25.8.21

सौरभको चिन्तनः गेरुको गन्तव्य

सौरभ:- मोक्ष र निर्वाण भनेको स्वयं ईश्वरत्वमा परिणत हुनु हो । जन्म र मरणको चक्रबाट मुक्ति पाउनु भन्ने अर्थ त्यस ईश्वरत्वको सरलीकृत व्याख्या मात्र हो । यसैले सालभेसन भन्ने बच्चास्तरको सोचसँग मोक्ष भनिने प्रौढ स्तरको तह नै मिल्दैन । साधु रूप प्राप्त हुन्छ, गेरुवा धारण गर्नेबित्तिकै । तर अध्यात्मसम्मको बाटो सहज छैन किनभने साधुका तीन प्रबल परिभाषा छन् । पहिलो, त्यागी व्यक्ति ।
दोस्रो, सज्जन व्यक्ति । तेस्रो, गुप्त प्रेमी । 
नीलो आवरण भएको संविधानलाई रामवरण यादवले ढोगेपछि बाइबललाई ढोगेको आरोप लाग्दै आएको छ । संविधान संशोधनको एउटा मुद्दा त्यसलाई धर्म सापेक्ष बनाउने पनि हो । त्यसै पृष्ठभूमिमा छ यो लेख ।
भिन्नता एक
कर्म, धर्म र अध्यात्म एउटै होइनन् । कर्म सञ्चालित गर्नुपर्छ विधिबाट, जसलाई कर्मकाण्ड भनिन्छ । यो एक प्रक्रिया हो, जो आफ्नो हितका लागि गरिन्छ । यसका स्रोतहरू स्मृति, श्रोतसूत्र, संहिताहरू, पुराणहरू आदि हुन् ।

धर्म त्यसभन्दामाथिको एक व्यवहारमात्र हो, यो अरूको हितका लागि गरिन्छ । यसका स्रोतहरू वेद, उपनिषद्, आरण्यक र ब्राह्मणग्रन्थहरू हुन् । बौद्ध धर्ममा यही स्थान त्रिपिटकको छ ।

अध्यात्म दुवैभन्दा माथिको कुरा हो । यो न प्रक्रिया हो, न व्यवहार हो, न यसका ग्रन्थ छन्, न यसको गुरु हुन्छ । यो निराकार शक्तिसँग आफ्नो आत्माको विलयनका निम्ति गरिने साधना हो । साधना सफलतालाई भन्छन् चैतन्य ।

यसर्थमा अहिलेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र त्योअन्तर्गतका एनजीओका तलबधारीहरूलाई समाजसेवी मान्न पटक्कै मिल्दैन । बरु दयावीरसिंह कंसाकार, तुल्सीमेहर श्रेष्ठ, रामलाल श्रेष्ठ, समाई चौधरी, मंगलदास गुप्ता आदिआदि धर्मात्माहरू हुन् ।

धर्मात्मा र राजनीतिज्ञ

राजनीति राज्य नीतिबाट बनेको शब्द हो । अहिले राज (रहस्य) नीति भन्ने कुअर्थमा परिणत भएको छ । राज्यनीतिज्ञहरू पनि चुनाव घोषणा, नीति घोषणा, अठोट र अडानका माध्यमले सबैको हित गर्छु भनी सार्वजनिक भएका पात्रहरू हुन्छन् ।
धर्मात्माहरू घोषणा नगरिकन हित गर्छन्, राज्यनीतिज्ञहरू सार्वजनिक घोषणाका साथ हित गर्न उभिन्छन् । फरक त्यत्तिमात्र हो, यसैले राजनीति धर्मनिरपेक्ष हुनै सक्दैन । राजनीति धर्मनिरपेक्ष हुनुपर्छ कसैले भन्छ भने पाप सापेक्ष हुनुपर्छ भनिएको हो ।

भिन्नता दुई

मोक्ष र निर्वाणको अंग्रेजी अनुवाद सालभेसन होइन । तिनको पर्यायवाची अंग्रेजी शब्द नै छैन । सालभेसनको अर्थ हो उद्धार । यसैले केही मतकाहरू प्रार्थनामा जोड दिन्छन् । यस दुःखदायी संसारबाट उद्धार गरिदेऊ भन्ने आग्रहमात्र हुन्छ त्यसमा । त्यसभन्दा पर पुग्ने क्षमता नै छैन ती मतहरूमा ।

तर मोक्ष र निर्वाण भनेको स्वयं ईश्वरत्वमा परिणत हुनु हो । जन्म र मरणको चक्रबाट मुक्ति पाउनु भन्ने अर्थ त्यस ईश्वरत्वको सरलीकृत व्याख्यामात्र हो । यसैले सालभेसन भन्ने बच्चास्तरको सोचसँग मोक्ष भनिने प्रौढ स्तरको तह नै मिल्दैन ।

र ध्यानको सटिक अनुवाद पनि मेडिटेसन होइन । अंग्रेजीमा ध्यानको पर्यायवाची शब्द छैन । ध्यान ध्यान नै हो, मेडिटेसन एकाग्रचित्तको एउटा रूपमात्र हो । अर्थ बुझेको भए पो सटिक शब्दको निर्माण हुनु ।

भिन्नता तीन

मन्दिर, शिवालय आदि मूलमा धार्मिक क्षेत्र होइनन्, शक्ति सञ्चयका केन्द्र हुन् । लाखौंको आत्मिक शक्ति त्यहाँ केन्द्रित भइरहेको हुन्छ । यद्यपि यो आत्मिक शक्तिको अंग्रेजी अनुवाद पनि कस्मिक इनर्जी होइन । आत्मिक शक्तिको अनुवाद नै छैन अंग्रेजीमा । चैतन्यको पर्यायवाचीको त झन् कुरै भएन ।

तर त्यहाँ अनेक दुःखीहरू, याचकहरू सहयोगको आशामा झुम्मिने र तिनलाई मानिसहरूले अन्न र नगदले मद्दत गर्ने हुँदामात्रै त्यसको नाम धार्मिक क्षेत्र हुन गएको हो ।

तटमा ध्यानस्थ हुनुबाट तटस्थ शब्द बनेको हो । जसलाई आएको र गएकोको कुनै अर्थ हुँदैन । तर त्यसका निम्ति पानीको सतहको कम्पन वा छाल चर्मचक्षुबाट दृष्टिगत हुने हुनुपर्छ । यस अर्थमा बागमती र विष्णुमती किनार साधु अनुकूल नभएको युग भइसक्यो । जति सफा गरे पनि तिनको अर्थ अध्यात्मका दृष्टिले छैन । बरु कोसी र कर्णाली किनार सही छन् ।

त्यागको घोषणा

गेरु रङको वस्त्र जोसुकैले, जुनसुकै सम्प्रदाय वा मतको व्यक्तिले लगाओस् त्यो त्यागको रङ हो । कश्मीर (खसमिहिर)मा हुने फूल भएकाले केशर भनिन्थ्यो, पछि पुरुष अंग वा पुंगकेशर (एन्थर)लाई मात्र केशर भन्न थालियो । यस गिरीपुष्प अर्थात् केशरबाट रंग्याएको रङ हुनाले गेरुवा भयो । कसैकसैले केशरिया पनि भने ।


त्यागको आधिबाटो 
गिरीकर्णिका पनि भनिन्थ्यो यसलाई, जसबाट रंग्याएकाले पनि गेरुवा भयो । आजभोलि नाममा परिवर्तन आएको छ । पुरानो (जपापुष्प) होइन नयाँ अपराजिता (क्लिटरिया टर्नासिया)को नीलो प्रजातिलाई गिरीकर्णिका, सेता प्रजातिलाई विष्णुक्रान्ता भनिन्छ ।

नाममा आनन्द जोडिएका केही साधुहरू हाम्रै वरिपरि छन् । तीमध्ये एकजना एसएलसीलाई सीमापारिको सीबीएसईले विस्थापित गर्नुपर्छ भन्दछन् । यी काठमाडौं केन्द्रित छन् ।

उपत्यकाबाहिर एकजना हामीजस्तै सर्वसाधारण छन्, तिनले क्रोध अझै नियन्त्रण गर्न सकेका छैनन् । अर्का एकजनामा अत्यन्त अहं झल्किन्छ, सबै भक्तहरूलाई गोडा ढोगाउन आतुर हाउभाउ देखिन्छ ।

यसले के देखाएको छ भने, धर्माधिकारी हुने साधु रूप अहिले हामीकहाँ पाइएको छैन, यद्यपि होलान् कतै । उपत्यका विजयपछि मोक्षेश्वर अर्याल पहिलो धर्माधिकारी बनेका थिए नेपालको, दोस्रो ओझा थरका व्यक्ति थिए नाम यकिन अहिले नभए पनि । यद्यपि तिनको रूप साधुको थिएन ।

योगी नरहरिनाथ एकमात्र अहिलेसम्म देखापरेका राष्ट्रगुरु हुन् । धर्मात्मा र राज्यनीतिज्ञबीचको तालमेलका मर्म जान्ने उनीमात्र भए । धेरै अर्थमा एकमात्र सन्त ।

त्यागको अन्त्य

साधु रूप प्राप्त हुन्छ, गेरुवा धारण गर्नेबित्तिकै । तर अध्यात्मसम्मको बाटो सहज छैन किनभने साधुका तीन प्रबल परिभाषा छन् । पहिलो, त्यागी व्यक्ति । दोस्रो, सज्जन व्यक्ति । तेस्रो, गुप्त प्रेमी ।

भिक्षाटनमा प्राप्त गरेको अन्न, नगद सोही दिन सक्नुपर्छ । सकिँदैन भने बाँड्नुपर्छ । किनभने भोलिका निम्ति पनि संग्रह गरिराख्नु वर्जित मानिन्छ, निन्दनीय छ । बुद्ध धर्मले त अनावश्यक ज्ञानको संग्रहसमेतलाई रुचाउँदैन । तर, साधु जब विस्तारै संग्रही हुन थाल्छ, त्यो तेस्रो परिभाषामा पनि परिणत हुन्छ । कैयन् गेरुवाकै आवरणमा चुक्छन् र कैयन् गृहस्थमा फर्कन्छन् ।

कुनै जघन्य अपराध गरिसकेर गेरुवाको आवरणमा पुगेकाहरू प्रशस्तै पाइन्छन् तर एउटा कुरा पक्का हो – गेरुवाको पहिलो पहिरनले नै मानिसमा वैराग्यको भावना ल्याइदिन्छ, सिपाहीहरूमा निशान स्पर्शले वीरभावनाको तरंग दिन्छ भन्ने परम्पराजस्तै ।

भिन्नता चार

माथिका हरफहरूबाट नै पुष्टि हुन्छ, साधु, सन्न्यासी र सन्त एउटै होइनन् । साधु सामान्य अवस्थिति हो, त्याग गर्ने निर्णयसम्ममा पुगेको । तर अझै लामो यात्रा तय गर्न बाँकी ।

सन्न्यास त्यसपछिको धेरै लामो बाटो तय गरेको, धेरै साधना र आत्मिक संघर्ष पछिको अवस्थिति हो । यद्यपि गीताको परिभाषामा सन्न्यासको अर्थ सबै कुराको त्याग हो ।

सन्त त्याग र साधनाको अन्तिम अध्यायको पनि पछिल्लो अवस्थिति हो । सन्तको अर्थ शान्तिस्वरूप होइन । कृष्णप्रसाद भट्टराईलाई सन्त भनिदिनु सन्त शब्दको उपहास हो ।

साधुरूपको जरा

बोन धर्म सनातन मतहरूमध्ये अत्यन्तै पुरानो हो । यसको अहिले १८०३१ औं वर्ष चलिरहेको छ । यसमा सेतो बोन र कालो बोन हुन्छ । कालो बोन अभिचार अर्थात् डरलाग्दा तान्त्रिक प्रक्रियाहरूमा आधारित हुन्छ । यसै कालो बोनका नायक र तिब्बतका राजा लाङ्दार्मासँग बौद्ध मतको भिडन्त भएको हो कुनै बेला ।

कुनै बेला लेखिइसकेको वाक्य दोहोर्‌याउँ- बोनबाटै मगर थर पुन बन्छ । पश्चिम पहाडमा पुनेल भन्ने संज्ञा बन्छ । राई थर बान्तवा, लिम्बू थर पान्दाक, छन्त्याल थर भलन्जा, गुरुङ थर पलान्जा, थकाली उपथर भ्लाम्तन र भ्लेन्तन, थारू थर बान्तर, तामाङ थर ब्लोन र बोम्जन बन्छ । यसैले नेपालको पुरानो मूल धर्म यही हो ।

यसैमा गाँसिएर शैव धर्म, बौद्ध धर्मको वज्रयान, पछिल्लो पल्ट भनिएको किराँत धर्म आएका हुन् । यसको मूल जरो तिब्बतको कैलाश हो ।

अर्थात् बोन धर्म मयलको त्यो रुटस्टकजस्तो हो, जसमा नास्पातीका हाँगाहरू ग्राफ्ट गरिन्छ । बोन धर्म नभए यी सबै धर्म, मत, मतान्तर विनाश हुन्छन् । जसरी जंगली प्रजातिका धान नभए धानका खेती प्रजातिहरूमा विनाश आउन थाल्छ । त्यससँग गाँसिएर विकसित संस्कृति र परम्पराहरू नष्ट हुन्छन् ।

र त्यही बोन धर्मलाई धर्म परिवर्तनद्वारा योजनाबद्ध रूपमा नेपालमा विनाश गरिँदैछ ।

साधुरूपको मध्य

बौद्ध लामा मतमा लप्ची, चरी र गांगरी (कैलाश) तीन ठाउँ ठूला शक्तिकेन्द्र हुन् आध्यात्मिक शक्तिको । शैव मतमा पशुपतिनाथ र कुशेश्वर विशेष हुन् । अहिले पालुङमा निर्माण भएको गोरखनाथको मन्दिर र धार्केमा निर्माण हुँदै गरेको मन्दिरले पनि तिनलाई पछ्याउँदैछन् ।

तर शैवतन्त्रमा दैवी शक्ति प्रदर्शन निषेध छ । भन्नसमेत निषेध छ । त्यसले शक्तिको विघटन गर्छ भन्ने ठानिन्छ । सालभेसनका पक्षधरहरू चमत्कार प्रमाणित भएपछि आफ्नो उपासकलाई सन्त पदवी दिन्छन् । तर शैव मतले त्यसलाई दैवी शक्तिको प्रदर्शन समेत मान्दैन, जादुमात्र मान्छ । जादुको अर्थ हो आँखा छलेर गरिने सामान्य चलाखी ।

साधुरूपको 'क्राउन'

यहाँ क्राउनको अर्थ श्रीपेच होइन, रूखको टुप्पामा हुने झ्याम्म परेको भाग हो । बोन धर्मको एउटा विकसित मत हो शैव मत । शैव मतको पनि एउटा विकसित सम्प्रदाय हो गोरखनाथ सम्प्रदाय । गोरखनाथ सम्प्रदाय नै नेपालको इष्ट सम्प्रदाय हो । त्यसैले अन्यमा भन्दा यसमा राज्यनीतिगत चेत प्रबल छ ।

यही कारण योगी नरहरिनाथ त्यसका प्रबल संवाहक, प्रतिनिधि पात्रका रूपमा देखा परे । मल्लकालमै थियो होला, इन्द्रचोकबाट केलटोल लाग्दा दाहिनेपट्टिको गोरखनाथी अखडा, जहाँ प्रत्येक साँझ बहालवाला राजा राज्यनीतिगत सल्लाह गर्न महन्तलाई भेट्ने उद्देश्यले जान्थे । अहिले यो महन्तरहित छ ।

यसैले गोरखनाथ मतले अहिले खुमबहादुर खड्काको धर्म अभियानमा गोरखनाथ र काली नजोडिएको कुरालाई रुचाएको छैन । काली नजोडिकन विजय सम्भव नै छैन उसको दृष्टिमा । लिम्बूहरूको युम्मा, थकालीहरूकी ङारीझ्योब, ह्योल्मोहरूकी ह्योल्मुआमा, नेवारहरूमा विद्यमान कुमारी र अजिमाहरूको परम्परा हेर्दा नारीशक्तिको उपेक्षा गर्न मिल्दैन भन्ने उसको मत हो ।

दुरी

शिव संहारका देवता हुन् र विष्णु पालनका, त्यसैले विष्णुलाई पालनहार भन्छन् ।त्यसो हुँदा वैष्णव धारमा एउटा शब्द भण्डार नै जन्मिसकेको छ । जस्तो उनीहरू झोल भन्नु निन्दनीय मान्छन् । उनीहरूका भनाइमा मासुको मात्र हुन्छ झोल, बरु रस भन्नुपर्छ जबकि झोल शब्द जलबाट बनेको हो । उनीहरू काट्नु शब्द निन्दनीय मान्छन्, त्यसको सट्टा सुधार्नु भन्छन् । जबकि सुधार्नुको अपभ्रंश सिधरना हिन्दीमा मर्नु हो ।

वनस्पतिमा पनि चोखो र जुठोका सयौं विभाजन छन् । यसैले वैष्णव मत पन्थ निरपेक्षताको ठ्याम्मैविरुद्ध उभिन्छ । सर्वधर्म समभावको विपक्षमा देखिन्छ यो । यहीकारण यसले नेपालमा उति प्र श्रय पाएन, मान्यता पाएन । बहुलको प्रिय भएन यो । धर्माधिकारीका निम्ति योग्य मानिएन यो मतलाई ।जबकि शैव मतले भष्मलाई समेत फूल भन्दछ ।

र निकटता

जापानको शाही धर्म सिन्तो हो, जसलाई नेहरूले हिन्दु धर्मको अपभ्रंश भनेका छन्, हेरे हुन्छ उनको 'डिस्कभरि अफ इन्डिया' । यसैले होला जापानमा पनि शिवलिंगको पूजा हुन्छ अझै छिटपुट रूपमा भए पनि । सहस्रबाहु, यम, सरस्वती, इन्द्र, शिव, रुद्र, सूर्य, सोम, पृथ्वी, लक्ष्मी आदि लोकप्रिय छन् इन्द्रको मन्दिर छ । हामीले मानिआएका देवीदेवता सबै कहीँ न कहीँ छन् ।

त्यसको ठ्याक्कै दक्षिण दिशा इन्डोनेसियामा यस सनातन मतलाई आगमाहिन्दु भनिन्छ । नेवारहरूको आगमघर (आगछें÷देवघर)को परम्परा छ भन्ने त सबैलाई थाहा भएको कुरा हो ।

इजरायलका यहुदी, इराकका याजदी, थाइल्यान्डको अजुध्ये, भारतको अयोध्यामा भाषाशास्त्रीय साम्यता भेटेपछि मात्रै चारै दिशाको रहस्य खुल्छ ।

र यसको मध्यभागमा जस्तो (मध्य नै भने होइन) कैलाश पर्छ, द्वारका होइन पनि ।

साधु मध्यकालीन

नेपाल, अंग्रेज, तिब्बतबीचको तनावताका साधुहरू पण्डित भनिन्थे । साधुरूपी पण्डितहरू जासुसीका निम्ति माने वा जपमाला बोकेर हिमाल वारपार गर्थे । यसैले त्यसबेलादेखि साधुको अर्थ गुप्तचर पनि हो ।

बंगालका शरतदास गैरसाधुरूपी एक गुप्तचर पण्डित रहेको कुरा सर्वज्ञात नै छ ।साधुलाई चाणक्यले पनि गुप्तचर भनेका छन् ।

साधु आधुनिक

अहिले साधुको आधुनिक रूप भिक्षुका रूपमा मात्र सीमित छ । भिक्षाटनका माध्यमले सार्वजनिक स्वास्थ्य, शिक्षाका क्षेत्रमा सेवा गर्न सक्रिय भएकाहरूलाई चाहिँ संग्रही वा अन्यथा भन्न मिल्दैन ।तर सबै साधुले गेरुको प्रतिष्ठा राखेका छन् ?

यसको उत्तर वसन्तपुर चोकमा पर्यटकहरूसँग तस्बिर खिचाउन सजिएकाहरूलाई हेरेर खोजे हुन्छ । यसलाई साधु रूपको विनिर्माण भनिदिए हुन्छ पाउलो फ्रेरे र ग्राम्स्कीका पक्षधरहरूले, अझ डेरिडाका पक्षधरहरूले ।

कश्मीरको केशर (क्रकस स्याटिभस) बाट सुरु भएको एउटा अवधारणा आज अति दर्शनयुक्त, अति जटिल र राज्यनीतिगत द्वन्द्वको कारण बन्न पुगेको छ । भाइरस, एन्ड्रोइड र हावापानीमा परिवर्तन, तीन कारणले पृथ्वी बस्न अयोग्य हुँदैछ भनेर स्टेफन हकिन्सले भनेका छन् । तर हजार वर्षभित्रमा मानवजाति नै नरहन सक्छ भन्ने पनि छन् । तर जबसम्म मानव रहन्छ तबसम्म गेरुको प्रभाव कायम रहन्छ ।


२५ मङि्सर २०७३ ०८:३३:२२ अन्नपूर्ण पोष्ट
https://annapurnapost.com/news/60412

No comments:

Post a Comment