24.8.21

शासकीय सत्तासंग संगै गुरुङ समाजमा हिन्दू संस्कार भित्रियो ।।

Tradition and Adaptation गरि संस्कृति दुई प्रकारका हुन्छन् ।अघि सनातन कालदेखि आफ्नो कुल परम्परामा चल्दै आएको रीति थिति Tradition हो। कालान्तरमा देश, काल र परिस्थिति अनुसार समाजमा आफ्नो अस्तित्व र वर्चस्व कायम राख्नका लागि अङ्गीकार गरेर अपनाइएका रीति र संस्कारहरु Adaptation हुन्।

गुरुङहरुको आदिम कर्म संस्कार आफ्नै दिवङ्गत पितृ र आफ्नै वरिपरिका प्राकृतिक स्रोतहरुलाई नै गुरु र देवता मान्ने जीववादमा आधारित बोन धर्म हो।बोन पनि कालो बोन ( प्होन नाक) र सेतो बोन ( प्होन कर) गरि दुई प्रकारका छन्। बौद्ध लामाहरुले जस्तै संभोट लिपिमा लेखिएको ग्रन्थ पढ्ने, दुई पाखे ढ्याङ्ग्रो बजाउने, बौद्ध लामाले जस्तै रातो लुगा लगाउने र कर्मकाण्डमा पशुबलिलाई महत्त्व नदिने, भिक्षुव्रत लिएर गुम्बामा बस्ने यी सेतो बोन हुन्
लेख्य साहित्य नभएको र वंश परम्परा एवं गुरु परम्पराबाट मौखिकरूपमा शास्त्र फलाक्ने, एक पाखे ढ्याङ्ग्रो बजाउने, टाउकोमा डाँफेको प्वाँख लगाउने, कृतिमपना भन्दा प्रक्रुतिमा आधारित हुने र कर्म संस्कारमा पशुबलिलाई महत्त्व दिने यी कालो बोन( प्होन नाक) हुन्।गुरुङका पज्यु( झाँकृँ) र ल्ह्येबृँ( घ्याबृँ) यिनै कालो बोन परम्पराका पुरोहितहरु हुन्।त्यसकारण आदिम गुरुङ संस्कृति कालो बोन परम्परा अनुरूपको हो भन्ने प्रष्ट हुन्छ।
तिब्बतमा लामा बौद्ध धर्मको विकाश भएपछि नेपालको हिमालीक्षेत्रमा पनि तिब्बती लामा बौद्ध धर्मले प्रभाव पाय्रो।त्यसपछि गुरुङहरु पनि भोटखोलातिर गएर लामा विद्या पढ्न गए।त्यसपछि गुरुङ समुदायमा लम( लामा) थरको विकाश भयो।अघि केवल लामा थरका गुरुङले मात्र लामा विद्या पढ्दथ्ये र लामा थरका गुरुङको मात्र लामा पुरोहित हुन्थ्यो।अरु सबैको पुरोहुत घ्याबृँ हुन्थ्यो।पज्यु( झाँकृ ) लाई ता लामाले पनि मान्दथे।
कालान्तरमा लामा थर इतरका गुरुङहरुले पनि लामा विद्या पढ्न थाले।यसरी नै लामा पुरोहित मान्न थाले ।यसरी गुरुङ समाजमा थरी लामा र पढी लामा भए।अहिले गुरुङ समाजमा आफ्नै गुरुङ परम्परा अनुसार कर्म गर्ने पुरातनवादी लामा र तिब्बती पाराले कर्म गर्ने नयाँ लामा गरी दुई थरी लामा छन्। पुरातनवादी लामाको कर्म संस्कारमा गुरुङपना पाइन्छ।अत: म पुरातनवादी गुरुङ लामाहरुको कर्म संस्कार मन पराउँछु र तदनुसार आफ्नो कर्म संस्कार गराएको छु।
श्याङ्जा, नुवाकोटका राजा मिञ्चाका माहिला छोरा जगदिखानले कास्कीकोटका घले राजालाई जितेर नयाँ आफ्नै नयाँ राज्य खडा गरे पछि उनी जगदिखान साही कहलाए।जगदिखान साहीले लमजुङ हिमालको फेदीमा अवस्थित गुरुङहरुको क्होल राज्य जिते पछि उनी कुलमण्डन शाह कहलाए।
लमजुङमा घले राजा थिए।पुँवार, भँडारी, रावत, शुयाँल, दुरा र घिमिरे यी ६ थरले कुलमण्डन शाहका माहिला छोरा कालु शाहलाई लमजुङमा राजा स्थापना गरे।लमजुङका गुरुङहरुले कालु शाहलाई मार्दिए।त्यसपछि यिनै ६ थरले कालु शाहका साहिँला भाइ यशोब्रह्म शाहलाई लमजुङमा राजा स्थापना गरे।
त्यसपछि यी ६ थरले कालु शाहलाई मार्ने यी गुरुङहरुलाई के गर्ने भनेर रणनीति बनाए। अब यी गुरुङहरुसंग जोरी खोज्न हुन्न।जसरी भए पनि यी गुरुङहरुलाई आफ्नो हातमा लिन सक्नुपर्छ।यी गुरुङहरुलाई हातमा लिन सक्यो भने यिनको माध्यमबाट यी जस्तै अरु जातलाई जित्न सकिन्छ।राज्यको हक अधिकार दिए भने गुरुङहरु हाम्रो पक्षमा आउनेछन्।त्यसकारण राज्यको हक अधिकार दिएर गुरुङलाई हातमा लिनुपर्छ तर यी गुरुङलाई स्वतन्त्र छोड्न हुन्न र हिन्दू धर्मको अङ्कुशी लगाएर राख्नुपर्छ भन्ने रणनीति बनाएर गुरुङहरुलाई लमजुङ दरबारको धर्मसभामा बोलाए।
यता गुरुङहरुमा हामीले एउटा माय्रौँ तर फेरि अर्को ल्यायो।हामीले हरियो( धानको नल) भन्न पाएनौँ, पहेँलो ( धानको बाला) भन्न पाएनौँ।त्यसकारण अब यी खस, बाहुनसंग मिलेर जुग भुँज्ने थिति(दीर्घकालिन थिति ) बाँधेर बस्ने हो भनेर लमजुङका गुरुङ पाँछ( पञ्चभलाद्मि) हरु लमजुङ दरबारको धर्मसभामा गए।
त्यसपछि राजा थाप्ने खसान्त भाइ (खस- बाहुन) र टीका( राज्य) दिने शेषान्त( गुरुङ) भाइ दुवै थरी मिलेर यशोब्रह्म शाहलाई राजा माने।यशोब्रह्म शाह लमजुङका राजा भए।
त्यसपछि यशोब्रह्म शाहले गुरुङहरुलाई तिमीहरुको सनातन कुलधर्म लामा घ्याबृँले गर्ने काम लामा घ्याबृँले गर्नू ब्राह्मणले गर्नुपर्ने काम उपाध्याय ब्राह्मणले गर्नू,जिया नमास्नू, चाक चकुई माफ भन्ने थिति दिए।
हाडनाता करणिमा बिग्रेको पुरुषलाई चाक र हाडनाता करणिमा बिग्रेको महिलालाई चकुई भनिन्थ्यो।त्यसबेला मासिने जात र नमासिने जात गरी दुई थरी जात थिए। मासिने जातका चाक चकुईलाई तिनको जात मासेर दास दासी बनाइन्थ्यो।नमासिने जातका चाक चकुईलाई जात मासेर दास दासी बनाउन पाइदैनथ्यो र तिनलाई मासिने जातमा खसालेर घटुवा गराइन्थ्यो।
गुरुङलाई चाक चकुई माफ गरिएकोले जिया अथवा जात मासेर दास दासी बनाउन पाइँदैन्थ्यो।यसरी जात मासेर दास दासी बनाउन नपाए पछि गुरुङहरु क्षेत्री र ठकुरी सरह खुँडा हान्ने जातमा दरिए।यसरी खुँडा हान्ने जातमा दरिए पछि गुरुङहरु गाउँको तालुकदार मुखिया, गढी गौँडाको द्वारे र कोटको उमरा - मिर उमरा बन्न योग्य ठहरिए।
त्यसबेला गद्दीनसिन राजालाई तखतमा चढेको राजा भनिन्थ्यो।तखतमा चढेको गद्दीनसिन राजालाई राज्याधिकारी र राजाका बडा गुरुज्यूलाई धर्माधिकारी मानिन्थ्यो।बडादशैँमा कोटको मौलो पूजा गर्दा राजा बसेको कोटमा राज्याधिकारी राजाले पानी समाउने र राजाका बडा गुरुज्यू धर्माधिकारीले संकल्प वाक्य भनेर दुर्गा पूजा र मौलो पूजा गरिन्थ्यो।राज्यका अरु कोटहरुमा राज्याधिकारी राजाको प्रतिनिधि भएर मिर उमराले पानी समाउने र राजाका बडा गुरुज्यू धर्माधिकारीको प्रतिनिधि ब्राह्मण पुरोहितले संकल्प वाक्य भनेर दुर्गा पूजा र मौलो पूजा गरिन्थ्यो।ठाउँ ठाउँमा यो प्रथा अझै कायम छ।उदाहरणको लागि ६ गाउँको मौलो हाम्रो गाउँ याङजाकोटलाई लिन सकिन्छ।हाम्रा पिता पुर्खाहरु ६ गाउँ यङजाकोटका मिर उमरा हुनुहुन्थ्यो।अहिले मैले उक्त दायित्त्व वहन गरी राखेको छु।
अघि मौलोले चर्चेको अम्बल भित्र मिर उमराको तैनाथ चल्दथ्यो।लडाइँ भिडाइँ, घा- सन्धी सबै मिर उमरा मार्फत् गरिन्थ्यो।गुरुङ्हरु तालुकदार, जिम्मावाल, मुखिया, द्वारे र उमरा र मिर उमराको तालुकमा धुरी खडा गरेर बसेका र जग्गा जमिन भएका खस- बाहुनले गुरुङ मुखियालाई मान्न पर्थ्यो।
यसरी गुरुङको मर्दा पर्दाको काम आफ्नै थिति अनुसार लामा- घ्याबृँले गर्ने र कोटको दुर्गा पूजा र मौलो पूजा चाहिँ ब्राह्मण पुरोहितबाट सम्पन्न गर्ने परम्पराको विकाश भयो।यसरी शासकीय सत्तासंग संगै गुरुङ समाजमा हिन्दू संस्कार भित्रियो।
बाहुन- क्षेत्रीहरुसंग सम्पर्क भए पछि गुरुङहरुले बाहुन र जोगीसंग देवनागरीलिपिमा लेखपढ गर्न सिके, हिन्दू ज्योयिषशास्त्र र तन्त्र मन्त्र सिके, विभिन्न जात वंशको वंशावली, विभिन्न राजवंशको वंशावली सिके ।सत्य, त्रेता, द्वापर, कलि चार जुगको लक्षण जाने।यस्ता विज्ञलाई गुरुङ्हरु पैँडि - पण्डितको उपाधिद्वारा सम्मान गर्दछन् र यस्ता गुरुङ पैँडि -पण्डितहरुबाट पनि गुरुङ समाजमा हिन्दू मूल्य र मान्यताले प्रवेश पाएको छ र संस्क्रुतिमा Adaptation भनेकै यही हो।
।। शुभम् ।।

No comments:

Post a Comment