25.8.21

हिन्दुत्व र राष्ट्रियताका लागी जागौ युवा

चिरञ्जीवी भट्टराई :- कट्टरता हुनु र आफ्नो जातीयता, परम्परा र सांस्कृतिक निरन्तरताउपर गर्व गर्नु र त्यसको सम्बर्धन र विकास चाहनु फरक कुरा हो । बाहुनले संस्कृति संरक्षणको कुरा उठाउँदा ‘प्रतिगामी’ हुने र नयां-नयां क्रिश्चियनहरूले ‘पन्थ’को कुरा गर्दा ‘अधिकार’ हुने द्विजिब्रे कुरा नेताहरूले गर्छन् । एक्काइसौं सताब्दिको मारमा सबै भन्दा बढी हिन्दु र बौद्ध समाज नै पारेको छ । 

आज यदि विश्वमा आस्था परिवर्तन गर्नेहरूको संख्या हेर्ने हो भने बौद्धहरू पहिलो, अनि हिन्दूहरू पर्छन् । यस्तो आस्था परिवर्तनको भारमा पूर्वीय देशहरू नै बढी परेका छन् । मलाई दुख र उदेक पनि लाग्छ, नेपाली किराँती, बोन्पो र बौद्ध- प्रतिनिधिहरू धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दुमत’ प्रति पूर्वाग्रहपूर्ण अभिव्यक्ति दिन्छन्, हिन्दूहरूलाई गालि गर्छन् । यस्तो गालीको औचित्य न्यून छ किनभने ‘ठूलो’ समुदायले सानो समुदायमा प्रभाव त पार्छ नै तर ‘हिन्दुधर्मले हामीलाई नाश’ पार्यो भन्नु ‘इसाई वा मुसाई प्रलाप’ हो । हिन्दुधर्मले अन्य समुदायका आस्था वा मान्यतालाई मार्दैन भन्ने कुराको सबै भन्दा जीवन्त उदाहरण नै नेपाल हो । 


भारतबाट पाकिस्तानबन्दा त्यहाँ हिन्दुहरूको जनसंख्या २१%प्रतिशत थियो र १९७२ मा बंगलादेश निर्मित हुँदा त्यहाँका २७% हिन्दुहरू बासिन्दाहरू हिन्दु र ४% बौद्ध थिए । अहिले ती देशहरूमा क्रमश: ३% एवं ७% हिन्दूहरू छन् भने बौद्धहरूको संख्या औलामा गन्न सकिन्छ ।
इन्डोनेशिया र भारतीय प्रदेशहरू नागाल्याण्ड र मिजोरमका तथ्यहरू बुझ्नु राम्रो हुन्छ | हिन्दुधर्ममा परम्परागत नेपाली संस्कृतिहरू जीवन्त थिए र अहिले पुनर्जागरणको प्रयत्न गरिरहेका छन् । पाकिस्तान, मिजोरम वा अफगानिस्तान (जुन १००% बुद्धिस्ट देश थियो)मा अन्य धर्मावलम्बीहरूको दुर्गति हेरेर नेपाली हिन्दु-समाजलाई दोषारोपण गर्नु उचित हुन्छ । त्यैपनि, हिन्दूहरू आफ्नो पराम्पराभित्र रहेका केही अमानवीय तत्थ्य छुवाछुत र जातिवादजस्ता दुर्गुणबाट मुक्त हुन सक्दैनन् । आफुभित्रै विद्यमान यी परम्पराहरूलाई सुद्धिकरण नगरेसम्म अरूलाई दोष दिनुपनि उचित हुन्न । त्यैपनि हिन्दुत्व कै कारण नेपाली समाजमा रहेका पूरातन परम्पराहरू सुरक्षित रहका हुन भन्ने कुरामा हामी नेपालीहरू एकमत हुनैपर्छ । अन्यथा, आस्था परिवर्तनले अन्य धर्म र सम्प्रदायलाई कुन परिस्थितिमा धकेल्न सक्छ भन्ने कुराको राम्रो पाठ हो : पाकिस्तान र बंगलादेश । 
पाकिस्तानका संस्थापक जीन्ना- साहबले जतिसुकै ‘धर्म निरपेक्ष राज्यब्यबस्था’को कुरा गरे पनि ‘बहुसंख्यक मुस्लिम’ समाजले अन्य आस्थालाई त्यहाँबाट निर्वासित गरेरै वा आस्था परिवर्तन गराएरै छोड्यो !! आफ्नो तुच्छ स्वार्थको लागि हिन्दुत्वलाई गाली गर्ने र नवागत क्रिस्चियनहरूलाई ‘आफ्नो’ ठानेर च्याप्नेहरूलाई भविष्यको नेपालले कहिल्यै पनि क्षमा गर्ने छैन । मेरो उद्देश्य राजनीति गर्नु र त्यसका आधारमा सत्तामा पुग्नु होइन । मैले राजनीति गर्दिन त्यसैले सोझो सत्य लेख्छु । सबैका लागि सोझो लेख्छु । मेरो कलममा राजनैतिक आस्थाको पूर्वाग्रह छैन नत मैले सत्य लेख्दा कुनै ‘पुरस्कार’को आसा नै गरेको हुन्छु । त्यसैले होला, ‘गठबन्धन’का लेखकज्युहरूलाई मेरो सत्य पूर्वाग्रहपूर्ण देखिन्छ । किनभने राजनैतिक पूर्वाग्रहको संस्कारमा हुर्किएको ‘बौद्धिकता’मा सत्य सोच्ने खुवी हुन्छ तर लेख्ने हुँदैन । आजका नेपाली विद्वानहरूको एउटा मोर्चा छ जसले भारतीय विस्तारवादको निन्दा गर्नुलाई आफ्नो धर्म ठान्छ । यस्तो आस्था राजनैतिक प्रतिबद्धताको परिपेक्षमा विकसित भएको हो भन्दा अनुचित हुन्न तर अचम्मको कुरा के हो भने भारतीय विस्तारवादको निन्दा गर्नेहरू ‘धर्म- निरपेक्षता’का सवालमा चरम भारतीय बनिरहेका छन् । अमुक राजनैतिक आस्था र भारतीय मोडेलको ‘धर्म निरपेक्षता’को समर्थनले यदि कसैलाई साच्चिकै नोक्सान भइरहेको छ भने त्यो हो – नेपालीपन र नेपाली आस्था जीवनलाई । भोटवादीहरूको मोडेलमा बाडिएका नेपाली कलमहरूबाट ‘नेपाली साँस्कृतिक जीवन र आस्था’ले न्याय पाउन गाह्रो छ । जव कलमहरू परजीवी बनेर अर्काबाट जीवन धान्दछन्, त्यसबखत देखि जतिसुकै बलियो संस्कृति र संस्कारहरू पनि ओरालो लाग्न थाल्छन् । 
प्रसिद्द लेखिका एनीबेसेंट लेख्छिन् ‘जव विद्वानहरू परजीवी हुन्छन् त्यस समाजले आफ्नो अस्तित्व गुमाउनेतिर पाइला चाल्छ’ । क्रिश्चियन र मुस्लिमहरूको भूमरीमा फसेर आफ्नो संस्कृति गुमाइरहेका नेपालीहरूको पक्षमा कलम चलाउँदा ‘प्रतिगामी’ लेखिने कलमहरू तिमीहरूलाई धिक्कार छ ! केही स्वयम्भू नेपाली जातजातिका नवोदित नेता, पश्चिमेली संस्थाहरूबाट धनप्राप्त गरिरहेका मानवाधिकार कर्मी, आफुलाई ‘प्रगतिशील’ खेमाको ठान्ने राजनैतिक नेता र नव-दीक्षित क्रिश्चियनले ‘हिन्दूहरूले नेपालको बहुधार्मिक र बहुसांस्कृतिक परम्परालाई नाश पारे । त्यसको क्षतिपूर्ति गरिनु पर्छ’ भन्ने तर्क अगाडी बढाइरहेका छन् । यही आरोपको पेरिफेरीमा ‘नेपाली जनताको संबिधान’ बन्दी बनेको छ । यस्तो आरोप लगाउनेहरू र यो आरोपको सत्यताको परीक्षण गर्नतिर केन्द्रीत हुनुको सट्टा ‘किसान सेर्पा र कृष्णभट्चन’ पथमा बढिरहेका छन् । नेपाली जनताको दुर्भाग्य नै भन्नुपर्छ विश्वविद्यालयका वरिष्ट प्राध्यापक, लामो प्रशासनिक अनुभव बटुलेका पूर्वप्रशासक र वरिष्ट योजनाविद् समेत खाओवादी वा चर्चामुखी पात्रहरूको प्रवक्ता बनेर उभिएका छन् । आज यी ‘मार्क’हरू ‘बाहुनवाद’ र ‘हिंदुत्व’ लाई समानार्थमा प्रयोग गरेर नेपालका जातजातिहरू बीच ‘विषमता’हरूमा ‘फोकस’ गरिरहेका छन् । यस्तो गर्नु यिनको व्यक्तिगत स्वार्थ हो किनभने घले गाउँको ‘राम कुमार शेर्पा’ले नत अंग्रेजी जान्दछन्, बुझ्दछन् न पैसा पाइने ‘स्रोत’ नै चिनेका छन् ।
सबै भन्दा महत्वपूर्ण र बुझ्नै पर्ने कुरा के हो भने नेपालमा कार्यरत विदेशी दातासमूहका लागि ‘रामकुमार शेर्पा’ कामै नलाग्ने पात्र हुन् किन भने उनी इमान्दार छन्, सत्य बोल्छन् र सहमतिपूर्ण समाजको एउटा अभिन्न अंग भएर बाँच्न चाहन्छन् । रामकुमार शेर्पा’लाई पाँचतारे होटलको ‘डिनर, विदेशको शयर, रोलेक्स घडीको रहर, गाडीको नयाँ मोडेल, काठमाण्डौमा अलिसान बासस्थलको’ महत्वकांक्षाले कहिल्यैपनि छुँदैन । यस्तो महत्वकांक्षा नभएको मानिस वा समुदाय ‘दात्रिनिकाय’का लागि एउटा प्रयोग गर्न सहज तर ‘काम नलाग्ने पात्र’ हो, त्यसैले बाधक पनि । एकजना भट्टचनको ‘सरनेम’लाई नेपाली जनता ठान्ने र प्रतिनिधिपात्रका रूपमा एकजना महत्वकांक्षी ‘भट्चनलाई’ पाँचतारेमा उभ्याएर ‘रकम असुल्न’ सजिलो हुन्छ भने ‘एकता’को कुरा गर्नु भन्दा ‘भिन्नता’ नै राम्रो । हिन्दुसंस्कृति र परम्परालाई आफ्नो ‘टार्गेट’ बनाएर ‘डिफेरेंसेस्’मा फोकस गर्न प्रेरित गरिरहेका दात्रि निकाय र यस्तो ‘डिफेरेंसेस्’का नेपाली संस्करणका रूपमा काम गरिरहेका ‘मूलबासी’हरूबाट एकताको कुरा ‘श्यालको सिंग’ खोज्नु नै हो । 
यी ‘मूलबासी’ सुतेको अभिनय गरिरहेका पात्र हुन् जुन कुनै पनि परिस्थितिमा ‘ब्युझन’ चाहन्नन् | यी ‘मूलबासी’हरूलाई नेपाली समाजमा हिन्दुसंस्कृतिले दिएका असंख्य ‘गुन’ बारे थाहा छ तर नूनको सोझो गर्नु पर्ने बाध्यता र आफ्नो महत्वकांक्षाले यिनको आत्मा मरेको छ । नेपाली समाजमा गुम्बामा मन्दिर र मन्दिरमा गुम्वा अन्तरनिहीत छन्, किरातीहरू पनि कारबाट शुभकार्य आरम्भ गर्छन् र गुरु बज्राचार्यहरू संस्कृतमा कर्मकाण्ड गर्छन् भन्ने जस्ता शदियौंपुराना आपसी सम्बन्धका कुराहरूबाट तर्किन्छन् । जहाँसम्म हिन्दु-संस्कृति एवं बौद्ध- संस्कृतिको आपसी सम्बन्ध र सहकार्यको प्रश्न छ, कुनै मानिसले काठमाडौं उपत्यकाका मन्दिर, गुम्वा, चैत्य, विहारहरूको भ्रमण गरे छर्लंग हुन्छ । कुनै मन्दिर वा चैत्य यस्तो छैन जहाँ ‘हिन्दुबौद्ध’ देउताहरू स्थापित नहोउन् !! चैत्यहरूको शहर भनिने ललितपुरमा हिन्दुराजाहरुले राज्य गरेको कुरा विवाद रहित छ, यदि हिन्दुधर्म पूर्वाग्रही हुन्थ्यो भने ‘ललितपुर’मा एउटा पनि चैत्य वा विहार अवशेष रहने थिएन !!!
भारतमा आक्रमणकारी मुस्लिमहरूले हिन्दु- मन्दिर र बौद्ध- विश्वविद्यालयमा लगाएको ‘आगो’को इतिहाँस पढे सबैले बुझ्न सक्छ – विधर्मिले कस्तो विनाश गर्न सक्छन् भनेर । उपत्यकामा विद्यमान रहेका चैत्य, गुम्वा र बिहारहरु नै हिन्दु- धर्मको असहिष्णुताका जीवन्त प्रमाण प्रमाण हुन् । ‘हिन्दुहरूले हाम्रो धर्म संस्कृति समाप्त पारे’ भन्नेहरूले कुनै बेला हिन्दुबहुल पाकिस्तान, बंगलादेश, मलेशीया, इन्डोनेशिया र बौद्धबहुल अफगानिस्तानमा गएर हेरे वा इतिहास पढे पुगिहाल्छ !!!
नेपालीहरूलाई धर्म र संस्कृति, भाषा वा वेशभूषाका नाममा विध्वंस पार्ने षड्यन्त्रका पात्रहरू अचम्मका छन् । यिनको आफ्नो कुनै धर्म छैन, यिनले आफ्नो संस्कृति मान्दैनन्, यिनले आफ्नो बोलि बोल्न सक्दैनन्, यिनलाई आफ्नो छोराछोरीको नाम आफ्नो भाषामा राख्न लाज लाग्छ, पोसाक लगाउन असजिलो लाग्छ तर यिनैले संस्कृति संरक्षणको कूरा गर्छन् । यी स्वयंभू नेताहरूले आफ्ना लेखनीले नेपालमा प्रचलित चाढपर्व, आस्था विश्वासहरूलाई ‘अन्धविश्वास’ भनेर आलोचना गरेका छन् र यदाकदा वहिस्कार समेत गरेका छन् । आफु चर्चामा नआउने विवादमा यिनको कुनै रुचि हुन्न । नेपाल र नेपाली परिचयलाई बेचेर भए पनि यी चर्चामा रहन चाहन्छन् किनभने यसबाट यिनीहरूको खर्च चल्छ । नेपालका नेपालीहरूलाई भिडाएर, तर्साएर, फकाएर, झुक्याएर एवं यहाँका जातजातिका आस्था विश्वासका बारेमा ‘भ्रम’ फैलाएर असमन्जस उत्पन्न गराउनु र क्रिश्चियन-मिसनरीलाई नेपालीहरूको आस्था परिवर्तन गर्न सघाउनु यिनको मूल उद्द्देश्य हो | 
हामी नेपालीहरू फरक-फरक नाकमा, जातमा, वर्णमा र परिवेशमा हजारोँवर्षदेखि संगै बस्दै आयौ, केही सिक्यौं केही सिकायौं तर कहिल्यै झगडा गरेनौ । २०६३ पछिको परिवेशमा छद्म नागरिक समाज र राजनैतिक नेतृत्वमा ‘धर्मनिरपेक्षता’ले प्रवेश गरेपछि नेपालीआस्थामा भयानक आक्रमण भएको छ । आफ्नो मातृत्वको आस्था र अस्तित्व बेचेर ‘ओमेगा’ जीवन बाच्नेहरूसँग नेपाली जनता सावधान हुनैपर्छ । हामी नेपाली भएर जाग्न पर्छ, नेपाली बन्नका लागि हामीले आफ्नो परम्परागत संस्कृति, संस्कार, सहअस्तित्वको संस्करणलाई जान्नु र मान्नैपर्छ ।
नेपालीपनको आफ्नो आत्मालाई मारिसकेकाहरूबाट के नै आशा गर्न सकिन्छ र ? गुरुङ, राई, बाहुन वा अन्य जातजाति नेपाली नै हुन् र यिनका संस्कार र संस्कृतिहरू नेपाली संस्कृति हुन् । संस्कृति बिनाको गुरुङ, राई, बाहुन वा भुजेल प्राण विनाको मूर्ति ठहरिने छ । अत: हाम्रो आस्था परिवर्तनकारी शक्तिहरूसंग गठजोड गरेर आस्था- परिवर्तनमा सघाउनेहरूलाई परास्त पारौं । नेताहरूले बुझेझैं हिन्दूहरू असहिष्णु, अमर्यादित र कट्टरतावादी भएको भए आज क्रिश्चियनहरू नेपालका गाउँगाउँमा पुग्न सफल हुने थिएनन् । व्यक्तिगत रूपमा मैले कुनै धर्मविशेषमा पूर्वाग्रह राख्दिन तथापि मेरो जीवनशैली र मातृत्व हिन्दु- समाजमा भएको हो ।
क्रिस्चियन र मुस्लिमहरूका बीचमा मैले शिक्षादीक्षा प्राप्त गरेको छु । हामी हिन्दु, बौद्ध, सीख, जैन र किराती संस्कार वा परम्परा मान्नेहरूलाई, हाम्रो परम्पराले नै अर्काको संस्कारलाई आदर गर्न सिकाएको छ, सम्मान गर्न अह्राएको छ । हामी छाति खोलेर ‘सबै धर्म समान हुन् र संसार नै हाम्रो आफ्नो परिवार हो’ भनेर घोषणा गर्न सक्छौं । तर तथाकथित ‘मूलवासी’का स्वयम्भू नेताहरू र अल्पमतमा रहंदा धर्म निरपेक्षताको वकालत गर्ने क्रिश्चियन- मुस्लिम नेता, मानवतावादी समूह, राजनैतिक शक्तिहरूलाई चुनौती दिएर भन्न चाहन्छु : तपाईहरू कसैले पनि यदि कुनै क्रिश्चियन वा मुस्लिम धर्मावलम्बीलाई ‘सबै धर्म समान हुन् र संसार नै हाम्रो परिवार हो’ भन्न लगाउन सक्नुहुन्छ भने मैले जीवनभरी तपाईंको सेवा गर्नेछु !! 
मैले बुझेको छु, हिन्दुहरूको आस्थामा प्रहार गर्नेहरू मेरो प्रश्नलाई ‘अतिवाद’ माला भिराउने छन् र मलाई कट्टरपन्थको भारी । यो नै आफ्नो कट्टरपन लुकाउने सरल र सहज उपाय हो तिनीहरूका लागि । यदि सक्छौ भने बुद्धिको लडाइँ गर । धनले, धम्कीले नेपालीहरूको आस्था-व्यापार नगर । नेपालको वर्तमान आपतकालीन अवस्थाको यदि कसैलाई सबै भन्दा बढी फाइदा भएको छ भने त्यो हो : आस्था परिवर्तनकारी शक्तिहरूलाई !! उनीहरू चाहन्छन्, नेपालीहरू आपसमा लडून्, भिडून्, मरून् र गरिवीले जीवन छताछुल्ल बनोस् जसवाट ‘क्राइस्टको नाममा मानिस आफुलाई बेच्न बाध्य होइन, दलालहरूलाई ‘क्राइस्ट’को नाममा आस्था-परिवर्तन गरी नेपालीपन मेट्न सजिलो होस्, धनार्जन गर्न सहज होस् । 
सबै नेपालीको जय होस् । 
म त जागें तपाईं नि ??

No comments:

Post a Comment