24.8.21

सिन्धुलीको लडाइँको बयान मिलेको छैन, गल्ती भएको छ

जगमान गुरुङ:- सैनिक कारबाहीमा Map to Ground र Ground to Map को ठूलो महत्त्व रहेको हुन्छ।त्यसकारण युद्धक्षेत्रको भूगोल बुझेर युद्ध गर्न सक्नुपर्छ। यसैगरी ईतिहास लेख्नेहरुले पनि भूगोल बुझेर मात्रै ईतिहास लेख्नुपर्छ।पृथ्वीनारायण शाहको पालामा सिन्धुलीमा अंग्रेजसंग भएको युद्धको विषयमा पनि युद्धक्षेत्रको वर्णनमा फरक पर्न गई गल्ती भएको छ।

पृथ्वीनारायण शाहको उपदेशमा सिदुलिगढि ( सिन्धुलीगढी ) मा हाँडी साहेब चढेको उल्लेख छ। पृथ्वीनारायण शाहले आफ्नो जीवनका घत लाग्दा कुराहरु आफ्नो जीवनको अन्तिम अवस्थामा सबैका छेउ भनेका थिए।त्यही कुरालाई पृथ्वीनारायण शाहका सेनापति शिवरामसिंह बस्नेतका छोरा काजी अभिमानसिंह बस्नेतले लिपिवद्ध गरेर राखेका थिए।त्यही परम्पराबाट पृथ्वीनारायण शाहको उपदेश चल्दै आयो।

त्यसपछि लेखिएका वंशावलीहरुमा पनि अंग्रेजले सिन्धुलीगढी जित्यो तापनि पौवागढी उम्काउने होइन भनेर पृथ्वीनारायण शाहले सिकारीको सर्दार वंश गुरुङलाई साथ लगाएर खजाञ्ची वीरभद्र उपाध्यायलाई सिन्धुली पठाएको उल्लेख पाइन्छ तर अग्रेजसंगको युद्ध भने ढुङ्ग्रेबासको जङ्गलमा भएको छ।
सिन्धुली पुगेपछि खजाञ्ची वीरभद्र उपाध्यायले पौवागढीमा बसेर टाउकामा हान्ने र सिकारी सर्दार वंश गुरुङले ढुङ्ग्रेबासको जङ्गलमा बसेर ढाड हान्ने योजना बनाए।डाँडाको फेदीबाट अंग्रेजी सेना उकालो लागेर आयो र निर्विघ्नपूर्वक पौवागढी पुग्यो।अंग्रेजी सेना पौवागढी पुगेपछि योजना अनुसार खजाञ्ची वीरभद्र उपाध्यायले वैरीको टाउकैमा हान्दिए।सिकारी सर्दार वंश गुरुङले ढुङ्ग्रेबासको जङ्गलमा ढाड हानेर वैरीको ताँतीलाई दुई टुक्रा बनाइदिए।सिकारीहरुले अरिङ्गालको गोलो फोर्दिए।त्यसपछि अरिङ्गालले चिलेका र सिस्नुले पोलेका अंग्रेजी सेनाको लागि किरै वैरी र झारै वैरी भयो र भागाभाग भए।यसरी सिन्धुलीको लडाइँ जितिएको हो।
अहिले माथी डाँडामा भएको सिन्धुलीगढीदेखि दखिनपट्टीको पाटोमा अलिकति तल पौवागढी अवस्थित छ।पौवागढीदेखि तल ढुङ्ग्रेबास छ।ढुङ्ग्रेबासदेखि तल डाँडाको फेदीमा सिन्धुलीमाडी अवस्थित छ।त्यसकारण यदि अंग्रेजले सिन्धुलीगढी जितिसकेको भए डाँडाको फेदीबाट अंग्रेजी सेना उकालो लगेर किन ढुङ्ग्रेबासको जङ्गलमा लडाइँ हुन्थ्यो र ? अत: अंग्रेजले जितेको ठाउँ सिन्धुलीगढी होइन, डाँडाको फेदीको सिन्धुलीमाडी हो।यसरी ईतिहास सोज्याउनु पर्छ।
सिन्धुलीको पौवागढीस्थित पौवालाई रणबहादुर शाहको समय वि.सं.१८५४ कार्तिककृष्णद्वीतियाका दिन सरदार श्री अङ्गद घलेले जीर्णोद्धार गरेका थिए।यस शिलापत्रमा सरदार अङ्गद घलेको नाम अघाडी श्री उपाधी लगाएको छ।यसबाट त्यस ताका सरदार अङ्गद घले हर्ताकर्ता रहेछन् र उनी सिन्धुलीगढीको संरक्षकको रूपमा रहेछन् भन्ने बुझिन्छ।
किल्ला काँगडाको लडाइँ ताका अङ्गद घले उपल्लै खण्ड खाने कप्तान थिए।त्यस ताका कप्तान अङ्गद घले श्रीनगरमा बसेर देहरादूनतिरको पनि सम्भार गर्दथे।कप्तान अङ्गद घलेले बनाएको नालापानीको किल्लामा कप्तान बलभद्र कुँवरले अंग्रेजसंग डटेर लडेका थिए तर आज नालापानीको किल्ला छोडेर गएका कप्तान बलभद्र कुँवरको नाम अंग्रेजले प्रख्यात बनाइदिए तर नालापानीको किल्ला बनाउने कप्तान अङ्गद घलेलाइ अरुको ता कुरै छोडौँ नेपालको सैनिक इतिहासमा पनि उनले ठाउँ पाउन सकेन।कप्तान अङ्गद घलेले गढवाल र कुमाउको सरकारी रकम कलम अशुल उपर गर्दथे।त्यही बेलामा वि.सं.१८६९ मा नेपालले श्री केदारनाथको मन्दिर बनाएको हो।अङ्गद घले मार्फत् उनले अशुल उपर गरेको रकम नेपालले श्री केदारनाथको मन्दिर बनाउन दिएको छ।साबिक पहाड बन्दोबस्त विर्ता फाँट( हाल मालपोत विभाग, अभिलेख शाखा) मा यस व्यहोराको लिखत प्रमाण छ। नेपाल र अंग्रेजले महाकाली नदिलाई सीमाना मानेर वि.सं.१८७२ वैशाख १७ गते कुमाउमा गरेको सन्धिपत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्ने नेपाली भरदारहरुमा कप्तान अङ्गद घले पनि एक जना थिए तर कप्तान अङ्गद घलेलाई म इतिहासविद् हुँ भन्नेहरुले ता बिर्से बिर्से नेपाली सेनाले प्रकाशित गरेको नेपाल एकीकरणको इतिहासमा पनि कप्तान अङ्गद घलेलाई बिर्से ।
नेपाली सेना, जङ्गी अड्डाले नेपाल एकीकरणको ईतिहास प्रकाशित गरेको छ।उक्त पुस्तकमा वि.सं.१८७२ वैशाख ५ गते कप्तान भक्ति थापाले देउथलको युद्धमा वीरगति प्राप्त गरेको घटना पछि पश्चिम किल्ला काँगडातिरको युद्धको वर्णन टुङ्ग्याएको छ तर वि.सं.१८७२ वैशाख ५ गते पश्चिमतिरको युद्ध टुङ्गिदैन।कप्तान भक्ति थापाले वि.स.१८७२ वैशाख ५ गतेको जुनेली रातमा देउथलको युद्धमा वीरगति प्राप्त गरेका थिए।अंग्रेजले पनि कप्तान भक्ति थापाको शवमा दोसल्ला ओडाएर सम्मान अर्पण गरेका थिए तर वि.सं .१८७२ वैशाख ५ गते पश्चिमतिरको युद्ध टुङ्गिदैन ।
कप्तान भक्ति थापाले वीरगति प्राप्त गरेपछि लडाइँ बिग्य्रो।त्यसपछि बाँकी बचेका खास नेपाली सेनालाई लिएर बूढा काजी( बडाकाजी) अमरसिंह थापा राजगढ आए।वि.सं.१८७२ वैशाख ६ गते राजगढमा नेपाल र अंग्रेजका बीच घमासान युद्ध भयो।राजगढको त्यस युद्ध सुब्बा प्रह्लाद गुरुङले वीरगति प्राप्त गरे।त्यसपछि चौतारिया बम शाहले युद्ध विराम घोषणा गरिदिए।यसरी वि.सं.१८७२ वैशाख ६ गते राजगढको युद्धमा सुब्बा प्रह्लाद गुरुङले वीरगति प्राप्त गरेपछि पश्चिम किल्ला काँगडातिरको युद्ध टुङ्गिएको हो।
नेपाली सेनाले प्रकाशित गरेको नेपाल एकीकरणको इतिहासमा सिन्धुलीमा अंग्रेजसंग लडेका सिकारी सर्दारको नाम वंशु गुरुङ लेखेको छ।उक्त सिकारी सर्दार वंशु गुरुङ होइन, वंश गुरुङ हो।त्यसकारण सिकारी सर्दार वंशु गुरुङ लेखिएको यो नेपाल एकीकरणको ईतिहास त्रुटिपूर्ण छ। यसैगरी वि.सं. १८७२ वैशाख ६ गते टुङ्गिएको युद्ध वैशाख ५ गते नै टुङ्ग्याइदिनु, यो पनि अपूर्ण छ।नेपाली सेना राष्ट्रको गौरव हो।त्यसकारण राष्ट्रका गौरव नेपाली सेनालाई त्रुटिपूर्ण र अपूर्ण ईतिहास पढाउन हुन्न।सैनिकहरु दिग्भ्रमित हुनेछ्न्।
खस, मगर र गुरुङको संयुक्त शक्तिबाट संगठित नेपालको सैन्यबल नेपाल राष्ट्रको निर्माणका लागि अत्यन्तै सफलीभूत प्रमाणित भएको छ।त्यसो भएर नै सिन्धुलीमा खजाञ्ची वीरभद्र उपाध्याय र सिकारी सर्दार वंश गुरुङले अंग्रेजका विरुद्धमा संगसंगै लडेर अंग्रेजलाई जित्न सके।किल्ला काँगडाको लडाइँमा कप्तान अङ्गद घलेले बनाएको नालापानीको किल्लामा कप्तान बलभद्र कुँवरले अंग्रेजसंग डटेर लडे।देउथलको युद्धमा कप्तान भक्ति थापाले वीरगति प्राप्त गरे।सुब्बा प्रह्लाद गुरुङले राजगढको युद्धमा वीरगति प्राप्त गरे।सुब्बा प्रह्लाद गुरुङको वंशजका घर कास्कीको चौर गाउँमा सुब्बा प्रह्लाद गुरुङको नगरा निशान सुरक्षित छ र सरकारी गुठीद्वारा उक्त नगरा निशानको नित्य नैमित्य पूजा भई रहेको छ।तास कुचिनको कपडाको उक्त निशान सुब्बा प्रह्लाद गुरुङले अक्टलोनिको झण्डा च्यातेर ल्याएको हो भन्ने श्रुति परम्परा छ।नत्र भने त्यो बेला तास कुचिनको कपडा नेपालले कहाँ पाउनु ? सुब्बा प्रह्लाद गुरुङको वीरताको कदर गर्द उनले वीरगति पाएपछि नगरा निशानको गुठी र छोरा जयमङ्गल गुरुङको मरवटका लागि कास्कीको लामाचौरमा २५० मुरि जग्गा दिएको थियो।आज हनुमानढोका कम्पुकोतमा हुनुपर्ने नगरा निशान सुब्बा प्रह्लाद गुरुङका वंशजको घरमा सुरक्षित छ।यसबाट तात्कालिक नेपाल सरकारले सुब्बा प्रह्लाद गुरुङको वीरताको कदर गर्दै वहाँप्रति अर्पण गरेको उच्च सम्मानको भावना प्रकट हुन्छ।त्यसकारण वर्तमान नेपाल सरकारले पनि समानुपातिक एवं समावेशिताको आधारमा सुब्बा प्रह्लाद गुरुङलाई राष्ट्रिय विभूति घोषणा गरेर सुब्बा प्रह्लाद गुरुङप्रति सम्मान अर्पण गर्न जान्नु पर्दछ।।
लोका: समस्ता: सुखिनो भवन्तु ।। शुभम् ।।

No comments:

Post a Comment