1.10.21

आदिधर्म सापेक्ष संविधान !

सौरभ:- काठमाडौ — 'टिडेन्ट एन्ड थन्डरबोल्ट: कल्चरल डाइनामिक्स इन नेपलिज पलिटिक्स' शीर्षकमा हर्क गुरुङको समाजशास्त्रीय कार्यपत्रको एक पंक्ति यस्तो छ- 'जादुयी तरवार (फुर्बा) बज्र (दोर्जे) मा बदलियो । त्रिशूलचाहिँ हिमालयको महादेवसँग सम्बन्धित छ ।

हिन्दुहरूले उनलाई आफ्नो त्रिदेवमध्ये एक मानेकाले त्रिशूलधारक एक चम्किला शत्रुसरह भएका हुनसक्छन् ।' केही पंक्ति पछाडि पुगेर त्रिशूल र बज्र हिमालयका सांस्कृतिक सम्पदाका भाग भएकाले तिनलाई परस्पर विरोधी प्रतीकहरूका रूपमा चाहिँ लिनु हुँदैन' लेखिए तापनि पछिल्ला यावत् पेटबोलीहरूले परस्पर विरोधी नै हुन् भन्न खोजेका छन् । यसरी नेपाली समाजलाई फुट र वैमनस्यको जग दिन सक्दो प्रयत्नरत यस कार्यपत्रको मूलाधार त्रिशूल र बज्रको उत्पत्तिमाथि नै अब जानुपरेको छ ।
पहिलो पाटो
लाम्रे काँडाले डोटीमा चिनिने नाम नेपालीको जुम्ल्याहा काँडाबाट बनेको हो । जुन आफैं बनेको हो सुश्रुतले तीन हजार वर्षअघि दिएको संस्कृत नाम 'यमलकण्टक'बाट । विज्ञानले 'युफर्बिया रोएलियाना' भन्ने यो पाटे सिउँडी उस्तै-उस्तै सुनिने अर्काे पाते सिउँडी अर्थात् 'अपन्सिया मोनाकान्था'बाट फरक छ । जो अमेरिकी मूलको हो र जसको पहिलो नेपाली उल्लेख छ, ईश्वीको १७२१ को मात्र ।
संस्कृतमा सुश्रुतले नै दिएको अर्काे नाम हो- बज्रवृक्ष । आकाशमा मेघ गर्जंदाको विद्युतीय 'नेगेटिभ पल्स' तल झरेपछि जमिनबाट त्यसलाई 'पजेटिभ पल्स' मिल्यो भने चटयाङ/बज्र पर्छ । यस्तो बज्रको 'पोजेटिभ पल्स' प्रायः ठूला, अग्ला, छत्राकार (क्राउन) युक्त रूखहरूले दिन्छन् । त्यसै भएर रूखमा बज्र पर्छ, पानी परेको बेला ओत लाग्नु हुँदैन भनिन्छ । तर पुरानो पाटे सिउँडीको क्राउन जतिसुकै ठूलो भए पनि 'नेगेटिभ पल्स' आकषिर्त गर्नसक्ने उचाइ हुँदैन । यसैले यो वृक्षले चाहिँ बज्रलाई रोक्छ भन्ने मान्यता बनेको स्पष्टै छ ।
गण्डक प्रदेशबाट पश्चिम लाग्दै गएपछि पाटे सिउँडी रोपिएका गाग्री, बाल्टी घरको छानामाथि बीचोबीच राखिएको देखिन्छ, जसको घनत्व सबैभन्दा बढी दैलेखमा पाइन्छ । सँगै त्रिशूल पनि गाग्रीमा गाडिएको हुन्छ र नुवाकोट जिल्लाबाटै सुरु हुन्छ, निदालमाथि छानामा त्रिशूलाकार पाताहरू उभ्याउने पूर्वी नेपालसम्मैको चलन । यहाँ पाटे सिउँडी बज्र प्रतिरोधक हो । नभन्दै लेप्चा भाषामा पाटे सिउँडीको नाम हो- सदरकुङ अर्थात् बज्रवृक्ष । इमानसिंह चेमजोङ लेख्छन्, नजिकै शिवस्थान छ भने किरातहरूले त्यसछेउ सिउँडी रोप्छन् । जबकि शिवस्थानको प्रतीक हो त्रिशूल । तर लिम्बु भाषाको लुङडिङ्वा रोप्ने कुराले त्रिशूलको पूर्वरूप पाटे सिउँडी हो भन्ने स्पष्टै छ । नभन्दै सतही आँखाले हेर्दा यो त्रिशूलजस्तै देखिन्छ र समानान्तर बरोबरी (बाइलाटरली सिमेटि्रकल) शैलीमा चिर्ने हो भने ठयाम्मै त्रिशूल नै । अर्थात् त्रिशूल पाटे सिउँडीको प्रतीकमात्र हो । भलै आजभोलिका अधिकांश त्रिशूल नामधारी आयुध त्रिशूल नभई एक तीर दुई शूल वा तीन तीरमात्र भएका अशुद्ध त्रिशूल किन नहोउन् ? यसैले बज्र रोक्ने शङ्कु (अङ्कुश) जसले बोक्छ, त्यो शङ्कर हो ।
सुश्रुतले दिएको अर्को नाम महावृक्ष पनि हो । महादेवको वृक्ष भएकाले यहाँ त्यस्तो नाम बन्न गएको त हुँदै हो । केही दसक अगाडिसम्म नेपाली गाउँघरमा वस्तुभाउ जन्मेपछि तिनको सालनाल सेलाइने, झुन्ड्याइने, चढाइने वृक्ष यही हो, जुन गाउँको साझा चौर (खेल/बाङ) मा हुन्थ्यो । जंगलमा हुने दैवीप्रकोप (बज्र) बाट नयाँ जन्मेको पशुको रक्षा होस् भनेर कामना गरिने यो प्रक्रिया नेवारहरूको छ्वासः (क्षेत्रपाल भैरव) को जन्मको कारण हो, जहाँ मानवशिशुको सालनाल अझै सेलाइन्छ । जो 'पशुपति' नामको जन्मको कारण बन्यो र मृत्युलाई जितिदिने मृत्युञ्जयको पनि । नभन्दै मगरहरूमा मृतको आत्माबाट छुटकारा लिने प्रक्रिया 'डैसीबाङ' अन्तर्गत मलामीहरूले दुधिलो चोप आउने बिरुवामा टाउको ठोक्नुपर्दा यो पनि पर्छ । र केही तामाङहरूमा नवजात शिशुहरूको साल बाँसको ढुंग्रोमा राखी दुधिलो काँडे बिरुवामा झुन्ड्याउने चलनले पनि यसको प्राचीन प्रयोगलाई प्रस्तुत गर्छ । तिब्बतीमा त नामै श्रीखण्ड । पशुपतिलाई लेप लगाइन्छ, श्रीखण्डको ।
मेचेहरूका निम्ति यो सबैभन्दा ठूलो देवता बाठो हो । यसैको हाँगो गाडेर बाठोको पूजा हुन्छ । दनुवारको निम्ति सिद्ध हो । तन्त्रशास्त्रमा सिद्धको अर्थ कुनै प्रेतात्मालाई नियन्त्रणमा राखी माध्यमका रूपमा प्रयोग गर्नसक्ने पात्र हो । शिव महासिद्ध मानिन्छन् नै । काठमाडौंमा लगाइने कारण पनि प्रेतात्मा भगाउनका निम्ति हो । चेपाङको सिउरी, दराई र मेचेको अर्काे शब्द सिञ्जु, थामीको सिजिगारे, कञ्चनपुरका थारुहरूको सुडी र सिउँडी आफैं पनि शिवजी शब्दका अपभ्रंश देखिन्छन्, जसरी भीमसेन भीउँसिन र भीमढुंगा भेडुंगा शब्द बन्छन्, नेपाली जिब्रोमा । केवल जिरेलहरूको वारिङ, गुरुङको तोँसी, वान्तवाको मिरिम्मा, चाम्लिङको मुरिम्मा, साम्पाङको नुङझको अर्थ यतिबेला खुल्दैनन्, थकालीको प्रचु त्होङ -काँडे रूख) र तामाङको देशेरको खुले पनि । अंगे्रजीको चुरी कताकता सिन्धुपाल्चोकका तामाङहरूले भन्ने चोङ्कीबाट लिइएको हो । किनभने यो उनीहरूको रैथाने होइन । पुमा, साम्पाङ र थुलुङ झाँक्रीहरूले त्यसको प्रयोग गर्छन् नै । जटाधारीहरूले जटामा हाल्ने, लट्टा पार्ने दूध यसैको हो । र जटा शैवमार्गीहरूले नै पाल्छन् ।
आधिकारिक धर्मग्रन्थ कुनैले पनि शिवले विष पिएर नीलकण्ठ भएको कुरा गर्दैनन् । त्यो ब्रह्मा, वायु, भागवतजस्ता पुराकथाबाट उत्पन्न गन्थन हो । हलाहल/नर्सिंह विष -एकोनिटन फेरोक्स) समुद्र मन्थन गरिएको भनिएको भूमध्य सागरको होइन, नेपालको रैथाने हो । न गोमन (नाजा नाजा) युफर्बिया रोयलियाना पाइने इलाका ११ सय मिटरदेखि १२ सय मिटर र फाटफुट पाइने १८ सय मिटरसम्मको 'रेन स्याडो' हो, महादेवको गलामा हुनलाई । हो के भने पाटे सिउँडीका सबै भाग विषालु हुन्छन् । यसको दूधको पोलाइदिने रसायन 'फेरोटक्सिन', खुर्सानीको पोलाइदिने रसायन 'क्याप्सिनिन'भन्दा १० हजारदेखि १ लाख गुना शक्तिशाली हुन्छ । महादेवलाई चढाइने रङ पहेँलो हो, जुन पाटे सिउँडीकै फूलको रङ हो । जुन यही शिवरात्रि पर्नेताका फागुन-चैतमै फुल्छ । जसरी 'इलियोकार्पस स्फेरिकस'को फल रुद्राक्ष अर्थात् रुद्रको आँखा हुन्छ, त्यसैगरी पाटे सिउँडीको यिबाँको नाम बज्राक्ष (बज्रको आँखा) हो ।
यसैको घार (फेद) बाट कुनै बेला बन्ने भएकाले सारङ्गी भएको बुझिन्छ, जसलाई आजभोलि ढोडेसारङ्गी भनिन्छ र यसबाट बनेकोलाई ढोडेमादल । पाणिनीले अष्टाध्यायीमा उदुम्बरीका शब्द प्रयोग गरेका छन् । यसको अर्थ कम्मर नछिनेकी अर्थात् डुम्रीको फेदजस्तो समरो कम्मर भएकी महिला हो, जसबाट डम्बर पनि बन्छ । तर पाटे सिउँडीको आँख्ला बीचमा पारेर भित्र कछुवाका हाड राखेर पाहा र सर्पको छालाले मोरिएपछि र भांग्रे सिस्नु (जेरार्डियाना डाइभर्सिफोलिया) को धागोमा बज्राक्ष उनेपछि बन्ने बाजाको नाम हो डमरु । बज्राक्ष नउनी तान्त्रिक डमरु बन्दैन । यही हो, नटराज शब्दको सूत्राधार । भयावह पोल्ने र क्षति गर्नसक्ने हुँदाहुँदै पनि धादिङमा मोतीविन्दुको उपचारनिम्ति यसको चोप आज पनि प्रयोग हुनु अनौठो छ । यद्यपि सम्भवतः यही हो, महादेवको त्रिनेत्रको परिकल्पनाको आधार ।
दोर्जे शब्दको उत्पत्ति फुर्बाबाट हुँदैन, थोरबाट हुन्छ, जुन भारतको हिमाञ्चल प्रदेशवासी, पञ्जावी वा पाकिस्तानको इस्लामावादवासीका निम्ति पाटे सिउँडी हो । इस्लामावादवासीका निम्ति अझ दण्डाथोर (बज्रदण्ड) हो । उर्दूभाषीका निम्ति थुहर हो । भलै बर्मेलीका निम्ति 'सिउरियोटपाला' होस्, चिनियाँका निम्ति महादेवको त्रिशूलको समानान्तर बुझाउने 'बाबाङबियान' अर्थात् निरङ्कुश राजाको कोर्रा हो ।
जापानका केही पुराना मन्दिरहरूमा 'सिचिसिटो' नाउँका काँडे तरवार छन् । यी काँडाहरू ठीक पाटे सिउँडीकै हाँगाहरूका ढाँचामा माथितिर र्फकेका हुन्छन्, दायाँको काँडामाथि बायाँको र त्यस बायाँको माथि दायाँको हाँगा थपिँदै जानेगरी । सिचिसिटु नाम कताकता सिञ्जुसँग त मेल खान्छ नै, तर त्यो तरवार लड्नका निम्ति होइन, धानबाली लगाउने बेला प्रेतात्माहरूलाई भगाउनका निम्ति हो । पशुपालनको युगपछि कृषियुग सुरु भएको पनि हो । नेपाली पैंयु (प्रनस नेपालेन्सिस) नै आदियुगमा जापान पुगेर साकुरा
-प्रनस जापोनिका) हुनपुगेको पुष्टि भइसकेकाले सिचिसिटु पाटे सिउँडीको त्रिशूलजस्तै अर्काे सांस्कृतिक रूपान्तरण देखापर्छ । किनभने जापानमा पाटे सिउँडी हुँदैन नै ।
बज्र पर्ने नेपालको मुख्य इलाका केन्द्रीय भूभागको मध्यपहाड हो । गोरखादेखि बाग्लुङ भेगका गण्डक प्रदेश जहाँ सम्भवतः अन्नपूर्ण हिमालले गर्दा बन्ने वायुचक्र (भर्टेक्स) र घनानदी प्रणाली जिम्मेवार छ । तर पाटे सिउँडीको घनत्व इलाका महाभारतको पनि भिरालो हो र 'नेगेटिभ पल्स' निम्त्याउन धेरै जिम्मेवार रानी सल्ला
-पाइनस रक्सबर्गी) को कारणले पनि । यसैले देवघाटको उत्तरी भेग बढी सम्भावनाको ठाउँ हो, एउटा अवधारणा विकासको अर्थात् रामानन्दप्रसाद सिंहले बुद्ध थारु जसरी भनेका थिए, त्यसैगरी किरातेश्वरमा केन्दि्रत हुने हो भने शिवको परिकल्पना मगर, गुरुङको हो भन्ने देखिन्छ ।
यसरी चुरे र महाभारत शृङ्खला बीचका मनसुन नठोकिने सुखा भिरालाका ११ देखि १२ सय मिटरबीच त्यस शिवको प्राक्परिकल्पना भयो, त्यतिबेला भर्खरै पशुपालनको युग सुरु भए थियो । तर लुगाका निम्ति वनस्पतिको रेसा निकाल्ने ज्ञान आइसकेको थिएन । त्यसैले शिव आततायी बाघ मारेर त्यसको छालामात्र बेर्छन् । स्पष्ट छ, गाईभैंसीको अधिकतम दुई इञ्चको रौंबाट राडीपाखी बुन्न सकिन्न । यसैले गोपालकालपछि मेष (भेडा) काल आउँछ । 'बोभिडेई' परिवारका सदस्यहरूको दाँतको अध्ययन हुन्छ र भेडाले मकर र 'बोभिडेई' बाहिरको (एलिफेन्टाडेई) हात्तीको विशेष वर्गले समेत मकुनाको संज्ञा पाउँछ र कौटिल्यको 'भिङ्गिसी र अपसारक'सम्म आइपुग्दा अरू दसौं हजार वर्ष बित्छ । राईहरूको रुम्मुबाट रुद्र, लिम्बुहरूको हिमसाम्माङयता हिमवन्त बन्छन् र युम्मा यतातिर उमा । तामाङहरूको अग्लो नागी शैलुङबाट शैलपुत्री, मगरहरूको अग्लो नागी पारकोटबाट पार्वती । यहीबीच महिषकाल आउँछ । तर विशेष वैज्ञानिक कारणवश सँगसँगै गाई-साँढे सँगसँगै भैंसी-राँगो पालिन्न पनि । तर यी कुरामाथि नेपाली इतिहासले कहिल्यै सोचेन । न वनस्पतिको रेसा निकालिने समयअघि दुर्वाश्यश अर्थात् दुवोको लुगा लगाउने दुर्वासा, पुला अर्थात् घाँसको लुगा लगाउने पुलह, बल्क अर्थात् बोक्राको लुगा लगाउने याज्ञवल्क्यका समकालीनहरूको समय थियो भनेर नै हेरियो । यद्यपि याज्ञवल्क्यको खास अर्थ यज्ञ नै लुगा भएका भन्ने हो । सुश्रुतले त केवल चलेर आइरहेको शब्दलाई लिपिमा उतारे ।
तर ईशाको चौधौं शताब्दीमा सारङ्गधर पद्धतिमा लेखियो- दूध आउने काँडे बिरुवा घरको परिवेशमा नरोप्नु । यी सारङ्गधरलाई बनारसमा पढेर आउने गुरुदेवहरूले कण्ठस्थ पारे । फलस्वरूप पाटे सिउँडीलाई बेल (अगेल मार्मेलस) ले विस्थापित गरिदियो । यसै पनि लिच्छविकालीन शिवलिङ्गहरूमा बाहिरी पत्र धातुयौगिक -अलोई कम्पाउन्ड) को लेप पाइएको छ, जुन लेप निर्माण गर्दा बेलको चोप प्रयोग हुन्थ्यो । जसरी आज पनि कास्मिरमा तामाका भाँडालाई रूपरङ दिन तिनलाई पाएमा खुर्पानी (प्रनस आर्मिनिका) नपाए निबुवा
(सिट्रस लिमेट) को झोलमा उमालिन्छ वा खुकुरी र बञ्चरोलाई पाइन हाल्न पानी प्रयोग गरिन्छ । यही कारण बेलका तीन पात शिवलिङ्गमाथि घोप्टयाइन्छ, रक्षक माध्यमका रूपमा ।
त्यसमाथि विसं १९४० मा सारङ्गधरको त्यो विशेष अध्याय अनुवाद भएर पहिलो नेपाली मुदि्रत सामग्रीका रूपमा आयो र गिरिजाप्रसन्न मजुमदारका भारतीय अनुवादहरू पनि नेपाल भित्रिए । यसरी शिवको परिकल्पना गराउने एउटा वनस्पति नेपाली बगैंचाको मौलिक भूदृश्यबाट सधैंका निम्ति ओझेलमा पर्‍यो ।
दोस्रो पाटो
संस्कृतको सप्तम बारबाट सेप्टेम्बर, अष्टम बारबाट अक्टोबर, नवम् बारबाट नोभेम्बर र दसम बारबाट डिसेम्बर लिएर नपुगेर जनम् बारबाट जनवरीसम्म लिन बाध्य पश्चिमलाई आजभोलि नेपाली सेनाको चिनो त्रिशूल र डमरु मनपरेको छैन, न झण्डाका त्रिकोणहरू खप्टिएको षट्कोण । नेपाली झण्डामाथिको हमला, पशुपतिको कोषमाथिको हमला, मृगस्थलीका सन्न्यासीहरूको समाधिमाथिको हमलाहरूबाट क्रमशः हार्दै यो त्यतातर्फ लागेको छ । त्यसैले हर्क गुरुङको त्यो कार्यपत्र एक सुनियोजित उद्देश्यको सैद्धान्तिक सुरुवात थियो भन्ने बुझिनुपर्छ ।
तर यो विषालु षड्यन्त्रको अग्रणी रहेको नर्वेको हजार वर्ष अघिको देवता थोर (बज्रदेव) को नाम र चरित्र दुवै पुरानो खस इलाका (कास्मिर) मा प्रचलित थोरसँग मिल्छ । उनको आयुध बञ्चरो हो, जुन प्रतीकलाई घाँटीमा झुन्ड्याइन्थ्यो, हजार वर्ष अघिसम्म र जसलाई क्रसले विस्थापित गर्‍यो । नभन्दै बज्र पर्दा ढुङ्गाको बञ्चरो खस्छ भन्ने हाम्रो मान्यता छ । यद्यपि यी बञ्चराहरू पाषाणयुगीन (नियोलिथिक) हतियार हुन्छन् भन्ने पुष्टि भइसक्यो । र नभन्दै थोरको परिकल्पना एसियाको यो भूभागबाटै गएको मानिएको छ । यही थोर अंग्रेजीको बज्रबोधक थन्डरबोल्टमा परिणत भएको छ ।
यसले बुझाउँछ, पामिरपछि युराल नाघेर थोर अर्थात् बज्रदेव उत्तर युरोप र मध्ययुरोपको जर्मनीसम्म लाग्यो । अर्काेतिर हेलिनिक (ग्रीक) महादेव जियस हुन्, जसको आयुध नै बज्र
हो । अनि जियसको प्रतीक साँढे नै हो र उनको वेदी ओलम्पियामा बनाइँदा ढुंगाको होइन, खरानीकै बनाइयो, जसरी महादेवको शरीरमा खरानी दलिन्छ । समुद्रका ठूला देवता हुन्- पजिडन, जसरी गंगा महादेवका जटाबाट निस्किन्छिन् । उनका प्रतीक पनि साँढे नै हो, आयुध त्रिशूल नै हो । यसले बुझाउँछ, पशुपालनको युगमा पशुपतिले आल्पस नाघेर दक्षिण युरोपको बाटो लिए अर्थात् ताइवान र बर्मादेखि मध्यएसियामात्र नभई उत्तरयुरोपदेखि दक्षिण युरोपसम्मको सभ्यताको मूलधारको स्रोत तल्लो हिमालय शृङ्खला नै थियो, जतिबेला अमेरिका र अष्टे्रलिया (न्युवल्र्ड) पत्ता लागेको थिएन र अफ्रिका अँध्यारो महादेश मानिन्थ्यो । तर त्यही पश्चिम आफ्नो आदिसंस्कृतिको मूल जरोलाई उखेल्न आज नयाँ नेपाल बनाउन उद्यत छ । प्रचण्ड नाउँका एक इशाई मिसनरीलाई माओवादी खोल ओढाएर धर्मनिरपेक्षताको आफ्नो अभियान चम्काइरहेछ ।
आदिसंस्कृति ध्वस्त पारेर, युनिसेफका विश्वसम्पदा सूची अन्तर्गत पशुपति राख्ने, बोरोबुदुर राख्ने, एङकोर वाट राख्ने जस्ता कुरा रूख काटेर मुढाको पूजा गर्ने बाँदर संस्कार नै बढी लाग्छ । त्यही अमेरिकामा रेड इन्डियनहरूको हालत हेरे हुन्छ । धर्मले 'रेजिमेन्टेसन' गर्दाको परिणाम र नेपालमा नहुँदाको 'एथ्नोग्राफिक' खानीको अस्तित्व । यहाँनिर पश्चिमको संस्कृतिहीनता टड्कारो हुन्छ । प्रकृतिपूजक संस्कृति नै नाशेर 'कार्बन डलर' दिने निर्णय एउटा पाखण्ड र अझ पाखण्डभन्दा बौलठ्ठी सावित हुन्छ । जसलाई त्रिशूल र दोर्जेको स्रोत थाहा छैन, त्यसमाथि लेखाउँछ । जसलाई राजखानी काटेर सूर्यलाई चढाएपछि मात्रै खस भइन्छ भन्ने थाहा छैन, उसको नाममा 'फ्याटालिजम एन्ड डेभलपमेन्ट' लेखिदिन्छ र धर्म परिवर्तनको उद्देश्य बोकाएर 'कर्णाली इन्ष्िटच्युट' चलाउन जुम्ला पठाउँछ ।
तेस्रो पाटो
नेपालमा धर्मनिरपेक्षताको निम्ति भेटिकनको वकिल बनेको नर्वेमा धर्म परिवर्तन सन् १००० मा सुरु भयो र ११५० मा त्यो कार्य सकियो । फलस्वरूप अहिले ७९ प्रतिशत इभाञ्जेलिकल लुथेरनहरू त्यहाँ छन् । त्यहाँका इशाईहरूले प्रायः आफ्ना गिर्जाघर पुराना मन्दिर वा पवित्र स्थलहरूमा स्थापना गरे । गिर्जाघरको संवैधानिक प्रमुख नर्वेका राजा हुन्छन्, जसले संविधानअनुसार आफू लुथेरन भएको सावित गर्नैपर्छ, जसलाई नेपालमा गणतन्त्र स्थापना भइसकेपछि मार्च २००९ मा पुष्पकमल दाहालले दर्शनभेट गरेर आफूले नेपालमा दायित्व पूरा गरेकोमा हाजिरी दिँदै धन्यवाद दिए । यसरी भविष्यमा मन्दिरमात्र होइन, गुम्बाहरू पनि गिर्जाघरमा परिणत हुने अब निश्चितै छ । न फिदिममा फाल्गुनन्दको आश्रम, मेन्छायम धाप र साल्पा पोखरी नै बाँकी रहनेछन् । इन्टरनेटमा कसैले पनि नेपालसम्बन्धी जोसुवा प्रोजेक्टका फाइलहरू हेरे हुन्छ ।
अर्काे डेनमार्कमा २००८ सम्ममा ८२ प्रतिशत इभाञ्जेलिकल लुथेरन थिए । जुन देशको संवैधानिक धर्म हो र राजाचाहिँ राज्यले मान्यता दिएको लुथेरन गिर्जाघरको सदस्य हुनैपर्छ । अर्काे वकिल स्वीडेनमा ७० प्रतिशत इभाञ्जेलिकल लुथेरन छन् र फिनल्यान्डमा ७३ प्रतिशत । आइसल्यान्डमा ७९ प्रतिशत इभाञ्जेलिकल लुथेरन छन् र तिनलाई १९४४ को संविधानले संरक्षण दिएको पनि छ ।
तर नेपालमा धर्मनिरपेक्ष संविधान बनाउन नेताहरूलाई बाँडिएको पाँच करोड डलरपछि पनि धर्म परिवर्तन गराउने सात अर्ब रुपैयाँ खर्च भइसकेको छ । अन्तरिम संविधानमा सम्बन्धित वाक्यमा काकपद चिह्न हालेर माथिपट्ट ि'धर्मनिरपेक्ष' लेखिदिनेले कति लाख डलर पायो, त्यो खोजीको विषय हो । मुद्दा लिम्बुवान लगायत एक मधेस एक प्रदेशको भन्दा पनि दक्षिणी सुडान जन्मनेतिर बढ्दै गइरहेको देखिन्छ । दक्षिण कोरियाली 'मैत्री अस्पताल'हरूले मंगोल अनुहार ओढेर सुरुदेखि नै धर्म परिवर्तनलाई सघाएकै हुन् । त्यसैले माओवादी राष्ट्रवाद कुनै पनि राष्ट्रकल्याणको निम्ति भने बुझिँदैन, अर्काे एक इशाई राष्ट्रको निम्ति भन्नेमात्र देखिन्छ । राजा यतिमात्रैका निम्ति फाल्नु थियो भेटिकनलाई, भलै गणतन्त्र भारतका निम्ति पनि सामरिक अनुकूल किन नहोस् ।
हिन्दु धर्मसापेक्ष संविधानले बौद्ध धर्मावलम्बी, मुन्धुम धर्मावलम्बी, बोन धर्मावलम्बी, बर्हमथान (थारू) पूजक, टों पूजक (गुरुङ) आदिलाई समेटेको थिएन । अर्काेतिर नेपालमा विश्व हिन्दु सम्मेलन हुँदा कतिसम्म संवेदनहीनता थियो भने हामी आंेकार परिवारका हौं भनेर बोन, बौद्ध, जैन र सिखसम्मलाई समेटियो, तर पनि मुन्धुमवादीहरू छुटे । यसैले तिनलाई पनि समेट्न सनातन धर्मसापेक्ष संविधान हुनुपथ्र्याे । बुद्धले पनि 'यश धम्मो सनन्तनो' (यो धर्म सनातन हो) भनेकै
थिए । तर सनातन भनेको त घुमाइ-फिराइ हिन्दु नै भनिएको हो भनेर मुन्धुमवादीहरूलाई लाग्ला भनेर शीर्षकमा आदिधर्म राखिएको मात्र हो । अन्यथा सटिक शब्द सनातनको खास अर्थ अज्ञात युगदेखि चलेर आएको भन्ने नै हो ।
र के भनिहाल्नु जरुरी छ भने पूर्वले कथाहरूले भरिएका कुनै ग्रन्थलाई पनि धर्मग्रन्थ मान्दैन, त्यो पुराणको श्रेणीमा पर्छ । धर्मग्रन्थ ठेली हुनुपर्छ भन्ने होइन । भेन्सिटार्टले दिएका फाल्गुनन्दका उपदेशहरूको सँगालोले तिनलाई पनि धर्मप्रवर्तक नै बनाउँछ र त्यसमाथि जुन धर्ममा दर्शन हुँदैन, त्यो धर्म मानिन्न । आफ्नो दर्शन छँदाछँदै नेपालले पश्चिमले थोपर्न खोजेको पुराणलाई धर्मग्रन्थ मान्नु जरुरी थिएन र छैन, जो देश विखण्डनको कारक बन्नेछ ।
यसैले संविधान धर्मसापेक्ष बन्दैन भने गृहयुद्ध हुने कुरा पक्का छ । तर जातीयताको मुद्दा होइन, धर्मनिरपेक्ष संविधान बन्दैन भने नबनोस् भनेर पश्चिम बसेको छ । रोमन क्याथलिक नभइकन राष्ट्रपति हुन नपाइने अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको नेपालप्रतिको उग्र चिन्ता र दौडधुप त्यसैका निम्ति हो । नबन्ला भनेर नर्वेका टोरे टोरेङ विशेषदूत बनेर आउँछन्, नर्वेका राजदूतको निवासस्थानमा वामपन्थीहरूको कविगोष्ठी गराइन्छ । कसै-कसैलाई डलर उपहार दिइन्छ । माओवादीको इशाईधार त्यसै स्वार्थको पहरेदारमात्र हो र हाम्रानिम्ति यदि धर्मसापेक्ष बन्दैन भने संविधान नबनोस् पनि । गृहयुद्ध र
राष्ट्र विखण्डनभन्दा संविधान नबनेको धेरै राम्रो हो, नबनोस् ।


स्रोत  :- चैत्र १५, २०६७ कान्तिपुरमा प्रकाशित
https://ekantipur.com/opinion/2011/03/29/327205.html

No comments:

Post a Comment