18.10.21

अहिंसा र हिंसा : राज्यनीतिमा कसरी अन्तःसम्बन्धित छन् ?

डा. निर्मलमणि अधिकारी :- “वैज्ञानिक सत्ययुग” लक्ष्य लिनेले अहिंसा र हिंसाको अन्तःसम्बन्धलाई कसरी हेर्ने भन्ने सवाल प्रस्तुत लेखको मुख्य विषय हो । राज्यतन्त्रको क्रमविकास मान्ने हो भने राज्यको अस्तित्त्व नहुँदैको अवस्थामा पहिले ‘ऋत’को र दोस्रो चरणमा ‘धर्म’ (‘धम्म’) को शासन चलेको थियो भन्ने साक्ष्य वैदिक, जैन र बौद्ध परम्पराका वाङ्मयहरूबाट पाइन्छ । ‘दण्डनीति’को चरण तेस्रोमा पर्छ । आधुनिक युगमा ‘कानुन’को शासन राज्यतन्त्रको मानक बनेको छ । ‘कानुन’लाई प्रतिमान नमानेर ‘मताग्रह’ (आइडियोलोजी) लाई मुख्य साधन मान्नेहरू पनि आधुनिक युगकै हुन् ।

‘ऋत’को शासनको युगमा अहिंसा र हिंसाको उहापोह गर्नु पर्ने नै थिएन । अझ भनौँ भने ‘ऋत’को युगमा हिंसाको उल्लेखै आवश्यक थिएन । ‘धर्म’को शासनको युगमा कम्तीमा पनि अवधारणात्मक हिसाबले अहिंसा र हिंसाको द्विविध विकल्प मानव समाजमा रहेको बुझिन्छ । तीमध्ये अहिंसा नै श्रेष्ठ हो भन्ने जोड त्यहाँ दिइएको देखिन्छ । ‘धर्म’को युगमा हिंसा पनि एक विकल्प हो भन्ने जानकारी दिइएको भएतापनि अहिंसालाई नै आदर्श व्यवहार मानिएको थियो ।
‘दण्डनीति’को युग भनेको राज्यको शक्तिशाली अस्तित्त्व र निर्णायक शक्ति भएको युग हो । त्यहाँ हिंसा अनिवार्य तत्त्व हो । हिंसाको भूमिका र दायरा बढेको आधुनिक कालखण्डमा त्यसको निराकरण गर्न सकिन्छ कि भन्ने आशा सहित ‘कानुन’को शासनको मान्यता अघि बढाइएको देखिन्छ । अर्कोतिर ‘मताग्रह’बाट आक्रान्तहरूको क्रान्तिमा हिंसाको निर्द्वन्द्व एवं निर्मम उपस्थिति प्रायः देखियो ।

नेपालमा वि.सं. २००७ सालपछि नेपालीजनले ‘कानुन’को शासन मान्ने पार्टी, ‘मताग्रह’को प्रभुत्त्वका लागि स्थापित पार्टीका अनेकौँ गुटहरू र ती दुइटैबाट केही केही लिएर ‘दहीच्युरा’ तयार पारी माथिबाट “हावापानी र माटो सुहाउँदो” भन्ने सुनौलो जलप लगाएको व्यवस्था देखे । वैचारिक धार “सोशल डेमोक्रोशी” भनिएको पार्टीको मूल वा जरो पनि मताग्रही “समाजवाद” नै रहेको हुनाले कहिलेकाहिँ हिंसात्मक क्रान्तिमा हाम्फालेको देखिन्छ तापनि त्यो पार्टीमा बहुतायत चाहिँ ‘कानुन’को शासन मान्ने नै रहेको देखिन्छ । रुस, चीन, उत्तर कोरिया लगायतका “क्रान्ति” बाट प्रेरित अनेकौँ गुटहरू उनीहरूका जन्मको मूल वा जरो नै ‘मताग्रह’ भएको हुनाले हिंसा प्रिय हुनु स्वाभाविक थियो । संसदीय प्रतिस्पर्धामा भाग लिएर सत्तामा पुगिसक्दासम्म पनि तिनीहरूमा ‘कानुन’को शासन रणनीतिक प्रतिबद्धता मात्र र मताग्रही हिंसात्मक दृष्टिकोण चाहिँ मुख्य प्रवृत्ति देखिन्छ । उपरोक्त पृष्ठभूमिमा हिंसात्मक ‘मताग्रही’ शासनलाई पूर्णतः अस्वीकार गर्ने र ‘कानुन’को शासन सुनिश्चित गर्दै उत्तरोत्तर ‘दण्डनीति’को शासन र ‘धर्म’को विवेकको शासन हुँदै अन्ततोगत्वा ‘ऋत’को शासनको युगमा पुग्ने गरी “वैज्ञानिक सत्ययुग” लक्ष्य लिनेले अहिंसा र हिंसाको अन्तःसम्बन्धलाई कसरी हेर्ने भन्ने सवाल प्रस्तुत लेखको मुख्य विषय हो ।
सहृदयता दर्शनको दृष्टिबिन्दुबाट हेर्ने हो भने व्यक्तिको तहमा अहिंसा परम् धर्म हो । परिवार र कुटुम्ब पनि अहिंसामै सुखी हुन्छन् । समाजको तहमा पनि अहिंसा परम् धर्म हो । राज्यको परिप्रेक्ष्यमा हिंसा र अहिंसाको सन्तुलन आवश्यक पर्छ, जुन जटिल हुन पनि सक्छ । कुनै पनि राज्यले हिंसालाई त्यागेर अहिंसा मात्र अवलम्बन गर्न सक्दैन किनभने
(१) राज्यको उद्भव र विकास नै हिंसाको निराकरणका लागि काँडाले काँडा झिक्न सक्ने (आवश्यक परेको अवस्थामा हिंसाले हिंसालाई दबाएर मत्स्यन्यायको अवस्था हुन नदिने) शक्तिशाली निकायको रूपमा भएको हो,
(२) राज्यले हिंसाको आवश्यक उपयोग गर्न सकेन भने समाजमा रहेका हिंस्रक, अपराधी, अन्यायी, आततायीहरूलाई दण्ड दिन सक्दैन, र
(३) आवश्यक परेको बेलामा हिंसा गर्न नसक्ने राज्यलाई हिंसा गर्न सक्ने अर्को राज्य वा सामान्य लुटेरा समूहले समेत सजिलै कब्जा गर्न सक्छ । आफ्नो अस्तित्व जोगाउन पनि राज्यले हिंसालाई अनिवार्य सामथ्र्यका रूपमा लिइराख्नै पर्ने हुन्छ ।
अहिंसालाई परम् धर्म मान्ने उपदेश वेदमै छ । जैन धर्ममा अहिंसा त धर्मको केन्द्र नै हो भन्नु अत्युक्ति हुँदैन । बौद्ध धर्ममा पनि अहिंसाको बडो महत्त्व छ । व्यक्ति, कुटुम्ब, समाज र राज्यको तहबाट हेर्ने हो भने यो प्रकरण झन् स्पष्ट हुन्छ । व्यक्तिको तहका लागि अहिंसामा जोड ज्यादै छ । कुटुम्ब र समाजका लागि पनि अहिंसा नै सर्वोपरि देखिन्छ । आधुनिक युगमा गान्धीको अभियान समाजको तहका लागि बढी केन्द्रित हुनाले अहिंसामा जोड दिनु स्वाभाविक थियो । तर व्यक्ति र समाजका लागि भनिएका कुराहरूले राज्यको परिप्रेक्ष्यमा अतिक्रमण गर्ने परिस्थिति जब आयो, तब के भयो भन्ने इतिहास साक्षी छ । भारतवर्षको ठूलो भूभाग विदेशी विधर्मी पराईले सजिलै जित्ने स्थिति किन आयो र फिरङ्गीहरूले छोड्ने बेलामा पनि टुक्रा टुक्रा पारेर, शत्रु देशहरू बनाएर जान सक्ने अवस्था किन आयो भन्ने कुरा बुझौँ ।
हिंसा र अहिंसालाई समुचित सन्तुलन कसरी गर्ने भन्ने बुझ्न, वैदिक ग्रन्थ पढ्न सकिएन भने पनि, आजभन्दा लगभग २३ शताब्दी अगाडिको ग्रन्थ अर्थशास्त्र मात्रै पढे त जान्न सकिहालिन्छ । महाभारतमा राज्यतन्त्रका लागि सान्दर्भिक प्रकरणहरूमा पनि अहिंसाको महिमा स्वीकार गर्दै राज्यको अस्तित्त्व र प्रभावकारितासँग हिंसा अविच्छिन्न रहेको तथ्य अवलम्बन गरिएको पाइन्छ । मनुस्मृति र शुक्रनीति पनि उपर्युक्त विचार स्वीकार्छन् । जसरी औषधी बनाउन बिख् (विष) पनि चाहिन्छ, त्यसरी नै समाजमा अहिंसा कायम गर्न राज्यले हिंसा प्रयोग गर्नै पर्ने हुन्छ भन्ने मान्यता हाम्रा राजधर्मशास्त्रका आचार्यहरूको देखिन्छ ।
राज्यले हिंसाको प्रयोग पनि आफ्नै नागरिक मार्फत् गर्ने हो, तसर्थ आफ्ना नागरिकमध्ये केहीलाई हिंसा गर्न सक्षम बनाएर राखिराख्नु पनि राज्यको बाध्यता हुन जान्छ । राज्यले यो कार्य समाजसँगको सहकार्यमा गर्छ । तसर्थ, राज्यको वैधानिक अधिकारको दायरामा रहेर हिंसालाई अवलम्बन गर्न तत्पर व्यक्तिहरू समाजमा जहिल्यै राखिराख्नु राज्यको र समाजको अनिवार्य आवश्यकता हुन्छ । समाजमा क्षत्रीय वर्णको अस्तित्त्व र महत्त्वको यो कडी नबुझी राज्यतन्त्रको समुचित विश्लेषण गर्न सकिँदैन । आधुनिक युगमा क्षात्र गुण जन्मना मात्र नमानिएको हुनाले सैन्य सेवामा सहभागिताको दायरा झन् विस्तारित भएको बुझ्न सकिन्छ ।
हिंसा गर्न जान्ने र सक्ने व्यक्तिहरूको व्यवहारलाई सामान्य दैनन्दिन जीवनमा हिंस्रकताले किच्न नपाओस् र युद्धकाल वा सङ्कटकालमा हिंसा गर्न सक्ने क्षमता प्रबल होस् भनेर उनीहरूको चरित्र निर्माण सोही अनुसार गरिएको हुन्थ्यो । उक्त व्यक्तिहरूलाई हिंसाको प्रयोग व्यक्तिगत स्वार्थको लागि दुरुपयोग गर्ने अधिकार हुँदैन, जहिल्यै समाजको नैतिक मान्यता र राज्यको वैधानिक अधिकारको दायरामा मर्यादित रहेर हिंसाको प्रयोग हुनु नै आदर्श स्थिति मानिन्छ । जे होस्, राज्यको परिप्रेक्ष्यमा हिंसा पनि अहिंसा जस्तै अनिवार्य, अपरिहार्य, आवश्यक हो ।
व्यक्तिको तहमा अहिंसा साधारण धर्म हो र हिंसा अपवाद हो । समाजका तहमा पनि अहिंसा नै साधारण धर्म हो र हिंसा अपवाद हो । राज्यको परिप्रेक्ष्यमा अहिंसा र हिंसा दुवै विशेष धर्म हुन् (साधारण धर्म होइनन्) । यसरी अहिंसा र हिंसा दुइटै अनिवार्य भएको हुनाले राज्यको परिप्रेक्ष्यमा अहिंसा र हिंसालाई सातत्यको सम्बन्धमा हेर्नु पर्छ ।
“मार्क्सवाद”, “लेनिनवाद”, “माओवाद” वा “माओ विचारधारा” मान्नेहरूलाई एउटा संज्ञाले जनाउने हो भने ‘मताग्रहवादी’ भन्न सकिन्छ । ती ‘मताग्रहवादी’को हिंसा प्रियताको इतिहास जगजाहेर छ । “मेकियावेलीवादी” तथा उदारवादको मुखौटो लगाएका निर्लज्ज नाफाखोर “साम्राज्यवादी”/“उपनिवेशवादी” को हिंसा प्रियता पनि मानव इतिहासमा देखिसकिएको हो । ‘मताग्रहवादी’को व्यवहार हेर्दा अहिंसालाई उनीहरू मान्दैनन्, तर रणनीतिक दुरुपयोग गर्न सक्छन् भन्नु पर्ने हुन्छ ।
सामान्यतया अहिंसा र हिंसालाई परस्पर विरोधी अवधारणा र व्यवहार मानिन्छ । तर राज्यको परिप्रेक्ष्यमा अहिंसा र हिंसा दुवै विशेष धर्म भएका हुनाले तिनीहरूको सोलोडोलो वैरोध्य मानेर राज्यले व्यवहार गर्न सम्भव हुँदैन । अर्थात् अहिंसा र हिंसालाई परस्पर विरोधी दुई फक्लेटे (बाइनरी) विकल्पहरू मानेर गरिने विश्लेषणले राज्यको परिप्रेक्ष्यमा अहिंसा र हिंसाको व्यावहारिक समाधान हुँदैन । यहाँ यो वा त्यो भन्ने सवाल होइन र सवाल दुइटैको अनिवार्य व्यवहारलाई कसरी सन्तुलन गर्ने भन्ने हो । त्यो समाधान सहृदयता दर्शनमा निहित छ ।
सहृदयता दर्शन अनुसार राज्यले अहिंसा र हिंसालाई सातत्यको सम्बन्धमा लिनु पर्ने हुन्छ । साथै, कुनै घटना वा पघिटनामा हिंसा वा अहिंसाको व्यवहारलाई पारिस्थितिक सम्भाव्यताको नियम लगाएर विश्लेषण गर्नु पर्ने हुन्छ जहाँ अहिंसा र हिंसालाई सातत्यको सम्बन्धमा सम्बद्ध विकल्पहरू हुन्छन् । यसको तात्पर्य के हो भने कुनै घटना वा परिघटनामा सीमित वा केन्द्रित भएर अहिंसा वा हिंसा कस्तो व्यवहार राज्यले गर्ने भन्ने निर्णय गर्दा उक्त घटना वा परिघटनाको र त्यसलाई सम्बोधन वा निराकरण गर्न लिइने अहिंसा वा हिंसाको नीतिको सम्मेयता वा असम्मेयता के हुन्छ भनेर विश्लेषण गर्नु पर्ने हुन्छ । असम्मेयता दोष हो र राज्यको निर्णयमा सम्मेयता हुनै पर्छ । आततायीलाई सजायँ दिन हिंसा आवश्यक पर्छ, तर हिंसालाई दुरुपयोग गर्नु हुँदैन ।
वर्तमान युग ‘ऋत’को युग होइन । अहिले हिंसाको निर्द्वन्द्व र निर्मम दुरुपयोग गर्ने ‘मताग्रहवादी’ तथा हिंसालाई आफ्नो शासनसत्ताको स्वार्थका लागि दुरुपयोग गर्न नहिच्किचाउने ‘कानुन’को शासनका पक्षधरहरूकै हालीमुहाली चलिरहेको युग हो । यस्तो परिवेशमा सहृदयता दर्शनका अनुयायीहरूले अहिंसा र हिंसाको सातत्यको सम्बन्ध जानेर देश, काल, परिवेश अनुसार व्यवहार गर्नु नै बुद्धिमत्ता हुन्छ । हो, हाम्रो लागि हिंसाको प्रयोग काँडाले काँडा झिक्ने प्रयोजनका लागि हो । हाम्रो मूल चरित्र अहिंसा नै हो । हाम्रो अभीष्ट अहिंसाको प्रभुत्त्व नै हो । तर राज्यतन्त्रमा अहिंसा र हिंसाको व्यवहार तिनीहरूलाई परस्पर विरोधी विकल्पहरू मानेर होइन, तिनीहरूको सातत्यको सम्बन्ध बुझेर एवं सम्मेयताको नियमलाई विचार गर्दै काँडाले काँडा झिक्न हामी सदैव तत्पर रहनु पर्छ ।
सातत्यको सम्बन्धको विशेषता अनुसार ‘ऋत’को अभाव भएको अवस्थामा अहिंसा र हिंसा परस्पर विपरित (१ सय ८० डिग्री जस्तो) हुन्छन्, तर ‘ऋत’को शासनमा हिंसाको पृथक् अस्तित्त्व आवश्यक हुँदैन किनभने अहिंसामै त्यो तिरोहित हुन्छ (३ सय ६० डिग्री र शून्य डिग्री एउटै भएजस्तो) । मानवमा जन्मजात् वा प्राकृतिक रूपले नै हुने नौ भावहरू (रति, शोक, हास, क्रोध, उत्साह, भय, जुगुप्सा, विस्मय र सम) र सम्बद्ध रसहरू (शृङ्गार, करुण, हास्य, रौद्र, वीर, भयानक, विभत्स, अद्भूत र शान्त) को अन्तःसम्बन्ध बुझ्ने हो भने पनि सहृदयता दर्शनमा अहिंसा र हिंसालाई सातत्यको सम्बन्धमा हेरिएको कारण जान्न सकिन्छ । तसर्थ, पात्र, पात्रता, पद्धति र देश–काल–परिस्थिति विचार नगरी निरपेक्ष तरिकाले अहिंसा कि हिंसा भनेर दुई फक्लेटे कित्ताकाट गर्न उपयुक्त हुँदैन । व्यक्तिको, परिवारको, कुटुम्बको एवं समाजको चरित्रमा अहिंसा गुणको सर्वोपरिता र राज्यको चरित्रमा अहिंसा तथा हिंसाको समुचित व्यवहार गर्न सक्नु पर्छ । राज्यका लागि आवश्यक जनशक्ति नागरिक समूहबाटै प्राप्त हुने भएकाले समाजले आवश्यकीय हिंसा प्रयोग गर्न जानेका प्रशिक्षित जन वा नागरिक तयार पारिराख्ने जिम्मेवारी पाएको हुन्छ । यदि राज्यको आवश्यकता र समाजको जनमानसिकतामा सम्मेयता भएन भने सङ्कट र अवाञ्छित सङ्घर्ष समेत हुन सक्छ ।
यसको तात्पर्य के हो भने राज्यले देश, काल, परिस्थिति अनुसार अहिंसात्मक वा हिंसात्मक दण्डनीति अवलम्बन गर्छ । अर्थात्, राज्यका लागि हिंसा साधन (उपकरण) मात्र हो र अन्ततोगत्वा प्रभुत्त्व स्थापित गर्न खोजिएको अवस्था (साध्य) चाहिँ अहिंसा नै हो भन्नु सहृदयता दर्शनसँग तादात्म्य राख्ने निष्कर्ष हो । यो निष्कर्षले एकातिर राज्यको उद्भवसँग स्वतः सम्बद्ध हिंसाको अनिवार्य अस्तित्त्वको यथार्थलाई जान्दछ भने अर्कोतिर मानवको सुखापेक्षी विशेषतालाई पनि आत्मसात् गर्छ । धर्म (धम्म) को विवेक अवलम्बन गर्ने परिस्थिति बनिसक्दा राज्यतन्त्रमा पनि अहिंसाको प्राधान्य वा प्रभुत्त्व हुन्छ भने ‘ऋत’को शासन त राज्यतन्त्रको सीमामा बाधित वा सीमित अवस्था अवश्यै होइन । ‘ऋत’को शासन हुने भएकाले “वैज्ञानिक सत्ययुग” को प्रवर्त्तन भइसकेको अवस्थामा हिंसा र अहिंसाको द्वैविध्य नै रहँदैन किनभने सहृदयता सबैजनाको स्वाभाविक चरित्र हुने भएकाले अहिंसा नै व्यवहृत हुन्छ ।

स्रोत:-  adhikary.wordpress.com

https://adhikary.wordpress.com/2021/05/31/%e0%a4%85%e0%a4%b9%e0%a4%bf%e0%a4%82%e0%a4%b8%e0%a4%be-%e0%a4%b0-%e0%a4%b9%e0%a4%bf%e0%a4%82%e0%a4%b8%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a4%a8%e0%a5%80%e0%a4%a4%e0%a4%bf/

No comments:

Post a Comment