2.9.21

मनुस्मृति र महिला सुरक्षा

आमोदवर्धन कौण्डिन्न्यायन :- विषयप्रवेश- वैदिक धर्मशास्त्रका विशेष गरी मनुस्मृतिका विभिन्न पक्षमा यथार्थ कुरा जनसमक्ष आओस् भन्ने उद्देश्यले यस लेखमा मनुस्मृतिमा गरिएको महिलासुरक्षासम्बन्धी व्यवस्थाको चर्चा गरिँदै छ । वैदिक धर्मको आजभोलि सर्वाधिक आलोचना गर्ने गरिएको ग्रन्थ मनुस्मृति हो । 
यसले महिलाप्रति अनुचित नियम बनाएर थिचोमिचो गर्ने गरेको छ भनेर प्रचार गर्ने–गराइने गरेको पनि देखिन्छ । धेरैले ‘न स्त्री स्वातन्त्र्यमर्हति’ भन्ने मनुको श्लोकलाई विवादको विषय बनाउने गरेका पनि छन् । त्यसैले यहाँ यसै विषयमा लेखिँदै छ ।
महिला सुरक्षाको आवश्यकता- हिंसा, चोरी, डकैती इत्यादि अपराधपूर्ण कार्यबाट सम्पूर्ण राष्ट्रवासीको रक्षा गर्ने कार्य जति महत्त्वपूर्ण हुन्छ, त्यसै गरी महिलाहरूलाई बलात्कृत हुनबाट रक्षा गर्ने कार्य पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ।

यदि कदाचित् कुनै महिला बलात्कृत भइहालेमा उसमाथि पर्न गएको मानसिक र शारीरिक आघातको केही गरेर पनि क्षतिपूर्ति हुन नसक्ने हुनाले त्यस्तो अपराध भएपछि अपराधीलाई दण्ड दिनुभन्दा पनि बढी सतर्कता त्यस्तो अपराध हुनै नदिनुमा अपनाउन पर्ने देखिन्छ । त्यसैले सकेसम्म त्यस्तो अपराध हुन सक्ने अवस्थै नआओस् भनेर मनुस्मृतिले महिलाका सुरक्षाका निम्ति विशेष निर्देश दिएको देखिन्छ—

पिता रक्षति कौमारे भर्ता रक्षति यौवने ।
रक्षन्ति स्थविरे पुत्रा न स्त्री स्वातन्त्र्यमर्हति ।।९।३।।

अर्थात् बाल्यकालमा बाबुले, यौवनावस्थामा पतिले र वृद्धावस्थामा छोराहरूले स्त्रीको रक्षा गर्छन् । स्त्री कहिल्यै पनि स्वतन्त्र रहन हुँदैन अर्थात् अरू कसैबाट पनि रक्षित नभैकन एक्लै रहन हुँदैन। यसको तात्पर्य स्त्री स्वतन्त्र रहेर आफ्नाे रक्षा गर्न प्रायः सम्भव हुँदैन भन्ने हो ।

यो श्लोक महाभारतको अनुशासनपर्वमा (४६।१४) र अन्यत्र पनि केही फरक पाठका साथ उपलब्ध छ । राष्ट्रका विशिष्ट व्यक्तिलाई सुरक्षा चाहिएझैँ महिलालाई पनि विशेष सुरक्षा चाहिन्छ भन्ने आशय यस श्लोकको हो ।

बलात्कारमा कडा दण्डको विधान

मनुस्मृतिले महिलाका सुरक्षामा अत्यन्त जोड दिएको हुनाले महिलामाथि बलात्कारजस्तो अपराध कदाचित् कसैबाट भैहालेमा अवस्था हेरेर अपराध गर्नेलाई मृत्युदण्डजस्तो कडा दण्ड दिन पनि उचित हुने कुरा बताएको छ—

योऽकामां दूषयेत् कन्यां स सद्यो वधमर्हति ।
सकामां दूषयँस् तुल्यो न वधं प्राप्नुयान् नरः ।।८।३६४।।

अर्थात् समान जातिकै पुरुष भए पनि यदि उसले अनिच्छुक कन्यालाई (बलात्कार गरेर) दूषित पार्छ भने ऊ तत्कालै मृत्युदण्ड पाउन योग्य हुन्छ । कन्याका राजीखुसीले उसलाई दूषित पार्ने कन्याकै जातिको पुरुषले भने मृत्युदण्ड पाउँदैन ।

नेपालको आधुनिक ऐनकानुनमा र मनुस्मृतिमा गरिएका दण्ड–सजायका व्यवस्थालाई तुलना गरेर हेर्दा महिलाविरुद्ध बलात्कार गर्नेलाई प्रचलित ऐनकानुनले भन्दा मनुस्मृतिले कठोर दण्ड दिने विधान गरेको स्पष्ट हुन्छ ।

अहिले पनि समाजमा साह्रै साना बालिकादेखि साठी-पैँसठ्ठीवर्षसम्मका वृद्धाहरूसमेत बलात्कारको सिकार भैरहेको बारम्बार सुनिन्छ । महिलाबाट पुरुष बलात्कृत भएको घटना भने विश्वभरिमै अत्यन्तै कम छ । महिला र पुरुषका केही गरे पनि परिवर्तन गर्न वा समानतामा ल्याउन नसकिने स्वाभाविक प्रकृतिसम्मत भेदका कारणले नै यस्तो परिस्थिति खडा भएको हो ।

त्यसैले महिलाबाट पुरुष बलात्कृत भएमा यस्तो दण्ड दिने भन्ने व्यवस्थासम्म पनि प्रचलित ऐनकानुनमा गरिएको छैन । तर महिलाका सम्बन्धमा भने उसले आफ्नाे धर्म बचाउन (सतीत्व रक्षा गर्न) बलात्कार गर्न खोज्नेलाई बलात्कार नगर्दै प्रतिकार गर्दा वा बलात्कार गरिसकेपछि रिस थाम्न नसकी बलात्कारीलाई मार्दा ज्यान मारेको बात लाग्दैन भनी नेपालको ऐनकानुनले पनि महिलाको सतीत्व जोगाउन विशेष व्यवस्थासमेत गरेर महिलालाई विशिष्ट प्रकारको सुरक्षाको अधिकार दिएको छ । तसर्थ राम्ररी विचार गर्दा मनुस्मृतिको उक्त व्यवस्था महिलाका सुरक्षामा संवेदनशील भएर गरिएको बुझिन्छ । यसलाई भेदभाव गरेर नियन्त्रण गर्न खोजेको भन्नु तर्कसङ्गत र उचित हुँदैन ।

महिलाप्रति हुन सक्ने दुर्व्यवहार

आजभोलि आफ्नाे नातेदार पुरुषबाट समेत महिलाप्रति दुर्व्यवहार हुने गरेको र कतैकतै त तिनैबाट उनैका छोरीचेलीहरू बलात्कृत हुनु परेको घटना पनि बेलाबेलामा सुनिँदै आएको छ । यस्तो स्थिति आउँदै नआओस् भनेर आमा, दिदीबहिनी र छोरीसित पनि एकान्तमा एक्लै नबस्न पुरुषलाई मनुस्मृतिले निर्देश दिएको छ, अन्यथा बलिया इन्द्रियहरूले विद्वान्‌लाई नै पनि आफ्ना वशमा पारेर कुकर्म गर्न प्रेरित गर्न सक्छन् भनिएको छ—

मात्रा स्वस्रा दुहित्रा वा न विविक्तासनो भवेत् ।
बलवानिन्द्रियग्रामो विद्वांसमपि कर्षति ।।२।२१५।।

आफ्ना अभिभावकका रेखदेखमा वा उनीहरूको अनुमति लिएर आफ्नाे चरित्र जोगाउँदै आफू सुरक्षित भएर कार्य गर्न धर्मशास्त्रले महिलालाई पनि रोकेको छैन । पुरुषले पनि धर्मशास्त्रको अनुशासन मान्नै पर्ने हुँदा महिला र पुरुषका बीच अनुचित भेदभाव धर्मशास्त्रले गरेको भन्न मिल्दैन ।

महिलाको चरित्रको वा सतीत्वको रक्षा गर्न ऊ स्वयं चरित्रवती भएर मात्र पनि नहुन सक्ने र कदाचित् कुनै पुरुषबाट बलात्कृत भएमा पनि उसको सतीत्व नष्ट भएको मानिन सक्ने देखिएकाले तथा पुरुषको चारित्रिक शुद्धताचाहिँ ऊ आफू स्वयं चरित्रवान् भए मात्र पनि रहन सक्ने देखिएकाले धर्मशास्त्रले महिलालाई बढी सुरक्षा आवश्यक पर्ने कुरा बताएको हो । यौनदुराचारको वा बलात्कारको दुष्परिणाम विशेष रूपले महिलाले भोग्नुपर्ने हुनाले पनि महिलालाई बढी सुरक्षा गर्नुपर्ने आवश्यकता स्वाभाविक रूपले नै अनुभव गर्न सकिन्छ ।

राति एक्लै हिँड्दा पुरुषभन्दा महिला बढी असुरक्षित हुने कुरा अहिले पनि सबैले अनुभव गरिरहेकै छन् । त्यसैले धर्मशास्त्रमा महिलाका प्राकृतिक अवस्थालाई दृष्टिमा राखेर गरिएका यस्ता विशेष व्यवस्थालाई महिलाकै हितका निम्ति गरिएको सकारात्मक विभेदका रूपमा हेर्नुपर्ने हुन्छ ।

पुरुषप्रति धर्मशास्त्रको अनुशासन

धर्मशास्त्रले पुरुषलाई चाहिँ स्वेच्छाचारी हुन छुट दिएको छ भन्ने भ्रम पनि समाजमा व्याप्त रहेको छ । किन्तु धर्मशास्त्रले अविवाहित वा विवाहित स्त्री र पुरुषका बीचमा परस्पर हुन सक्ने अनैतिक यौनसम्बन्धलाई पनि निषेध गरेको हुनाले त्यस्तो कार्य हुन नदिन पुरुषलाई समेत नियन्त्रण गर्न खोजेकै छ ।

पुरुष व्यभिचारी नभएमा महिला व्यभिचारिणी (परपुरुषसित सम्पर्क गर्ने खालकी) हुनै नसक्ने कुरा छान्दोग्योपनिषद्मा राजा अश्वपतिको भनाइका रूपमा आएको मेरा देशमा चोर, कञ्जुस, जँड्याहा (द्विजाति), अग्निको आधान नगरेको (द्विजाति), अविद्वान् (विद्या नपढेको) र परस्त्रीगामी कोही पनि छैन, अनि व्यभिचारिणी स्त्री कहाँबाट होस्? भन्ने कुराबाट पनि स्पष्ट बुझिन्छ—

न मे स्तेनो जनपदे न कदर्यो न मद्यपः ।
नाऽनाहिताग्निर्नाऽविद्वान् न स्वैरी स्वैरिणी कुतः ।।५।११।५।।

यसबाट धर्मशास्त्रले महिला र पुरुष दुवैलाई अनुशासनमा राख्न नियन्त्रण गरेको कुरा पुष्ट हुन्छ । त्यसैले पुरुषलाई स्वेच्छाचारी हुन छुट दिएको तर महिलालाई भने अनेक बन्धनले नियन्त्रण गरेको भन्नु उचित हैन । जसरी महिलाका निम्ति पतिव्रता धर्मको महिमा शास्त्रमा बताइएको छ, त्यसरी नै पुरुषका निम्ति पनि कन्यादूषण गर्ने र परस्त्रीगमन गर्ने कार्यको निन्दा गरेर तथा त्यसो गर्दा कडा दण्ड दिने व्यवस्था गरेर समेत ब्रह्मचर्यमा बस्न वा एकपत्नीव्रतमा रहन निर्देश दिइएको छ । यसबाट पनि महिला र पुरुषमा धर्मशास्त्रले अनावश्यक भेदभाव राखेको छैन भन्ने कुरा नै पुष्ट हुन्छ ।

जसरी गर्भाधान गर्ने पुरुषको कार्य महिलाले र गर्भधारण तथा गर्भपोषण गर्ने महिलाको कार्य पुरुषले गर्न मिल्दैन, त्यसै गरी महिला र पुरुषमा रहने अपरिवर्तनीय प्राकृतिक लैङ्गिक असमानतालाई बदल्न सकिँदैन भन्ने कुरा पनि बिर्सनु हुँदैन । आवश्यकता र औचित्य हेरेर धर्मशास्त्रले महिलाप्रतिभन्दा पुरुषप्रति बढी कठोरता अपनाएको कुराको चर्चा भने त्यति गरिएको देखिँदैन ।

पुरुषलाई गम्भीर अपराधमा मृत्युदण्डसम्म दिने व्यवस्था धर्मशास्त्रले गरेको छ भने महिलालाई भने सामान्यतया दण्डका रूपमा वध गर्न, विरूप (कुरूप) पार्न र उसका अङ्ग काट्न पनि हुँदैन भन्ने धर्मशास्त्रकारको वचन छ । उस्तै पापकर्म गर्दा महिलालाई कम पाप लाग्ने तर पुरुषलाई भने बढी पाप लाग्ने कुरासमेत शास्त्रमा पाइन्छ ।

धर्मशास्त्रको लोककल्याणकारिता

उपर्युक्त र अन्य धेरै कुराको समेत विचार गर्दा प्राणीमात्रको तथा चराचर जगतको समेत कल्याण चाहने ऋषिमुनिहरूका दिव्य दृष्टिद्वारा सूक्ष्मभन्दा सूक्ष्म कुराको समेत विचार गरेर बनाइएका आचारसंहितामा रहेका लोककल्याणकारी भावनालाई आकलन गर्न सकिन्छ । केवल भौतिकतावादी दृष्टिकोण मात्रै राखेर धर्मशास्त्रको विवेचना गर्न खोज्दा धर्मशास्त्रको आशय र तात्पर्य बुझ्न सकिँदैन । 

मनुस्मृतिमा उल्लिखित तलका उक्तिहरूको पनि मनन गर्ने हो भने मनुस्मृतिले महिलाप्रति सम्मान गरेको स्पष्ट हुन्छ । नारीको सत्कार गरे देवता प्रसन्न हुन्छन्—

यत्र नार्यस् तु पूज्यन्ते रमन्ते तत्र देवताः ।
यत्रैतास् तु न पूज्यन्ते सर्वास् तत्राऽफलाः क्रियाः ।।३।५६।।

जहाँ नारीहरूको आदरसत्कार गरिन्छ, त्यहाँ देवताहरू रमाउँछन् । जहाँ यिनीहरूको आदरसत्कार गरिँदैन, त्यहाँ सम्पूर्ण कार्यहरू निष्फल हुन्छन् । स्त्रीलाई कान्तियुक्त पार्नुपर्छ—

स्त्रियां तु रोचमानायां सर्वं तद् रोचते कुलम् ।
तस्यां त्वरोचमानायां सर्वमेव न रोचते ।।३।६२।।

स्त्री प्रसन्न हुँदा त्यो पूरै कुल उज्ज्वल हुन्छ । स्त्री मलिन हुँदा त पूरै कुल फिक्का हुन्छ ।

अतः महिलाको सुरक्षाका निम्ति वा महिला र पुरुषलाई अनुशासनमा राख्नका निम्ति मनुस्मृतिले दिएका निर्देशनको उद्देश्य तथा तात्पर्य मननीय देखिन्छ ।

निष्कर्ष

स्वतन्त्रताको पनि मर्यादित रूपमा नै उपभोग गर्नुपर्छ । धर्मशास्त्र, कानुन तथा सामाजिक मूल्य र मान्यताअनुसार सबै शासित हुनुपर्छ । महिला वा पुरुष कसैले पनि मर्यादाको उल्लङ्घन गर्नुहुँदैन।

वैदिक धर्मशास्त्र सूक्ष्म भएको हुनाले यसले महिला र पुरुषका शाश्वत लैङ्गिक प्रकृतिलाई विचार गरेर महिला र पुरुषलाई अनुशासन(द्वारा सन्मार्गमा हिँडाउन र यौनदुराचारबाट रोक्न प्रयास गरेको देखिन्छ । त्यसैले कतिपय अनुशासन पुरुष र महिलाका निम्ति उनीहरूका फरकफरक प्राकृतिक अवस्थाका कारणले फरकफरक निर्दिष्ट भएका पनि छन् । यस्तो कार्य लोककल्याणकारी भावनाबाट नै भएको हो । वैदिक सनातन धर्ममा यौनस्वतन्त्रता महिला वा पुरुष कसैलाई पनि दिइएको छैन ।

धर्मशास्त्रले बलात्कारका अपराधमा अपराधीलाई अत्यन्त कडा दण्ड दिने र वास्तवमा निष्काम हुँदाहुँदै बलात्कृत हुन पुगेका महिलालाई शास्त्रीय विधिले प्रायश्चित्त गराएर चोख्याउने समेत व्यवस्था गरेर महिलाप्रति न्यायपूर्ण व्यवहार गरेको छ । किन्तु बलात्कृत भएकी महिला¬लाई प्रायश्चित्त गराएर चोख्याउने परिपाटी हाम्रा समाजमा नभएकाले यस्तो प्रचलन नदेखिएको मात्र हो ।

अतः वैदिक शास्त्रका विधानको र त्यसका औचित्यको चर्चा पनि समाजमा यथार्थ रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता अनुभव हुन्छ । यसरी मनुस्मृतिले बलात्कारका अपराधमा अपराधीलाई कडा दण्ड दिने विधान गर्नुका साथै महिलाको सुरक्षामा अत्यन्त सावधान हुन समाजको ध्यानाकर्षण पनि गरेको छ ।

(कौडिन्न्यायनका लेख हरेक शुक्लपक्षको प्रतिपदाको दिन नियमित रुपमा प्रकाशित हुन्छन्। लेखमा व्यक्त गरिएका धारणा लेखकका आफ्ना हुन्।)
 
स्रोत :- चैत १, २०७७ देश सन्चारमा प्रकाशित
https://deshsanchar.com/2021/03/14/485736/

No comments:

Post a Comment