25.8.21

'राष्ट्रसन्त'का सम्बन्धमा

पहिलो धेरै हस्तलिखित पुस्तक र ऐतिहासिक अभिलेख जम्मा गरेका थिए, मृगस्थली गोरखनाथ मठमा योगी नरहरिनाथले । गोर्खाकाण्ड गराएको अभियोगमा सबै झोली तुमडी जलायो, जोगीका मृगस्थलीको प्रांगणमा तत्कालीन सरकारले । तीन दिनसम्म कुइँरीमण्डल भयो, योगीले जम्मा गरेका थोत्रा कागजको आहुति गर्दा । मानिसको रिस कागजपत्रमा पोख्यो प्रहरीले पनि । यी राष्ट्रिय निधि हुन् भन्ने ज्ञानै आएन कसैलाई । नरहरिनाथलाई हटाएर आफू भाले हुने दाउमा थिए, उनका आलाकाँचा र अनपढ कांग्रेसी चेलाहरू (पेज २९५-२९९, शर्मा, २०५४) ।
विसं २०१५ सालमा सरकारद्वारा प्रहरी खटाएर आगो लगाइयो, जसका कारण हप्ता दिनसम्म पनि मृगस्थली क्षेत्रमा धुवाँको राग गन्हाइरहेको थियो भनिन्छ (पेज ४, बृहत् आध्यात्मिक परिषद्को पुस्तिका) ।

दोस्रो
मैले संकलन गरे तापनि प्रकाशन गर्ने काम सरकारले गर्नुपर्छ भनेर योगीले सरकारलाई बुझाएका कागजातहरू पनि विसं २०३० सालको सिंहदरबार आगलागीमा खरानी भएको सुनिन्छ (पेज ४÷५ ऐजन) ।
२०२१ सालमा एउटा लेखोटको भूमिकामा योगीले लेखेका रहेछन्-'पच्चीस वर्षदेखि संकलन गरेका ऐतिहासिक सामग्रीहरूको संख्या पन्ध्रदेखि बीस हजार पुगेको छ ।'
अर्थात् सरकारले प्रकाशन नगरिदिएर थन्क्याइदिएकाले सिंहदरबार जल्दा पनि योगीले संकलन गरेका बीसौं हजार दस्तावेज जले ।

तेस्रो
योगी समाधीस्थ भएको तेस्रो दिन १५ फागुन २०५९ मा गुठी संस्थानले सुरक्षाका नाममा उनको पुस्तकालयमा ताल्चा मारिदियो । कत्ति आग्रह गर्दा पनि सामग्री हस्तान्तरण गर्न गुठी संस्थान अनुदार रह्यो ।१५ चैत २०७२ को हुरीले छाना उडाएर पानी पनि बर्सिन थालेपछि १७ गते खोल्दा ८० प्रतिशत सामग्री नष्ट भइसकेको रहेछ (पेज २, बृहत् आध्यात्मिक परिषद्को पुस्तिका) ।

स्रोत भन्छ-'नष्ट भएको ८० प्रतिशतमा तीन सयवटा पुस्तकका पाण्डुलिपिहरू पनि परेका छन् ।' मृगस्थलीका सहयोगीहरू भन्छन्-'गुठी संस्थानका कर्मचारीहरूले दस्तावेज बचाउन ताल्चा मारेको लाग्दैन । एकमुखे रुद्राक्ष, मणि, स्यालको सिङ यस्तै तिलस्मी कुराहरू होलान् भनेर हात पार्ने ध्येयले त्यस्तो गरेको लाग्छ ।'

ईशापूर्व तेस्रो शताब्दीमा चीनका सम्राट सि. हुवाङ् तीले जलाएको राष्ट्रिय पुस्तकालय, ईशाको छैटौं शताब्दीमा खलिफा उमारले जलाएको अलेक्जेन्ड्रियाको पुस्तकालय र सन् १२०० मा बख्तियार खिल्जीले जलाएको नालन्दा विश्वविद्यालयको पुस्तकालय- तीनवटै मिसाएर विश्वलाई जति क्षति भयो, नेपालका मामलामा त्यही बराबरको क्षति भयो- एउटै योगी नरहरिनाथको अतुलनीय, अकल्पनीय संकलनहरू राजकीय स्तरमै ध्वस्त पारेर ।

स्मरणीय छ, २०१५ सालमा योगीको योगदानमाथि कुठाराघात हुँदा विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री थिए । २०५९ साल फागुनमा कुठाराघात हुँदा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री थिए ।

तीन ग्रन्थ
नेपाल महात्म्यलाई फेला पारी प्रकाशित गरे योगी नरहरिनाथले तर यसमा दुइटा ठूला रडाको मच्चिए । यसलाई भारतीयहरूले स्वीकार्न चाहेनन् । अर्को कुरा, पश्चिमाहरू यो नवौं शताब्दीको हो भनेर मान्न तयार भएनन् । ब्रिङ्कहाउसजस्ता जर्मनहरू सत्रौं शताब्दीकै हो भन्नमै उद्यत् रहे ।

खासगरी काठमाडौं उपत्यकाको तत्कालीन प्राकृतिक सौन्दर्य चेतनालाई मुखरित गर्ने यो ग्रन्थ पढेकै होलान् कुनु शर्माले पछिल्लोकालमा र नै पाटन जिल्लाको सौन्दर्य चेतलाई'कृतिपताका'मा मुखरित गर्न पुगे भन्ने एउटा बलियो अनुमान गर्न सकिन्छ ।

यसबापत ठूलै मूल्य चुकाउनुपर्‍यो योगीलाई । पञ्चायत सरकारले अर्कै प्रसंगमा भए पनि कोपदृष्टि राखेपछि उनी गोरखपुरको आ श्रममा पाहुना लाग्न गए । भनिन्छ, तर त्यहाँ उनलाई तीन महिनासम्म बन्दीजस्तै बनाए मठाधीश अवैद्यनाथले । त्यो अवधिमा ब्लेडले छाला चिरेर नुनचुक लगाइयो । अरू केहीका भनाइमा मलद्वारमा खुर्सानीको धुलो भरियो ।

नेपाल र नेपाली सिर्जनालाई स्वीकार नगर्ने प्रवृत्ति दक्षिणमा यत्रतत्र छ नै । नारद स्मृतिकार नारदलाई कसैले नेपालको हो, कसैले मध्यप्रदेशको हो भन्छन् । तर, यो सबै कल्पना हो । भारतका प्रसिद्ध विद्वान् काँडेले जानाजान लेखेकै छन् (पेज ५६, खण्ड १), त्यसो भए कहाँको हो चाहिँ उनी भन्न सक्दैनन् ।
नभन्दै योगीले सार्वजनिक र प्रतिष्ठित गर्दै लगेको हिमवत् खण्डलाई आज पनि भारतका आधिकारिक प्रकाशकले स्कन्ध पुराणमा समावेश गर्दैनन् ।

यी दुई ग्रन्थले उनी सीमापारिको आँखामा ठूलै कसिंगर हुन पुगे । यसै पनि दिग्विजयनाथले एउटा विधर्मी चिहानरूपी चौरलाई घेरेर फगत रुखलाई गोरखनाथको जन्मस्थल दाबी गरेको कुरालाई नेपालको गोरखनाथ मत मान्न तयार थिएन, गोर्खाको गोरखनाथ गुफालाई छाडेर ।तेस्रो ग्रन्थ जसले उनलाई बाबुराम आचार्यबराबरको अर्को ठूलो इतिहासकारको रूपमा स्थापित गरिदियो । त्यो इतिहास प्रकाशमा सन्धिपत्र संग्रह हो ।

बाबुराम बराबरको ठूलो मानिनुको कारण छ । अनेक विवादले घेरिएको भए पनि बाबुरामलिखित पृथ्वीनारायण शाहको संक्षिप्त जीवनीमा आफैंले अवलोकन गरेर होस् वा सैनिक विज्ञहरूमार्फत अनुसन्धान गरेर होस्, युद्धमोर्चा, इलाका र द्वन्द्वग्रस्त क्षेत्रको भौतिक भूगोल (फिजिकल जिओग्राफी) माथि इतिहासकारको जुन पकड देखिन्छ, त्यो अद्भुत नै छ ।

त्यसैगरी शिखरिणी यात्रा आफैंमा दृश्यकथा (कमिक्स) जस्तो मात्रै लागे पनि योगी नरहरिनाथले उपत्यकामा सीमित नरहेर तिथि र मितिका पूर्णतावादी प्राविधिकतामा नथन्किएर पूरै नेपालमात्र होइन, हिजोको बृहत् नेपालसम्मका कुनाकुनासम्मको विचरण गरे दस्तावेज संकलनका निम्ति । त्यसले आजको नेपाल जे जस्तो छ त्यसलाई जोड्न अभूतपूर्व योगदान दिएको छ । त्यतिमात्र होइन, नेपालमाथिको नेपाली कोण नै व्यापक विस्तारित गरिदिएको छ ।इतिहासलाई भूगोलसँग बाँध्ने आयामका मामलामा बाबुराम र योगी नरहरिनाथ दुवैको भिजन व्यापक देखिन्छ ।

तीन कोण

पहिलो
आफ्नो छाताको दण्डा आफैंले समात्नुपर्छ भनेर वीरेन्द्रलाई हकार्दा कोपभाजनमा परेका थिए पछिल्लोपटक- योगी नरहरिनाथ ।अघिल्लोपटक राणा व्यवस्थाका पुरातनवादीहरू र महेन्द्र स्वयंको उपयोगितावादी नीतिमा फस्न पुगेर नेपाली कांग्रेसको कोपभाजनमा परेको घटना थियो यो । यही कोपकालमा उनी गोरखपुर पुगेका थिए भनिन्छ ।

अर्थात् योगी प्रबल राजनीतिक चेत भएका, मार्गदर्शकको क्षमता भएका र तीव्र समयचेतका नमुना थिए । फगत गेरुवस्त्रधारी थिएनन्, भाङ खानलाई वा मोक्षका बकम्फुस आलाप सुनाइरहनलाई उनी योगी भएकै थिएनन् ।

दोस्रो
अचेल गुढ शत्रुद्वारा चलाइएको परिवार नियोजन मानवजीवनका लागि हानिकारक छ, गोर्खा जातिले यो गर्नुहुन्न । नौ करोडमात्र गोर्खाले परिवार नियोजन गर्ने कुचेष्टा हो । परचक्रीले सिमाना च्यापेर आयो भने जम्लाहात गरेर देश सुम्पिदिन्छ । गुलाम भएर सलाम गरिदिन्छ । घरैमा परायाको नोकर भएर बस्छ (पेज २२, जय गोर्खा, २०४८) ।

योगीले यो र यस्ता अनगिन्ती वाक्य लेखे, जति बेला नेपाल परिवार नियोजन संघको संरक्षण दरबारले नै गर्दै आएको थियो । प्रेक्षा नै परिवार नियोजन संघको करिब-करिब हर्ताकर्ता थिइन् ।

तेस्रो
गुरुङ, मगर, राई, लिम्बू, शेर्पा, लामा, तामाङ, थकाली, थारु, दुरा, सन्थाल, कोचे, मेचे, धिमाल, मैथिल, भोजपुरी, सतार, राजी, नेवार, सुनुवार, दनुवार, हायु, मुर्मी, कुशहरि, पहरी, थाक्से, राउटे, कसुण्डा ... ल्याप्चे, कोचे, मेचे, धिम्चा, खम्पा, घर्ती, खटाला आदि सबै गोर्खाहरू एउटै बाबुआमाका छोराछोरी हुन् । कामले भिन्न हुँदैमा जात भिन्न हुन्न, हुइयाँको हुरी चल्दैमा हिमाल हल्लँदैन, भाइ फुट गवाँर लुट गर्नुहुन्न (पेज २६, ऐजन) ।
योगीले यो पनि २०४८ सालमै लेखिसकेका छन् । २०५२ बाट माओवादीले जातीय फुटको थालनी गराउनु पाँच वर्षअघि नै उनले भविष्यको आकलन गरिसकेका छन् । नागा, गाह्रो र मिस्मीसम्म लेखेर नेपाल भनेको पूर्व-पश्चिम हिमालय सबै हो समेत भन्न पुग्छन् उनी घुमाउरो भाषामा ।

पुछारमा

सर्प, बाघ र जोगी एकै ठाउँ बस्दैनन् भन्ने प्रख्यात भनाइ छ । यो उनका सम्बन्धमा पूरै लागू त भयो नै, त्यसो हुँदाहुँदै पनि योगीले नेपालमा एउटा अघोषित खुला विश्वविद्यालय खोले । स्वभावले नै आफैं कुलपति पनि भए र सयौं होम र कोटीहोमको नाममा हजारौं समितिका रूपमा दीक्षान्त समारोह आयोजना गरे । फलस्वरूप यति बेला नेपालभरि नै उनका लाखौं भक्त, अनुरागी, अनुयायी छन् । अपरिचित पात्रबीचको भेटलाई प्रगाढ बनाउन उनको नामको दुईतर्फी उच्चारण मात्रै भए पुग्छ, अहिलेको नेपाली समाजमा पनि । यस्तो उचाइ विश्वेश्वरप्रसाद कोइराला न टंकप्रसाद, न मदन भण्डारी न पुष्पलाल कसैको नामले पाएकै छैन ।

व्यक्तिगत चुकचुक

२०५५ सालतिर पंक्तिकार उनलाई भेट्न पुगेको थियो । तर, १५ मिनेटसम्म औपचारिकतामै बित्यो । उनी बिते, प्रसंग पुरानो भयो । २०६८ सालतिर कसैले पंक्तिकारलाई भन्यो-'तपाईंको भेटघाट, उठबस भयो कि भएन योगीसँग ? तपाईंको नाम दुई÷चारपल्ट लिएको सुनेको थिएँ, पढ्दा रहेछन् तपाईंले लेखेको ।' पंक्तिकारले भन्यो-'भेटेको थिएँ तर खास कुरा गरेनन् ।' उनले सोधे-'किन आफ्नो नाम भन्नुभएन ?' पंक्तिकारले आफ्नो औपचारिक नाम बताएको सुनाएपछि उनले भने-'धत्तेरिका, कुरा बिगार्नुभएछ । त्यो नामले योगीले के चिनून् र कुरा गरून् । लेख्ने एउटा भन्ने अर्को ?'

पंक्तिकारलाई अहिले पनि साह्रै चुकचुक लाग्छ । राम्रैसँग परिचय हुन पाएको भए अरू तीनचार वर्षमा योगीरूपी एउटा बृहत् पुस्तकालय पढ्न पाइने थियो ।


०३ असार २०७४ ०८:४३:२६  अन्नपूर्ण पोष्टमा प्रकाशित
https://annapurnapost.com/news/73396

No comments:

Post a Comment