8.9.21

नागपञ्चमीको वास्तविकता र महत्व

पृथ्वीराज पोखरेल:- कुनै पनि महत्व र अर्थ नबुझी फेसनको रुपमा पर्व तथा उत्सवहरु मनाउनु नेपाली जनजीवनको विशेषता नै बनिसकेको छ । त्यसै क्रममा श्रावण मासको शुक्लपक्षको पञ्चमी तिथिको दिन मनाइने नागपञ्चमी पनि एउटा पर्व हो जसको महत्व महिमा बुझेर सही अर्थमा मनाउन सकेमा जो कोहीले पनि धेरै लाभ प्राप्त गर्न सक्छ तर पनि बजारबाट नागको तस्बिर किनेर ल्याउनु र फोटोमा अबिर छर्कनुजस्ता औपचारिकता निभाएर मात्र नाग देवहरुको आशीर्वाद प्राप्त गर्न सकिँदैन।

 यसको लागी त नागपञ्चमीको महत्व सही अर्थमा बुझेर पूर्ण श्रद्धा, भक्तिका साथ प्राण–प्रतिष्ठित नागको तस्बिरमा विधिपूर्वक पूर्वक पूजन गर्नु आवश्यक हुन्छ । त्यसैले यहाँ नाग र नागपञ्चमी को महत्वको बारेमा केही कुराहरु प्रकाश पार्न खोजिएको छ । वेद र पुराणहरुमा नागको उद्गम महर्षि कश्यप र उहाँकी धर्मपत्नी कद्रूबाट भएको मानिन्छ । नागको मूल स्थानको रुपमा पाताललोक प्रसिद्ध छ । पुराणमा नागलोकको राजधानीको रुपमा भोगवतपुरी विख्यात् छ ।

संस्कृत कथा साहित्य ‘कथासरित्सागरु’ नागलोक र त्यहाँका बासिन्दाको कथाहरुले ओतप्रोत छ । गरुडपुराण, भविष्यपुराण, चरकसंहिता, सुश्रुतसंहिता, भावप्रकाश आदि ग्रन्थहरुमा नागसम्बन्धी विविध विषयको उल्लेख गरेको पाइन्छ ।

पुराणहरुमा यक्ष, किन्नर र गन्धर्वको वर्णनका साथ नागको पनि वर्णन पाइन्छ भने स्वयं परब्रह्म परमात्मा महायोगी सद्गुरु गोरखनाथले विभिन्न समयमा नागका आसन जमाइ तपस्या गर्नुभएको प्रसंगले पनि नागको महिमा अझ बढ्न गएको छ ।

भगवान् विष्णुको शैय्याको शोभा शेषनागराजले बढाइदिनुभएको छ । भगवान् शिव र गणेशको अलंकारमा पनि नागको महत्वपूर्ण भूमिका छ । योगसिद्धिका लागी जसले कुण्डलिनी शक्ति जागृत गर्दछ, त्यसलाइ सपिर्णी भनिन्छ ।

पुराणमा भगवान् सूर्यको रथमा द्वादश नागको उल्लेख भएको पाइन्छ जुन क्रमशः प्रत्येक मासमा उहाँको रथको बाहक बन्दछ । यसप्रकार अन्य देवताहरुले पनि नाग धारण गर्नुभएको छ । त्यसैले नागलाइ सर्वत्र देवताको रुपमा स्वीकार गरिएको छ ।

कश्मिरका प्रसिद्ध संस्कृत कवि कल्हणले आफ्नो प्रसिद्ध पुस्तक ‘राजतरङ्गिणी‘ मा कश्मिरको सम्पूर्ण भूमि नागका लागि पवित्र मान्नुभएको छ । त्यहाँको प्रसिद्ध नगरको नामाकरण नै अनन्तनाग हुनु यसको ऐतिहासिक प्रमाण हो ।

पूर्वीय संस्कृतिमा साँझ बिहान भगवत्स्मरणको साथै अनन्त तथा वासुकि आदि पवित्र नागहरुको नाम पनि स्मरण गरिन्छ जसबाट नागविष, भयबाट रक्षा हुने र सर्वत्र विजय हुने विश्वास छ ।

अनन्तं वासुकिं शेषं पद्यनाभं च कक्बलम् ।
शंखपालं धार्तराष्ट्रं तक्षकं कालियं तथा ।।
एतानि नव नागानि नागानां च महात्मनाम् ।।
सायंकाले पठेन्नित्यं प्रातः काले विशेषतः ।।
तस्मै विषभयं नास्ति सर्वत्र विजयी भवेत् ।।

देवी भागवतमा प्रमुख नागको नाम नित्य स्मरण गरिएको छ । हाम्रा ऋषिमुनिहरुले नाग उपासनाका लागि अनेक व्रत र पूजनका विधिहरु प्रदान गर्नुभएको छ ।

श्रावण मासको शुक्ल पक्षको पञ्चमी नागका लागि अत्यन्त आनन्ददायक दिन हो । ‘नागानामानन्दकरी’ पञ्चमी तिथिको नागपूजामा उहाँहरुलाई गाईको दूधले स्नान गराउने विधान छ। भनिन्छ कि एकपटक मातृ श्रापले नागलोक जल्न लाग्यो ।

यस दाहपीडाको निवृत्तिको लागि नागपञ्चमीमा गाईको दूधले स्नान गर्ने गरिन्छ जसले नागलाई शीतलता प्रदान गर्दछ । यसबाट भक्तलाइ पनि सर्पको डरबाट मुक्ति मिल्दछ ।

ब्रह्मबैवर्तपुराणको प्रथम भाग अध्याय ४५, श्लोक नं १४–१६ मा पनि भनिएको छ कि जरत्कारु, जगद्गौरी, मनसा, सिद्धयोगीनी, वैष्णवी, नागभगिनी, शैवी, नागेश्वरी, जरत्कारुप्रीया, आस्तीकमाता, विषहरी तथा महाज्ञानयुता ।

यी १२ नाम जो पूजा समयमा पाठ गर्दछ, उच्चारण गर्दछ, उसलाइ नागभय तथा सर्प भय हुँदैन ।

यसै क्रममा नागपञ्चमीको सन्दर्भमा रहेको एउटा रोचक कथा छ जसको श्रवणको श्रावण महिनामा ठूलो महत्व छ ।

एकपटक देवता र असुरले समुद्रमन्थनमा चौध रत्नमा उच्चैःश्रवा नामक अश्वरत्न प्राप्त गरेका थिए । यो अश्व अत्यन्त श्वेत वर्णको थियो ।

त्यसलाइ देखेपछि नागमाता कद्रु तथा विमाता विनता दुवैबिच अश्वको रंगको सम्बन्धमा वादविवाद भयो । कद्रुले भनिन् अश्वको केश कालो वर्णको छ । यदि आफ्नो कथनमा असत्य सिद्ध भएमा म तिम्रो दासी बन्छु अन्यथा तिमी मेरी दासी बन्नुपर्छ ।

कद्रुले नागलाइ कपालजस्तै बनेर नागलाइ अश्वको शरीरमा आवेष्ठित हुन निर्देशन दिइन, तर नागले आफ्नो असमर्थता प्रकट गरे । यसबाट क्रुद्ध भई कद्रुले नागलाइ श्राप दिइन कि पाण्डववंशको राजा जनमेजयले नागयज्ञ गर्नेछ, त्यही नागयज्ञमा तिमीहरु सबै जलेर भस्म हुनुपरोस् ।

नागमाताको श्रापबाट भयभीत नागहरुले वासुकीको नेतृत्वमा ब्रह्माजीसँग श्राप निवृत्तिको उपाय सोध्दा ब्रह्माजीले निर्देशन दिनुभयो – ‘यायावरवंशमा उत्पन्न तपस्वी जरत्कारु तिमीहरुकी बहिनी हुनेछिन् । उनको छोरा आस्तीकले तिमीहरुको रक्षागर्नेछ ।‘

भगवान् ब्रह्माले पञ्चमी तिथिमा नागहरुलाइ यो वरदान दिनुभयो तथा यसै तिथिमा आस्तीकमुनिले नागको परिक्षण गर्नुभएको थियो । त्यसकारण नागपञ्चमीको यो व्रत ऐतिहासिक रुपबाट महत्वपूर्ण छ । नागपञ्चमीको दिनमा व्रतको साथ एकपटक भोजन गर्ने नियम छ । पूजा गर्दा पृथ्वीमा नागको चित्राङ्कन गरिन्छ । नाग पूजनमा निम्न लिखित मन्त्रको उच्चारण गर्दै नागलाइ प्रणाम गरिन्छ ।

सर्वे नागाः प्रीयन्तां मे ये केचित् पृथिवीतले ।।
ये च हेलिमरीचिस्था येऽन्तरे दिवि संस्थिताः ।
ये नदीषु महानागा ये सरस्वतिगामिनः ।
ये च वापीतडागेषु सर्वेषु वै नमः ।।

यस श्लोकको भाव यही हो कि जो नाग पृथ्वी, आकाश, स्वर्ग, सौर्यकिरण, सरोवर तथा तलाउ आदिमा निवास गर्नुहुन्छ, उहाँहरु हामीदेखि प्रशन्न भइदिनुहोस् । हामी उहाँहरुलाइ बारम्बार नमस्कार गर्दछौ ।

माध्यान्दिनीयशाखा अन्तर्गतको शुक्लयजुर्वेदको १३ औँ अध्यायमा पनि नागलाइ नमस्कार गरिएको छ – नमोस्तु सर्पेभ्यो येकेच पृथिवी मनु यो अन्तरिक्षे ये दिवितेभ्यः सर्पेभ्यो नमः ।। यहाँ सर्पलाइ पृथ्वीको मनु बताइएको छ ।

प्राणी शास्त्रका अनुसार नागका अनेक जाति प्रजातिहरु छन् जसमा विषधारी नागको संख्या ज्यादै कम छ । भविष्यपुराणमा पनि नागको लक्षण, नाम, स्वरुप र जातिको विस्तारबारे वर्णन गरिएको पाइन्छ जसमा मणिधारी तथा इच्छधारी नागको पनि उल्लेख गरिएको पाइन्छ । नागलोक र नागका विशेषताको बारेमा अझ विस्तार को रुपमा पढ्न चाहेदेखि परमपूज्य योगी श्री शिवशक्तिनाथद्वारा प्रणीत पुस्तक ‘सूक्ष्म शरीरको यात्रा‘ अध्ययन गर्न सक्नुहुन्छ ।

नागपञ्चमी पर्वले नागहरु एवं अन्य जीवहरुप्रति सम्मान,सम्बद्र्धन एवं उनीहरुको संरक्षणको लागि प्रेरणा दिन्छ । यो पर्व प्राचिन समयअनुरुप आज पनि हाम्रो अन्तरदृष्टिमा उत्तिकै आवश्यक एवं प्रासंगिक छ ।

हाम्रो कृषि सम्पदाको नाश गर्ने जीवहरुबाट रक्षाका साथै पर्यावरण रक्षा, जलस्रोतर वन सम्पदा पनि नागको महत्वपूर्ण भूमिका रहेको छ भने आध्यामिक हिसाबले पनि नागको महत्व धेरै ठूलो छ ।

नागको कृपा र आशीर्वाद प्राप्त गर्न सकेमा हाम्रा भौतिक एवं आध्यात्मिक उन्नति, प्रगति सहजरुपमा हुन सक्छ तर त्यो त्यति सहज छैन । यसका लागि त श्रद्धा, भक्तिका साथ सद्गुरुदेव प्रदत्त प्राण प्रतिष्ठित नाग तस्बिर स्थापना र पूजनको आवश्यकता हुन्छ ।

त्यसैले यस्तो दिव्य अवसरमा नागदेवहरुको आशीर्वाद प्राप्त गर्दै आफ्नो जीवनमा रहेका दुःख, दरिद्रता नाश गर्न चाहनुहुन्छ भने सकेसम्म प्राणप्रतिष्ठित नागफोटो या मूर्ति नै खोज्ने प्रयास गर्नुहोला।

No comments:

Post a Comment