1.5.23

नासदीय सूक्तमा सृष्टिचिन्तन

आमोदवर्धन कौण्डिन्न्यायन विश्ववाङ्मयमा संस्कृत साहित्यको स्थान अद्वितीय तथा अतुलनीय छ । त्यसमा पनि वेदको स्थान सर्वोच्च र विशिष्ट रहेको छ। प्राच्य परम्परामा वेदलाई परमात्माको निश्वासरूप र सर्वथा दोषरहित ज्ञानराशि मानिएको छ। अनादि, अपौरुषेय, नित्य तथा ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजित, अनेक शाखा भएको, गुरुशिष्यको अध्यापन र अध्ययनको परम्पराबाट आएको तथा मन्त्र र ब्राह्मणका रूपमा रहेको शब्दराशिलाई विद्वान्‌हरू वेद भन्दछन्। वेदको विधानको पालन गर्नु सनातन–वर्णाश्रम–धर्मावलम्बी आर्यहरूको परम कर्तव्य मानिन्छ। यसैबाट धर्म, अर्थ, काम र मोक्ष चार पुरुषार्थ सिद्ध हुन सक्छन्। 

चार वेदमध्ये ऋग्वेद विविध दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ। शैशिरीय–शाकलशाखाका ऋग्वेदसंहितामा एक प्रकारले गणना गर्दा ८ अष्टक, ६४ अध्याय, २०२४ वर्ग र १०५५२ ऋचा छन् भने अर्को प्रकारले गणना गर्दा १० मण्डल, ८५ अनुवाक, १०२८ सूक्त र १०५५२ ऋचा छन्। विविध छन्दमा बाँधिएका मन्त्रलाई ऋचा भन्दछन्। मन्त्र अथवा ऋचाहरूको सङ्ग्रहलाई नै संहिता अथवा मन्त्रसंहिता भन्ने गरिन्छ। ऋग्वेदको विभाजन र गणना ठीक प्रकारले बुझ्न नसकेर धेरै अध्येता अलमलमा परेका पनि छन्।

ऋग्वेदको अध्ययनबाट वैदिक समाजका धर्म, दर्शन, संस्कृति, कृषि, वाणिज्य, सामाजिक प्रचलन, भौतिक उन्नति इत्यादि अनेक विषयको इतिहासको ज्ञानसमेत गर्न सकिने हुँदा ऋग्वेदको ठुलो महत्त्व छ भन्ने कुरा आधुनिक विचारकहरूले पनि बताएका छन्।

ऋग्वेदमा विश्वतत्त्वसम्बन्धी अथवा दर्शनसम्बन्धी गम्भीर चिन्तनका कुरा पनि पाइन्छन्। यस्तो चिन्तन भएका सूक्तहरूमध्ये पुरुषसूक्त  (१०।९०।१–१६) र नासदीय सूक्त  (१०।१२९।१–७) अत्यन्त प्रसिद्ध छन्। यस लेखमा नासदीय सूक्तका विषयमा सङ्क्षिप्त चर्चा गर्न खोजिएको छ।

वेदमा सृष्टिसित सम्बद्ध विभिन्न विषयवस्तुहरू छरिएर रहेका छन्। जगत्‌को सृष्टिका सम्बन्धमा विभिन्न दर्शनमा भिन्नभिन्न प्रकारका दृष्टिकोण र व्याख्याहरू प्रस्तुत गरिएका पाइन्छन्। ती दर्शनहरूमध्ये वेदान्तमा प्रतिपादित दर्शन सबैभन्दा प्राचीन र गम्भीर दर्शन हो। उपनिषद्को दर्शनलाई नै वेदान्तदर्शन पनि भन्ने गरिन्छ। वेदान्तशब्दको अर्थ वेदको अन्तिम भाग वा वेदको सार वस्तु भन्ने हो। तसर्थ उपनिषद्हरू नै वेदका अन्तिम भागमा रहेकाले वा वेदको सारभूत विषय प्रतिपादन गर्ने भएकाले वेदान्त भनेर पनि व्यवहार गरिन्छन्। वस्तुतः उपनिषद्हरू वेदकै अंश भएकाले र वैदिक सनातन मान्यताअनुसार वेद अनादि तथा अपौरुषेय मानिने हुनाले पनि हाम्रा परम्परामा उपनिषद्को दर्शन नै विशेष रूपमा मान्य रहिआएको छ।

सृष्टिभन्दा पहिलाको अवस्था केकस्तो थियो भन्ने जिज्ञासा हुनु स्वाभाविक हो। ऋग्वेदको नासदीय सूक्तमा (१०।१२९।१–७) पनि मुख्य रूपले सृष्टिभन्दा पहिलाकै अवस्थाका बारेमावर्णन गरिएको छ। वेदान्तले ब्रह्मभन्दा भिन्न वस्तुको वास्तविक सत्ता स्वीकार गरेको छैन। अतः सृष्टिभन्दा पहिला अथवा सृष्टि भएपछि पनि जगत्‌को सत्ता भनेको वास्तवमा ब्रह्मकै सत्ता भएको हुनाले सृष्टिभन्दा पहिला जगत् सत् अर्थात् ब्रह्मकै रूपमा रहेको थियो भन्ने उपनिषद्को भनाइ देखिन्छ। उपनिषद्को भनाइ भन्नु र वेदको भनाइ भन्नु एउटै कुरो हो।

नासदीय सूक्त

ऋग्वेदको दसौँ मण्डलमा जम्माजम्मी १९१ सूक्तहरू छन् । तिनमा १२९ औँ सूक्त (१०।१२९) नासदीय सूक्त हो। यो सूक्त दसौँ मण्डलको एघारौँ अनुवाकको पहिलो सूक्तका (१०।११।१) रूपमा रहेको छ।

ऋग्वेदको स्थलसङ्केत गर्दा आजभोलि व्यवहारमा सजिलो पार्नका लागि मण्डलभित्र पर्ने अनुवाकको उल्लेख नगरी मण्डलभित्रका सूक्तहरूको जोडिएको सङ्ख्या लिएर मण्डल, सूक्त र ऋचाको निर्देश गर्ने चलन चलेको छ। यसले कतिपय अध्येतालाई अलमल्याइदिएको पनि छ। अष्टक–अध्याय–वर्गको गणनामा चाहिँ यो नासदीय सूक्त आठौँ अष्टकको सातौँ अध्यायको सत्रौँ वर्गका रूपमा रहेको छ (८।७।१७)।

सूक्त

“सम्पूर्णमृषिवाक्यं तु सूक्तमित्यभिधीयते” भनेर शौनकद्वारा बृहद्देवता नामको ग्रन्थमा (१।१३) सूक्तको लक्षण बताइएको छ। यसको अर्थ मन्त्रद्रष्टा ऋषिको पूर्ण वाक्यलाई सूक्त भन्दछन् भन्ने हो। अतः कुनै पनि सूक्तमा थोरै वा धेरै ऋचाहरू हुन सक्छन्। नासदीय सूक्तमा चाहिँ ७ वटा ऋचा छन्। सूक्तको नाम विभिन्न आधारमा राखिएको देखिन्छ। कुनै सूक्तको नाम त्यहाँ प्रतिपादनगरिएको विषयका आधारमा निर्दिष्ट गरिन्छ भने कुनै सूक्तको नाम प्रारम्भमा प्रयुक्त पदका आधारमा निर्धारण गरिन्छ। “नासदासीत्” इत्यादि ऋचाहरूको सूक्तको नाम नासदीय सूक्त रहनुमा यहाँ प्रारम्भमा प्रयुक्त पद कारण रहेको देखिन्छ। पाणिनीय व्याकरणका प्रक्रियाअनुसार “मतौ छः सूक्त–साम्नोः” (अष्टाध्यायी ५।२।५९) भन्ने सूत्रले “नासत् शब्दोऽस्मिन्नस्ति इति नासदीयं सूक्तम्” (नासत् शब्द जुन सूक्तमा छ, त्यसलाई नासदीय सूक्त भन्दछन्) यस्तो व्युत्पत्ति भएर नासदीय(न+असत्=नासत्, नासत+छ÷ईय=नासदीय) शब्द बन्दछ।

ऋषि

आफ्नो अत्यन्त शुद्ध, शान्त र तत्त्वदर्शी अन्तःकरणका आधारमा वैदिक मन्त्रलाई साक्षात्कार गर्ने विशिष्ट व्यक्तिलाई ऋषि भन्दछन्। ऋषिहरू मन्त्रका द्रष्टा हुन्, मन्त्रका कर्ता वा मन्त्रका रचयिता हैनन् भन्ने प्राच्य सिद्धान्त रहेको छ। “ऋषिर्दर्शनात्”  २।११) भनेर निरुक्तकार यास्कले ऋषिशब्दको निर्वचन गरेका छन्। तसर्थ ऋषिहरू मन्त्रद्रष्टा हुन् भन्ने सिद्धान्त वैदिक परम्परामा सर्वमान्य छ। नासदीय सूक्तका मन्त्रद्रष्टा ऋषि प्रजापति परमेष्ठी हुन्।

देवता

ऋषिले आफ्नो इच्छाविशेषले जुन तत्त्वको वा वस्तुको प्रतिपाद्य मुख्य विषयका रूपमा मन्त्रद्वारा स्तुति (प्रतिपादन) गर्छन् त्यसलाई देवता भन्दछन्। यास्क मुनिले निरुक्तमा देवतातत्त्वको लक्षण यस्तै गरेका छन्— “यत्काम ऋषिर्यस्यां देवतायामार्थपत्यमिच्छन् स्तुतिं प्रयुङ्क्ते तद्दैवतः स मन्त्रो भवति”  (७।१)। कात्यायनीय–ऋक्सर्वानुक्रमणीमा नासदीय सूक्तको देवता भाववृत्तम् भनी उल्लेख गरिएको पाइन्छ— “नासत् सप्त प्रजापतिः परमेष्ठी भाववृत्तं तु”  (६३।६, म.१०, सू.१२९) । आकाशादि भावहरूको (पदार्थहरूको) सृष्टि, स्थिति, प्रलय इत्यादिको यस सूक्तमा प्रतिपादन गरिएकाले तिनका कर्ता परमात्मा नै यस सूक्तका देवता हुन् भनी ऋग्वेदका भाष्यकार सायणले सूक्तको प्रारम्भमै बताएका छन्— “वियदादिभावानां सृष्टि–स्थिति–प्रलयानामत्र प्रतिपादनात् तेषां कर्ता परमात्मा देवता” । ऋक्सर्वानुक्रमणीको षड्गुरुशिष्यद्वारा रचिएको व्याख्यामा पनि यो विषय स्पष्ट गरिएको छ— “भावानां पदार्थानां वृत्तिः सृष्ट्यादिप्रवृत्तिर्यस्य देवता तद् भाववृत्तीयमिति प्राप्ते स्वार्थेऽण्”।

छन्द

गलाको स्वरको परिमाणविशेषलाई छन्द भन्दछन्— “यदक्षरपरिमाणं तच्छन्दः”  ऋक्सर्वानुक्रमणी, परिभाषा (२।६)। गायत्री, उष्णिक्, अनुष्टुप्, बृहती, पङ्क्ति, त्रिष्टुप् इत्यादि छन्दहरू वैदिक ऋचामा प्रयुक्त देखिन्छन्। नासदीय सूक्तका सातै ऋचा त्रिष्टुप् छन्दमा छन्। त्रिष्टुप् छन्दका प्रत्येक पाउमा सामान्यतया ११ अक्षर हुन्छन्। त्रिष्टुप् छन्दअन्तर्गत पर्ने लोकप्रसिद्ध वृत्तहरूमा इन्द्रवज्रा, उपेन्द्रवज्रा, स्वागता, रथोद्धता, शालिनी, इन्दिरा इत्यादि वृत्त पर्दछन् (वृत्तनक्षत्रमाला, शिवराज आचार्य, २०२८, पृ.६–१३) । यी वृत्तहरूबाट पनि त्रिष्टुप् छन्दसँग परिचित हुन सकिन्छ ।

विषयवस्तु

नासदीय सूक्तको विषयवस्तु अत्यन्त गम्भीर छ । यस सूक्तको शैली ऊहापोहयुक्त छ। ऋग्वेदका दार्शनिक सूक्तहरूमध्ये यो सूक्त अत्यन्त प्रसिद्ध छ। सृष्टिको रहस्य खुलाउन अथवा सृष्टिभन्दा पहिलाको अवस्थालाई व्यक्त गर्न यो सूक्त प्रवृत्त छ। यो पूरै सूक्त तैत्तिरीयब्राह्मणमा पनि केही पाठभेदका साथ उपलब्ध छ  (२।८।९।३—६) । शतपथब्राह्मणमा चाहिँ यस सूक्तको प्रारम्भको थोरै अंश मात्र छ  (१०।५।३।१—३)। त्यहाँ सृष्टिका आदिमा मन थियो र त्यसैबाट वाणीको सृष्टि भयो भन्ने उल्लेख छ। माध्यन्दिनीय–वाजसनेयि–शुक्लयजुर्वेद–संहितामा पनि यस सूक्तको पाचौँ ऋचा उपलब्ध छ  (३३।७४) । वेदाङ्ग–व्याकरणकार पाणिनिले अष्टाध्यायीमा स्वरको प्लुतत्वको (तीन मात्राको अर्थात् दीर्घभन्दा लामो स्वरको) वर्णनका प्रसङ्गमा यसै सूक्तको पाँचौँ ऋचाको दोस्रो पाउमा सामान्य नियमले नहुने प्लुत इकार रहेको कुरा “उपरिस्विदासी३दिति च” अष्टाध्यायी (८।२।१०२) भनेर विशेष रूपमा उल्लेख गरेका छन्।

भारतीय अनुसन्धाताका साथै पाश्चात्त्य विचारकहरूले समेत यस सूक्तको वैचारिक गहनताको प्रशंसा गरेका छन्। भारतीय अनुसन्धाता वासुदेवशरण अग्रवाल भन्दछन्— “दिस् हिम् इज् द फाइनिस्ट् एफट् अव् दि इम्याजिनेशन् अव् द वेदिक् पोइट्, यान्ड् नथिङ् एल्स् ईक्वल् इट्” अर्थात् यो सूक्त वैदिक ऋषिहरूको परिकल्पनाको सबैभन्दा सुन्दर प्रयास हो, जसको बराबरी अरू कसैले गरेको छैन (हिम् अव् क्रीएशन्, १९६३, भूमिका, पृ.४)। यस सूक्तको संस्कृतमा व्याख्या वेङ्कटमाधव र सायणजस्ता प्राचीन भाष्यकारहरूले गरेका छन्। एच्.एच्. विल्सन्, ए. ए. म्याग्डनेल्, ए. बी. कीथ् इत्यादि पाश्चात्त्य अनुसन्धाताले यस सूक्तको अङ्ग्रेजीमा अनुवाद गरेका छन्। भारतीय पण्डित मधुसूदन ओझाले यस सूक्तको विस्तृत व्याख्या गरेका छन्। वासुदेवशरण अग्रवालले नासदीय सूक्तसम्बद्ध प्राचीन तथा अर्वाचीन केही व्याख्या र अनुवादहरूको सङ्कलन र विवेचना गरेका छन् (हिम् अव् क्रीएशन्, १९६३)। केही नेपाली भौतिकशास्त्रीहरूले पनि यस सूक्तको अध्ययन गरेर प्रभावित भएको तथा विशद विश्लेषणात्मक अध्ययनको प्रयास गर्दै गरेको जानकारीमा आएको छ।

अब यहाँ मुख्यतया सायण र वेङ्कटमाधवका भाष्यका आधारमा यस सूक्तका सातैओटा ऋचाको क्रमशः अनुवाद प्रस्तुत गरिन्छ।

नाऽसदासीन् नो सदासीत् तदानीं

नाऽऽसीद् रजो नो व्योमा परो यत् ।

किमावरीवः कुह कस्य शर्मन्–

नम्भः किमासीद् गहनं गभीरम् ।।१।।

सृष्टिभन्दा अघि असत् पनि थिएन, सत् पनि थिएन। त्यस वेला लोक पनि थिएनन्, अन्तरिक्ष पनि थिएन। साथै अन्तरिक्षभन्दा परतिर पनि केही थिएन। त्यसवेला कहाँ कसका आश्रयमा केले केलाई ढाकेको थियो? यो गहन गम्भीर अन्तरिक्ष कुन रूपमा थियो?

न मृत्युरासीदमृतं न तर्हि

न रात्र्या अह्न आसीत् प्रकेतः ।

आनीदवातं स्वधया तदेकं

तस्माद् धाऽन्यन् न परः किं चनाऽऽस ।।२।।

त्यतिखेर न मृत्यु थियो, न त जीवन नै थियो। रातको र दिनको कुनै पनि विशेष चिह्न थिएन अर्थात् सूर्य र चन्द्र पनि थिएनन्। त्यतिवेला त्यही एउटा तत्त्व आफूमै आधृत भएर निश्चेष्ट रूपमा जीवित थियो। त्यसभन्दा पर केही पनि थिएन।

तम आसीत् तमसा गूढमग्रे–

ऽप्रकेतं सलिलं सर्वमा इदम् ।

तुच्छ्येनाऽऽभ्वपिहितं यदासीत्

तपसस्तन् महिनाऽजायतैकम् ।।३।।

सृष्टिभन्दा पहिले अन्धकारले ढाकिएको अन्धकार मात्र थियो। यो जगत् सबै अज्ञात र अब्रूप थियो। यो सबैतिर व्याप्त भएर रहेको जगत् तुच्छ अज्ञानले ढाकिएको थियो। त्यतिखेर आफ्नो सङ्कल्पशक्तिको महिमाले अथवा ज्ञानको प्रभावले एउटा तत्त्व (मन) उत्पन्न भयो।

कामस्तदग्रे समवर्तताऽधि

मनसो रेतः प्रथमं यदासीत् ।

सतो बन्धुमसति निरविन्दन्

हृदि प्रतीष्या कवयो मनीषा ।।४।।

सृष्टिका प्रारम्भमा मनमा कामनाको प्रादुर्भाव भयो। जुन कामना नै मनको प्रथम वीर्य (शक्ति) थियो। क्रान्तदर्शी मनीषीहरूले आफ्नै बुद्धिले आफ्ना हृदयमा खोजेर दृश्य जगत्‌को कारण अदृश्यमा भेट्टाए।

तिरश्चीनो विततो रश्मिरेषा–

मधः स्विदासी३दुपरि स्विदासी३त् ।

रेतोधा आसन् महिमान आसन्

स्वधा अवस्तात् प्रयतिः परस्तात् ।।५।।

यी दृश्य पदार्थहरूको प्रकाश तेर्सो फैलिएको थियो कि ? तल फैलिएको थियो कि ? माथि फैलिएको थियो कि ? (भन्न सकिँदैन, एक्कैचोटि सबैतिर व्याप्त भएको थियो) । त्यहाँ कर्मका कर्ता–भोक्ताहरू पनि उत्पन्न भएका थिए र नानाप्रकारका भोग्य पदार्थहरू पनि थिए । भोग्य पदार्थ तल्लो तहको थियो, प्रयत्नकारी कर्ता उपल्लो तहको थियो।

शुक्लयजुर्वेदको स्वतन्त्र प्रकरणमा  (३३।७४) आएको यस ऋचाको यज्ञपरक अर्थ उव्वटले गरेका छन्। महीधरले चाहिँ यज्ञपरक, देवपरक र अध्यात्मपरक तीनैथरी अर्थ गरेका छन्। यज्ञपरक अर्थमा सोमको र देवपरक अर्थमा सूर्यरश्मिको उल्लेख मुख्यतया गरिएको छ।

को अद्धा वेद क इह प्र वोचत्

कुत आजाता कुत इयं विसृष्टिः ।

अर्वाग् देवा अस्य विसर्जनेना–

ऽथा को वेद यत आबभूव ।।६।।

कसले यथार्थ रूपमा जान्दछ? कसले यथार्थ रूपमा बताउला? यो सृष्टि केबाट भयो, कसबाट भयो? यस सृष्टिको उत्पत्तिक्रमले देवताहरू पछिका हुन् (पछि उत्पन्न भएकाले देवताद्वारा पनि आदिसृष्टि जान्न नसकिने भएपछि), यो सृष्टि केबाट भयो भनेर कसले जान्दछ ?

इयं विसृष्टिर्यत आबभूव

यदि वा दधे यदि वा न ।

यो अस्याऽध्यक्षः परमे व्योमन्

सो अङ्ग वेद यदि वा न वेद ।।७।।

यो सृष्टि जहाँबाट भयो, उसैले सम्पूर्ण सृष्टिलाई धारण गर्ला वा नगर्ला। यस सृष्ट जगत्‌का अध्यक्ष जो परम आकाशमा रहन्छन्, उनैले जान्दछन् भने जान्दछन्, जान्दैनन् भने जान्दैनन्।

निष्कर्ष

वेदमा सृष्टिसम्बद्ध विविध तर्क प्रस्तुत गरिएका छन्। सृष्टिविज्ञान अत्यन्त जटिल र दुज्र्ञेय भएको कुरा वेद तथा उपनिषद्को अध्ययनबाट बुझ्न सकिन्छ। आधुनिक वैज्ञानिकहरूले पनि सृष्टिका विषयमा विभिन्न परिकल्पना र सिद्धान्तहरू अघि सारेका छन्। उनीहरू पनि एउटै निष्कर्षमा पुग्न सकेका छैनन्। वेद र उपनिषद्मा बताइएको सृष्टिप्रक्रियामा ठाउँठाउँमा भिन्नता देखिए पनि अविनाशी परम तत्त्व ब्रह्मबाट नै यो सारा सृष्टि भएको निष्कर्षमा वेद र उपनिषद्को ऐकमत्य देखिन्छ। वेदमा सृष्टिविचारको लक्ष्य सृष्टिको मूलमा रहेको तत्त्वको ज्ञान गर्नतिर लोकको बुद्धि फर्काउनु हो भन्ने विद्वान्‌हरूको निष्कर्ष रहेको छ। सृष्टिको मूलमा सृष्टिकर्ताका रूपमा प्रजापति नै भएको कुरा शुक्लयजुर्वेदको शतपथब्राह्मणमा निर्दिष्ट छ—“यतमथाऽसृजत तथाऽसृजत प्रजापतिस्त्वेवेदं सर्वमसृजत यदिदं किञ्च”  ६।१।२।११)।

ऋग्वेदको नासदीय सूक्तमा (१०।१२९।१–७) मुख्य रूपले सृष्टिभन्दा पहिलाको अवस्था बताइएको छ— त्यति वेला सत्, असत्, मृत्यु, जीवन, विभिन्न लोक, अन्तरिक्ष, रात, दिन, सूर्य, चन्द्र, प्रकाश, जल इत्यादि केही पनि थिएन। तर तिनको मूलभूत स्रोतरूप तत्त्वचाहिँ थियो। त्यही अविनाशी परम तत्त्वबाटै मन, कामना, अनि भोक्ता र भोग्य पदार्थ पनि उत्पन्न भए। यो सारा सृष्टिको रहस्य उही परम तत्त्वले मात्र जान्न सक्तछ, अरूको बुद्धि सीमित भएका कारण अरू कसैले पनि जान्न सक्तैन। यसप्रकार ऋग्वेदको नासदीय सूक्तमा गम्भीर दार्शनिक चिन्तन प्रस्तुत भएको छ।

बैशाख १२, २०८० मा प्रकाशित

No comments:

Post a Comment