेतना नआउनु अनौठो छ । कि उही महराले भनेजस्तो कमिसनको चक्कर हो ?
सन् १९७७ को जनता
पार्टीको सरकारको क्याबिनेटमा एकमात्र नेपालविरोधी मन्त्री अटलविहारी वाजपेयीको
त्यस्तो प्रस्तावबारे अहिले बन्द भइसकेको समय साप्ताहिकमा छापिएकै हो र भाजपाजस्तो
भारतको सबैभन्दा ठूलो नेपालविरोधी पार्टी अर्को रहेनछ भनेर आफ्नो आलो घाउ यतिबेला
चाट्दाचाट्दै पनि लालकृष्ण आडवाणी रिझाउने वक्तव्य पुराना भारदारहरू र तिनका भक्त
राप्रपाजस्ता पार्टीहरूले दिए । अशोक सिंघलको विश्व हिन्दु संघलाई कमिसन
नबुझाएबापत नेपाली पक्षको मिलेमतोमा ज्यान गुमाउन पुगेका ठानिने नारायण पोखरेलको
दृष्टान्त छँदाछँदै कथित हिन्दुवादी भाजपाको सहयोगमा आफ्नो राज्यसत्ता पुनः
फर्केला भन्ने दरबारियाहरूले ठानेको हो भने त्यो जस्तो उदेकलाग्दो अवस्था केही हुन
सक्दैन । आखिर त्रिभुवनले देश बुझाएकै हुन् भनेर भाजपाले जस्तो कंग्रेस आईले
कुर्लेको छैन । कुशाभाउ ठाकरे र केआर मलकानीका जस्ता विषवमनयुक्त शब्दहरू
नेपालीहरूले कमै सुनेका होलान् ।
मनोविदलताका सिकार
कान्तिपुरको कुनै
अंकमा एक पात्र भन्छन्- शंकराचार्यले पशुपतिमा भारतको र दक्षिणको रामेश्वरमा
नेपाली पुजारी रहने परम्परा बसालेका थिए । त्यसैले यो परम्परा हजारौं वर्ष पुरानो
हो । जबकि नवौं शताब्दीका शंकराचार्य नेपाल आएको प्रमाण नै छैन । आएका भनिएका
उस्तै नाम गरेका शंकराचार्य १२ औं शताब्दीको काशीका बासिन्दा हुन् (टण्डन, २०५३) ।
जुन मूल भट्टको आवासमा अहिले भट्ट नामावली टाँसिएको छ, त्यो तिनै टण्डनको पुस्तकको
पेज नं. २३५ बाट खुरुखुरु सारिएको हो । अर्थात् आफ्नो परम्पराको दुहाइ दिने
भट्टहरू स्वयंलाई परम्परा र अग्रजबारे थाहै छैन । तिनले नपुगेर तिनका
सेनामेनाहरूले फेरि परम्पराको कुरा गरिरहे । यो अजब नेपाल गजबको छ ।
नेपालका
पूर्वप्रधानमन्त्री बालाजी मन्दिरको चारैतिर राखिएका मानिसभन्दा अग्ला थैलामा
कुर्कुच्चा उचालेर नपुगेर हात उचालेर थैलैपिच्छे सुटुक्क एक लाख खसाल्छन् । तर
पशुपतिमा चार रुपैयाँ चढाउँदैनन् भने त्यसको पनि अर्थ त होला । भण्डारीलाई
राजभण्डारी बनाउन नचाहेको कुरा आफ्नो बैठकमा जतिपटक भने पनि बाहिर भन्दै हिँड्न
सुहाउने कुरा पनि त भएन ।
तन्त्रशास्त्रका
विद्वान् प्रा. विद्यानाथ भट्ट छापामै भनिरहेछन्- वैदिक र तान्त्रिक दुवै ज्ञान
भएका पशुपतिका पुजारी बन्न लायकका पात्रहरू नेपालमै सक्दो छन् । तर भट्ट उपनामधारी
मूलपात्र दक्षिणकै अर्को कुनै भट्टलाई मन्त्र दिन चाहन्छन् । त्यो गोटी दिल्ली
भक्तहरूका निम्ति पाशुपतास्त्र भएको छ । यसरी आध्यात्मिक ब्ल्याकमेलिङमा फस्न
नेपालीहरू नै मन्जुर भएपछि राम राम भन्नेबाहेक ढाड थाप्ने कुरा पनि आउँदैन ।
भारतीय तीर्थहरू
आवश्यक छैन भनेर १६ औं शताब्दीमै ‘स्वस्थानी-य’ आइसकेपछि तिनलाई माघ महिनाभरि रात
रात पाठ पनि गर्ने फेरि यही माघमा पशुपतिमा दक्षिणकै भट्ट चाहिन्छ पनि भन्ने
नेपाली आचरण मनोविज्ञानको व्यक्तित्व विघटन भन्ने अध्यायसँग ठ्याम्मै मिल्छ ।
शबरीको बयर जुठो हुँदाहुँदै पनि त्यसमा निहित श्रद्धाले गर्दा रामले खाए भनेर
नथाक्ने यी आन्दोलनकारीहरू देवतामा श्रद्धा नभएको र दक्षिणामा मात्र आँखा लागेको
विधिविधान र प्रक्रियाको वकालत पनि गरिरहेछन् । यो आचरण मनोविज्ञानको मनोविदलता
भन्ने अध्यायसँग दुरुस्तै मिल्छ ।
त्यसमाथि चारवटा
शंकराचार्य मठमध्ये एउटै पनि राख्न लायक नठानिएको त्यो बेलाको शैवभक्त काठमाडौं, चारवटा
ज्योतिर्लिङ्गमा एउटैमात्र पनि मान्न नचाहेको त्यो बेलाको शक्तिशाली पशुपति, मासु
खाने पहाडी र मैथिलहरू मात्र भएकाले बाहुन नामका म्लेच्छहरू भएको नेपालमा दक्षिणकै
भट्ट चाहिने, नभएदेखि दिल्लीमा दंगा भड्किन्छ र दुई देशको सम्बन्ध चिसिन्छ भन्नु
पशुपतिभन्दा ठूलो चर्च खडा गर्ने निम्ता दिनु हो । भट्टहरूले सयौं पुस्तादेखि
नेपालीहरूलाई हेप्दै आइरहेको र नेपाललाई ठगेको यथार्थमाथि आँखा चिम्लनु कथित हिन्दु
धर्म परित्याग गर्न आह्वान गर्नु हो । भाजपा र भारतीय नेताहरू एवं तिनको राजनीति
त्यस्तै आह्वान गर्छ भने राम्रै हो ।
नेपाल आउँदो १०
वर्षमा विश्व इसाई संघको मानार्थ राजकीय सदस्य बनिसक्ला । हिन्दुत्व भारतसँग
सामीप्य राख्ने ठूलो अस्त्र हो भन्ने भारतलाई लागेको हो भने त्यो अस्त्रले अबका
दिनमा कदापि काम दिने छैन । पशुपतिनाथ सदा-सर्वदा रहनेछन् तर त्यसको व्यवस्थापनमा
आएको भाँडभैलो राम्रो हो जति मच्चियो उति सुन्दर कुरा हो र थियो । माओवादीहरू
आफ्नो जिद्दीमा हारेका छन् । अन्य जतिसुकै सन्दर्भमा निन्दित भए पनि यसका लागि
तिनलाई बिर्सन मिल्दैन ।
कुनै पनि सम्पत्ति
र स्रोतमाथि नङ्ग्रा गाड्ने माओवादी प्रवृत्तिको आरोप लागेको भए पनि त्यो
स्रोतमाथि ऊ सत्तामा रहुन्जेलमात्रै नङ्ग्रा गड्ने हो । नङ्ग्रा गडाइको लामो
ग्यारेन्टी अन्ततः दिल्लीको आशीर्वादप्राप्त कांग्रेसकै हो । यसैले पनि प्रचण्डले
पशुपतिनाथलाई संग्रहालयमा लगेर राख्नुपर्छ भन्ने विश्वेश्वरप्रसाद कोइरालाका
अनुयायी र विधान नाघेर पार्टी सभापति र प्रधानमन्त्री दुवै पद चाहिने गिरिजाप्रसाद
कोइरालासँग पशुपतिनाथबारे छलफल गर्ने बेला यो थिएन । हात हालेपछि स्वाङे भाइको
धोकाले सरकार ढल्ने नै भए पनि पशुपति रहुन्जेलसम्म राजतन्त्र मान्ने छौं भन्ने
मनमोहन अधिकारीका अनुयायीहरूको अनुहार सम्झेर गोडा कँपाउनु हुँदैनथ्यो । सिजर
जन्माउने सिजेरियन अप्रेसन गर्ने बेला थियो यो । राष्ट्रिय रूपमा भारी सहानुभूति
प्राप्त गरेर आउँदो चुनावमा त्यसलाई भजाउन सकिने ठूलो अवसर थियो । कि राडीमा पिठो
मुछ्नु हुँदैनथ्यो, मुछेपछि रोटी खाने आँट गर्नुपथ्र्यो ।
किनभने हारेको
खेलाडीले कैलाशबाट हानेको कौडा चार ठाडा पारेपछि कसरी सेर्रा भएर आउँछ उसले बुझेकै
होला । निकट भविष्यमा व्यक्तिगत छनोटभन्दा प्रतियोगिता र परीक्षालाई आधार बनाएपछि
ग्लोबल टेन्डरको नाममा पशुपतिको भट्ट नेपाली हुनै नसक्ने कुरा घामजत्तिकै छर्लङ्ग
छ । बर्माको सीमान्तमा रहेको बौद्ध मन्दिरमाथि थाइल्यान्डको हैकम अब कम्तीमा
हाम्रो निम्ति नयाँ रहेन । अर्जेन्टिनाको सीमान्तमा रहेका सीमास्तम्भरूपी
चर्चहरूमाथि कदाचित ब्राजिलको हैकम भए अब हाम्रा निम्ति नयाँ कुरा हुने छैन ।
अन्त्यमा
गोपाल किराँतीले
खल्तीबाट फुत्त झिकेर जुन नियुक्ति दिए, गर्नुपर्ने तरिका त्यही नै हो । बरु कुनै
राई, गुरुङलाई अर्थात् किराँतलाई नियुक्त गरेको भए पनि हुन्थ्यो ।
ब्राह्मणवादविरुद्ध
जनजाति तथा उत्पीडित वर्गको पेज नं. ४० बाट झिकिएको यो पंक्ति कि खुल्ला रूपमा
जनताले स्विकार्नुपर्यो कि जस्तोसुकै र जुनसुकै राजनीतिक आस्थाका हुन् किराँतीलाई
अभिनन्दन गर्नुपर्यो-
‘प्रभावशाली केही
ब्राह्मणहरू आत्मिक रूपले अझै पनि ‘सम्पूर्ण नेपाली’ बन्न सकेका छैनन् । उनीहरूका
लागि नेपाल भन्ने एक कमाउ थलोमात्र र आफ्नै मूल वा स्वर्ग जाने थलोचाहिँ
हिन्दुस्थान नै सम्झी त्यही भूमिप्रति बफादार देखिन्छन् ।’
No comments:
Post a Comment