8.9.21

समाजले चिन्न नसकेका असाधारण झिल्काहरु

पृथ्वीराज पोखरेल:- “नजिकको तीर्थ हेला।” यो उक्ति अद्यापि हाम्रो समाजमा प्रचलनमा नै छ। यसले गहिरो प्रभाव पनि पार्दछ व्यक्त हुँदाका बखतमा। अन्य देशवासीका तुलनामा यो उक्ति हामीसँग ज्यादा मेल खान्छ। हामीलाई नजिकको हेक्का नै छैन। हामी नजिकको नदेख्ने रोगले ग्रस्त छौँ, यसको मतलब यो होइन की हामी दूरदर्शी छौँ। हामी केवल मध्यमदर्शी छौँ। बिचतिर मात्रै देख्छौँ त्यो पनि धमिलो। 

मध्यमदर्शी नै भएपनि हामी बुद्धले भनेझैँ मज्झिमनिकाय वाला पनि होइनौँ। त्यो हाम्रो सामर्थ्यभित्र नै पर्दैन। हामी बडा कठिन छौँ। हामी (नेपाली) भूपी का हामी हौँ। हामीलाई अरु कसैले सम्झाइदिनुपर्छ कि हामी को हौँ? र, हामीसँग के छ? यस्तै अवस्थाले गर्दा श्री स्वस्थानी व्रतकथा सिर्जित हुन्छ र यस्तै अवस्थाहरुले जन्मिन्छ “मिल्केका झिल्का।” भएका जति हिन्दू धार्मिक स्थल र ज्योतिर्लिङ्गादिहरु भारत अर्थात् हालको इन्डियामा मात्रै पार्ने हिन्दू ऋषिमुनिहरुका ग्रान्ड डिजाइनलाई चिर्न र धर्मकर्म र चारधाम गर्न भारतमा नै जानुपर्छ भन्ने अवधारणालाई बदल्नका लागि श्रीस्वस्थानी व्रतकथा बन्यो। नेपालमा पनि छन् धार्मिक स्थलहरु, यहीं छन् शिव भन्नलाई। यहीं छ भक्तिको प्राकट्य स्थल, यही हो शिवको क्रिडास्थल भन्ने बुझाउनलाई बन्यो।

भारतीय सन्त समुदायको अत्यधिक प्रभाव एवं नेपालमा यहींका साधुसन्त र उनीहरुको हजारौँ वर्षदेखिको त्याग, तपस्या र उनीहरुका आविष्कारलाई बुझ्न नसकेको नेपाली समाजलाई आफ्नो को हो भनेर चिनाउनका लागि काले राई अर्थात् संन्यासी डक्टर स्वामी प्रपन्नाचार्यले मिल्केका झिल्का लेखेका हुन्। पुस्तकमा प्रयुक्त भाषा अलि कडा नै छ। यो भाषालाई पचाउन पनि ठूलै हिम्मत चाहिन्छ।

पुस्तकको बाहिर कभर मा नै लेखिएको छ:– विभिन्न समयमा विभिन्न भेषमा नेपाल र नेपाली आमाका काखमा लुटपुटिएर हराइरहेका समाजउद्धारक, समाजसेवी, धर्म र संस्कृतिका अग्रगण्य मणी सिद्ध, सन्त महन्तहरुको चमत्कारपूर्ण तर यथार्थ जीवनी संकलन। अनि समर्पण गरिएको छ तीनै सन्तहरुमा।

मिल्केका झिल्का: शीर्षकका रुपमा हेर्दा यो ठेट नेपाली नाम हो। यसले बिजुली झैँ मिलिक्क मिल्केका ती ऋषिमुनिहरु, ती महापुरुषहरु भन्ने बुझाउँछ भने अर्को रुपमा समाजले चिन्न नसकेका त्यस्ता असाधारण झिल्काहरु जसलाई समाजले मिल्कायो भन्ने बुझाउँछ।

प्रपन्नाचार्य लेख्छन्– झिलिक्क मिल्केर छरपष्टिएका सन्त महापुरुषहरुको जीवनी संग्रह भएको हुनाले यसको नाम मिल्केका झिल्का राखेको हुँ। यस्तै महामनाहरुको त्याग तपस्या र महिमालाई बटुलबाटुल गरेर ग्रन्थाकार दिएको हुँ।

पुस्तकमा सर्वप्रथम पुरोवाक् नामको शीर्षक छ जसभित्र नेपालका धार्मिक सम्प्रदायहरु, तिनीहरुका भेद, दार्शनिक विचारधारा, सम्प्रदाय भित्र दिक्षाको आवश्यकता किन छ ?, लेखकलाई यो पुस्तक लेख्न किन मन लाग्यो ?, कसरी सामाग्री संकलन तथा सोधखोज गरियो? अर्थव्यवस्था कसरी भयो भन्ने कुराहरुले ठाउँ पाएका छन्।

७३० पेजको बृहदाकार यो पुस्तकमा नेपालभित्रका हरेक धार्मिक सम्प्रदाय, तिनीहरुको दार्शनिक उद्भव, विकास तथा हालको अवस्थाका बारेमा मिहीन रुपमा व्याख्या गरिएको छ र त्यसलाई जाँच्ने पर्खेल्ने अधिकार पनि निरक्षिरविवेकी पाठकजनमा दिइएको छ।

यस पुस्तकको दोश्रो खण्डमा दर्शनशास्त्र अन्तर्गत, भक्तिदर्शन, नारदभक्तिदर्शन, चार्वाकदर्शन, वैशेषिक दर्शन, न्यायदर्शन, सांख्यदर्शन, पूर्वमीमांशादर्शन, वेदान्तदर्शन, योगदर्शन, अद्वैतवेदान्तदर्शन, अद्वैतवेदान्त, विशिष्टाद्वैतवेदान्त, द्वैताद्वैतदर्शन, अचिन्त्यभेदाभेददर्शन, विष्णुस्वामीको दर्शन, शुद्धाद्वैतदर्शन, जोस्मणीदर्शन, शैवदर्शन, प्रत्यभिज्ञादर्शन, पाशुपतदर्शन, लकुलीशपाशुपतदर्शन, शिवाद्वैतदर्शन, शक्तिदर्शन, आयुर्वेददर्शन, ज्योतिषदर्शन, व्याकरणदर्शन, लीलाद्वैतदर्शन, जैनदर्शन, बौद्धदर्शन आदिको विस्तृत जानकारी दिइएको छ ।

साथै तेश्रो खण्ड अथवा प्रथम भागमा सनातन वैदिक हिन्दू धर्मका प्रवर्तत ऋषिमुनिहरु, जस्तैः– महर्षि वाल्मिकी, याज्ञवल्क्य, विश्वामित्र, पाणिनी आदिको जीवनी दिइएको छ।

दोश्रो भागमा जैन सम्प्रदायको बारेमा लेखिएको छ। भगवान् ऋषभदेवको जन्म नेपालमा भएको हो भन्ने बलियो आधार यसमा पेश गरिएको छ।

तेश्रो भागमा बौद्ध सम्प्रदायको बारेमा लेखिएको छ। भगवान् वुद्ध र मध्यममार्ग, वुद्धका परमभक्त आनन्द एवं गुरु पद्मसम्भव नेपालमा जस्ता शीर्षकले यसमा स्थान पाएका छन्।

पुरानो सम्प्रदाय नाथ सम्प्रदायको बारेमा छ। यसमा नाथ सम्प्रदायका सिद्ध मत्स्येन्द्रनाथ, महासिद्ध गोरखनाथ, रतननाथ बाबा, श्री ५ बडामहाराजाधिराजलाई प्रभाव पार्ने सिद्ध भगवन्तनाथ, माखनचोर बाबा, डा. रामनाथ अघोरी, वसन्तनाथ र योगी श्री नरहरीनाथ को जीवनी विस्तृत रुपमा लेखिएको छ।

पाँचौ भागमा पेज नं ७९ देखि २५९ सम्म दशनामी सन्यासी एवं त्यसभित्रका सन्तहरुको विस्तृत चर्चा गरिएको छ।

छैटौँ भागमा छ जोस्मणी सम्प्रदाय। यसमा श्री ५ रणबहादुर शाह, श्यामदास राई, जोस्मणी शक्तिमाता योगमाता, महाप्रभु फाल्गुनन्द जस्ता सिद्ध सन्तहरुको उल्लेख छ।

सातौँ भागमा सिद्ध सन्तहरुः– महासिद्ध हैडाखानी बाबा (महाबतार बाबाजी, परमहंस योगानन्द, लाहिडी महाशय आदिका परमगुरु), डा. दूर्गाप्रसाद भट्टराई, रामदास नौवाग, नटेश्वरी बाबा, क्याप्टेन बाबा, चिलिमे बाबा, कटारे बाबा आदिको प्रेरक जीवनी दिइएको छ। आठौँ भागमा रामानुजसम्प्रदायको उल्लेख छ।

यसबाहेक उदासीन सम्प्रदाय, निम्बार्क सम्प्रदाय, वैरागी वैष्णव, हंस सम्प्रदाय, अलेखमहिमा सम्प्रदाय, निरञ्जन सम्प्रदाय, निराकारी सम्प्रदाय, चैतन्य सम्प्रदाय, ठाकुरअनुुकुल सम्प्रदाय, कबीर सम्प्रदाय, प्रणामी सम्प्रदाय आदिका सन्तहरुको जीवनी दिइएको छ।
परिशिष्ट भागमा युवा सन्तहरु एवं गृहस्थ सन्तहरुका जीवनी दिइएको छ।

मिल्केका झिल्काले हामीलाई थाहै नपाएका सन्तहरुको जीवनी दिएको त छ नै, साथै दूर्लभ सम्प्रदाय जसको बारेमा थाहा दिन सम्प्रदायले नै मनाही गर्छ, त्यस्ता सम्प्रदायको ज्ञान र परिचय पनि दिएको छ जसले गर्दा धार्मिक क्षेत्रमा अध्ययन गर्न चाहनेहरुका लागि सहज भएको छ। सन्तहरुका चामत्कारिक जीवनी सँगसँगै ऐतिहासिक घटनाक्रमहरु आउँछन् भने सन्तहरुका दूर्लभ आविष्कारहरु जस्तो कि हवाइजहाज आदिका बारेमा पनि (विश्वमै पहिला नेपालमा भएका आविष्कार ) का बारेमा पनि यस पुस्तकबाट थाहा पाउन सकिन्छ।

स्रोत:- चैत ९, २०७५ मा देशसन्चारमा  प्रकाशित
https://deshsanchar.com/2019/03/23/174973/

No comments:

Post a Comment