13.6.23

आउँदै छ अब लुगा डिजाइन गरेजस्तै बेबी डिजाइन गर्ने दिन

ज्ञान मित्र-  केही दिनदेखि मलाई व्यासको सम्झना आइरहेको छ। प्रायः हिन्दु धर्मालम्बीहरुलाई यो श्लोक स्मरण हुन्छ – हिन्दु धार्मिक मान्यतामा आठजना व्यक्तिलाई चिरञ्जिवी मानिन्छ। व्यास यीमध्ये एक हुन्। व्यास जन्मसम्बन्धी कथाअनुसार ऋषि परासर वनप्रान्त हुँदै गइरहेका थिए। नदी छेउका माझी नाइके दासराजको छोरी मत्स्यगन्धाले आफ्नो नाउबाट उनलाई नदी पार लैजाँदै थिइन्। ऋषिको दिल माझी पुत्रीमा आकर्षित भयो। उनले कन्यासँग एउटा पुत्रको अभिलाषा गरे। 

अनेको शर्त र ‘डिमाण्ड’ पश्चात् माझीकन्या ऋषिको अभिलाषा पूरा गर्न सहमत भइन् र ऋषिले नियोग विधिद्वारा छोरो जन्माए, जुन कालान्तरमा गएर व्यास नामले विख्यात भए। सृष्टि मैथुनीय छ। सृष्टिलाई मैथुनीय मात्रै मान्ने दृष्टिकोणले मैथुनको अनिवार्यता अपरिहार्य हुन्छ सृष्टि सञ्चालनका लागि। यस दृष्टिकोणले आधुनिक युगमा नियोगलाई सम्भोगकै एउटा अथवा कुनै प्रकारको विधि सम्झिनु बाहेकको अर्को कुनै समझ हुन सक्दैन हामीसँग। यस पंक्तिलाई याद राख्नु होला, लेखमा पछि यसबारे चर्चा हुन्छ।

अश्वत्थामा बलिर्व्यासो हनुमांश्च विभीषण:।
कृप: परशुरामश्च सप्तैतै चिरजीविन:॥
सप्तैतान् संस्मरेन्नित्यं मार्कण्डेयमथाष्टमम्।
जीवेद्वर्षशतं सोपि सर्वव्याधिविवर्जितः॥


मौका छ अलि चर्चा व्यासका कुल र गोत्रबारे पनि गरिहालौँ। व्यासका पिता ऋषि परासर, माता माझीपुत्री मत्स्यगन्धा हुन् भने परासरलाई हिन्दु धर्ममा विष्णु पुराण, ऋग्वेदको मन्त्रद्रष्टा ऋषि, ‘परासर धर्मसंहिता’, ‘बृहद परासर होराशास्त्र’ (हिन्दु ज्योतिष विज्ञानको एउटा आधार स्तम्भ) का साथै वृक्षायुर्वेंद र “कृषि परासरम ग्रन्थ”का लागि सम्झिने गरिन्छ।

थिओफ्रास्टस (Theophrastus – Greek philosopher 371 -287 bc) लाई ‘बोटनी’को पितामह मान्छ पश्चिमा जगतले। यसभन्दा हज़ारौं वर्ष पहिला परासर ऋषिले वनस्पति कृषि एवं बिउ संरक्षणबारे लेखिसकेका थिए। अहिले नभए पनि ‘इन्टेलिजेन्ट एआई’को विकास भएपछि थाहा हुनेछ ग्रीक सभ्यतामा ज्ञान कहाँबाट ‘ट्रांसपोर्ट’ भएर आएको थियो। ईसापूर्व ४६० देखि हिप्पोक्रेट्स, सोक्रेटस,प्लेटो र ३२२ ईसापूर्व सम्मका एरिस्टोटलको ज्ञानको श्रोत के रहेको थियो? सारा पश्चिम ज्ञानको त्रिवेणी यिनै दार्शनिकबाट निःसृत भएको देखिन्छ।

‘बोटनी’को सन्दर्भमै कुरा गरौँ- थिओफ्रास्टसभन्दा धेरै पहिला चिनियाँहरुलाई अमिलो फल सुन्तला – कागतीको औषधीय एवम भोजन सम्बन्धी उपादेयताका साथै यसको ‘कल्टिभेसन’बारे थाहा थियो। त्यसभन्दा पहिला बेबीलोनियनहरुलाई ‘डेट र पाम’ ( date palms ) को ‘सेक्सुअल रिप्रोडक्सन’ बारे थाहा थियो। इजिप्सियनहरुले नाइल नदीको पानीलाई सिंचाईका लागि उपयोग गरेर भोजन प्रदान गर्ने बिरुवा उमार्नुका साथै औषधीय गुण हुने एवम फूल बाटिकासम्मको ज्ञान हासिल गरेका थिए। परासर ऋषि त यसभन्दा धेरै पहिला अर्थात द्वापर युगभन्दा पहिलाको त्रेता युगमा भगवान् श्रीरामको उदय हुनुभन्दा पहिला (श्रीराम भन्दा १०-११ पुस्ता पहिला का व्यक्ति थिए।

चर्चा त्रेतामा पुगेपछि रामको पुर्खाबारे उत्खनन गरौँ। ऋषि पराशरका पिता थिए महर्षि शक्ति। महर्षि शक्तिका पिता भने महर्षि वशिष्ठ थिए। कुरा रामको जन्म हुनु १० पुस्ता पहिलाको हो। रामका पर पर पितामह कल्माषपाद (दास, मित्रसह, अमित्रसह आदि नामले पनि चिनिने) ले वशिष्ठका पुत्र शक्तिको वध गरेका थिए। महर्षि शक्तिले मारिनु पूर्व राजा कल्माषपादलाई राक्षस हुने श्राप दिएका थिए।

पुत्र वियोगमा आत्महत्याको प्रयाससम्म गरेका महर्षि वशिष्ठले पछि राक्षस भएका कल्माषपादलाई श्रापमुक्त गरे। कल्माषपादले अयोध्या फर्की राज्य सञ्चालन गरे र वशिष्ठलाई राजगुरु बनाएका थिए। केही धर्मग्रन्थका अनुसार राजा कल्माषपादको रानी मदयंतीले महर्षि वशिष्ठद्वारा गरिएको नियोग पद्धतिद्वारा अश्मक नामक पुत्र पाएकी थिइन्। अश्मक इक्ष्वाकु वंशका ५८ औँ नम्बरका राजा थिए भने राम इक्ष्वाकु वंशका ६८ औँ पुस्ताका थिए। इक्ष्वाकु वंश सूर्यवंशीको परम्परा अन्तर्गत आउँछ। सूर्यवंशको पहिलो राजा वैवस्वत मनु हुन्। हिन्दू धार्मिक मान्यता अनुसार ब्रह्माजीका १० मानस पुत्र (अन्य ग्रन्थ अनुसार कुल ५९ पुत्र र एउटा पुत्री शतरूपा) मध्ये एउटा मरीचि हुन्। मरीचिका पुत्र थिए कश्यप ऋषि र कश्यपका पुत्र थिए विवस्वान अथवा सूर्य। सूर्यको पुत्रका रूपमा वैवस्वत मनु जन्मिए। यिनैबाट सूर्यवंशको परम्परा चल्यो। वैवस्वत मनुको सातौँ पुस्तामा भएका राजा इक्ष्वाकु परम प्रतापी राजा भएका थिए, यिनकै नामबाट सूर्य वंशमा इक्ष्वाकु वंशको नाम थपियो।

सामयिकीमा अलिक चर्चा ब्रह्माजीको गरेर पुनः विषय वस्तुमा फर्किन्छु। मेरो विषयवस्तु सन २०२२ को एउटा घटना हो। निश्चय पनि लेखन लामो हुनेछ।

ब्रह्माजीका ५९ पुत्र र एउटा पुत्री शतरूपाबारे छोटो चर्चा। विष्वकर्मा, अधर्म, अलक्ष्मी, आठ वसु, चार कुमार, १४ मनु, ११ रुद्र, पुलस्य, पुलह, अत्रि, क्रतु, अरणि, अंगिरा, रुचि, भृगु, दक्ष, कर्दम, पंचशिखा, वोढु, नारद, मरिचि, अपान्तरतमा, वशिष्‍ट, प्रचेता, हंस र यति। मनु बाहेक ब्रह्माजीका सबै पुत्र मानसिक हुन्। ब्रह्माजीको शरीरको दायाँ भागबाट मनु एवम बायाँ भागबाट शतरूपाको जन्म भयो। मनु तथा शतरूपाबाट जन्मिएका सन्तान मध्ये प्रसूति नामक कन्याको विवाह दक्षसँग भयो। प्रसूति र दक्षका २४ कन्या मध्ये भृगुसँग ख्याति, शिवसँग सती, मरीचिसँग सम्भूति, अंगिरासँग स्मृति, पुलस्त्यसँग प्रीति, पुलहसँग क्षमा, कृतिसँग सन्नति अत्रिसँग अनसूया, वशिष्ठसँग अरुन्धतीको बिहे भयो। भन्न सकिन्छ मैथुनीय सृष्टिको आरम्भ मनु र शतरूपाबाट भयो। हामी रहेको कलियुगभन्दा अघिल्लो युग द्वापरसम्मका ऋषिलाई मैथुनीय सृष्टिका साथै मानसिक सृष्टि एवम रीतिले नियोग विधिले सन्तानोत्तप्पत्ति गर्नेबारे जानकारी एवम दक्षता हासिल थियो।

अब ब्रह्माजीबाट सोझै द्वापर युगमा फर्कौँ।

महर्षि व्यासको जन्म परासर एवं माझीकन्या मत्स्यगन्धाबाट नियोग विधिले भयो। माझीकन्या परासरको आशीर्वादले योजनगंधा अथवा सत्यवती भइन्। मत्स्यगन्धा पनि माझी नाइके दासराजको पुत्री होइनन् वरन यिनी अद्रिका नामक अप्सरा एवं उपरिचर नामक वसुको सन्तान थिइन्। रमाइलो कथा छ यिनको जन्मबारे। ब्रह्माजीको श्रापवश अद्रिका नामक अप्सरा माछाको शरीर धारण गरी जुनी काट्दै थिइन्। राज्य सुधन्वा नामक राजाको थियो। राजा शिकारका लागि वन गएको बेला दरबारमा रानी रजस्वला भइन्। सुधन्वाले यो सन्देश पाउनसाथ एउटा दूनामा आफ्नो वीर्य राखी वेगवान पक्षीद्वारा राजमहल पठाए। बाटोमा त्यस पक्षीको अर्को पक्षीसँग लापा पर्‍यो। परिणामस्वरुप वीर्य रहेको दुना नदीमा खस्यो र श्रापवश माछा बनेकी अद्रिका नामक अप्सराले त्यसलाई ग्रहण गरिन्। यसैबाट अद्रिका गर्भवती भइन् र मत्स्यगन्धाको जन्म भयो। स्त्री पुरुष समागम बिना नै मत्स्यगन्धा अर्थात महाभारतको एउटा प्रमुख पात्र सत्यवतीको जन्म भयो।

महाभारत चंद्रवंशी खलकमा कुरु राजवंशमा घटित भएको थियो। कृष्णको अवतार भने चंद्रवंशी खलकको वृष्णि वंशमा भएको थियो। कुरु वंशका तेस्रो राजा शान्तनुको प्रथम विवाह गंगासँग भयो। यस विवाहबाट देवव्रत अथवा भीष्मको जन्म भयो। कालान्तरमा आखेटमा जाँदा शान्तनुको नजर योजनगन्धा अथवा सत्यवतीमाथि पर्न गयो। राजा शान्तनु सत्यवतीमाथि मोहित भए। तर माझीले आफुद्वारा पोषित कन्याको बिहे गर्न शान्तनुका सामु शर्त राख्यो। उसको शर्त थियो राजा शान्तनु र सत्यवतीबाट जन्मिएको छोरो नै राज्यको उत्तराधिकारी हुनुपर्छ। शान्तनुका प्रथम छोरा देवव्रतले पिताको सुखका लागि ‘क्राउन प्रिंस’को पद त्यागेर र आफू आजन्म बिहे नगर्ने सौगन्ध लिएर सत्यवतीसँग शान्तनुको बिहे हुने मार्ग प्रसस्त गरिदिए। यसै त्याग र प्रतिज्ञाले उनी भीष्मका नामले विख्यात भए।

सत्यवतीले शान्तनुबाट दुइ छोरा जन्माइन् – चित्रागंद र विचित्रवीर्य । भीष्मले पहिला चित्रांगदलाई गद्दीमा बसाले तर एउटा युद्धमा चित्रांगद मारिए। भीष्मले विचित्रवीर्यलाई राजा बनाए। काशीराजका पुत्रीद्वय अम्बिका र अम्बालिकाको हरण गरेर विचित्रवीर्यको बिहे गराए भीष्मले। तर विचित्रवीर्य दुबै रानीबाट कुनै सन्तान नजन्माउदै स्वर्गे भए। अब सत्यवतीलाई आफूले ऋषि परासरबाट जन्माएको पुत्र व्यासको सम्झना आयो।

व्यासले भाई विचित्रवीर्यका पत्नीद्वय अम्बिकाबाट धृतराष्ट्र एवं अम्बालिकाबाट पाण्डु नामक पुत्र जन्माए। व्यासले माता सत्यवतीलाई धृतराष्ट्र अन्धो हुने एवं पाण्डु जन्मैदेखि ‘एनिमिक’ हुने जानकारी दिँदा उनी दुखित भइन र उनले एकपटक पुनः नियोगको आग्रह गरिन् तर यसपटक व्याससँग डराएकी अम्बिकाले आफू सट्टा आफ्नो दासी पठाई दिइन्। दासीबाट विदुरको जन्म भयो। कथामा ट्विस्ट हुने काम चलिराख्यो। धृतराष्ट्र नेत्रविहीन भएका कारण सर्वसम्मतिले पाण्डुलाई गद्दीमा बसाइयो। पाण्डुका दुइ पत्नी थिए कुन्ती तथा माद्री। एउटा ऋषिबाट प्राप्त श्रापका कारण पाण्डुले राजगद्दी छाडी पत्नीद्वयसँग वन प्रस्थान गरे। वनमा कुन्तीले देवताहरुसँग नियोग विधिले युधिष्ठिर, भीम र अर्जुन एवम माद्रीले नकुल र सहदेव जन्माइन्। वनमै पाण्डुको मृत्यु भएपछि माद्री सती गइन् र कुन्ती ५ वटै पुत्रलाई लिएर राजमहल फर्किन्। कुन्तीको बिहे पूर्व नै सूर्यको आशीर्वादबाट एउटा पुत्र थियो जुन महाभारतकालमा कर्णका नामले चिनियो।

पाण्डुले गद्दी छाडेपछि धृतराष्ट्र राजा बने, उनको विवाह गान्धार नरेशपुत्री गान्धारीसँग भयो। गान्धारीले व्यासबाट १०० छोरा पाउने आशीर्वाद पाइन्। उनी गर्भवती भइन् तर निश्चित समयमा सन्तान नभएपछि उनले पेटमा प्रहार गरिन्। उनको गर्भबाट मासुको डल्लो निस्कियो। व्यास आइपुगे, उनले मासुको डल्लोबाट १०१ टुक्रा बनाउन लाएर विभिन्न पात्रमा राखे र तिनै पात्रबाट दुर्योधन दुशासनसहित १०० छोरा र दुशाला नामक एउटा पुत्रीको जन्म भयो।

धृतराष्ट्र र पाण्डुका छोरा हुर्किँदै जाँदा उनीहरुबीच कटुता एवम तिक्तता बढ्दै गयो र एक दिन व्यासले दरबारमा आएर आफ्नी माता सत्यवती र पुत्रवधु द्वयलाई भविष्यमा हुन गइरहेको भीषण परिस्थितिको चित्रण गर्दै आफूसँग वन जाने अनुरोध गरे। सासु एवम बुहारीद्वय व्याससँग वन गए। व्यासले गरेको भीषण परिस्थिति केही समयभित्र नै घटित भयो, धृतराष्ट्र पुत्र एवम पाण्डु पुत्रबीच भयानक युद्ध भयो।

अनेकन ट्विस्टले भरिएको महाभारत कथापछि यस लेखको ट्विस्टमा प्रवेश गरौँ।

आधुनिक युग अथवा वर्तमानका धेरैजना विद्वानले रामायण अथवा महाभारतलाई कथा मात्रै मान्ने गरेको पाइन्छ। ठीक छ उनीहरुले यसलाई फगत कथा भने पनि कुनै आपत्ति छैन। तर यिनै विद्वानले रामद्वारा शम्बूक वध, सीता परित्याग, बालि वध जस्ता विभिन्न घटनालाई आफ्नो पक्षमा बडो यत्नसाथ पस्किने गरेको देखिन्छ। कृष्ण विषयक विभिन्न तर्क पनि यी महानुभावले गरिरहेका हुन्छन्। नियोगलाई स्त्री पुरुष समागम नै भन्ने गरेको तपाईंहरुले पनि सुन्नु भएको होला। कुन्ती – द्रौपदीबारे अनर्गल कुरा गरेको पनि सुन्न पाइन्छ। आफ्नो हित साध्ने कुरामा भने यिनीहरुका लागि रामायणकालीन एवम महाभारतकालीन घटना आफ्नै आँखा सामु घटित भएको जस्तै हुन्छन् तर अन्य यावतका विषयवस्तुमा भने यी सबै ग्रन्थ हराउन पुग्छन।

हिन्दू धर्ममा एउटा माझीको छोरो (शायद अहिलेको अवस्थामा शूद्र ) वेदादि ग्रन्थको संकलक – भाष्यकार हुनसक्छ। १८ पुराण र ब्रह्मसूत्रको सूत्रधार हुनसक्छ। महर्षिको पदमा आसीन हुनसक्छ। यो स्वीकार गर्दा यिनीहरुको निजी स्वार्थमा बाधा पुग्न जान्छ र यस कारण यी हिन्दू धर्मग्रन्थ काल्पनिक हुन्छन् यिनीहरुका लागि। महिला शिक्षा र असामनता हेर्छन यिनीहरु हिन्दू धर्ममा। तर एकपटक वेद पल्टाएर हेरुन यी तथाकथित बुद्धिजीवीले। अदिति, देवजामि( देवजामयः),सावित्री, घोषा कक्षीवती, सिकता निवावरी, सर्पराज्ञी (सार्पराज्ञी) , दक्षिणा प्राजापत्य , इंद्राणी, सचि (पौलोमी शचि), यमी वैवस्वत, वाक् आम्भृणी, अपाला आत्रेयी, जुहू ब्रह्मजाया, अगस्त्यस्वसा, विश्ववारा आत्रेयी, उर्वशी, सरमा देवशुनी, शिखण्डिन्यौ अप्सरसौ, श्रद्धा कामायनी, नदी, गोधा, शाश्वती (शश्वती आंगिरसी), वसुक्रपत्नी,रोमशा ब्रह्मवादिनी यी सबै ऋग्वेदका ऋषिका हुन। ऋग्वेदका २२४ मंत्रका द्रष्टा महिला ऋषि हुन। अथर्ववेदमा १९८ मंत्र महिला ऋषिबाट उद्घाटित भएका हुन्। यसका साथै लोपामुद्रा, गार्गी, मैत्रेयी, अरुंधती आदि परापूर्वकालदेखि नै विदुषी महिलाका रूपमा विख्यात छन्।

अब म २०२२ मा ‘ल्याण्ड’ गर्न गइरहेको छु।

सन २०२२ को कुनै महिनामा चीनबाट समाचार आयो – ‘एक्टोलाइफ’ (ectolife) भन्ने कम्पनीले एउटा मेसिन बनाएको छ जसलाई कृतिम कोख भन्न मिल्छ। हाललाई यसको नाम ‘ग्रोथ पोड’, ‘बेबी पोड’ भनिएको छ। यो एउटा यस्तो मेसिन हो जसमा स्त्री र पुरुष कोशिका निषेचन हुनुका साथै कोशिका निषेचनबाट बनेको भ्रूणानु – भ्रूण + अणु ( zygote) एवं सम्पूर्ण भ्रूणीय विकास (embryonic development.) यसै मेसिन भएर शिशु जन्मिन्छ। प्रारम्भमा चिनियाँ वैज्ञानिक यस ‘बेबी पोड’बाट ४०० शिशु जन्माउने योजनामा छन्

जिन एडिटिङ चामत्कारिक बन्नसक्छ!

तपाईं ‘आईभीएफ’ (IVF – In vitro fertilization ) सँग यसको तुलना नगर्नुस्। ‘आईभीएफ’ एक किसिमले ‘असिस्टेड रिप्रोडक्टिव टेक्नोलोजी’ मात्रै हो। यस अन्तर्गत स्त्री प्रजनन अंग अंडाशय ( ovary ) बाट एउटा अंडा (सेल) झिकी त्यसलाई ग्लास्टयूबमा राखेर पुरुष शुक्राणुबाट निषेचित गराइन्छ। यसरी ल्याबमा तयार भएको भ्रूणानुलाई स्त्री गर्भाशयमा स्थापित गरिन्छ। सम्पूर्ण भ्रूण विकास स्त्री गर्भमै हुन्छ। चाहे त्यों गर्भ ‘एग डोनर’ स्त्रीको होस अथवा अन्य कुनै स्त्रीको। ‘आईभीएफ’लाई मैथुनीय सृष्टि मान्ने कि नमान्ने यो हाम्रो मानसिकतामाथि निर्भर गर्छ। हो यस पद्धतिमा पनि स्त्रीको ‘रिप्रोडक्शन सेल’ र पुरुषको ‘रिप्रोडक्सन सेल’को प्रयोगले नै शिशुको निर्माण हुन्छ। फरक यति हो यस पद्धतिमा स्त्री पुरुष समागमको कुनै भूमिका हुन्न। एक हिसाबले यसलाई अमैथुनीय भने अनुपयुक्त हुन्न।

‘आईभीएफ’ले स्त्री पुरुष समागमबाट नै सृष्टि सुचारु हुने मान्यता ध्वस्त गर्‍ययो। हुन त क्लोनिंग पनि अमैथुनीय पद्धति नै हो। केही वर्ष यतादेखि ‘डिएनए एडिटिङ’को दिशामा पनि उल्लेखनीय प्रगति भएको छ। विज्ञान पठनपाठनमा रूचि राख्नेहरुलाई विदित नै छ, विज्ञानको एउटा नयाँ शाखा ‘इपिजेनेटिक्स’ ( Epigenetics) प्रारम्भ भएको छ। अब विज्ञानका हातमा त्यो सूत्र लागेको छ जसले कुनैदिन पनि यसले ‘सुपर ह्यूमन’ जन्माउन सक्छ। भौतिक र रसायन विज्ञानमा ख्यातिलब्ध रहेको ‘क्वांटम मेकेनिक्स’ आउने दिनमा जीवविज्ञानमा प्रवेश गरेर ‘क्वांटम बायोलोजी’को युग प्रारम्भ हुनेछ ।‘डीएनए एडिटिंग’ र ‘रिपेरयिंग’ प्रारम्भ भइसक्यो। आउने दिनमा ‘डीएनए’ र ‘अरएनए’ स्तरमा मात्रै नभएर ‘न्यूक्लियोटाइड’ (डीएनए – अरएनएको बिल्डिंग ब्लक) स्तरमै परिवर्तन, सुधार एवम परिमार्जनको चरणमा प्रवेश गर्छ मानवीय प्रज्ञा।

आउने ३०-४०-५० वर्षमा पृथ्वी र यहाँका बासिन्दाको स्वरुप के कस्तो हुनेछ, यसबारे कुनै पनि अनुमान लाउन सकिन्न। सबै कुरा ठीकठाक रहे चीनले आउने २०-२५ वर्षमै ‘सुपर सोल्जर’ दुनियाका सामु ल्यादिनेछ। एउटा यस्तो सैनिक जुन मृत्युसँग किंचित पनि नडराई शत्रु सेनासँग भिड़छ। उसको शारीरिक र मानसिक शक्ति सामान्य सैनिकको तुलनामा कैयौ गुणा बढी हुन्छ। तपाईं हामीले महाभारतको कथामा धृष्ट्रराष्ट्रमा यति हातीको बल, भीममा यति हातीको बल हुनुका साथै विभिन्न योद्धामा फरक फरक अतुलनीय सामर्थ्य रहेको कथा पढेका छौ। ‘जीन एडिटिंग’ले, इपिजेनेटिक्स’ले, ‘क्वांटम बायोलोजी’ले आउने केही वर्षमै यो कुरा प्रमाणित गर्ने सम्भावनाका प्रबल लक्षण देखा परिसकेका छन्।

लेखको मूल विषयमै पुनः प्रवेश गरौ – ऋषि परासरले नियोग विधिबाट मत्स्यगन्धाको गर्भबाट व्यास जस्तो छोरो जन्माए। एक मिनेटलाई नियोग विधिलाई अहिलेको ‘आईभीएफ’ पद्धति मानौँ। परासरले आफ्नो शुक्राणु र मत्स्यगन्धाको डिम्बलाई अहिलेको जस्तो ‘क्रिस्पर क्यास ९’ ( CRISPR-Cas9 ) प्रविधिबाट संशोधित गरी त्यसबाट भ्रूणानु बनाई मत्स्यगन्धाको गर्भमा प्रत्यारोपित गरेको हुन सक्दैन र? (CRISPR-Cas9 genome editing technique was recognized by the Nobel Prize in Chemistry in 2020 which was awarded to Emmanuelle Charpentier and Jennifer Doudna.)।

कालान्तरमा महर्षि व्यासले यसै तरिकाबाट धृतराष्ट्र र पाण्डु एवम महात्मा विदुरलाई जन्माएको हुनसक्छ। एवम रीतले कुन्तीले धर्मराज, वायुदेव र इन्द्रको आवाह्वन गरी विशिष्ट क्षमता समपन्न युधिष्ठिर, भीम र अर्जुन एवम माद्रीले अष्विनीकुमार द्वारा नकुल र सहदेवलाई जन्म दिएको सम्झिन सकिन्छ।

वर्तमानको एउटा स्मरण आयो। मेरा एकजना मित्रले लामो समयसम्म सन्तान नभएपछि आईभीएफ पद्धतिबाट छोरो बनाए। छोरो हुर्किएर ५-६ वर्षको भइसक्यो। बेलामौका उनी भन्ने गर्छन् – ख्वै यो छोरालाई हेर्दा यस्तो लाग्छ कतै डाक्टरले मेरो र श्रीमतीको ‘जेनेटिक म्याटेरियल’ प्रयोग नगरेर कसै अन्यको त प्रयोग गरिदिएन! उनले परिहासमा भनेको भए पनि यस्तो सम्भावनालाई इन्कार गर्न सकिँदैन। र, यस्तो भएको हो भने पनि दिनदुनियाँका लागि उनी नै त्यस बालकको पिता हुन्छन्। यो सामाजिक मान्यता हो जस्तो कि कुन्ती र माद्रीले छोरा जो जसबाट पाए पनि छोराहरु पाण्डुपुत्र नै भए। धृतराष्ट्र र पाण्डु पनि व्यास पुत्र भएनन्, विचित्रवीर्य पुत्र नै कहलिए।

‘बेबी पोड’ अथवा ‘ग्रोथ पोड’ अथवा ‘आर्टिफिसियल बोम्ब’ एवम गान्धारी- धृतराष्ट्रका सय पुत्रको सामञ्जस्य हेरौँ। व्यासले गान्धारीको गर्भबाट निस्केको मासुको डल्लोका सय टुक्रा बनाई विभिन्न पात्रमा राखे। कालान्तरमा ती सबै पात्रबाट १-१ छोरा जन्मिए। ‘बेबी पोड’को ‘कन्सेप्ट’ यही नै हो। कल्पना गर्नुस् एउटा ल्याबको जहाँ लहरै व्यवस्थित ढंगले चाहिने जति संख्यामा ‘बेबी पोड’ सजाइएका छन्। १०००-२००० सन्तानको भरण पोषण गर्नसक्ने कुनै एलन मस्क – जेफ बोजेस- बिल गेट्स – गौतम अडानी -मुकेश अम्बानी – विनोद चौधरीले आफुलाई मनपर्ने संसारका श्रेष्ठतम, सुन्दरतम र यावतका क्षमता समपन्न महिलाका डिम्ब किनेर (यिनीहरु जति पनि मूल्य तिर्न सक्छन्) फगत एकपटक कुनै विधिले निकालिएको आफ्नो विर्य कुनै हाशिम अल घाइली (‘बेबी पोड’को स्वपनद्रष्टा – ‘साइन्स कम्युनिकेटर’, ‘मोलिक्युलर बायोटेक्नोलोजिस्ट’, ‘साइन्स फिक्शन’ फिल्ममेकर बर्लिन, जर्मनी) लाई दिन्छन। डिम्ब र शुक्राणुमै उचित र चाहिने संशोधन गरेर लहरै राखिएका ‘बेबी पोड’मा हालेर निषेचन गराउनुका साथै भ्रूणानु बनेदेखि विभिन्न चरण पार गर्दै, विकसित हुँदै यसबाट शिशु जन्मिन्छन्। सय कौरव जन्मिए जस्तै एउटै प्रयास अथवा एउटै समयमा अर्बपतिहरुका हजारौँ सन्तान जन्मिन्छन्।

“सृष्टि सञ्चालन हेतु अथवा सन्तानोत्पादन हेतु पुरुषको भूमिका ‘आईभीएफ’ पद्धतिले नगण्य अथवा गौण गरीसकेको थियो, अब ‘बेबी पोड’ले स्त्रीको भूमिकालाई पनि शून्यमा झार्नेछ।”

अन्त्यमा महाभारत युद्धको कारण विभिन्न व्यक्तिले आफूखुशी अनेकौँ पात्रलाई भन्ने गरेको देखिन्छ। ती सब अनर्गल गफ मात्रै हुन्। वास्तवमा महाभारत युद्धको कारण गंगापुत्र भीष्म थिए जसको भीष्म प्रतिज्ञाले जस्तोसुकै नालायक राजसिंहासनमा बसे पनि उनी टुलुटुलु हेर्न बाध्य भए र सामर्थ्यवान भएर पनि युद्ध रोक्न सकेनन्। र, दोस्रो प्रमुख कारण मत्स्यगन्धा अथवा सत्यवती थिइन। यिनको डीएनएबाट जन्मिएको चित्रांगद र विचित्रवीर्य अल्पायुका थिए। यिनलाई नियोगका बारेमा थाहा थियो र यिनले आफ्नै पुत्र व्यासलाई यस निमित्त नियुक्त गरिन्। व्यास यसका निमित्त मनले तयार थिएनन्। तर माताको आज्ञाका कारण व्यास भाइबुहारीसँग नियोग हेतु प्रस्तुत भए। व्यासलाई ‘जीन एडिटिंग’ गरेर शुक जस्तो आध्यात्मिक पुत्र जन्माउने कला ज्ञात थियो तर यहाँ राज परम्पराको वाहक राजधर्म निर्वाह गर्नसक्ने पुत्र आवश्यक थियो। उनले गरेको ‘जीन एडिटिंग’मा त्रुटि भएर एउटा नेत्रविहीन र अर्को जन्मदेखि नै ‘एनिमिक’ पुत्र जन्मियो।

सत्यवतीले त्यस बेलाको अर्को “जीन एडिटिंग मास्टर” ( अहिलेको हे जियनकुई- चिनिया वैज्ञानिक) नियुक्त गरेको भए नेत्रहीन र ‘एनिमिक’को सट्टा स्वस्थ राजकुमार जन्मिएर कुनै समस्या नै आउने थिएन। व्यासले गान्धारीको गर्भबाट निस्किएको मासुमाथि प्रयोग गरेको ‘एपिजेनेटिक्स र बेबी पोड’ पद्धति पनि त्रुटिपूर्ण रह्यो जे दुर्योधन, दुशासन जस्ता नालायक अहंकारी पुत्र जन्मिए। र, अन्ततः महाभारत युद्ध भयो।

अब जमाना ‘बेबी डिजाइनिङ’को आउँदै छ। अबका दिनमा महिला पुरुषले आफ्नो लुगा सिलाउन डिजाइनरको पसलमा गए जस्तै जन्मिने सन्तान डिजाइन गर्न ‘जीन एडिटर’लाई खोज्दै हिँड्ने दिन आउँछन्। शायद आउने शताब्दीमा प्रवेश गर्दा सबैलाई सन्तान उत्पादन हेतु आफ्नो ‘जेनेटिक म्याटेरियल’ प्रयोग गर्ने स्वतंत्रता हुन्न। मात्र स्वस्थ, उन्नत, निरोगी शुक्र र डिम्बबाट र त्यसलाई पनि संशोधित गरी बनेको सर्वश्रेष्ठ भ्रूणाणुलाई मात्रै प्रत्यारोपित गर्ने बाध्यता हुनेछ। स्त्रीलाई भने आफ्नै गर्भमा भ्रूणाणुलाई विकसित गर्न – गराउने अथवा ‘बेबी पोड’को प्रयोग गर्ने अधिकार भने हुनेछ। तपाईंलाई यो पढ्दा अचम्म लाग्छ भने एक पटक मनुष्य बाहेकका अन्य प्राणी जगततिर फर्किहेर्नुस् त्यहाँ अहिले नै यसको प्रयोग भइरहेको छ। तपाईंलाई यस विधिबाट हिटलर जन्मिने आशंका भएको छ भने मलाई यस प्रविधिबाट बुद्ध, महावीर, कृष्ण जन्मिनसक्ने सुखद अनुभूति भइरहेको छ।
स्रोत - जेठ २९, २०८० मा देशसन्चारमा प्रकाशित 
https://deshsanchar.com/2023/06/12/807128/?fbclid=IwAR1AwOURXTt6ct9dAukNE9qVRr4LZ05Dle1GQCQH234A8V9b-7AunBfYGiI


No comments:

Post a Comment