29.8.21

सतीले नसरापेको देश !

सौरभ:- 'देशको राम्रो चिताउनेको भलो कहिल्यै नहोस् !' यसरी भीमसेन थापाकी पत्नीले सरापेकी थिइन्। सबैजसो नेपाली यही भन्छन्। तर, यो एक डरलाग्दो असत्य हो। १६ साउन १८९६ मा बितेपछि भीमसेन थापाको लासलाई विष्णुमतीपारि फाल्न लगाइयो, संस्कार गर्न दिइएन। उतातिर उनका दुवै पत्नीलाई पैत्रिक घर बोर्लाङबाट हिँडाएर हेलम्बु पुर्‍याई निर्वासित गरियो। अर्थात्, तिनले सती जानै पाएनन् भने सराप दिने कुरै भएन।

यस्तै सराप उनीभन्दा अघिका भीम मल्लकी पत्नीले दिएकी थिइन् भन्ने भनाइचाहिँ छ। कसैले त्यसको पंक्ति 'यस देशमा मालिकको सोझो र देशको भलो गर्ने जसको पनि यस्तै गति होस्' भनी लेखेका छन् (ज्ञानमणि)। कसैले त्यसको पंक्ति 'यो देशको भलाइ गर्नेको कहिल्यै भलाइ नहोस्' भनी लेखेका छन् (वासु)। कसैले त्यसको पंक्ति 'नेपाल दरबारमा कसैको पनि विवेक नरहोस्' भनी लेखेका छन् (मुनाकर्मी)। र, सबैभन्दा पछिल्लो नै धेरै विश्वसनीय छ।

 

काजी भीम -मल्ल) पनि इतिहासमा थिए भन्ने उति थाहा नभएकाले काजी भीम -सेन थापा)माथि त्यो अपजस खामिन पुगेको बुझिन्छ। तैपनि, हो भने नै पनि त्यो सराप तत्कालीन काठमाडौँ देशसँग मात्र सम्बन्धित छ, नेपालसँग होइन।

 

पाटनका राजा विश्वजित मल्ललाई त्यहाँको तलेजुको ढोकामै काटिएपछि उनकी पत्नीले सराप दिएकी थिइन् भन्ने भनाइ छ। त्यो सरापको पंक्ति 'परेको बेला गरेको गुहारलाई कसैले नसुनोस्' (राइट) हो। तर, त्यो पनि तत्कालीन पाटन देशसँग सम्बन्धित छ, नेपालसँग होइन।

 

थापा-पत्नीले अवश्य सराप दिएकी थिइन्। तर, त्यो पनि भीमसेन थापा होइन, भक्ति थापा-पत्नीले १८७३ सालमा नालापानीको युद्ध सकिएपछि। उनका पनि दुइटा श्रीमती थिए। अर्काेतिर, भीमसेन थापाकी पत्नी भक्त (कुमारी) र भक्ति (थापा) भन्ने नामहरू मिल्न पनि गए। यसैले भ्रम पाल्नेहरूलाई अरू सजिलो भयो। त्यो हो, 'हाम्रा सन्तानले नेपाल सरकारको बाहेक अंग्रेजको नोकरी नगर्नू, गरेमा तिनको नाश हुनेछ' (धर्म)।

 

सतीघाट लमजुङमा छ। यो नाम एक स्थानीय कप्तानकी पत्नीका नाममा रहेको भनाइ छ। ती कप्तान एक ठकुरी थिए। तिनको सराप हो, 'तिमीहरूलाई धन भए कसले खाओस्, जन भए के खाऊँ भन्नुपरोस्' (धर्म)।

 

सतीको चौर सतीको वनमा छ। त्यो ठाउँ सिन्धुपाल्चोकको पनौती-खोपासीमा छ। रानी राजराजेश्वरीको समय (अठारौँ शताब्दीको अन्त्यतिर) एक सत्याल महिलालाई लखेटेर सती जान बाध्य पारएिपछि ती सती गएको ठाउँ हो, चौर। चौरका बारे उनले दिएको सराप हो, 'यो ठाउँमा कहिल्यै ठूला बिरुवा नउमि्रयोस्' (प्राने)।

 

सतीघाट, कैलालीमा सतीको मन्दिर छ। यो मन्दिर धुलिकोटका राजा नरेन्द्रविक्रम सिंह रायाको विसं १९६५-१९६९ बीच मृत्यु भएपछि सती जाने जेठी रानी चन्द्रकुमारी देवीका संस्मरणमा निर्मित हो (प्राने)।

 

फर्पिङबाट दक्षिणकाली जाँदा बाटोमा पर्छ, सतीखेल। खेल भनेको पनि नेवारीमा चौर नै हो। गीर्वाणयुद्ध विक्रम शाहका समयमा दरबारको गोठको तालुकदार बनाएर पठाइएका प्युखाका अर्याल परविारको कुनै सदस्यको नाममा रहेको अनुमान छ।

 

सतीले सराप मात्र दिन्छन् भन्ने कुरा पनि सत्य होइन। शेरविक्रम थापा (भीमसेन थापाका  भतिजा) की जेठी पत्नीले सामान्य भारदारका अवस्थामा रहेका जंगबहादुर राणालाई आशीर्वाद दिएकी थिइन्। त्यसैले उनी प्रधानमन्त्री भए भन्ने कथन छ (शमशेर)।

 

दिव्यदेव पन्त -प्रसिद्ध जुवाडे)की पत्नीले विश्वनाथ अर्याल प्युखाकी पत्नीलाई आशीर्वाद दिएकी थिइन्, 'तिमीलाई कहिल्यै फुर्सद नहोस्' (अनुश्रुति)।

 

करबि एक शताब्दीअघि श्रीमती नेपालले भोजपुरका हरनिारायण नेपाल र देवीदत्त नेपाललाई आशीर्वाद दिएकी थिइन् (ज्ञानमणि)।

 

पुछारमा

 

जंगबहादुर राणाले धरहराबाट कहिल्यै पनि फाल हालेनन् भनेर सन् १९०९ मै उनका छोराले नै लेखिसकेका थिए। बूढानीलकण्ठ कहिल्यै माटोले पुरिएको थिएन र त्यो नवौँ शताब्दीमा कुँदिएको हो भनेर प्रमाणित नै छ। भूपी शेरचनले ठीकै भनेका हुन्, यो हल्लैहल्लाको देश हो।

 

No comments:

Post a Comment