2.9.21

मानवजीवनमा धर्मको आवश्यकता

आमोदवर्धन कौण्डिन्न्यायन:- धर्मप्रतिको आधुनिक दृष्टि,  आजभोलि धर्मलाई अन्धविश्वास ठानेर धर्म भौतिक उन्नतिका निम्ति बाधक तत्त्व हो भन्ने सिद्धान्त प्रचार–प्रसार गर्ने गरिएको छ । जतिजति व्यक्ति शिक्षित वा सचेतजस्तो हुँदै जान्छ, उतिउति उसले धर्मलाई मानवजीवनमा अनावश्यक र अनुपयोगी तत्त्वका रूपमा ग्रहण गर्दै गएको देखिन्छ । यस्तो स्थिति समाजमा आउनुमा मुख्य कारण देशमा चलाइएको भौतिकतावादी एकाङ्गी शिक्षापद्धति नै हो । साथै नैतिक मूल्य–मान्यताको उपेक्षा, उपभोगवादी संस्कृतिको अभ्यास, पाश्चात्त्य संस्कृतिको प्रभाव इत्यादि कारणले पनि आधुनिक युवक–युवतीहरूमा धर्म भनेको अन्धविश्वास मात्र हो भन्ने छाप पर्न गएको छ ।  

तर जसरी वैज्ञानिकहरूले पत्ता लगाएका कुराहरूलाई आफूले नबुझे पनि जनसाधारणले मान्दछन्, त्यसै गरी ऋषिमुनिहरूले पत्ता लगाएर भनेका कुरालाई पनि साधारण मान्छेले विश्वास गर्नुपर्ने हुन्छ । वैदिक धर्मका साधक विद्वान्हरूले मात्र ऋषिमुनिहरूको उपदेशको केही तात्पर्य बुझ्न सक्छन् । चर्मचक्षुले देखेको कुरामा मात्र विश्वास गर्छु र त्यसबाट मात्र राम्रो हुन्छ भन्नु पनि हानिकारक देखिन्छ ।

पाश्चात्त्य समाजशास्त्रले पश्चिमा समाजमा चलेका जनविश्वास, सम्प्रदाय वा मतलाई हेरेर धर्मको वा धर्मशास्त्रको जेजस्तो परिभाषा र विवेचना गरिदियो त्यसैलाई परम सत्य ठानेर पनि धेरैलाई वैदिक सनातन धर्मका विषयमा भ्रम पर्ने गरेको बुझिन्छ । यस सन्दर्भमा विचार गर्दा अङ्ग्रेजीको रिलिजन् र संस्कृतको धर्म पर्यायवाची वा समानार्थी शब्द हैनन् भन्ने पनि बुझ्न आवश्यक छ । कसैले भन्ने वा ठान्ने गरेझैँ धर्म अफिम हो कि हैन भनेर पनि समीक्षा गनुपर्ने देखिएको छ । यी विषयमा छुट्टै विस्तृत रूपले विचार गर्दै गरौँला । यहाँ भने वैदिक सनातन वर्णाश्रम हिन्दु धर्मका दृष्टिले मानवजीवनमा धर्मको र धर्मविचारको आवश्यकता तथा औचित्य केकस्तो र किन छ भन्ने विषयमा चर्चा गरिन्छ ।

मानव–प्रवृत्ति

धेरै मानिसहरू जन्मदेखि नै स्वभावैले प्रायः स्वार्थी, लोभी, भोगी र बहिर्मुख हुन्छन् । उनीहरू इन्द्रियहरूका विषयभूत रूप, रस, शब्द, स्पर्श र गन्धमा लोभिएर तिनका पछि लाग्छन् । कोहीकोही धीर र संयमी व्यक्ति मात्रै विषयहरूको अनित्यता र क्षणिकतालाई हृदयङ्गम गरेर आफ्नो दृष्टिलाई अन्तर्मुख बनाएर अमरता प्राप्त गर्न आत्माको स्वरूपको विचार गर्नतिर लाग्छन् । यो मानव–प्रवृत्तिको वस्तुस्थिति हो । मानवको यस्तो सहज प्रवृत्तिले गर्दा आफ्नो हृदयलाई सुसंस्कृत गर्न नसकेका केही व्यक्तिहरू आफू जनबल, धनबल, शरीरबल इत्यादि बलले सम्पन्न हुँदा असहाय, निर्धन, दुर्बल, सोझा र निमुखा मानिसहरूलाई पिर्ने, लुट्ने, दबाउने, सताउने, तर्साउने र धम्क्याउने गरी आफ्ना न्यायपूर्ण र अन्यायपूर्णसमेत सबै इच्छा पूरा गर्ने प्रयास गर्छन् । त्यति धेरै शक्तिशाली नभए पनि कतिपय अपराधी स्वभावका व्यक्तिहरू पनि विभिन्न प्रकारले सज्जनलाई दुःख दिने गर्छन् । यस्ता प्रवृत्तिले मान्छेको व्यक्तिगत, कौटुम्बिक (पारिवारिक), सामाजिक र राष्ट्रिय जीवनयात्रामा धेरै बाधाव्यवधान ल्याउँछ र विविध प्रकारका उन्नतिका मार्गमा अवरोधसमेत खडा गर्दछ । यसप्रकारको मान्छेको जन्मजात स्वभावलाई परिष्कृत गर्न अत्यावश्यक हुन्छ।

दण्ड र अनुशासन

मान्छेका उक्त प्रकारका सहज दुष्प्रवृत्तिबाट व्यक्ति, कुटुम्ब, समाज र राष्ट्रलाई जोगाउनका निम्ति राष्ट्रमा सदाचार र न्यायको स्थापना गर्न शासकीय दण्डको र दण्डधारी शासकको पनि व्यवस्था गरिएको हुन्छ । तथापि शासकले दिने दण्डका मात्रै आधारमा समाजमा र राष्ट्रमा हुने विभिन्न प्रकारका दुराचार र अपराध रोक्न सकिँदैन । टाठाबाठा र शक्तिशाली व्यक्तिहरूले शासकीय दण्ड छलेर नानाप्रकारका अपराध गरिनैरहन्छन् । सामाजिक दबाब वा असम्मतिले पनि मान्छेको उक्त दुष्प्रवृत्तिमा केही मात्रामा रोक लगाउने गर्छ । तर त्यो पनि उक्त प्रवृत्तिको मूल जरो उखेल्न चाहिँ समर्थ हुँदैन । टाठाबाठा र धूर्तहरू समाजका आँखा छलेर गम्भीर अपराध पनि गर्ने गर्छन् । राष्ट्र र समाजमा अनुशासन कायम गर्नु शासकका निम्ति कठिन कार्य हुने गरेको देखिन्छ ।

धर्मभावनाको आवश्यकता

व्यक्तिव्यक्तिका हृदयभित्र जकडिएर रहेका माथि भनिएका जस्ता दानवीय प्रवृत्तिलाई जरैदेखि उखेलेर फाल्न उनीहरूमा धर्मभावना जगाउन आवश्यक हुन्छ । अन्यथा खराब प्रवृत्ति भएका व्यक्तिहरूले समाजको र शासकको आँखा छलेर मौका पाउनासाथ शक्तिको दुरुपयोग गरेर सज्जनहरूलाई दुःख दिने र राष्ट्र तथा समाजलाई हानि पुर्‍याउने विविध प्रकारका अपराध गर्न सक्छन् । समाजमा र राष्ट्रमा सुखशान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न धर्मरूप तथा ब्रह्मतेजले युक्त दण्डको सृष्टि गरिएको हो भनेर मनुस्मृतिमा बताइएको छ—

तस्याऽर्थे सर्वभूतानां गोप्तारं धर्ममात्मजम् ।
ब्रह्मतेजोमयं दण्डमसृजत् पूर्वमीश्वरः।। ७।१४) ।

व्यक्ति स्वभावतः अनुशासनमा बस्न सितिमिति रुचाउँदैन । त्यसैले उसलाई अनुशासनमा राख्न विविध उपायको अवलम्बन गर्नुपर्ने हुन्छ । यसमा विविध प्रकारका भयले सकारात्मक भूमिका खेल्न सक्ने कुरा महाभारतको शान्तिपर्वमा उल्लेख गरिएको छ । त्यहाँ परस्परका भयले र शासकीय दण्डका भयले मात्र पापको वा खराब प्रवृत्तिको सर्वांशमा नियन्त्रण हुन नसक्ने हुँदा परलोकका र यमराजको दण्डका भयले पनि त्यसको नियन्त्रण हुने कुरा बताइएको छ—

राजदण्डभयादेके पापाः पापं न कुर्वते ।
यमदण्डभयादेके परलोकभयादपि ।।
परस्परभयादेके पापाः पापं न कुर्वते ।
एवं सांसिद्धिके लोके सर्वं दण्डे प्रतिष्ठितम् ।। १५।५–६)

मनुस्मृतिमा ८।८४, ९१, ९६) मान्छेलाई आत्मविचारतिर उन्मुख गराएर पापबाट वा दुष्प्रवृत्तिबाट निवृत्त हुन सचेत गराइएको छ । यसरी पाप र दुष्प्रवृत्तिबाट बच्न प्रत्येक मान्छेलाई भित्रैबाट स्वयं सावधान हुन प्रेरणा गर्ने तत्त्व धर्म वा धर्मविचार नै हो भन्ने तथ्य स्पष्ट हुन्छ । पाप र पुण्यको राम्ररी ख्याल गर्ने व्यक्तिलाई उसको अन्तःकरणले वा अन्तश्चेतनाले खराब कार्य गर्नबाट सधैँ रोकिरहन्छ । तसर्थ पापकर्म र पुण्यकर्मका फलमा विश्वास गर्ने मान्छे समाजमा र राष्ट्रमा जति धेरै हुन्छन् त्यति नै त्यहाँ सुखशान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्न सजिलो हुन्छ । सबै मान्छे पाप र पुण्यमा विश्वास नगर्ने भएमा लौकिक दण्डका मात्र आधारमा समाजमा सुरक्षा तथा सुव्यवस्था कायम गर्न सम्भव हुँदैन ।

प्रियजनसितको संयोग, धनको प्राप्ति इत्यादि अभीष्ट विषयबाट हुने हर्ष र समृद्धिका समयमा समेत मान्छेका हृदयलाई न्यायपूर्ण मार्गमा चल्न तथा शान्तिपूर्ण तथा सन्तुलित जीवनयात्रा चलाउन प्रेरित गर्ने र दृढताका साथ सहायता दिने तत्त्वका रूपमा पनि धर्मविचारको स्थान ठुलो देखिन्छ । धर्म दुर्बलहरूको ठूलो बल हो र निरुपाय दुःखित–पीडितहरूको धैर्यधारण गरेर बाँच्ने तथा बलियाहरूसँग लड्ने आधार पनि हो ।

राजनीति र धर्मभावना

लोकतन्त्रवादी, समाजवादी, साम्यवादी इत्यादि विभिन्न प्रकारका राजनीतिक आदर्शका पक्षधरसमेत समाजका सबै नै सदस्यहरूका लागि कर्तव्य र अकर्तव्यको एउटा भरपर्दो मर्यादाको रेखा आवश्यक हुन्छ । त्यो नभै वास्तविक राष्ट्रिय उन्नति र सुखशान्ति हुन सक्तैन । “जतिञ्जेल बाँचिन्छ सुखैसित बाँच्न पर्छ, ढाँटीछली रिनसिन गरेर पनि घिउ नै खान पर्छ, ढाँटछल गरेको पापको फल अर्को जुनीमा पाइन्छ र अहिले खाएको रिन अर्को जुनीमा तिर्न पर्छ भन्ने सिद्धान्त यथार्थ हुन सक्तैन, मरेपछि पोलेर खरानी पारिएको शरीर फेरी कहाँबाट खडा भएर आउँछ र?” भन्ने सिद्धान्त त नास्तिक चार्वाकहरूको हो—

यावज् जीवेत् सुखं जीवेदृणं कृत्वा घृतं पिबेत् ।
भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः ।। -चार्वाकदर्शन ।

यस्ता सिद्धान्तका आधारमा सामाजिक न्यायको र सुखशान्तिको वातावरण बन्न सक्तैन । विविध राजनीतिक सिद्धान्तमा आस्था भएका सबै नै लोकहितैषी युवक र प्रौढहरूले आफ्नै मन, वचन तथा कर्मलाई सन्मार्गमा नलगाई आफ्नो, कुटुम्बको, समाजको, राष्ट्रको र विश्वको कल्याणका निम्ति ठुलो काम केही पनि गर्न सकिँदैन भन्ने तथ्य बारम्बार सम्झन आवश्यक छ र तदनुरूप उनीहरूले आफ्ना मन, वचन तथा कर्मलाई असल बाटोमा लगाउन धर्मविचार गर्न र तदनुसार चल्न पनि अत्यावश्यक छ भन्ने बुझ्न पर्छ । अधार्मिक व्यक्ति वास्तविक रूपले त्यागी, तपस्वी र लोककल्याणकारी हुनै सक्तैन भन्ने तथ्य सूक्ष्म रूपले विचार गरेमा स्पष्ट हुन सक्छ ।

सुखदुःखमा धर्म

मानसिक र आध्यात्मिक सुखशान्ति प्राप्त गर्न पनि धर्मविचारको आवश्यकता पर्छ । मानिसलाई भौतिक वस्तुले मात्र पूर्ण रूपले सुखी बनाउन सक्तैन भन्ने कुरा विचारशील व्यक्तिले बुझेकै हुनुपर्छ । जीवनमा आइपर्ने सुखदुःखमा आफ्नो मानसिक सन्तुलन नगुमाईकन तिनलाई सहज रूपमा लिन सक्ने बन्न पनि धर्मविचारले ठुलो सहायता पुर्‍याउँछ । यसरी मानवको व्यक्तिगत, कौटुम्बिक, सामाजिक, राष्ट्रिय र सार्वभौम न्यायपूर्ण जीवनयात्रालाई समुचित रूपमा चलाउनमा वास्तविक धर्मभावनाको ठूलो स्थान देखिन्छ ।

त्यति मात्र हैन, मान्छेका वशमा नभएका मृत्यु, बुढ्याइँ, रोग, प्रिय व्यक्तिसितको वियोग, घर–खेत–धनको नाश इत्यादि अनिष्ट विषयबाट हुने दुःख र शोकलाई सहन वा कम गर्न पनि धर्मविचारले निकै सहयोग गर्छ । साथै प्रियजनसितको संयोग, धनको प्राप्ति इत्यादि अभीष्ट विषयबाट हुने हर्ष र समृद्धिका समयमा समेत मान्छेका हृदयलाई न्यायपूर्ण मार्गमा चल्न तथा शान्तिपूर्ण तथा सन्तुलित जीवनयात्रा चलाउन प्रेरित गर्ने र दृढताका साथ सहायता दिने तत्त्वका रूपमा पनि धर्मविचारको स्थान ठुलो देखिन्छ । धर्म दुर्बलहरूको ठूलो बल हो र निरुपाय दुःखित–पीडितहरूको धैर्यधारण गरेर बाँच्ने तथा बलियाहरूसँग लड्ने आधार पनि हो । त्यसैले शास्त्रमा धर्मको महिमा धेरै गाइएको छ । धर्मका यी लक्षणहरू सबैले आत्मसात् गर्न उपयुक्त हुन्छ—

धृतिः क्षमा दमोऽस्तेयं शौचमिन्द्रियनिग्रहः ।
धीर् विद्या सत्यमक्रोधो दशकं धर्मलक्षणम् ।।

धैर्य, क्षमा, विकारको कारण उपस्थित हुँदा पनि मनमा विकार नआउनु, अर्काको धन नलिनु, शौच अर्थात् पवित्रता, इन्द्रियहरूको नियन्त्रण, शास्त्रज्ञान, आत्मज्ञान, सत्य बोल्नु, क्रोधको त्याग, यी दसथोक सबैका निम्ति साधारण धर्म हुन् । यसप्रकार मनुस्मृतिमा ६।९२) सर्वसाधारणका निम्ति धर्मको लक्षण बताइएको छ । मानवलाई ठिकप्रकारले धारण गर्ने र सञ्चालन गर्ने तत्त्व नै धर्म हो भनेर महाभारतको कर्णपर्वमा ६९।५८) पनि बताइएको पाइन्छ—

धारणाद् धर्ममित्याहुर् धर्मो धारयते प्रजाः ।
यत् स्याद् धारणसंयुक्तं स धर्म इति निश्चयः।।

उपसंहार

आज मान्छे धर्मविचार र मोक्षभावनाबाट विमुख भएर केवल अर्थ (कामपरायण धनसम्पत्तिका र मोजमजाका सुरमा चल्ने) मात्र भएको छ । त्यसैले मान्छे आफू पनि अशान्त छ र उसको परिवेश पनि अत्यन्त अशान्त र दुःखपूर्ण बन्दै गइरहेको छ । केवल भौतिक सुख–सुविधाका खोजीमा बाहिर भौतारिँदा ऊ आफैँभित्र नै अनुभव गर्न सकिने आत्मिक सुखशान्तिबाट त वञ्चित भैरहेको नै छ, साथै भौतिक साधनबाट प्राप्त हुने सुखको समेत अनुभव गर्न पनि नसक्ने, नपाउने वा नभ्याउने हुँदै गएको छ । मानिसको जीवन धेरै नै यान्त्रिक र नीरस हुँदै छ । तसर्थ वैदिक (हिन्दु) जीवनपद्धतिमा मानिसलाई भौतिक, मानसिक र आध्यात्मिक सबै प्रकारले सुखी बनाउन धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थको सन्तुलित रूपले सेवन गर्न धर्मशास्त्रले निर्देशन दिएको हो । यदि मानिस अर्थकामपरायण (भौतिकतावादी) मात्र भयो भने उसले स्वार्थपूर्ण कार्यबाहेक लोककल्याणकारी कार्य गर्नै सक्तैन । आफू वास्तविक रूपमा शान्त र सुखी बन्न पनि सक्तैन । पापको डर नहुँदा धेरै मान्छे मौका पाउनेबित्तिकै अन्याय, अत्याचार र भ्रष्टाचार गर्न प्रवृत्त भइरहेका देखिन्छन् ।

माथि उल्लिखित सबै विषयलाई सूक्ष्म र गम्भीर रूपमा विचार गर्न सक्ने व्यक्तिले वैदिक सनातन धर्मलाई अन्धविश्वास वा जीवनका निम्ति अनावश्यक तत्त्व हो भन्ने निष्कर्ष निकाल्दैन । धर्म मानवजीवनका निम्ति उपयोगी र आवश्यक तत्त्व नै हो भन्ने निष्कर्ष निकाल्दछ ।

amoda67@hotmail.com

twitter: @amoda67

(आमोदवर्धन कौण्डिन्न्यायनका सनातन जीवनपद्धतिसम्बन्धी लेख हरेक शुक्लपक्ष प्रतिपदाको दिन नियमित रुपमा प्रकाशित हुन्छन्।)

स्रोत:- माघ ३०, २०७७ देशसन्चारमा प्रकाशित
https://deshsanchar.com/2021/02/12/473897/

No comments:

Post a Comment