25.8.21

अर्को इनिंग्स मेरो

सौरभ:- अभ्यास छैन ६ वर्षको उमेरमा बुद्धिचाल सिकाइदिए दाजु रमेश र महेशले । तर, अभ्यास कहिल्यै गरिनँ । अन्तिमचाहिँ दर्शक भएँ नारायणगोपाल र उत्तम नेपालीले चेस खेल्दा । नौ वर्षको उमेरमा क्यारेमबोर्ड सिकेँ तर अभ्यास गरिनँ । शशी शाह र मनुजबाबु मि श्रले खेलेको खेलको दर्शकमात्र भएँ । बच्चैदेखि क्रिकेटको ‘बेल्स' सिकाउँथे । तर २३ वर्षको उमेरमा टुँडिखेलको क्रिकेट पिचमा उभ्याएर जमलनाथ प्याकुरेलले रन भनेको के हो, ब्याटिङ भनेको के हो आधा घन्टा क्लास लिए ।
तर, अभ्यास कहिल्यै गरिनँ । बरु कलकत्ता स्टेडियममा शरदजय सूर्याले अस्ट्रेलियाविरुद्ध ब्याटिङ गर्दाको बेलामा जस्तो कहिल्यै रमाइनँ । अहिले ‘कान्तिपुर'को कार्यालय रहेको ठाउँ (कोटेश्वर)मा हेम लामाको चारवटा टेनिस कोर्ट थियो । लामा र सागरशमशेर तगडा खेलाडी थिए । तर, स्टेफिग्राफलाई सय नम्बरको खेलाडी हुँदादेखि नै पछ्याएँ । तिनले ग्रान्डस्ल्यान्ड जितून् भन्ने कामना गरिराखेँ, जितिन् पनि । त्यसपछि सरापोवालाई हेर्न थालेँ । अहिले तिनलाई दुई वर्ष प्रतिबन्ध लगाएको देखेर बडो बोर फिल गरिराछु । कहिल्यै दौडिइएन तर परार जयबहादुर रोकायालाई जुम्ला खलंगामा गम्लंग अँगालो हाल्न पुगेँ ।

दर्शक मात्र

रडी खेल्नु भनेर योगी नरहरिनाथले लेखे ‘इतिहास प्रकाशमा सन्धिपत्र संग्रह' भन्ने किताबमा । रडीखेल्ला भन्ने ठाउँ नै छ जुम्ला खलंगाबाट एक घन्टा पर । स्किइङको प्राचीन नेपाली रूप हो यो तर हामीले यसको विकास गरेनौं । नेपालमा स्किइङ सन् १९७० मा खुम्जुङ ग्लेसियरमा जापानीहरूले पहिलोपटक अभ्यास गरे भन्ने तथ्यांकमात्र हामीले हर्क गुरुङको ‘भिग्नेट्स अफ नेपाल'मा टिप्यौं ।

गमेगिर' (छुनेगिर पनि भनिन्छ) र टुमेगिर (होल्लेगिर) दुईवटा गिर नेपालमा हुन्छन् । टुमेगिर आधुनिक हकी हो । स्टिकलाई नेपालीमा छेकौरी भन्छन्। बलचाहिँ बाँसको आँख्लाको हुन्छ । छेकौरीको टुप्पो घुमेकै हुन्छ । होल्ले शब्द नै हकी हुन पुग्यो होला । भारतको राष्ट्रिय खेल बन्न पुग्यो । सन् १९४२ मा त्रिभुवन, ऋषिकेश शाह, कृष्णबहादुर बर्मा, नरशमशेर, विजयशमशेरले खेलेको कुरा हाम्रो सम्झनामा छ । तर, त्यो हाम्रो भएन । माघेसंक्रान्ति र वसन्त पञ्चमीमा गिर खेल्नैपर्छ भन्ने मगरहरूको धारणा छ । तेइस सय वर्षअगाडि आएका हौं भन्छन् उनीहरू । तैपनि ‘हकी' हाम्रो भएन ।

बाघचाल हाम्रो आफ्नो मौलिक र पुरानो । यसका बारेमा ‘ब्ल्याकह्वेल' जस्ता बेलायती जर्नलहरूले पनि छापेका छन्। तर यक्ष मल्लको समयको नाटक ‘चतुरंग महाभारत'ले चेसको लोकप्रियतालाई उठायो भनेर हामीले पढ्यौं, मान्यौं, स्वीका¥यौं । बाघचाललाई अन्तर्राष्ट्रिय त बनाउनै सकेनौं । बाघचाल र गाईचाल भन्ने दुईवटा फरक खेल हुन्छन् भन्ने पनि हामीले पत्तै पाएनौं ।

जस्तो पोलो नेपालमा १९२१ मा प्रिन्स अफ ह्वेयर्सले पहिलोपल्ट खेलेको हो । चारवटा पौनी घोडा लिएर चयारी फ्रेडरिक ओ. कनोरले गरेको हो । हात्तीपोलोचाहिँ पश्चिमा जिन एडवर्ड र चक म्याक्डनलले १९८१ मा विकास गरेको भए पनि हाम्रै हो भन्न मिल्छ ।

यार्तोङ (घोडादौड) तिब्बतको झाङझुङ र नेपालको झारकोटमा पनि हुन्छ । त्यो तिब्बती मूलको हो । तर, घोडेजात्राको घोडा कुदाउने प्रणालीचाहिँ हाम्रो विशुद्ध मौलिक हो । त्यसको दार्शनिक पक्षका बारेमा नेपालमा कतै चर्चै भएको छैन ।

रमाइलो लाग्दा

मनवीर पन्थी छोरा सुरेश पन्थीको फुटबल खेल प्रदर्शन हेर्न जान कहिल्यै चुक्दैनथे । तर, उमेरमा ‘इगलाई' उपनाउँ भएका उनी हकीको रनिङ कमेन्टर दिइरहेका हुन्थे स्टेडियममा । अगाडि फुटबल खेल चलिरहेको हुन्थ्यो तर मानिसहरू झुम्मिएर हकीको कमेन्टरी सुनिरहेका हुन्थे ।

नरेन्द्रबहादुर बस्नेतलाई टेबल टेनिस खेलको अति ठूलो चाहना थियो होला । उनले खेल्न नपाएर अथवा यसो भनौं नेपालमा खेल्ने टेबल नपाएर आफैंले एउटा टेबल टेनिस खेल्ने टेबल बनाउन लगाएका थिए । त्यो बेलाको ठूलै रकम असी रुपैयाँमा । कुरा हो दसको दशकको । यो एउटा ऐतिहासिक तथ्य नै हो ।


श्याम थापालाई बंगालबाट झिकाइएको थियो ब्वाइज युनियन टिमबाट खेलाउन । तर, पुलिस क्लबका चारवटा खेलाडीले यसरी उनलाई घेरे चलहल गर्न नदिन कि मैदानमा आफू प्यारालाइज हुनुपर्दा उनी बडो मच्चिएर हाँस्थे । श्याम थापाको फुटबलभन्दा हाँसो धेरै भयो उसबेला । पुलिस क्लबका क्याप्टेन थिए- अच्युत खरेल ।

मगरहरू

गिर खेल्नुपर्ने मगरहरूको सांस्कृतिक चलन छ भनेर अघि नै भनेँ । माओवादी युद्धताका लट्ठी खेल्ने मगर खेललाई उनीहरूले व्यापक विस्तार गरे भनेर सुधीर शर्माले ‘प्रयोगशाला'मा लेखेकै छन् । गोर्खाको बुङकोट गाविसमा ‘बुरुस छाड्ने' खेल पनि मगरहरूकै हो । ‘धाइफाल हाल्ने' (लङ जम्प) खेल्नुपथ्र्यो पृथ्वीनारायण शाहका सिपाहीहरूले भनेर योगी नरहरिनाथले लेखेकै छन् ।

पृथ्वीनारायण शाहका सहयोगीहरू मगर नै हुन् । ठेलो फाल्ने (सर्ट पुट) पनि मगरहरूकै हो । यद्यपि यो अरूहरूले पनि खेल्दछन् । यसैले मगरहरूको योगदान ठूलो छ नेपालका मौलिक खेलहरूमा । खेलाडीहरू विनोदप्रिय हुन्छन् । मगरहरू विनोदप्रिय भएको कारण उनीहरूको खेलप्रेम नै होला । उनीहरूलाई अगाडि बढायौं भने हामी खेलकुदमा चम्किन्छौं ।

अरूका खेल

गोरुको छालाको भकुन्डो बनाएर पश्चिम पहाडमा खेल्ने चलन धेरै नै पुरानो हो । तर, भुकन्डोलाई तिब्बतेली मूलको मानिन्छ । नेपालमा आएको सन् १९२१ मा हो ।

रोप क्लाइम्बिङ' नेपालमा पनि थियो कुनै बेला । रोल्पाको सिउरी गाविस र डोल्पाको फुतु गाविसमा यो थियो, अहिले छैन । यसका बारेमा सेम्योरले ‘तिब्बत' भन्ने किताबमा लेखेका छन् ।

बन्जी' १५ कात्तिक २०५६ बाट सुरु भएको हो । अग्रणी डोभी अल्र्स डाइसुन हुन् । तर, यो मलेसियाली रैथाने खेल हो । सिपाक्टक्रो पनि मलय नै हो । प्याराग्लाइडिङ यही देशको भन्ने छैन । तर, पोखरामा भन्दा पहिला काठमाडौंमा परीक्षण भएको हो ।

अघि बुरुस छाड्ने खेल भनेँ । यो साँढे दौडाउने खेल हो । तर, यसको उत्पत्ति थलो अफगानिस्तान हो । त्यहाँ यसलाई बख्सी दौड भन्छन् । यद्यपि बुरुस र बुख्सी दुईवटैको मूल शब्द संस्कृतको ‘बत्स' हो । ‘बत्स'को अर्थ बाच्छो हो । त्यहाँ मरेको बाच्छोलाई घोडचढीहरूले खोसाखोस गर्छन् ।

बझाङको नभयस्थली गाविसमा ‘गिरी खेल्ने' खेलमा बाच्छाको शवलाई दुईवटा टिमले साँधको वारिपारि लैजाने चलनले बुख्सीलाई सम्झाउँछ । खोकनाको बोका हारालुछ गर्ने पनि बुख्सीकै रूपान्तरण लाग्छ । हामीकहाँ रैथाने खेलहरू तीन सयभन्दा कम छैनन् बरु बढी नै होलान् । कोरियालीहरूको मार्सल आर्टस् जापानले आफ्नो बनाएजस्तै कैयन् हाम्रा खेलको परिचय हरायो होला ।

राष्ट्रिय खेल

धनुषकाँड अथवा तारा खेल वा वाण हान्ने खेल कसैले पनि हाम्रैमात्र हो भन्न सक्दैन । राईदेखि पहरी, सुनुवारदेखि चेपाङ, कुसुन्डादेखि राजी सबै जातजाति यसमा पोख्त छन् । हामी यसमा अग्रणी हुनसक्छौं तर मलाई लाग्छ, त्यसमाथि ठूलो दाबी मंगोलियाको छ ।

सुशील कोइरालाको प्रधानमन्त्रित्वकालमा नेपालको राष्ट्रिय खेल केलाई बनाउने भनेर विवाद उठ्यो । ‘डन्डीबियो'लाई बनाउनेमा सबै केन्द्रित भए । बनाए हुन्छ तर सजिलो छैन । किन सजिलो छैन भने तारो कहाँसम्म उफ्रिने, कतिसम्म उफ्रिनेजस्ता झिनामसिना प्रश्नले ओलम्पिक स्तरको बनाउन्जेलसम्म धेरै वर्ष लाग्नसक्छ ।

कुस्ती पनि कसैले मेरै हो भनी दाबी गर्न सक्दैन । यो तराईमा बढी प्रचलित पनि छ । तर, पश्चिमाहरूले यसलाई यति धेरै विकास गरिसके, हामीले केही गर्नसक्ने ठाउँ कम छ ।

लागछोड

टेबल टेनिसको ब्याट र बल सोह्र वर्षको उमेरमा चलाएँ । तर, दर्जनपटक भन्दा बढी खेलिन हुँला । इलुस्ट्रेड विक्लीका सम्पादक प्रितिस नन्दीले टेबल टेनिस खेलमा हराएमात्र अन्तर्वार्ता लिन पाउने सर्तमा आर्थर क्र्लाकलाई (‘स्पेस ओडीसी'का लेखक) हराएर अन्तर्वार्ता लिएको पढ्दा हत्तेरिका अभ्यास गरेनछु भन्ने लाग्यो ।

ब्याडमिन्टन पनि सात वर्षमै सिकेथे। त्यो पनि दर्जनपटक भन्दा बढी कोर्टमा गइनँ होला । उतिबेलाका नामुद गोपाल बस्नेत साथी नै थिए । अहिले सञ्चारकर्मी भएका छन् । भेटैपिच्छे अपशब्द बोलिहाल्थे । ब्याडमिन्टन खेल्ने भएपछि अपशब्द बोल्ने भइँदो रैछ भन्ने लाग्यो । भागेँ । अहिले उनलाई भेट्दा त्यस्तो होइन रहेछ भन्ने ठान्छु । उनी सोचेभन्दा मिजासिला छन् । त्यो त ब्याडमिन्टन खेलेरै भएको रैछ क्या हो ?

टिम नेपाली

पहाडी भिरालो, उकालो र ओराली भएकाले मैदान थोरै छन् । बनाइए पनि पैह्रोले भत्काउँछन् । यसैले ठूलो टिम नचाहिने, एक्लैले खेल्न सकिने खेलहरूको प्रवद्र्धन हुनुपर्छ । तारा खेलजस्तै । नेपालीहरू टिममा मिलेर खेल्ने जात पनि होइन । यसैले जति खेल राणाकालमा आए, खेलिए वा खेलाइए त्यो अंग्रेजको ‘क्लब ग्यादरिङ'का निम्ति विकास गरिएका खेलहरूमात्रै हुन् । नेपाल अनुकूलका होइनन् ।

ग्रिनल्यान्डको न्यु फाउन्डल्यान्ड र चीनको सिङकियाङमा रैथाने खेलहरूको ओलम्पिकसरह बृहत् आयोजना हुन्छ । शरदचन्द्र शाहसँग मैले यसको कुरा पनि गरेथेँ । नेपाली रैथानेहरूको आयोजना होस् भनेर । उनी सिङकियाङमा पुगेका पनि रहेछन् खेल हेर्न तर चासो दिएनन् । किशोरबहादुर सिंहलाई त समय लिएर भेटेरै भनेथेँ । तर, सायद रुक्मशमशेर राणासँगको द्वन्द्वमै धेरै समय उनको बित्यो ।

अस्ट्रेलियाले नेपालमा चारवटा ठूलाठूला ओलम्पिक स्तरका स्टेडियम बनाइदिने र त्यसबाट नेपालले अन्तर्राष्ट्रिय खेलकुद हलका रूपमा आफ्नो विकास गर्नसक्ने, ठूलै आम्दानी गर्नसक्ने प्रस्ताव राखेको थियो । तर, ठूलाबडालाई त्यसमा सेयर र कमिसन चाहिएको हुनाले उसले हात झिक्यो ।

हामीले खेलकुदमा राम्रो पहिचान र व्यवस्थापन कायम गर्न सक्यौं भने खेलकुद प्रवद्र्धनले अन्तर्राष्ट्रिय प्रतिष्ठा र आम्दानी दिन्छ लुम्बिनीले जस्तै भन्ने मलाई लाग्छ ।

प्रिय खेलाडीहरू

बैकुण्ठ मानन्धर र जयबहादुर रोकाया असाध्यै मन पर्छन् । तिनको अद्भुत सरलपन र विनम्रताले गर्दा पनि त्यसो भएको होला ।

जयकुमारनाथ शाह जसले अनेक खप्की, हेपाइ, आलोचना खाँदा पनि क्रिकेटलाई आज यति उचाले कि पारस खड्का, शरद भेसवाकर, विनोद गौचन आदि खेलाडी चम्किन पाएका छन् । शाहले करिबकरिब जीवन टुँडिखेलको क्रिकेट पिचमै बिताए ।

हरि खड्का । तीभन्दा अघि टुँडिखेलमा अनुपशमशेर, रूपालशमशेरजस्ता खेलाडी पनि खेलिरहेको सम्झन्छु । अहिले त प्रशिक्षक बालगोपाल महर्जन र क्याप्टेन विराज महर्जन, महर्जन बन्धुहरूले गजब गरेका छन् ।

बेकह्यामको चाहिनेभन्दा बढी प्रशंसा भएजस्तो लाग्छ । तिनका पूर्ववर्ती र अहिले नाम सुन्न छोडिएका गाखाइनेको जस्तै । रोनाल्डिन्हो मन पर्नुको कारण खेलभन्दा बढी उनको निर्दोष हाँसोले हो कि ? (दीपक सापकोटा र लक्ष्मण श्रेष्ठसँगको कुराकानीमा आधारित)

  

०४ असार २०७३ १३:०८:४७
https://annapurnapost.com/news/50635

No comments:

Post a Comment