1.5.23

वैदिक हिन्दु संस्कारहरू

आमोदवर्धन कौण्डिन्न्यायन:-  संस्कारहरूको महत्त्व जन्मभन्दा अघिदेखि मृत्युपर्यन्त विभिन्न समयमा मनुष्यलाई परिष्कृत पार्न गरिने विशेष कर्महरूलाई वैदिक धर्ममा संस्कार भन्दछन् । संस्कारले प्राकृतिक रूपमा रहने विभिन्न दोषहरूलाई हटाई मनुष्यलाई परिष्कृत वा सुसंस्कृत पारी योग्य बनाउने काम गर्दछ । मनुष्य जन्मँदा प्रायः पशुसमान प्राणी हुने हुँदा उसमा मनुष्योचित गुण¬हरूको आधान गर्न र उसलाई आत्मज्ञान गर्ने उच्च भावभूमिमा पुर्‍याउनसमेत गर्भाधानको समयदेखि नै संस्कार गर्नुपर्ने बुझिन्छ । यथाकाल संस्कार नगरिएको मनुष्य व्रात्य हुन्छ । 

व्रात्य भनेको स्वजातिच्युत भनेजस्तै हो । तसर्थ समयमै विधिपूर्वक संस्कारहरू सम्पन्न गर्नुपर्छन् । मनुस्मृतिले शास्त्रनिर्दिष्ट गर्भाधानादि संस्कारलाई शरीरको (सूक्ष्म शरीरको समेत) संस्कारका निमित्त गरिने हो भन्ने मानेको छ—

वैदिकैर् कर्मभिः पुण्यैर्निषेकादिर् द्विजन्मनाम् । कार्यः शरीरसंस्कारः पावनः प्रेत्य चेह च ।।— २।२६।

व्यासस्मृतिमा स्त्रीका कतिपय र शूद्रका सबै संस्कार वैदिक मन्त्रहरूको प्रयोग नगरीकन गर्नुपर्ने कुरा उल्लिखित छ । वैदिक हिन्दु धर्मशास्त्रमा संस्कारका विषयमा विस्तृत चर्चा गरिएको पाइन्छ। संस्कारहरूको सङ्ख्याका विषयमा मतभेद भए तापनि सोह्र संस्कारहरू बढी प्रसिद्ध छन् । तिनमा गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामकरण, निष्क्रमण, अन्नप्राशन, चूडाकर्म, कर्णवेध, उपनयन, वेदारम्भ, केशान्त अर्थात् गोदान, समावर्तन, विवाह, गृह्याग्न्याधान र श्रौताग्निग्रहण पर्दछन् भनी व्यासस्मृतिमा यसरी बताइएको छ—

गर्भाधानं पुंसवनं

सीमन्तो जातकर्म च ।

नामक्रिया निष्क्रमोऽन्न–

प्राशनं वपनक्रिया ।।

कर्णवेधो व्रतादेशो

वेदारम्भक्रियाविधिः ।

केशान्तः स्नानमुद्वाहो

विवाहाग्निपरिग्रहः ।।

त्रेताग्निसङ्ग्रहश्चेति

संस्काराः षोडश स्मृताः ।

नवैताः कर्णवेधान्ता

मन्त्रवर्जं क्रियाः स्त्रियाः ।।

विवाहो मन्त्रतस्तस्याः

शूद्रस्याऽमन्त्रतो दश ।—१।१४–१७ ।

यसमा अन्त्येष्टिक्रियाको उल्लेख देखिँदैन । धर्मशास्त्रकार जातूकर्ण्यले चाहिँ सोह्र संस्कारभित्र व्यासले बताएका संस्कारमध्ये निष्क्रमण, कर्णवेध, गृह्याग्न्याधान र श्रौताग्न्याधानलाई छोडेका छन् भने वेदारम्भको सट्टा चार वेदको अध्ययनका निम्ति गरिने चार वेदव्रतादेशलाई ग्रहण गरेका छन् । साथै उनले अन्त्यकर्मलाई अर्थात् अन्त्येष्टिक्रियालाई पनि सोह्र संस्कारभित्र गणना गरेका छन्। यहाँ यी संस्कारमध्ये केहीको संक्षेपमा चर्चा गरिँदै छ।

गर्भाधान गर्भ राख्ने भाँडाको अर्थात् पाठेघरको वा पत्नीको शुद्धिका निम्ति वा परिष्कारका निम्ति गरिने संस्कारलाई गर्भाधानसंस्कार भन्दछन् । अरू वेदमा पत्नीमा बीजको आधान गर्ने संस्कारलाई गर्भाधानसंस्कार भनिएको छ । किन्तु शुक्लयजुर्वेदीहरूका निम्ति विवाहको चौथो रातमा चतुर्थीकर्म गरेर गरिने पत्नीको संस्कार नै गर्भाधानसंस्कारको स्थानापन्न  (सट्टामा गरिने) कर्म हो भन्ने बुझिन्छ। आजभोलि अशक्तिले गर्दा व्यावहारिकतालाई हेरेर विवाहकै दिन चतुर्थीकर्म पनि सम्पन्न गर्ने गरिएको देखिन्छ ।

पुंसवन स्त्रीमा गर्भ रहेको निश्चित भएपछि गर्भाधानको दोस्रो वा तेस्रो महिनामा पेटमा बालक नचल्दै सुसंस्कृत पुत्रको प्राप्तिका निम्ति गरिने संस्कारलाई पुंसवन भन्दछन् । गृह्यसूत्र, धर्मसूत्र र स्मृतिहरूमा यसको उल्लेख पाइन्छ—

अथ पुंसवनम्, पुरा स्पन्दत इति मासे द्वितीये तृतीये वा । —पारस्करगृह्यसूत्र १।१४।१–२ ।

छोरै जन्मियोस् भन्ने चाहना नभएमा यो संस्कार नगरे पनि हुने कुरा विद्वान्‌हरुले बताएका छन् ।

सीमन्तोन्नयन गर्भवतीको सौभाग्य र गर्भमा रहेका शिशुको दीर्घजीवनका निम्ति गर्भ रहेको छैटौँ वा आठौँ महिनामा विधिविधानका साथ पतिद्वारा पत्नीको कपाल कोरेर गरिने संस्कारलाई सीमन्तोन्नयन भन्दछन्। पारस्करले यो संस्कार प्रथम गर्भमा मात्रै गर्नुपर्ने बताएका छन्— अथ सीमन्तोन्नयनम्, प्रथमगर्भे मासे षष्ठेऽष्टमे वा ।—पारस्करगृह्यसूत्र १।१५।१,३ ।

आजभोलि पुंसवन र सीमन्तोन्नयन संस्कार गर्न नसकिएकाले नामकरण (न्वारन) का समयमा यिनको त्याग भएकामा प्रायश्चित्तगोदान गर्ने गरिन्छ ।

जातकर्म बालक जन्मेपछि गरिने कर्मलाई जातकर्म भन्दछन् । बालक जन्मेपछि नाल नकाट्तै विधिपूर्वक मन्त्रको उच्चारण गर्दै बालकलाई मह र घिउ चटाइन्छ । यस कर्मलाई मेधाजननकर्म अर्थात् बुद्धि जन्माउने कार्य भन्दछन् । त्यसपछि नवजात बालकका नाभिमा वा कानमा बाबुले विधिपूर्वक मन्त्र जपेर आयुष्यकर्म अर्थात् आयु बढाउन गरिने अनुष्ठान गर्दछन् । अरू पनि केही विधिहरू सम्पन्न गरेपछि जातकर्म पूर्ण हुन्छ । आजभोलि यो कर्म अशक्तिले गर्दा नामकरणसँगै गर्ने गरिन्छ ।

नामकरण नाम राख्ने कार्यलाई नामकरण वा न्वारन भन्दछन् । बालक जन्मेका दश दिनमा सुत्केरीलाई ओछ्यानबाट उठाएर स्नान गराई ब्राह्मणभोजन गराएर बाबुले बच्चाको नाम राख्ने विधान गृह्यसूत्रहरूमा पाइन्छ—

दशम्यामुत्थाप्य ब्राह्मणान् भोजयित्वा पिता नाम करोति ।—पारस्करगृह्यसूत्र १।१७।१ ।

याज्ञवल्क्यस्मृतिमा चाहिँ एघारौँ दिनमा नामकरण गर्नुपर्ने बताइएको छ । नेपालमा पनि एघारौँ दिनमा नै न्वारन गर्ने प्रचलन छ । नाम राम्रो र शुद्ध संस्कृत भाषाको हुनुपर्ने कुरामा शास्त्रले जोड दिएको छ । नक्षत्रनाम राख्ने प्राचीनतम पद्धति वेदाङ्गज्योतिषमा पाइन्छ । त्यहाँ जातकको जुन नक्षत्रमा जन्म भएको हुन्छ, त्यस नक्षत्रका देवताको नामबाट नक्षत्रनाम राख्नु पर्ने बताइएको छ । अर्वाचीन कालमा आएर त्यो पद्धति ओझेलमा पर्न गएको देखिन्छ । हिन्दुहरूले आफ्नो संस्कृतिअनुरूपको नाम राखेर आफ्नो सांस्कृतिक पहिचान जोगाउनमा ध्यान दिनुपर्ने देखिन्छ ।

निष्क्रमणिका निष्क्रमण वा निष्क्रमणिकाको शाब्दिक अर्थ बाहिर निस्कने काम भन्ने हो । जन्मेका चौथा महिनामा बच्चालाई पहिलो पटक घरआँगनबाट बाहिर निकालेर मन्त्रोच्चारण गर्दै सूर्यको दर्शन गराउने कार्यलाई निष्क्रमणिका भन्दछन्—

चतुर्थे मासि निष्क्रमणिका, सूर्यमुदीक्षयति तच्चक्षुरिति ।—पारस्कर–गृह्यसूत्र १।१७।५–६ ।

आजभोलि व्यावहारिकतालाई हेरेर यो कार्य न्वारनकै दिन गर्ने गरिएको छ ।

अन्नप्राशन जन्मेको छैटौँ महिनामा शिशुलाई पहिलो पटक विधिपूर्वक अन्न खुवाउने कर्मलाई अन्नप्राशन (भातखुवाइ वा पास्नी) भन्दछन्—

षष्ठे मासेऽन्नप्राशनम् ।—पारस्करगृह्यसूत्र १।१९।१।

छोराको छैटौँ महिनामा र छोरीको पाँचौँ महिनामा अन्नप्राशनसंस्कार गर्नुपर्ने उल्लेख पनि पाइन्छ । शारीरिक रूपले पनि अन्नको आवश्यकता छोरीलाई केही पहिल्यै हुने कुरा वैज्ञानिक रूपले विचार गर्दा समेत देखिन्छ भन्दछन् ।

चूडाकर्म एक वर्ष पुगेदेखि तीन वर्षको उमेर नकटेसम्ममा वा आफ्नो कुलको परम्पराअनुसार अरू कुनै समयमा बालकको चूडाकर्म गर्ने विधान पाइन्छ—

सांवत्सरिकस्य चूडाकरणम्, तृतीये वाऽप्रतिहते, … यथामङ्गलं वा सर्वेषाम् । —पारस्कर–गृह्यसूत्र २।१।१,२,४ ।

शास्त्रीय विधिअनुसार शिरको मुण्डन गरी (कपाल खौरिएर) चूडा वा शिखा अर्थात् टुप्पी राख्ने कार्य¬लाई चूडाकर्म वा चूडाकरण भन्दछन् । कसैले नेपाली भाषामा यस संस्कारलाई छेवर पनि भनेको देखिन्छ । वेदले शिखालाई अत्यन्त महत्त्व दिएको छ ।

श्रीका निम्ति अर्थात् सम्पत्ति र शोभाका निम्ति शिखा हो । श्रियै शिखा— भनेर  शुक्लयजुर्वेदसंहिता (१९।९२) वेदले अत्यन्त महत्त्व दिएको र हाम्रो लामो परम्पराले पनि हिन्दुहरूको सांस्कृतिक चिह्नका रूपमा स्वीकार गरी धारण गर्दै¬आएको कुनै पनि पेसाका व्यक्तिको कुनै पनि कार्यमा बाधा नपुर्‍याउने शिखालाई शिरमा धारण गर्दा लज्जाको अनुभव गर्ने प्रवृत्ति राम्रो होइन । शिखा पाल्ने काममा पुनर्जागरण ल्याउनुपर्ने देखिन्छ । शिखाको भौतिक व्याख्या गरेर त्यसको महत्त्व र उपादेयता दर्साउने काम आधुनिक व्याख्याताहरूले पनि गरेका छन् ।

वेद वेदाङ्ग इत्यादि वैदिक सनातन शास्त्रले विधान गरेका जन्मभन्दा अघिदेखि मानिसलाई परिष्कृत पार्न गरिने संस्कारहरूको धेरै महत्त्व भएको कुरा स्पष्ट हुन्छ । संस्कारले दोषहरूलाई हटाई सुसंस्कृत पारी योग्य बनाउने काम गर्दछन् । मानिसमा मनुष्योचित गुणहरूको आधान गर्न र उसलाई आत्मज्ञान गर्ने उच्च भावभूमिमा पुर्‍याउनसमेत यथासमय विधिपूर्वक संस्कारहरू सम्पन्न गर्नुपर्ने निर्देश वैदिक शास्त्रमा छ।

कर्णवेध विधिपूर्वक कान छेड्ने कार्यलाई कर्णवेध भन्दछन् । यस संस्कारको उल्लेख पारस्कर इत्यादि धेरै गृह्यसूत्रकारले नगरे तापनि समावर्तनसंस्कारमा कुण्डल लगाउने विधान देखिनाले कान छेड्न पर्नेजस्तो बुझिन्छ । कात्यायनगृह्यसूत्रमा कर्णवेध तेस्रो वा पाँचौँ वर्षमा गर्नुपर्ने उल्लेख पाइन्छ— अथ कर्णवेधो वर्षे तृतीये पञ्चमे वा ।—२।२।१ ।

कौषीतकि गृह्यसूत्रमा चाहिँ सातौँ वा आठौँ महिनामा अथवा आफ्नो कुलको परम्पराअनुसार अरू कुनै समयमा कर्णवेध गर्नुपर्ने बताइएको छ । यो संस्कार बालक र बालिका दुवैको गर्नुपर्ने देखिन्छ ।

उपनयन वेद पढ्नका निम्ति आचार्यका अर्थात् गुरुका समीपमा लगी गरिने संस्कारलाई उपनयन भन्दछन् । उपनयनको अर्थ समीप लैजानु हो । गुरुबाट सम्पन्न गरिने उपनयन अत्यन्त महत्त्वपूर्ण संस्कार मानिन्छ । यो संस्कार भएपछि मात्र वैदिक अध्ययन र यज्ञयागादि धार्मिक कार्यमा अधिकार हुने हुनाले नेपाली समाजमा यसलाई कर्म चलाउने संस्कारका रूपमा लिइन्छ । यस संस्कारले पशुसमान मानवलाई विशिष्ट मानवका रूपमा जन्माउने हुनाले यसपछि ब्राह्मण, क्षत्रिय र वैश्यले द्विजत्व अर्थात् दोस्रो जन्म प्राप्त गरेको मानिन्छ । यसै संस्कारका आधारमा उक्त तीन वर्णका मनुष्यलाई द्विजाति पनि भन्ने गरिन्छ । सामान्यतया गर्भाधानदेखि वा जन्मदेखि ८ वर्षमा ब्राह्मणको, ११ वर्षमा क्षत्रियको र १२ वर्षमा वैश्यको उपनयन गर्नुपर्ने तथा त्यसो गर्न नसके ब्राह्मणको १६ वर्षभित्र, क्षत्रियको २२ वर्षभित्र र वैश्यको २४ वर्षभित्र उक्त संस्कार सम्पन्न गर्नुपर्ने विधान छ । उपनयन संस्कार सम्पन्न भएपछि विभिन्न शास्त्रीय नियमका बन्धनमा बस्नुपर्छ।

आजभोलि सार्वजनिक स्थलमा धेरैथरी वटुकहरूको एकै पटक सामूहिक व्रतबन्ध गर्ने–गराउने प्रचलन पनि बढ्दै गएको देखिन्छ । किन्तु त्यस्तो कार्य शास्त्रसम्मत होइन। तसर्थ आस्तिक द्विजातिहरूले आफ्नै घरमा वा तीर्थमा विधिपूर्वक छोटकरी रूपमै भए पनि योग्य आचार्यद्वारा आफ्ना आश्रित बालकको उपनयनसंस्कार गराउनुपर्ने देखिन्छ । धेरै जनाको व्रतबन्ध गराउने आचार्यको पनि शास्त्रमा अत्यन्त निन्दा गरिएको छ—

श्रद्दधानस्य भोक्तव्यं चोरस्यापि विशेषतः ।

न त्वेव बहुयाज्यस्य यश्चोपनयते बहून् ।—वासिष्ठधर्मसूत्र १४।१७ ।

आजभोलि नेपाली समाजमा चूडाकर्म, उपनयन, वेदारम्भ र समावर्तन यी चारोटै संस्कार एकै दिन सम्पन्न गर्ने गरिएको पाइन्छ । यी चारै संस्कारलाई एकै संस्कारजस्तो मानेर यिनलाई संयुक्त रूपमा व्रतबन्ध भन्ने गरिन्छ । किन्तु वस्तुतः यी चार छुट्टाछुट्टै समयमा गरिने छुट्टाछुट्टै संस्कार हुन् । आपत्‌कालमा यी चारै संस्कार एकै पटक गरिएका मात्र हुन् । विधिपूर्वक वेद पढ्न थाल्ने संस्कारलाई वेदारम्भ वा उपाकर्म भन्दछन् । समावर्तनचाहिँ वेद–वेदाङ्गको अध्ययन सिध्याएर विधिपूर्वक स्नानादि गरी सम्पन्न गरिने संस्कार हो— वेदं समाप्य स्नायात् ।—पारस्कर–गृह्यसूत्र २।६।१ ।

अशक्तिले गर्दा वेदादि शास्त्रको अध्ययन पूरा नगरीकन व्रतबन्धकै दिन समावर्तन गरेका व्यक्तिले चाहिँ समावर्तनपछि पनि वेदादि शास्त्रको अध्ययन विधि¬पूर्वक गर्न सक्छन् र लागेपुगेसम्म त्यसो गर्न पनि पर्छ । यो संस्कार भएको व्यक्ति स्नातक भनिन्छ र ऊ विवाह गरी गृहस्थ हुन योग्य पनि मानिन्छ । स्नातकका तीन भेद छन्। वेदाध्ययन पूरा गरेका तर ब्रह्मचर्यको व्रत पूरा नगरेका स्नातकलाई विद्यास्नातक, ब्रह्मचर्यको व्रत पूरा गरेका तर वेदाध्ययन पूरा नगरेका स्नातकलाई व्रतस्नातक र दुवै पूरा गरेका स्नातकलाई विद्याव्रतस्नातक भन्दछन्— त्रयः स्नातका भवन्ति विद्यास्नातको व्रतस्नातको विद्याव्रतस्नातक इति । —पारस्कर–गृह्यसूत्र २।५।३२ ।

विवाह हिन्दु संस्कारहरूमध्ये अत्यन्त महत्त्वपूर्ण संस्कारका रूपमा विवाहलाई लिइएको छ । जग्गिया बनाएर अग्नि र ब्राह्मणलाई साछी राखेर वैदिक मन्त्रहरूको उच्चारण गर्दै गरिने वैदिक विवाह–संस्कारको हाम्रो धार्मिक र सामाजिक जीवनमा धेरै महत्त्व छ । विवाहको चर्चा यसअघिकै लेखमा गरिसकिएकाले पुनः यहाँ गरिएको छैन ।

अन्त्येष्टिक्रिया मानवव्यक्तिका लागि गरिने संस्कारहरूमध्ये अन्तिम संस्कार अन्त्येष्टिक्रिया हो । यसलाई अग्निसंस्कार पनि भन्न सकिन्छ । मर्ने व्यक्तिको उत्तम गति वा परलोकमा सुखप्राप्तिका निम्ति छोराले वा बन्धुले यो संस्कार गर्नुपर्ने देखिन्छ । अन्त्येष्टिसंस्कारभित्र दशदान, वैतरणीदान, उपनिषद्को पाठ वा श्रवण, विधिपूर्वक श्मशानसम्म शव लैजाने काम, शवदाह, उदककर्म (खल्को हालेर पानी दिने काम), पिण्डदान, एकोद्दिष्टश्राद्ध (एकादशाहश्राद्ध), शुद्ध¬शान्ति इत्यादि कार्यहरू पर्दछन्। विधिपूर्वक अन्त्येष्टिक्रिया गर्न बाह्र –तेह्र दिन लाग्दछ।

उपसंहार यसरी वेद वेदाङ्ग इत्यादि वैदिक सनातन शास्त्रले विधान गरेका जन्मभन्दा अघिदेखि मानिसलाई परिष्कृत पार्न गरिने संस्कारहरूको धेरै महत्त्व भएको कुरा स्पष्ट हुन्छ । संस्कारले दोषहरूलाई हटाई सुसंस्कृत पारी योग्य बनाउने काम गर्दछन् । मानिसमा मनुष्योचित गुणहरूको आधान गर्न र उसलाई आत्मज्ञान गर्ने उच्च भावभूमिमा पुर्‍याउनसमेत यथासमय विधिपूर्वक संस्कारहरू सम्पन्न गर्नुपर्ने निर्देश वैदिक शास्त्रमा छ।

No comments:

Post a Comment