25.8.21

सहर एक : पखेटारहित

सौरभ:- काठमाडौं कस्तो थियो ? एउटा रैथानेलाई यो प्रश्न नयाँ होइन । तर, विगत १० वर्षदेखि अनेकले त्यही विषयमा केही लेख्न आग्रह गर्दा पंक्तिकारलाई लाग्यो– कस्तो थियो भन्नलाई प्रशस्त पाको उमेरका, अझ सय वर्ष पुगेका पनि छन् । उनीहरूलाई सोधे भइहाल्यो । तर, जब तिनका उत्तरहरू आफूले पढ्न पाइयो, सार यस्तो थियो– त्यहाँ झाडी थियो, स्याल कराउँथ्यो । त्यहाँ फाँट थियो, घर बन्यो । लाग्यो– यो त भौतिकशास्त्र भनेको फिजिक्स हो भनेजस्तै उत्तर भएन र ? यसैले मैले जे बोध गरेँ काठमाडौंलाई लिएर, यो त्यही हो– 
१. 
बुइगलको खासगरी पूर्वी भित्तामा भँगेरा बस्ने प्वालहरू बनाइएका हुन्थे काठमाडौं उपत्यकामै– काठमाडौंमा मात्रै होइन । सूर्योदयको पहिलो जानकारी चराले राख्थ्यो र चिरबिर गरेर जानकारी दिन्थ्यो । त्यही जानकारी पाउन वास दिइन्थ्यो उसलाई । 
कुनै न कुनै भित्ता पनि पाउँथ्यो उसले, वासका निम्ति । यसरी काठमाडौं उपत्यकाका काँचो इँटको होस् वा पाको इँटको घर होस्, भँगेरा प्वालहरूले भरिएका हुन्थे । पिलर प्रणाली के भित्रियो, मानिसले त बलियो बास पायो, भँगेरा (पासर डोमेस्टिक्स विशेष)ले वास गुमायो । 
२. 
मानिसका घरभित्रै र प्रायः धान–चामलका पसलका दलिनमा गौँथलीको गुँड हुनु सामान्य कुरा थियो उपत्यकामा । माटोका गिला ढिक्काहरूले बनेका ती गुँड कदाचित् तल नझरून् भनेर दलिनहरूबीच टिन ठोकिएका पनि हुन्थे । 
लेखनाथले नभन्दै ‘गौँथलीको गुँड’ शीर्षकमा कविता नै लेखे । सह, सम्पत्ति, ऐश्वर्य ल्याउने चराको रूपमा गौँथलीको आदर, गौँथलीप्रति स्नेह उपत्यकाको मानव एक अघोषित धर्म नै थियो । 
३.
सुनौला लाग्ने पित्तलका पिँजरामा हरिया सुगाहरू– मध्यवर्गीय परिवारहरूको सान थियो उपत्यकामा । यस्ता पिँजराहरू मुख्य शयनकक्षको झ्यालबाहिर तीन–चार फिट वरसम्म आउने गरी सडकका पेटीमाथि झुन्ड्याइएका हुन्थे– बाटो हिँड्नेले देखून् र घरप्रति धक मानून् ! कतिपयका खुट्टा सिक्रीले मात्रै बाँधिएका हुन्थे, पिँजरा हुँदैनथे ।
दुई–तीनवटासम्म पनि पिँजरा हुन्थे र प्रायः ती चल्तीका भजनका एक–दुई लाइन भट्याउँथे पनि । सहयोगी अर्को चरा पनि हुन्थ्यो कतै–कतै मैना भन्ने । यद्यपि कमन मैना भनिने सारौँ, रुपी, डांग्रे, सिन्टोलाचाहिँ होइन हो । 
४. 
सेतो परेवा पाल्नु र अझ सक्दो धेरै संख्यामा कौसीभरिको गञ्जकभित्र पाल्नु उच्च वर्गीय वा उच्च मध्यम वर्गीय स्टाटसमाथिको सोझै दाबी हुने गथ्र्यो काठमाडौंमा । परोक्ष किसिमका आपसी प्रतिस्पर्धाका अनेक शृंखला हुन्थे, कतिपय कथाहरूको सिर्जना हुन्थ्यो– एक जिब्रोले बयान गरेरै नभ्याइने । 
अभ्रख, कागजी, बदामी, लामे, चञ्चल आदि–आदि सयौँ–सयौँ नाम हुन्थ्यो तिनको । जोसँग जति उचाइमा बढीभन्दा बढी कावा खान सक्ने परेवा छ, उही बादशाह मानिन्थ्यो यो सोखको । पुस्तैपिच्छेका अनेक बादशाही नामहरू प्रचलित थिए र अनेक नयाँ–नयाँ बादशाह आइरहन्थे । 
५. 
मन्दिर र सामान्य घरका पालीमा अर्कै खालका काला परेवाहरू प्रशस्तै हुन्थे । चल्तीको भाषामा मलेवा र विज्ञानको भाषामा ‘कोलम्बा कोलम्बा’ भनिने यिनको अंग्रेजी नाम ‘रक पिजन’ हो । 
काठमाडौं विशाल चरामय थियो । चराको एउटा जीवित खुला एभियरी थियो, एजे क्रनिनले अरुण उपत्यकालाई दिएको मान्यतालाई पनि उछिन्न । चराविशेषको खुला म्युजियम थियो । चराविशेषको एक क्युरियो सप थियो ।
आज परेवाको हावाले दम ल्याउँछ देखि बर्डफ्लुलगायत अनेक रोग ल्याउँछ भन्ने धारणाले गर्दा यसलाई दुरुत्साहित गरिन्छ । त्यसवेला प्रोत्साहित गरिन्थ्यो नै आफ्नो रोग निको गर्न । त्यो रोग थियो– टिबी । 
मलेवाको पखेटाको हावाले टिबी रोग निको गर्छ भनेर घरको पालीमा बस्न त दिइन्थ्यो नै, त्यो घरी उड्ने र घरी बस्ने वेला हावा आउने हुनाले त्यसको बथान बीचोबीच मन्दिरको आँगनमा उभिने र मकै छरेर निम्त्याउने गरिन्थ्यो । काठमाडौं उपत्यका टिबीले ग्रस्त थियो । सबैभन्दा विख्यात र जीर्ण टिबी रोगी व्यक्ति चन्द्रशमशेर राणा स्वयं पनि मानिन्थे एक युगमा । र, त्यसैको परिणति टोखामा सानेटोरियम खुलेको थियो । अब मलेवाको महत्व कसरी नहोस् ?
६. 
काठमाडौं उपत्यकाको एउटा स्टाटस सिम्बोल थियो राजहाँस । ठूला–ठूला कम्पाउन्ड भएका त भई नै हाले, साना कम्पाउन्ड भएका, तर सिकार गर्न एयर गनसम्म घरमा राख्ने अनुमति पाएका विशेषगरी क्षत्री परिवारहरूमा राजहाँस पाल्ने सोख व्यापक थियो । 
दिउसै यत्रतत्र स्याल कराउने चकमन्न, सुनसान काठमाडौंमा कसैको कम्पाउन्डभित्रबाट कुनै न कुनै वेला राजहाँसको सानो–ठूलो बथानले कराएको आवाज सुनिनु, मानौँ एउटा संगीत थियो । कुखुरा नखाइने मात्रै होइन, छुनसम्म पूर्ण निषिद्ध भएको त्यो समयमा हाँस खानु र पाल्नु सामान्य हुने नै भयो पनि । 
७. 
बल्खु, मनहरा, टुकुचा, धोबीखोला, हनुमन्तेका नाम कमै सुनिन्छन्, बागमती र विष्णुमतीका तुलनामा । तर, तिनले ‘हाँसे बूढा’हरू खुब जन्माए, पाले र सुविख्यात बनाए । किन हो ‘हाँसे बूढी’चाहिँ बरु कहिल्यै सुनिएन । 
उपत्यकाका खोलाहरू हाँसमय थिए, सयौँ ‘हाँस बूढा’हरू थिए । हाँसको मासु र फुलको यति ठूलो बजार थियो, जति सायद कुखुराको थिएन । आज पनि हाँसको बथान पालिएको देखिन्छ यी खोलाहरूका छेउ । तर, न त्यो उतिवेलाको व्यापक व्यवसायको एक छेउ हो, न प्रायः स्थानीयहरू संलग्न छन् । 
८. 
हरिहर भवन चन्द्र–पुत्र शंकरशमशेर राणाको घर हो । सुनेअनुसार, उनको दरबार सयौँ–सयौँ मयूरहरूले मात्रै भरिभराउ थियो । छाना, झ्याल, रूख, पर्खाल, पोखरीको डिल, बगैँचा यावत् ठाउँमा मयूर देखिन्थे । 
अन्यलगायत सो भवन पनि सरकारले लिएपछि तिनलाई हेरचाह गर्ने कोही भएन । दाना दिने कोही देखिएन । ती मयूर भोकभोकै दरबार परिसर रुँग्न थाले र अन्ततः कम्पाउन्डबाहिरका आमनागरिकका खेतबारीमा मकै खान पसे । अनि तिनलाई पनि मारेर खाने उत्तिकै निस्के । यो क्रम बीस सालसम्म चलिरह्यो । 
चन्द्र–पुत्र शंकरशमशेर राणाको दरबार सयौँ–सयौँ मयूरहरूले मात्रै भरिभराउ थियो । सो भवन सरकारले लिएपछि मयूर हेरचाह गर्ने कोही भएन । ती मयूर भोकभोकै दरबारपरिसर रुँग्न थाले र अन्ततः कम्पाउन्डबाहिरका आमनागरिकका खेतबारीमा मकै खान पसे । अनि तिनलाई पनि मारेर खाने उत्तिकै निस्के ।
९. 
कालिजका विख्यात पालनकर्ता थिए– त्रिभुवन । सुनेअनुसार कालिजका प्रजातिहरूको उनको संकलन उल्लेखनीय थियो । भनिन्छ, सुनौला चिनियाँ कालिज उनलाई चिनियाँहरूले उपहार पठाइदिएका थिए । 
यी माथिका दुई बुँदाले भन्छन्, आफ्नै किसिमका चराप्रति विशिष्ट सोख राख्ने एउटा होड थियो माथिल्लो वर्गमा । 
१०. 
क्यानरी र श्यामा चरा खुब गाउने मानिन्छन् । क्यानरी पाल्ने सोखिनहरूको पनि काठमाडौंमा एउटा बाढी नै थियो । 
तर, श्यामा चरा तराईमा पाइने, तराईबारेको ज्ञान कम, तराईवासीको उपत्यकामै आवतजावत कम भएर पनि होला, त्यसको चर्चा त्यति कसैले सुनेन, जति क्यानरीको गफ गर्नु स्टाटस सिम्बोल थियो काठमाडौंमा । बच्चु कैलाशले त क्यानरीलाई लिएर एक गीत नै पनि गाए । 
शेलीको प्रसिद्ध कविता ‘ओड टु स्काइलार्क’ पढाइँदैनथ्यो हामीलाई, बरु सामान्य लेखिका क्याथरिन म्यान्सफिल्डको निबन्ध ‘क्यानरी’ पढ्नुपथ्र्यो स्कुलको उच्च कक्षामा । यसबाटै थाहा हुन्छ, त्यसको समकालीन महत्व । 
११. 
हिउँद लागेपछि आकाशतिर फर्केर कर्‍याङकुरुङको बथान आएको र गएको हेर्नु दिनचर्या जस्तै थियो काठमाडौंको । अंग्रेजीको ‘भी’ आकारमा उडेर आउने यी चराहरू उपत्यकाका कुनै पनि फराकिलो ताल, फाँटछेउ ओर्लन्थे । 
अझ ताहाचलका सिमसार र पोखरी, टौदहको इलाका कसै गरे पनि कर्‍याङकुरुङ ओर्लने स्थानका रूपमा परिचित थिए । अनि एयरगन लिएर तिनलाई मार्न र भोज आयोजना गर्न बन्दुक राख्न पाउनेहरूबीच भएको व्यापक दौडधुप अर्को हिउँदसम्मका लागि गफका ठूला–ठूला मसलाहरू थिए । त्यहाँका प्रख्यात सिकारीहरू थिए– महेन्द्रका भाइहरू हिमालय र वसुन्धरा । 
१२. 
रात परेपछि जति जुनकिरी देखिन्थ्यो वा जति फट्यांग्राको आवाज सुनिन्थ्यो होला, त्योभन्दा कम सुनिँदैनथ्यो लाटोकोसेरोको आवाज । देख्न नै चाहिँ कठिन थियो, तर आवाजको कुनै कमी थिएन ।
देख्नै पर्‍यो भने राति झ्याल लगाउन छुटेका अँध्यारा छिँडीहरू पस्नुपथ्र्यो वा कसैका बारीका कुनामा भएका ठूला खालका चर्पीका दलिनमा हेर्नुपथ्र्यो, थरीथरीका लाटाकोसेराहरू देख्न सकिन्थ्यो दिउँसै– आफूलाई एक सुरले हेरिरहेका । 
१३.
युहिना भन्दा रहेछन् जुरेली जस्तै एक किसिमको चरालाई– अचेल थाहा पाउँदै छु । हाम्रा लागि भने कुन जुरेली कुन युहिना ? दुवै मिसाएपछि दर्जनौँ किसिमका जुरेली हुन्थे ती । ती जब बस्थे हिउँदताका बकाइना, खरीजस्ता अनेक किसिमका पतझर रूखका टुप्पामा, त्यो दृश्य अति मनमोहक हुन्थ्यो । हिउँदमा एउटा टड्कारै चिनिने पहाडी कालो काग पनि हुन्थ्यो, यत्रतत्र देखिने उपत्यकामा । 
१४. 
धोबीचरा र बट्टाई लडाउनु उपत्यकाको सोख । बट्टाई लडाएको कुरा सुनेको मात्रै । सुनेको मात्रै के भने– दसैं आउनुअगाडि बथान–बथान बट्टाई रानीपोखरी अगाडिको गोलपाटी वरिपरि बेच्न राखिएको हुन्थ्यो । यी पालिएका बट्टाई हुँदैनथे । धान काटेपछि त्यही फाँटबाट बटुलिएका बट्टाई हुन्थे । 
र, धोबीचरा पाल्थे खासगरी ज्यापू समुदायकाहरूले सेतो कपडाले बेरेको पिँजराभित्र र फाँटबीच त्यो खोलेर वनैयासँग भिडाउँथे त्यसलाई । त्यो वसन्त ऋतु लाग्दालाग्दैको वेलामा चल्ने एउटा दैनिक दृश्य हुने गथ्र्यो, फाँटैफाँटले भरिएको काठमाडौंभरि । 
१५. 
कुनै ठाउँ एउटा अति नै ठूलो झ्याङ थियो– जालीफूल (साम्बुकस क्यानाडेन्सिस) को । टुकुचा खोलाको किनारमा थियो यो बोट । दिउँसोपख ३–४ बज्दादेखि नै त्यसमा जम्मा हुन्थे २०–३० हजार भँगेराहरू । स्थानाभाव यस्तो हुन्थ्यो तिनलाई, हरेक मिनेटमा एउटा भँगेरा खोलामा खस्थ्यो र कसैगरी तैरिएर फेरि बोटमा बस्न पुग्थ्यो । पुलमा उभिएर तिनको कोलाहल धेरैपल्ट सुनेको छु । यस्ता चराप्रिय पोथ्राहरू हरेक एक किलोमिटरको अन्तरमा जस्तै भेटिन्थ्यो । 
र, उखानै छ– बाँसको झाङमा सारौँको बथान । बाँस झाङ जति थिए, त्यति सारौँका झुन्ड थिए । भँगेरा मानिसहरूले खान्थे । तर, सारौँले छारेरोग ल्याउँछ भन्ने धारणाले गर्दा तिनको संख्या झन् अनियन्त्रित थियो । 
१६. 
खोला, नाला, कुलो, राजकुलो, डोल, गैरीखेत, सिमसारमय उपत्यका, मानौँ बकुलाको रामराज्य थियो । कुनै विशेष मौसम, कुनै ऋतु आउनु जरुरी थिएन, बकुला देख्नलाई । बकुला खाद्य पन्छीमै पर्छ, तर कसैले बकुला मारिरहेको पनि देखिँदैनथ्यो । 
आज पनि रिङरोडबाहिर जब बकुला देखिन्छ, पुरानै दृश्य सम्झना हुन्छ । सहरमध्यको भोँसिको टोलको नामै रहेको ‘बकुला बस्ने बकैनाको रूख’ भन्ने भनाइ नै छ । 
१७. 
राति सुगन्ध आउने र दिउँसो सुगन्ध आउने नक्टर्नम र डायर्नम खास दुइटा जात हुन्छन् हसिनाका । तर, छुट्टै गन्धे हसिना (सेस्ट्रम पार्की) पनि हुन्छ । नक्टर्नम जस्तै देखिने हुनाले यो गन्धे हसिना झुक्किएर लगाउन पुग्छन् धेरै । यसका झ्याङमा अनेकौँ किसिमका सयौँ फिस्टाहरू देखेको छु । 
र, सयौँ फिस्टाहरू नर्कटघारीहरूमा तल र माथि गरिरहेको पनि देखेको छु । नर्कटघारी हुन्थ्यो हरेक जमिनको बारमा । मानौँ फिस्टाकै निम्ति ती लगाइएका हुन् । 
१८. 
हिउँदका वेला पाकेको हलुवावेद खान सेतो सारौँ बथान–बथानै जस्तो त्यस्तो रूखमा कताकताबाट त्यत्तिकै ओइरिन्थ्यो । 
अहिले पनि कसैकसैले सेतो सारौँलाई खुवाउन हलुवावेद नटिपेको भनेर बोटमा त्यसै छोडिरहेको देख्छु । 
१९. 
संयोग नै होला, चिबेहरूलाई रूखमा बसेको कहिल्यै देखिएन । पेटीमाथिबाट गएका तारहरूमा ती यत्रतत्र बस्थे । झट्ट हेर्दा कागजस्तो तर माछापुच्छ्रे चिबे चिनिहालिन्थ्यो । 
दशकौँपछि केही महिनाअघि देख्दा यस्तो लाग्यो, मानौँ बाल्यकाल फर्कियो । 
अब अर्कै पाटो
१. घर र मन्दिरका चारै कुनामा चराहरू हुन्छन् उपत्यकामा । त्यो सबैले देखिआएकै कुरा हो । 
२. सुकन्दा नेवारहरूको पूजा वा पवित्रका कार्यक्रममा दीप प्रज्वलन गर्न उपयोग गरिने दीपदानी हो । यसको बत्ती बल्ने ठाउँमा गणेश हुन्छ अचेल । हुनुपर्ने चरा हो । किनभने चराको संस्कृत नाम सकुनबाट बनेको हो यो । 
३. काठमाडौंका काँठ क्षेत्रमा जब धान वा अन्य अन्न सुकाइन्छ, त्यसलाई भनिन्छ बिस्कुन । बि कसरी आयो भन्न सकिन्न । तर, पछिल्लो सकुन चरा बोधक हो । अर्थात् चरालाई अन्न पस्केको हो । 
४. त्यसैगरी सुकेको परालबाट बन्ने भएकाले सुकुल शब्द बनेको लाग्दैन नेवारहरूको । ‘सकुन’ को ‘न’ उच्चारण गर्दा ‘ल’ हुन गएको हो । बिस्कुनकै बराबर छ यो । 
५. पहाडतिर कुन्यु भन्छन् परालको थुप्रो थन्क्याएपछि । यो शब्द उपत्यकाको काँठमा पनि प्रचलित छ । यसमा अगाडिको ‘प’ लोप भएको मात्र हो । अर्थ हो– चरालाई गुँड बनाउन छोडिदिएको । 
६. नेवारहरू सगुन भनेर हाँसको फुल देउतालाई चढाउँछन् । र, कुखुराको फुल र एक पाला सोमरस खान्छन् पनि । त्यो सगुन बनेको भने सकुन अर्थात् चराबाट । 
७. पुराना दस्ताबेजहरू काठमाडौं उपत्यकामा प्रशस्त पढ्न पाइन्छन्– अपशकुन शब्द उल्लेख भएका । अर्थ हो– कुनै काम आरम्भ गर्दा साइत परेजस्तो संकेत नपाइएको । सरल शब्दमा भन्दा चराले शुभेच्छा नजनाएको । 
८. जब महिलाले नयाँ शिशु जन्माउँछिन् काठमाडौं उपत्यकामा, उनलाई खुलाउन साकिनी कुखुराको व्यापक खोजी हुन्छ । यो साकिनी भनेको सकुन नै हो । यद्यपि साकिनीबाहेक दुई रैथाने प्रजाति छन् कुखुराका– दुम्सी र घाँटी खुइले । 
९. सकर्मक र अकर्मक क्रियाहरू हुन्छन् व्याकरणमा तर काम सकिएन भन्नुपर्‍यो भने अकियो भनिँदैन अर्थात् सक्नु शब्दको जरोमा सकुन नै छ । 
१०. चटक भनिन्छ आकस्मिक लाभ, उपलब्धिलाई । तर, चटक भँगेराको अर्को नाम हो । यही नेवारीमा चखुँ हुने हो । 
११. उपत्यकामा जब तान्त्रिक होम गरिन्छ, एउटा चरा आगोमै होमिन्छ । मत्र्यलोकमा सन्देश पुर्‍याइदेओस् भनेर । अर्को आकाशमा उडाइन्छ, स्वर्गमा सन्देश पुर्‍याइदिओस् भनेर । दुवै भँगेरा हुन् । यसैले उपत्यकामा हरेक चराको बोलीले केही सन्देश दिइरहेको हुन्छ भन्ने मान्यता छ– बुझ्नु–नबुझ्नु आफ्नो कुरा । 
१२. भद्राईको चुच्चोले नयाँ शिशुलाई नयाँ अन्न खुवाइन्छ– उसको बोली पनि भद्राईको जस्तै मीठो होस् भनेर । 
१३. कागले रूखबाट झरेर पितृ प्रसाद नखाइदिए श्राद्ध पूरा भएकै मानिँदैन अहिले पनि कैयन् स्थानमा । भक्तपुरमा यसैले कैयन् मानिसले खुला स्थानमै पितृ पूजा गर्छन् । वर्षको एकपटक कागको पूजा गर्ने त चलन नै छ । 
१४. ढोकाका दुवैतिर लामो पुच्छर भएका सुगाका तस्बिर प्रायः कायस्थहरूका घरमा देखिन्छन् । र, लेखिएको हुन्छ– शुभलाभ । चराले सम्पत्ति लाभ गराइदिने पात्रका रूपमा पाएको सम्मान गज्जबकै छ । 
१५. रुद्रायणीको मन्दिरमा नचढ्ने हुनाले खोकनामा कुखुरा पालिँदैन । अर्थात्, अरू क्षेत्र हाँसप्रति दर्साएको सम्मान पनि गज्जबकै छ । यति धेरै प्रसंगहरू छन् यहाँ लेखेर सम्भव छैन । 
अहिले यो उपत्यका प्रतिदिन मर्ने लाखौँ कुखुराहरूका करोडौँ प्वाँखहरूले ढाकिन्छ । घरैपिच्छेजस्तो सञ्चालित कुखुराको व्यावसायिक पालनले आकाशमा कागहरूको संख्या बढाएको छ । फलस्वरूप उपत्यकाबाट अरू चराहरू भागेका छन् । अब यो खुला एभियरी रहेन । 
फर्केर पुरानै मोडमा 
१. भर्खरै सम्याइएका सुक्खा फाँटमा घुम्दै खाल्डो पार्दै, घुम्दै खाल्डो पार्दै एउटा विशाल बुट्टा तयार भइसकेपछि हुर्र उडेर भँगेराहरू जान्थे । आज थाहा हुँदै छ– ती बेग्लै रहेछन् । रातो टाउके– पासर मोन्टानस ।
२. बिहान ६–७ बजेतिर बारीमा ठ्याक्कै परेवाजस्तै, तर परेवाभन्दा केही साना जोडाहरू खुब देखिन्थे । ती रहेछन् तामे ढुकुर । 
३. बागमतीका किनारमा पानीसम्म झोलिएका स–साना रूख र झाडीहरू पनि थुप्रै थिए । तिनमा सोली आकारको गुँडको टुप्पामा झुन्डिरहेका चराहरू देखिन्थे । तिनलाई तोपचरा भन्दा रहेछन् । 
४. नीलो चहकदार, तर ठुँड अलि अस्वाभाविक लाग्ने एउटा चरा प्रायः देखिइहुन्थ्यो, त्यसको चहक नै आकर्षक । रहेछ त्यो माटीकोरे । 
५. ज्यापूहरूले आफ्नो बार्दली, कौसीको डिलमा प्रशस्तै रामकली रोपेका हुन्थे मनमोहक, बेपत्ताको आकर्षक । एकाबिहानै, ती ज्यापूहरूले नदेख्दै लामो ठुँड पसारेर पराग चुस्ने स–साना चराहरू हुन्थे, ती रहेछन्– चुच्चे । 
६. कसले यो कुखुरा त्यसै छाडेको हो ? रुँग्ने मान्छे पनि छैन ! भनेर एकान्त झाडी, पानी जमेका तर बुट्यान भएका ठाउँहरू हेरिन्थ्यो । त्यो बेवारिस रहेछ– लुइँचे । 
७. चिडियाखानामा एउटा काकातुवा थियो । रैथाने नभए पनि सुगा प्रजातिको यो चराको पाको उमेरलाई लिएर यसप्रति काठमाडौं उपत्यकाले छापाहरूमार्फत् वेला–वेला जुन चिन्ता जाहेर गथ्र्यो, सायदै कुनै सहरले एउटा चरालाई लिएर त्यस्तो चिन्ता व्यक्त गर्ला । 
८. दुष्ट हो भन्ने थाहा पाउँदापाउँदै पनि देउताको अवतार मानेर हाँडीगाउँको भाटभटेनी मन्दिरको चिलको जस्तो पूजा पनि सायदै अन्त कतै हुन्छ होला । 
९. कथाअनुसार कहिले पनि पित्तलको चरा नउडिदेओस् र योगनरेन्द्र मल्ल जीवित नै रहिरहून् भनेर निरन्तर सहरवासीले निरीक्षण गरिरहने त्यो पाटनको चराजस्तो पनि सायदै अन्त कतै होला । 
१०. झ्यालहरूमा देसेमरुझ्यापछि भक्तपुरको मयूर झ्यालले जस्तो प्रसिद्धि पनि सायदै कुनैले पाएको होला । 
यस्ता कुराहरूको पनि क्रम गनेर साध्यै भएन । काठमाडौं विशाल चरामय थियो । चराको एउटा जीवित खुला एभियरी थियो, एजे क्रनिनले अरुण उपत्यकालाई दिएको मान्यतालाई पनि उछिन्न । चराविशेषको खुला म्युजियम थियो । चराविशेषको एक क्युरियो सप थियो । 
हाम्रा रैथाने गुलाफ रोजा मोस्चाटा र रोजा ब्रनोनीका झ्याङभित्र के चराहरू हुने गर्थे असंख्य, म चिन्दिनँ । तर, लाग्छ– त्यो बाल्यकाल हामी चराहरूको सभाबीच बिताइरहेक थियौँ । हाम्रा पखेटा थिएनन् र छैनन् पनि । तर, मानव चराहरूले भने हाम्रा पखेटाहरू देखेका थिए । त्यसैले आफ्नै वर्गको ठानेर भाग्ने गरेनन् । निडर हामीबीच नै झुम्मिरहे । जो हामीबीच उस्तो झुम्मिँदैनथे, तिनको नाम मैले यहाँ लिएको पनि छैन । 
तर, आज यो पखेटारहित छ । बाँकी मानौँ यो कागहरूको मात्रै सहर हो । 
लेख्ने कि नलेख्ने ?
कृष्ण बम मल्लले एक ठाउँ लेखेका छन्– नेपालमा कुखुराको व्यावसायिक खेती सुरु गर्ने व्यक्ति पाटनका सिंहबहादुर जोशी हुन् । जोशीले दुई हजारको दशकमै यो सुरु गरिसकेका थिए । 
नभन्दै २०२० को दशकमा बालाजु औद्योगिक क्षेत्रमा दुई अत्याधुनिक व्यावसायिक फर्महरू उदाए– जोशी पोल्ट्रिज र रत्न फिड इन्डस्ट्रिज । सयौँ विकासे हाइब्रिडहरू भित्रिए उपत्यकामा । अहिले यो उपत्यका प्रतिदिन मर्ने लाखौँ कुखुराहरूका करोडौँ प्वाँखहरूले ढाकिन्छ । 
घरैपिच्छेजस्तो सञ्चालित कुखुराको व्यावसायिक पालनले आकाशमा कागहरूको संख्या बढाएको छ । फलस्वरूपः उपत्यकाबाट अरू चराहरू भागेका छन् । अब यो खुला एभियरी रहेन । 
फर्केर फेरि पुरानै मोडमा
फ्रान्सिस हेमिल्टनले सन् १८०३ मा एउटा सन्दर्भ लेखेका छन्– च्याखुराले कतिसम्म पिरो खान्छ भने पछि त आगोको फिलिंगो दिँदा पनि पत्तो पाउँदैन । 
त्योवेला सक्दो पिरो दिँदै फिलिंगो पनि दिने मनोरञ्जन गरिँदो रहेछ उपत्यकामा । च्याखुरा आज पनि आगो लागेको पहिलो सूचना दिने चराका रूपमा पाल्छन् जान्नेहरूले । मानौँ, यो उत्तर र दक्षिण कोरियाबीचको पान्मुनजोमको त्यो चरा हो, जसले युद्ध हुन लागेको संकेत दिन्छ । 
चरकसंहिताले हुनुपर्छ, ‘हंसोदक’को व्याख्या गर्छ– यस्तो पिउन योग्य सर्वोत्कृष्ट पानी, जसमा चन्द्रमा र उड्दै गरेको हाँसको छायाँ परेको होस् । जब हाँसहरू मौसम छल्न उडेर आए बथानै, पुराना वैद्यहरूले घरका कौसी र आँगनमा बाटाभरि पानी अवश्य राखे होलान्, कैयन् टहटह जून लागेको रात, हाँसको छायाको प्रतीक्षा गर्दै । 
बाइरन फारवेलले लेखेको हुनुपर्छ– बर्माका मोर्चाहरूमा जापानीहरूको हमला संकेत भाले बास्नु रहेछ । तर, कुटाइममा बास्ने भाले राख्नु हुँदैन भन्ने चलन भएका गोर्खालीहरूले त्यस्ता सिपाहीरूपी कुखुराहरूलाई तत्कालै गिँडे । मोर्चा जिते । यसरी चराहरूले नेपालीहरूलाई जानेर होस् वा नजानेर सही युद्धका मोर्चामा समेत जिताए । 
एक–दुई दिन पानी परेर धुलोमैलो सबै पखालिएपछिको खुला आकाशलाई भुइँमा लमतन्न परेर हेर्नुपर्छ– चिलहरू यत्रतत्र उडिरहेका देखिन्छन् कि ती चराहरूको खोजीमा छन् ? अवश्य होइन । ती कंक्रिटको जंगलका यत्रतत्र थुप्रिएका फोहोरमा ठूला मुसाहरू खोजिरहेका छन् । यो फेरि पनि खुला एभियरी रहेन ।
  • वि.सं २०७८ भदौ १० बिहीबार
  • नयापत्रीमा प्रकाशित। 
  • Thursday, 26 August, 2021
    • https://jhannaya.nayapatrikadaily.com/news-details/470/2019-08-31
x

No comments:

Post a Comment