8.10.22

“पढ्नु ध्यान हो”

आठ वर्षको उमेरमा बुवाको निधन भएपछि सौरभले आफ्ना अगुवा, आदर्श व्यक्तित्व र प्रिय साथी एकैपटक गुमाएको अनुभूति गरे । त्यो खाली ठाउँ भर्न आइपुग्यो, किताब । हजुरबा र बुवाले पढ्ने ‘स्टेटस् म्यान’, ‘बेइजिङ रिभ्यु’, ‘चाइना पिक्टोरियल’लगायत पत्रिका र म्यागेजिनको चाङबाट उनले अध्ययन अगाडि बढाए । उनी सम्झिन्छन्, ‘त्यतिबेला ठेली किताब पढ्ने उमेर पनि थिएन, उपलब्धता पनि थिएन । त्यसैले पत्रिका र म्यागेजिनका तस्बिर, तिनका क्याप्सन पढेर मेरो पठन–यात्रा सुरु भयो । 
बुक क्याफे
आठ वर्षको उमेरमा बुवाको निधन भएपछि सौरभले आफ्ना अगुवा, आदर्श व्यक्तित्व र प्रिय साथी एकैपटक गुमाएको अनुभूति गरे । त्यो खाली ठाउँ भर्न आइपुग्यो, किताब । हजुरबा र बुवाले पढ्ने ‘स्टेटस् म्यान’, ‘बेइजिङ रिभ्यु’, ‘चाइना पिक्टोरियल’लगायत पत्रिका र म्यागेजिनको चाङबाट उनले अध्ययन अगाडि बढाए । उनी सम्झिन्छन्, ‘त्यतिबेला ठेली किताब पढ्ने उमेर पनि थिएन, उपलब्धता पनि थिएन । त्यसैले पत्रिका र म्यागेजिनका तस्बिर, तिनका क्याप्सन पढेर मेरो पठन–यात्रा सुरु भयो ।’अध्ययन र उमेर बढ्दै जाँदा पत्रिका र म्यागेजिनका सामग्रीमा उनी क्षणभंगुरता र सतहीपन महशुस गर्न थाले । त्यसैले अध्ययनको गहिराइ खोज्न किताबसँग निकट भए । तथापि, झण्डै दुई दशक म्यागेजिनको साथ पनि छाडेनन् । बाहिरी अध्ययनको लतले होला, स्कुलदेखि नै सौरभको पाठ्यक्रम–किताबप्रति मोह रहेन । उनी प्रतिस्पर्धी खालका विद्यार्थी पनि भएनन् ।
तर, पाठ्यक्रमबाहिरका किताबको मोहनीले चाहिँ उनलाई झनपछि झन् तानिरह्यो । जति धेरै किताब पढ्दै गयो, उति मानिसहरूसँग कुरा मिल्न छाड्यो । सोच र बुझाइ मिल्न छाडे । त्यस्तो एक्ल्याइले उनलाई किताबसँग झन् नजिक पुर्‌यायो । कलेज जीवनमा त उनी किताबसँग एकाकार नै भइसकेका थिए । उनी सम्झिन्छन्, ‘मधुपर्कमा जस्तो लाग्छ, वर्ष–अंक त बिर्सेँ, कभरचाहिँ हरियो थियो ।

त्यहाँ कसैले इच्छा व्यक्त गरेको पढेँ– कतै समुद्र होस्, एकान्त होस् । किनारमा बेन्च होस् । दायाँबायाँ रूख हुन् । चिया र कफी बरोबर सर्भ भइरहोस् । नयाँ–नयाँ म्यागेजिन लिएर बस्न पाइयोस् । म ठ्याक्कै त्यही मोडमा थिए ।’ त्यो पढिसकेपछि उनलाई लाग्यो, त्यसरी पढ्न चाहने मान्छे उनी मात्रै एक्लो होइन रहेछन् नि यो संसारमा । त्यसले उनलाई किताबको प्रेममा डुब्न अझ उत्प्रेरित गर्‌यो ।

उनले कलेजमा पत्रकारिता पढे र पत्रकारिता नै पेसा अपनाए । पत्रकारिताले उनलाई लेखनको संसारमा पुर्‌यायो । लेखनका लागि अद्यावधिक अध्ययन जरुरी भयो । त्यसपछि त किताबसँगको साथ अनिवार्य नै बन्यो । यही क्रममा उनको मौलिक पठन निर्माण भयो, पढ्ने तरिकाको विकास भयो । लेखनमा त्यही अध्ययन उपयोग हुन थाल्यो । उनी ध्यानको अवस्थामा रहेर पढ्ने पाठक हुँदै हलचल मच्चाउने लेखक बने ।

सौरभ मेचमा बसेर पढ्न सक्दैनन् । सुतेर पढ्दा आँखा कमजोर हुन्छ भन्ने थाहा पाउँदा पनि उनले बानी परिवर्तन गर्न सकेनन् । उनी भन्छन्, ‘मलाई पढ्दा कम्प्लिट रिल्याक्सिङ मोड चाहिन्छ । चराचुरुंगीको पनि आवाज नआओस् । नत्र पढेको कुरा मनमा बस्दै–बस्दैन ।’ उनी पढ्नुलाई ध्यान ठान्छन्, संज्ञाशून्य भएर पढ्छन् ।


पुस्तक छान्दा उनी लेखकको नामलाई ध्यान दिँदैनन् । मनपर्ने विषय देख्नेबित्तिकै किन्छन् र पढ्छन् । जोसुकैले सिफारिस गरेको भए पनि केही पेज पढिसक्दा तानेन भने जबर्जस्ती पढ्दैनन् । नाम चलेका, ‘बेस्टसेलिङ’ वा चर्चामा रहेका लेखकको ‘फण्डा’ले उनलाई छुँदैन । ‘हदै भयो र पछि पढ्न मन लागेको बेलामा नपाइएला भन्ने लाग्यो भने किनेरचाहिँ ल्याउँछु ।

तर, पढ्छु नै भन्ने छैन,’ उनी भन्छन् । आत्मवृत्तान्त, जेलजर्नललगायत विश्वेश्वरप्रसाद कोइरालाका त्यसैमध्येका किताब हुन् । प्रकाशन हुनेबित्तिकै किने पनि उनले ती किताब पढेका छैनन् । नाम नसुनेका र सामान्य लेखकले भने उनलाई आकर्षित गरिहाल्छन् । उनको तर्क छ, ‘चर्चामा रहनेको ज्ञान त पत्रपत्रिकामार्फत पनि आइरहन्छ ।

तर, चर्चामा नरहनेको ज्ञान त किताब पढिएन भने छुट्छ । त्यसैले पनि म त्यस्ता लेखक खोजी–खोजी पढ्छु ।’ प्रकाशित भएपछि कसै न कसैले त पढिदिनुपर्छ भन्ने भावनाले पनि नाम नसुनिएका लेखकको किताब पढ्ने जिम्मेवारी लिन्छन् उनी । ‘कपि इडिटिङ’ गरेकोभन्दा नगरेको किताबमा बढी प्राकृतिकपन पाइने उनको अनुभव छ ।

सौरभका कतिपय पठनबानीले मानिसलाई आश्चर्यमा पार्छन् । जस्तो उनले झण्डै १० वर्ष उल्टोबाट मात्र पुस्तक पढे । पछिल्लो परिच्छेदबाट सुरु गर्थे र अघिल्लो परिच्छेद अन्तिममा पढ्थे । त्यसरी पढ्नु खस्रो ढुंगामा घिरिली खेल्नुझैं लाग्थ्यो उनलाई । त्यो खस्रोपनले मस्तिष्क दर्फर्‌याउँदा उनलाई सम्झन झन् सजिलो भयो ।


तर, अहिले भने उनले त्यसरी पढेका छैनन् । पुस्तक पढ्दा उनी कहिल्यै भूमिका छुटाउँदैनन् । भूमिका पढ्दा त्यसले ‘प्रोजेक्सन’ गर्न खोजेको विषय थाहा हुने र पछि पुस्तकमाथि दृष्टिकोण निर्माण गर्न सजिलो हुने गरेको उनको अनुभव छ । त्यसक्रममा किताब नै नबुझी भूमिका लेखेको पनि उनले धेरै
भेटेका छन् ।

किताब खोज्दा उनी ‘ब्याकपेज इन्डेक्सिङ’लाई पनि उत्तिकै महत्व दिन्छन् । पछिल्लो समय त उनले कति किताब ‘इन्डेक्स’ नभएकै कारण पढेनन् । उनी भन्छन्, ‘मैले मनोरञ्जनका लागि मात्रै पढ्ने होइन । त्यसैले कुनै पनि सन्दर्भ खोज्न सजिलो हुनुपर्छ । त्यसैले म आफ्नो पुस्तकमा पनि इन्डेक्स राख्छु र पढ्ने पुस्तकमा पनि त्यही खोज्छु ।’

किताब पढ्नु मात्रको सौरभ कुनै अर्थ देख्दैनन् । हजारौं प्रति छापिएको किताबको आफू पनि एउटा पाठक हुनुले केही फरक नपर्ने उनको बुझाइ छ । त्यसैले उनी किताब पढ्नकै लागि पनि बढी समय खर्च गर्छन् र त्यसको तेब्बर समयचाहिँ त्यसबारे चिन्तन गर्न । ‘त्यसो गर्न सकिए मात्रै किताबले दिन खोजेको ज्ञानलाई ग्रहण गर्दै अर्को फराकिलो क्षितिजमा पुग्न सकिन्छ ।

नत्र त किताबकै दास भइन्छ । फलानो किताबमा त्यस्तो लेखेको छ, त्यही हो भनेर बसिन्छ,’ उनले भने । त्यसैले उनलाई लाग्छ– राम्रो पाठक बन्नका लागि पानीसँगै बगेर आउने माछा होइन, उल्टो धारमा पौडिने बन्न सक्नुपर्छ ।

किताब छान्दा पनि कसैको सिफारिस वा समीक्षाबाट प्रभावित भएर मात्र होइन, आफ्नै बुद्धिले छान्नुपर्ने उनको धारणा छ । जसले सिफारिस गरे पनि आफ्नै मनोविज्ञानअनुसार गर्ने हुँदा किताब छान्दा सधैँ आफ्नै रूचिअनुसार छान्नुपर्ने उनको तर्क छ ।

सौरभको सम्झिने क्षमताले जोकसैलाई चकित बनाउँछ । आफूले पढेका पुस्तकको कथ्य र तथ्य दुवैमा उनी सधैँ निश्चिन्त भएर बहस गरिरहेका हुन्छन् । सघन पठन र गहिरो चाख नै व्यवस्थित मस्तिष्क–अभिलेखको राज हो । उनी भन्छन्, ‘किताबमा भएका साह्रै झिना–मसिना कुरा सम्झिन त मलाई पनि अरूलाई जस्तै गाह्रो हुन्छ ।’


उनी किताब तीन कोणबाट पढ्छन् । पहिलो, ‘रिडिङ ओपन–स्पेस बिटविन प्रिन्टेड लाइन’ अर्थात् नभनिएको तर भन्न खोजेको कुरा खोज्दै पढ्ने । दोस्रो, किताबमा नयाँ तथ्य, व्याख्या, बलियो पक्ष, विसंगति आदि विष्लेषण गर्दै निचोडमा आफूले प्राप्त गर्ने ज्ञान खोज्दै पढ्ने । र, समसामयिक विश्व, समाज र विचारमा उक्त किताबको सम्बन्ध खोज्दै पढ्ने । ‘यसरी पढ्दा किताबमा के कुरा नयाँ छ, के फाल्तु छ भन्ने मोटामोटी मनमा हेक्का भइसक्छ,’ उनले अनुभव सुनाए ।

सौरभ अध्ययन मात्रै गर्दैनन्, त्यसलाई अनुभवमा बदल्छन् । यात्राले त्यसो गर्न सघाउने उनको अनुभव छ । उनी भन्छन्, ‘यात्राले निरीक्षणको मौका दिन्छ । प्रश्नहरू जन्माउँछ, उत्तर खोज्न प्रेरित गर्छ । कति उत्तर त यात्राकै क्रममा पाइन्छ पनि ।’ त्यसैले उनी पढ्नकै लागि यात्रा गर्छन् । उनले २/४ दिनदेखि महिना दिनसम्म पठन–यात्राका लागि खर्चेका छन् ।

त्यस्तो यात्रामा जाँदा उनी सामान्य होटलमा बस्छन् । एउटामा बस्छन्, अर्कैमा खाना खान्छन् । वरिपरिका ठाउँ घुम्छन् र पसलमा चिया पिउँछन् । त्यहाँ भेटिएकाहरूसँग गफ गर्छन् । त्यसो गर्दा किताबमा पढिरहेको विषयको परीक्षण र निरीक्षण त हुने नै भयो, लेखनका लागि नयाँ विषय पनि भेटिन्छन् । लेखनका लागि तुरुन्तै विषय नभेटिए पनि वर्षौंपछि त्यस्तो संवाद र अध्ययन काम लाग्ने गरेको अनुभव उनीसँग प्रसस्तै छन् ।


सौरभले ०३८ सालदेखि केही अपवादबाहेक साहित्यिक किताब पढेका छैनन् । नेपाली साहित्यिक वृत्तमा हुने ‘लुजटक’ तथा त्यहाँ देखिने ईष्र्या र जलनको संसारका कारण उनी साहित्यबाटै विरक्तिएका हुन् । सिर्जनशीलता कम र आयातीत विचारको हाडखोर बढी भेटिने नेपाली साहित्यको तीतो अनुभवले साहित्यबाट टाढा पुर्‌याए पनि उनले प्रारम्भिक कलेजकालमा प्रसस्तै आख्यान पढेका हुन् ।

उनी तर्क दिन्छन्, ‘१० रुपैयाँ ग्लासमा पाइने थोत्रो चप्पल डुबाएर बनाएको वासः खाएर हजारौं रुपैयाँको स्तरको कथा कसरी जन्माउन सकिन्छ ? नेपाली साहित्यमा त्यस्तै देखेँ । त्यसैले मलाई ठीक लागेन ।’गैरसाहित्यका हरेक पुस्तकमा नयाँ संसार भेटिने हुनाले आफूले रोमाञ्च अनुभूत गर्ने गरेको उनी बताउँछन् । त्यसैले उनले आख्यान लेख्ने पनि सोचेनन्, गैरआख्यान नै लेखे ।

उनलाई एक्लोपनाले पठनमा तानेजस्तै पाठकको मायाले लेखनमा तान्यो । ‘पहिलो चरणमा मैले लेख्दा नबुझिएको गुनासो आउँथ्यो । तर, पत्रकारहरूले स्थान दिइरहे । पाठकले पनि पढिरहे । त्यसैले पाठकलाई ध्यान दिएर अहिले त अलिक सरल नै लेख्छु,’ तेस्रो किताबको तयारी गरिरहेका सौरभले मुस्कुराउँदै भने ।

No comments:

Post a Comment