29.5.22

धर्म र कम्युनिस्टबारे आहुतिको लेख र इसाईकरण

आहुति कमरेड ! तपाईंको लामो लेख पढ्न पाएँ, त्यसमा अभिव्यक्त विचार र धारणाप्रति जानीनजानी मैले निम्न टिप्पणीहरु गर्ने जमर्को गरेको छु– आजको २१औं शताब्दीमा पनि विश्व साम्राज्यवादले ‘धर्म’ लाई सर्वहारा क्रान्ति, राष्ट्रिय मुक्तिलगायतका सबै प्रकारका आन्दोलनलाई रोक्ने ‘हतियार’ का रुपमा प्रयोग गरिरहेको छ । विश्वका सबै खालका क्रान्तिकारीहरुबीच केवल सर्वहारा क्रान्तिकारीहरुले मात्र धार्मिक अन्धताका विरुद्धको मोर्चा सम्हाल्नु परिरहेको छ ।
२१औं सताब्दीको विश्व साम्राज्यवाद भनेको को हो ? भारत, चीन, रुस हो भनौं भने हामीले आजसम्म पढेका वा पढाइएका आधारमा त हामीले भारतलाई भारतीय विस्तारवाद, चीनलाई चीनिया संशोधनवाद, रुस (विघटन नहुँदासम्म) समाजवादी साम्राज्यवाद भनिन्थ्यो । अब आज आएर यल्त्सिनपछि के भनिन्छ ? थाहा भएन ।

यसर्थ, हामीले परम्परागत रूपमा पढेका वा पढाइएका जानेबुझेको आधारमा भन्ने हो भने त्यही हिजोको ‘नेटो गुट’ अर्थात् पश्चिमी गोलार्द्धको अमेरिका र त्यसको साथ-सहयोगी युरोपेली युनियन नै साम्राज्यवाद होइन र ?

पहिला हवाईहमला गर, त्यसपछि स्थलसेना बढार्न जाऊ, तेस्रो पटक युद्धले थिलोथिलो र आर्थिक रुपले विपन्न भएको समाजमा बाइबल बोकेर ‘उद्धार’ गर्न जाऊ, बदलामा ‘बाइबल धर्म’ ग्रहण गराऊ– यही होइन, साम्राज्यवादको नाङ्गो हतियार ?

यदि आजको घडीमा अमेरिकी साम्राज्यवाद हो भने अमेरिकी साम्राज्यवादद्वारा नेपालमा सञ्चालित संस्थाबाट २००३ मा माओवादी जनयुद्धसम्बन्धी एउटा विस्तृत प्रतिवेदन तयार गर्न लगाएको थियो, अमेरिका सरकारलाई नेपालमा माओवादी जनयुद्धको अनुसन्धान गरी पठाएको रिपोर्टमा निम्न ३ कारण उल्लेख गरेको थियो– १. सदरमुकाम स्थानन्तरण, २. गाँजा नियन्त्रण ३. क्रिस्चियन विद्रोह । यहाँलाई जानकारीका लागि उक्त प्रतिवेदनका केही नमूना मात्रै उल्लेख गरौं- पूर्वी रुकुमको तकसेरा क्रिश्चियन गतिविधिको एउटा केन्द्र थियो । विक्रम सम्वत् २०२५ सालमा नेपाल सरकारको अनुमति लिएर त्रिभुवन विश्वविद्यालयमार्फत् समर इन्स्टिच्युट अफ लिङ्ग्विस्टिक्सले नेपालका भाषा र भाषिकाहरुको वर्गीकरण गर्ने सम्झौतामा हस्ताक्षर भयो । भाषाको आवरण दिए पनि यो संस्था आदिवासी भाषाहरुमा बाइबललाई अनुवाद गर्ने एउटा मिसनरी संस्था थियो । सिलका परियोजना निर्देशक डा. डेभिड वाटर्स मुस्ताङको जोमसोम हुँदै तकसेरा र पूर्वी रुकुमका अन्य गाविसहरुमा पुगे । त्यहाँ उनले खाम मगर भाषाको अध्ययन मात्रै गरेनन्, उनी र उनको परिवार त्यहीँ घर बनाएरै बस्न थाले । डा. वाटर्सले बाइबललाई खाम भाषामा अनुवाद गरे । यसैबीच सरकारसँग सम्झौताको अवधि सकियो र वाटर्स परिवारले तकसेरा छाडे । उनले गाउँ छाडे पनि खाम मगर बोल्ने केही स्थानीय बासिन्दाले हरेक साँझ त्यहाँ मैनबत्ती बालेर उनीद्वारा अनुवादित बाइबलका पंक्तिहरु गाउँथे । प्रतिवेदनका अनुसार, चार वर्षपछि केही सयको संख्यामा स्थानीय बासिन्दाहरु क्रिस्चियन भइसकेका थिए, जुन तकसेराको कूल जनसंख्याको सानो प्रतिशत मात्रै थियो । जिल्लाको नयाँ सदरमुकाम मुसिकोट (यसअघि रुकुमकोट थियो) मा यो खबर पुग्यो । विश्वको एक मात्र ‘हिन्दू अधिराज्य’ मा धर्मपरिवर्तन गैरकानुनी थियो । पूर्वी रुकुमका मगरहरुमा धर्मपरिवर्तन व्यापक रहेको खबर पाएपछि प्रमुख जिल्ला अधिकारीले अनुसन्धानका लागि प्रहरी पठाए । स्थानीय क्रिश्चियन नेताहरुलाई पक्राउ गर्ने आदेश दिइयो । नौ जनाले आफूले क्रिश्चियन धर्म परिवर्तन गरेको स्वीकार गरे र उनीहरुलाई एक वर्षको सजाय दिइयो । अरुलाई धर्मपरिवर्तन गर्न लगाएको आरोपबाट भने उनीहरुले सफाइ पाए । यसपछि पनि धेरै क्रिश्चियनहरुलाई सताउने र पक्राउ गर्ने काम भयो । पूर्वी रुकुमका गैरक्रिश्चियनहरु समेत यसबाट आक्रोशित भए । जेलमा रहेका नौ क्रिश्चियन नेताहरुमध्ये संगीतमा अब्बल एक जनाले क्रिश्चियन गीतहरु खाम भाषामा रचेर गुपचुप तकसेरा पठाएको र त्यसबाट थप स्थानीय बासिन्दाहरु क्रिश्चियानिटीप्रति आकर्षित भएको प्रतिवेदनमा उल्लेख छ ।

मिल बन्द गर्न प्रहरी गाउँको बाटो आउँदै गर्दा गैरक्रिश्चियनहरुले एम्बुस थापे, उनीहरुका हतियार खोसे, लुगा खोल्न लगाए, जुँगाका रौँ उखेले र कालोमोसो दली घाँटीमा डोरी बाँधेर तान्दै गाउँ डुलाए ।

पक्राउ परेका यी नौ जना क्रिश्चियन नेतामध्ये एकजना माओवादी भएको त्यस प्रतिवेदनमा उल्लेख छ । ०३९ सालतिर विदेशमा रहेका क्रिश्चियनहरुले तकसेरा जेलमा रहेका बन्दीहरुको बारेमा खबर पाएपछि उनीहरुको परिवारका लागि चन्दा संकलन गर्न थाले । यति धेरै रकम जम्मा भयो कि त्यहाँका क्रिश्चियनहरुले त्यो पैसा परिवारलाई मात्र नभई त्यो क्षेत्रकै पहिलो आर्थिक विकास योजनामा लगाउने निर्णय गरे । गाउँमा लामो समयसम्मको छलफल र अध्ययनपछि उनीहरुले नदीको पानीले चल्ने स्विट्जरल्यान्डमा बनेको मिल र एउटा सानो स–मिल किन्ने निर्णय गरे । यो समुदायको पहिलो आर्थिक विकास परियोजनाले राम्रैसँग काम गर्यो । यो मिलले क्रिश्चियन र गैरक्रिश्चियन दुवै समुदायलाई सेवा दिन्थ्यो। मिल रहेको घर दुई तले थियो । माथिल्लो तलामा चर्चको मिटिङ हल थियो । विक्रम सम्वत् २०४० सालमा एक क्षेत्रीय अधिकारीले तकसेरावासीलाई मिल बन्द गर्न पत्र लेखे । गाउँका मुखियाले पत्र लेख्दै बन्द गर्न अस्वीकार गरे । सरकारी अधिकारीले बन्द नगरे मिल भत्काइदिने चेतावनी दिए । गैरकानुनी रुपमा क्रिश्चियन भएकाहरुले आफ्नै पहलमा यस्तो परियोजना ल्याएर राजाको भूमिकालाई अवमूल्यन गरेको आरोप थियो । भत्काइदिने चेतावनी पाएपछि क्रिश्चियनहरुले थप जोखिम मोल्न चाहेनन् र मिल बन्द गरिदिए । तर गैरक्रिश्चियनहरुले भने मिल बन्द गर्नु नहुनेमा जोड दिए । प्रतिवेदनका अनुसार, मिल बन्द गर्न प्रहरी गाउँको बाटो आउँदै गर्दा गैरक्रिश्चियनहरुले एम्बुस थापे, उनीहरुका हतियार खोसे, लुगा खोल्न लगाए, जुँगाका रौँ उखेले र कालोमोसो दली घाँटीमा डोरी बाँधेर तान्दै गाउँ डुलाए । म यसबाट निम्न कुराहरु बुझ्ने प्रयासमा छु– त्यो राज्यको सुरक्षाकर्मीसँग विद्रोह गर्ने लडाइँ लड्नेसम्मको तयारी गर्ने पात्र हाम्रो माओवादी आन्दोलनभित्र पनि सक्रिय छ भनेर अमेरिका सरकारलाई आश्वस्त पारिएको छ, जुन पात्र हाम्रो पार्टीभित्र छद्म भेषमा को होला ? केही वर्षअघि पापातिर गएर पादरीबाट बाइबल टाउकोमा राखेर ‘आशिर्वचन’ लिने महरा हुन् कि ? क्रिस्चियन मिसनबाट सञ्चालित स्कुलमा अध्यन गर्ने बाबुराम वा पश्चिमतिर अध्यापन गर्ने प्रचण्ड ? जे होस्, कोही न कोही त अवश्य नै हुन सक्छ । भविश्यमा ढिलो–चाँडो सतहमा प्रकट होला नै । तर, यो क्रिस्चियन विद्रोहको असफल गर्भभूमिबाट सफल माओवादी विद्रोहको साइँनो–सम्बन्ध, लसपस छ कि छैन ? यो पनि भविश्यलाई छाडेर तपाइँले भन्नुभएको ‘साम्राज्यवादले धर्मलाई हतियारका रूपमा प्रयोग गरेको’ भन्ने भनाइबारे कमरेडलाई एउटा प्रश्न सोध्न चाहेको छु । यो हतियारको रूपमा आउने साम्राज्यवादीको हातमा बाइबल हुन्छ कि वेद ? वा त्रिपिटक हुन्छ कि कुरान ? कमरेडबाट यस विषयमा द्विविधा नराखी प्रष्टता हुनुपर्‍यो ।

म तपाईंलाई ग्यारेन्टी दिन्छु, तपाईंको त्यस आह्वानलाई हृदयङ्गम गर्दै म साम्राज्यवादको असली हतियारका रूपमा रहेको ‘क्रुस’, जुन मेरा लागि दाउराका दुईवटा चिर्पट बराबर मात्रै हुन्, म त्यसलाई जलाएर साम्राज्यवादको ‘पवित्रता’ माथि धावा बोल्नेछु । इसाई धर्मप्रचारकहरुलाई नियन्त्रण गर्ने विभिन्न अभियान सञ्चालन गर्नेछु । तपाईं तयार हुनुहुन्छ ?

अर्को, क्रान्तिकारीहरु र धर्मभिरुबीचको द्वन्द्व युरोपमा भएको थियो होइन र ? परिवर्तनका हिमायती क्रान्तिकारी र यथास्थितिको प्रतिनिधित्व गर्ने त्यहाँको राज्यकोजत्तिकै अधिकार लिएर बसेका चर्च र चर्चका पादरीहरुसँग द्वन्द्व भएको थियो होइन र ? कार्ल मार्क्सले ‘धर्म भनेको अफिम हो’ भन्नुपर्ने अवस्था यिनै परिवेशबाट उब्जिएको होइन ? कि कार्ल मार्क्स बौद्ध दर्शन, बेद, कुरान, बाइबल आदिमा राहुल सास्कृत्यायनजत्तिकै ज्ञाता भएर यी शब्द निकालेका हुन् त ? युरोपमा क्रान्तिकारीहरुले भोग्नुपरेको राज्यको आडमा पादरीहरुबाट गरिएको जस्तो दमन वा अवरोधको सामना नेपालमा आजसम्म कुनै पण्डित वा धार्मिक संस्थाले गर्नुपरेको छ ? युरोपमा राज्यबाट संरक्षित चर्च र पादरीहरुले नवक्रान्तिकारीहरुलाई दमन गर्न सक्रिय भूमिका खेल्यो भने नेपालमा राज्यबाट संरक्षित पण्डित–पुरोहित उत्पादन गर्ने जयन्तु संस्कृत पाठशालाले त नवक्रान्तिकारीहरुलाई साथ र सहयोग पो गरेको होइन ? मध्ययुगीन जहानियाँ राणा शासनको अन्त्य गर्न कुनै सर्वहारा, मजदुरले नभई उच्चमध्यम वर्गबाट धार्मिक शिक्षा ग्रहण गर्न धार्मिक नगरी बाराणसी गएका पण्डित–पुरोहितकै सन्तानको अहम भूमिका देखिन्छ, होइन र ? आजभन्दा पनि १६औं–१७औं शताव्दीको युरोपको क्रान्तिकारीको चश्मा लगाएर आजको धार्मिक क्षेत्रमा दृष्टि लगाउनु भनेको युएसडीले दिएको रिपोर्ट भित्रका सामग्रीले काम गरेको छ कि अज्ञानताले काम गरेको छ ? म द्विविधामा परेको छु । केही दिनअघि मात्रै कान्तिपुर पत्रिकामा दुल्लु विद्रोहको एउटा रिपोर्ट प्रकाशित भएको थियो– दसैं–तिहार मनाउन नदिने, जमरा उखेल्ने, टुप्पी काट्नेजस्ता काम गरेर एकाएक जनाक्रोश बढाइएपछि गाउँका सर्वसाधरण हजारौं भेला भएर विद्रोह गरे, गाउँमा पुगेका केन्द्रीय नेता खड्गबहादुर विश्वकर्मा जनताको कारबाहीमा परे, अन्ततः माओवादी पार्टीले आयोग नै बनाएर यस घटनाको अनुसन्धान गरी पार्टीबाट हुनगएको गलतीका रूपमा लियो । आज आएर मलाई दसैं, जमरा, तिहार, टुप्पीसँग हाम्रो क्रान्तिको साइँनो थियो वा युएसडीले दिएको माओवादीभित्र पनि रहेका ती ‘पात्र’ को भूमिका थियो ? छुट्टाउन गाह्रो परिरहेको छ । अर्को एउटा प्रश्न कमरेडलाई– धर्मनिरपेक्षतालाई धर्मको किल्ला कब्जा गर्नु वा हट्नु वा हटाइनुको अर्थमा लिने हो भने क्रान्तिकारीहरु भारतमा किन सफल नभएका ? वा चीनमा किन माओकालीन क्रान्तिकारीको पुनर्जीवन नभएको ? क्रान्तिको उत्थान वा पतन बाह्य संसारसँग सम्बन्धित हुन्छ भने घरको गोरु चुट्ने किन ? गोरुले बाली त खाला तर त्यसलाई हलोमा नारेर जोत्न पनि सकिँदैन र ? हामीले पनि क्रान्तिका योद्धाहरुका परिवार, घाइते–अपाङ्गलाई उपचार गर्ने भनेर त्यही ‘गोरु’ दिनबन्धु पोखरेललाई नै हलो जोताएर करोडौं रकम उठाएका होइनौं ? आज ती करोडौं रकम कहाँ गए ? कसले खायो ? क्रान्तिकारीले कि त्यही हामीले पिटेको ‘गोरु’ ले ? आहुती कमरेडको लेखबारे अर्को एउटा टिप्पणी पनि गरौं– भारतको वैशालीबाट आएका हिन्दूधर्मी लिच्छविले इ.सं. २०० मा किराँत राज्यमाथि विजय पाएपछि नै हिन्दू धर्मको व्यवस्थित सुरुआत भएको देखिन्छ । त्यसपछि सन् ८७९ मा भारतबाट आएका हिन्दू मल्लहरुले लिच्छवि शासनको अन्त्य गरेपछि हिन्दू परम्परालाई अझ नयाँ उचाइमा विकसित गर्दै लगेको प्रस्ट छ । त्यसोभए कमरेड ! हाम्रो पार्टीले लिएको नीति त पूर्णतः गलत छ भन्नुपर्ने भयो । किनभने, भारतको बैसालीबाट आएका मल्लचाहिँ यहाँका असली भूमिपुत्र, आदिवासी, जनजाती हुने अनि तपाईंको भाषामा यहाँ (कर्णाली प्रदेश) का हजारौं वर्ष पुराना मस्टोपूजक खस–आर्यहरुचाहिँ ‘अन्य जाति’ हुने ? यो के भएको–भनेको हो ? हिन्दू धर्मलाई व्यवस्थित रूपमा स्थापित गर्ने, किराँतहरुलाई उपत्यकाबाट लखेट्ने, बाराणसीबाट कान्यकुब्जे ब्राह्मण ल्याउने, जातिविभेदको हाँगा फिँजाउन तपाईंको भाषामा ०६४ सम्म पुर्याउने र खस जातिलाई हिन्दूकरण गर्ने त दक्षिणबाट आएका कान्यकुब्जे ब्राह्मण र नेपालका मल्ल पो रहेछन् ! अनि हाम्रो पार्टीको आजको आन्दोलन दक्षिणका तिरहुते–कान्यकुब्जे ब्राह्मण र काठमाडौंका मल्लसँग पो सहकार्य छ त, किन होला ? खसजाति त इतिहासको पानामा चोखो देखिन्छ होइन ? हो, वर्तमानमा सत्ताको बागडोर खसजातिमा सीमित होला वा कब्जा होला तर इतिहासलाई बङ्ग्याएर विरोध किन ? आज मल्ल के. सुन्दर आदिवासी भूमिपुत्र भएर प्रचण्डसँग दायाँपट्टि उभिँदैगर्दा ओम लामिछाने यो देशको भूमिपुत्रको हैसियतले बायाँपट्टि उभिन पाउने कि नपाउने ? नपाउने भए किन नपाउने ? म आज शासक हुँला, राज्यसत्ता मेरो जातीय रुपरंगमा होला, तर आज गरेको अपराधले मेरो इतिहास दण्डित हुन्छ कमरेड ? जवाफ दिनोस्। तपाईंको अर्को ‘इसाई धर्मचाहिँ मल्लकालमा नै आइपुगेको इसाइहरु बताउँछन् तर पृथ्वीनारायण शाहको शासन सुरु भएपछि उनीहरुलाई देशनिकाला गरिएको र नभाग्नेलाई फाँसी दिइएको भन्ने भनाइ इतिहासकारहरुले बताएका छन् । आजका इसाई धर्मावलम्बीहरुले चाहिँ दोस्रो विश्वयुद्धपछि अमेरिका, बेलायतजस्ता देशले शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा काम गर्न भनी पठाएका विभिन्न मिसनहरुले चलाएका अभियानबाट प्रभावित भएर इसाई धर्म ग्रहण गरेका हुन्’ भन्ने भनाइबारे छलफल गरौं । आहुती कमरेड ! पृथ्वीनारायण शाहले इसाईहरु लखेटेकोबारे यति भनौं, तत्कालीन समयमा कलकत्ता वा दिल्लीका नवाबहरुमा पृथ्वीनारायण शाहजत्तिकै दूरदर्शिता भएको भए सयौं वर्ष गुलामी हुनु त नपर्नेरहेछ नि होइन र ? अर्को; होइन। उनीहरु विशुद्ध धर्मप्रचारक मात्रै हुन् र नलखटेको भए हुनेथियो भन्नुहुन्छ भने आज यो ‘ओम लामिछाने’ को नाम ‘जोसेफ लामिछाने’ हुनेथियो होला । पशुपतिनाथ–स्वयम्भूनाथ खण्डहर हुनेथिए होलान् । टोलटोलमा चर्चघर हुने थिए होलान् । बाँकी क्रान्तिकारीहरुलाई के फरक पर्थ्यो र ? दोस्रो विश्वयुद्ध पछाडि साम्राज्यवादले शिक्षा–स्वास्थको क्षेत्रमा इसाई मिसनरी पठाउँछ भन्नुभएको छ, त्यही नै आजको सारसंक्षेप कुरा हो । अफ्रिकी महादेशदेखि इराक–अफगानिस्तान हुँदै नेपालसम्म त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष बाछिटा परिसकेको छ । पहिला हवाईहमला गर, त्यसपछि स्थलसेना बढार्न जाऊ, तेस्रो पटक युद्धले थिलोथिलो र आर्थिक रुपले विपन्न भएको समाजमा बाइबल बोकेर ‘उद्धार’ गर्न जाऊ, बदलामा ‘बाइबल धर्म’ ग्रहण गराऊ- यही होइन, साम्राज्यवादवादको नाङ्गो हतियार ? यदि हो भने यसै विषयलाई केन्द्रित गरेर तपाईंंले एउटा लेख लेख्नुहोला वा आह्वान गर्नुहोला । तपाईं विश्वास गर्नोस् आहुति कमरेड ! म तपाईंलाई ग्यारेन्टी दिन्छु, तपाईंको त्यस आह्वानलाई हृदयङ्गम गर्दै म साम्राज्यवादको असली हतियारका रूपमा रहेको ‘क्रुस’, जुन मेरा लागि दाउराका दुईवटा चिर्पट बराबर मात्रै हुन्, म त्यसलाई जलाएर साम्राज्यवादको ‘पवित्रता’ माथि धावा बोल्नेछु । इसाई धर्मप्रचारकहरुलाई नियन्त्रण गर्ने विभिन्न अभियान सञ्चालन गर्नेछु । तपाईं तयार हुनुहुन्छ ? यदि यसका लागि तपाईं तयार हुनुहुन्न भने नेपालका धार्मिक संघ–संस्थाले हामीमाथि लगाउने आरोप र तपाईंका लेख–अभिव्यक्तिहरुले आपसमा मेल खाएका छैनन् भन्ने आधार के छ कमरेड ? युएसडीले दिएको रिपोर्टमा उल्लेख गरिएका पात्र सफल भएका छन् कि क्रान्तिकारी पात्र सफल भएका छन् कमरेड ? हामीले उखेलेको पुरानो भ्रमको रुखकै खाल्डामा सोही रुखको बिरुवा उम्रेको छ । अर्थात्, नयाँ साम्राज्यवादका बिरुवा च्याउ झैं उम्रेका छन् त कमरेड ?

चैत्र ४ गते, २०७१ बुधवार
18th March, 2015 Wed
१२:४८:०२ मा प्रकाशित

No comments:

Post a Comment