28.8.21

बाली टापुको हिन्दु मुस्कान

विन्दु पोखरेल:- यता नेपालमा दसैंको चटारोले मानिसलाई छोप्न थालिसकेको थियो। म भने त्यसबेला केही संगीहरूसाथ इन्डोनेसियाको बालीमा थिएँ। एक साँझ हामी त्यहाँको नाटक घरमा प्रवेश गर्‍यौं। मञ्चमा महाभारतका दुई पात्र नकुल र सहदेव देखा परे, जंगलको मनोरम दृश्यका बीचमा। चराको चिरबिर आवाज थियो। जंगली जनावरसँग जिस्किँदै नकुल र सहदेव वनविहार गर्दैथिए। 
अलि पर्तिर तलाउको किनारमा दुई परी छमछम नाचिरहेका देखिन्थे। त्यसैबेला एक घनघोर राक्षस आइपुग्यो र ती परीहरूलाई बाहुपासमा बेरेर अपहरण गरी लग्यो। नकुल र सहदेवले राक्षसको जालबाट परीहरूलाई छुटाउने प्रयास गरे तर विफल भए। नकुल र सहदेव जंगलबाट अबेरसम्म नफर्केपछि कुन्ती उनीहरूलाई खोज्दै त्यहाँ आइपुगिन् र उनले राक्षससँग लडिन्। कुन्तीसँग राक्षसले हार खायो र परीहरूलाई छाडेर भाग्यो।

मातृशक्तिलाई निर्णायक रूपमा प्रस्तुत गरिएको नाटकको मूल कथा यत्ति थियो। महाभारतकी पात्र कुन्तीको साहस देखेका दर्शकले जोडदार ताली बजाए। हिन्दु ग्रन्थ महाभारतको कथामा आधारित उक्त नाटक मञ्चन भइरहँदा दर्शक दीर्घामा भने युरोपियन र डचहरूको बाहुल्य थियो। नाटकको दृश्यका रोमाञ्चक लुकामारीमा अभ्यस्त भएर होला, उनीहरूका गाला राता देखिन्थे। साथमा ती पात्रहरूको फोटो पनि खिच्न आतुर देखिन्थे. 

हामी हिन्दु बाहुल्य नेपालका नागरिकलाई आफ्ना पौराणिक ग्रन्थका मसिना कथाहरू कहाँ थाहा हुनु ? हामी त धर्म र संस्कृतिलाई बोल्दामात्र रहेछौं। तर, बाली हिन्दु संस्कृतिका कथा नाटकमार्फत बेच्दो रहेछ, मन्दिरमा हिन्दु देवीदेवताका मूर्ति कुँद्दो रहेछ र त्यसैबाट संसारलाई आफूतिर आकर्षित गर्दाेरहेछ। नाटक सकिँदै गर्दा मैले सोचेँ, ईश्वरको सान्दर्भिकता तपस्वीहरूका लागि आफ्नो मनलाई उज्यालो बनाउनमा हुँदो हो, तर यहाँ जीविका र व्यवसायको प्रवद्र्धनमा ईश्वरका मूर्ति कुँदिएका छन्, मन्दिर बनाइएका छन् र धर्मग्रन्थका पटकथा मञ्चन गरिएका छन्। एक मन त हुत्तिएर नेपालतिरै फर्कियो र प्रश्न गर्‍यो, हाम्रोमा भने मानिसको उँधोमतिको कारक किन धर्मलाई ठानिएको होला ? मानिस क्रमैसँग आफूभित्र राक्षस हुर्काउँदै जान्छ र बालिकाहरूमाथि बलात्कार गर्न उद्धत हुन्छ। अनि भनिदिन्छ, हिन्दु धर्म शास्त्रका कारण बलात्कारका घटना बढेका हुन्।

नाटक घरभित्र महाभारतका कथानक पात्रहरू थिए। बाहिर बाली सहरभरि भने हिन्दु मन्दिरहरू। टाढाको देशमा यसरी हाम्रो संस्कृति र ग्रन्थका कथा पस्केर देखाइएको नाटकका माध्यमले बालीले हामीलाई बाहिरबाट मात्र हैन, भित्रैबाट उसँग प्रेममा बाँधिसकेको थियो। समुद्री किनारका एकतल्ले ससाना घर, त्यहाँ उठ्ने भयंकर ठूला छाल, समुद्रको सफा पानीमा देखिने अस्ताउँदो घामको प्रतिबिम्ब, जंगलको बीचमा झुरुप्प बसेका शान्त गाउँ, हिन्दु मन्दिर परिसरमा पर्यटकको हूल, यी सबै दृश्य, आहा। मान्छेको मन तान्न के चाहिँदो रहेछ र ?

यहाँको जीवनशैली, घरका ससाना आकारप्रकार, मानिसमा धर्मप्रतिको आस्था, कलाप्रेम, संस्कृतिलाई अँगालो हाल्ने प्रवृत्ति आदिले गर्दा त्यहाँ स्थानीयभन्दा बाहिरी पर्यटक नै बढी देखिन्छन्। हरेकका घर आँगनमा ससाना मन्दिर, त्यहाँ बिहान बेलुकै हुने पूजाआजा। यो लोभलाग्दो शान्त जीवनचर्या हेर्न पनि ओइरिँदा रहेछन् त्यहाँ पर्यटक। देख्दा सुन्दर लाग्ने मात्र हैन, त्यहाँका मान्छेको आतिथ्यशैली पनि नेपाली हिन्दु संस्कारझै विनम्र। पर्यटन व्यवसाय मात्र होइन, अतिथि देवो भवःको मन्त्रझैं। त्यही मन्त्रमा मुग्ध हुन्छ, जो कोही पर्यटक। हामी पनि त्यस्तै भयौं।

त्यसअघि इन्डोनेसियाको नगुरह राई एयरपोर्टमा झर्दा रातको करिब ११ बज्न लागेको थियो। साथी राधिका कँडेल हाम्रो समूहको नेता थिई। एयरपोर्टको ढोकाबाट निस्किँदै गर्दा हामीलाई घुमाउने जिम्मा पाएका गाइड मादे सुजा राधिकाको नाम लेखिएको कार्ड लिएर भीडमा उभिएका थिए। राधिकाको नाम देखेपछि सुटकेस गुडाउँदै उनैलाई खोजिरहेका हामी सबैले एकैपटक हात उठायौं। त्यसरी उभिएको गाइडले केटीहरूकोे समूहलाई स्वागत गरेको देखेपछि अर्कैको नाम लिएर साइडमा सँगै उभिएको अर्काे गाइडले उसलाई धाप मारेर बधाई दियो। उसको भाषा त बुझिएन। तर, उसका आँखाले भने भनिरहेका थिए, राम्रै भेटिछस् केटा, मोज गर। मान्छे बाहिर पो उस्तै देखिन्छ, तर हरेक मान्छेभित्र फरकफरक कुरा खेल्दो रहेछ भन्ने कुरा त्यो अर्काे गाइडको हाउभाउले बुझाउँथ्यो।

एयरपोर्टबाट बाहिर निस्कँदा ननिस्कँदै उसले हामीलाई माला लगाएर मीठो स्वागत गर्‍यो। यस्तो स्वागत हामीले अन्य देशमा पुग्दा महसुस गरेका थिएनौं। उसको वर्ण हल्का कालो थियो। लुखुरे ज्यान परेको, मोटा र पातला दाह्रीजुँगा, देख्दा लाग्थ्यो, ऊ नेपालको कैलालीतिरको आदिवासी थारू हो। हुलिया मात्र होइन, उसको मिजास पनि नेपाली थारू जस्तै। मिजास पनि त्यस्तै। कसरी मेल खायो भनेर सोधौं सोधौं लागेको थियो। तर, सोध्न सकिनँ। उसले त्यो दिन हामीलाई सीधैं होटेलमा लग्यो। होटेल जाँदै गर्दा बाटोमा देखिएको एउटा प्रतिमाले हाम्रो मुख आँ भयो। बाटोको बीचमा पर्ने सानुर बजारको चोकमा रावण र रामवीच बाण हानाहान गरेको रथसहितको अग्लो प्रतिमा थियो, त्यो। बराजुका काखमा अँगेनाका डिलमा बसेर राम र रावणको युद्ध कथामा सुनेकी थिएँ, बाल्यकालमै। तर, मेरो मनमा त्यो युद्ध अंकन गर्ने चित्र बने पनि यसरी मूर्तिवत देखेकी थिइनँ।

‘अरे यो कसरी यहाँ ? ’ देख्नासाथ मनमा प्रश्न उठ्यो। एक पटक त हैन कि जस्तै लाग्यो। त्यही आदिवासी थारू जस्तो लाग्ने गाइडलाई सोधेँ, यो के हो ? ’ उसले भन्यो, ‘बालीमा ८५ प्रतिशत हिन्दु बस्छन्। यो प्रतिमा रावण र रामसँगको लडाइँको एउटा झलक हो।’ हाम्रो सनातन संस्कृतिका अवशेषहरूलाई मूर्तीकरण गरेर बाली आज संसारकै पर्यटक आफूतिर तानिरहेको छ। महाभारतका कथामा नाटक मञ्चन गरी हाम्रो सभ्यताको झलक दिइरहेको छ। मनमनै बिचारें, हाम्रो संस्कृति र यसका मिथकहरू अध्ययन गर्न नेपाल आउनेहरूलाई रोक्न नै पो हो कि, हाम्रा संस्कृतिलाई मेट्न खोजिएको ?

बाली समुद्रबीचको एउटा सुन्दर टापु हो भन्ने सुनेर त्यहाँ पुगेको मेरो लागि भने यो बिल्कुलै नयाँ कुरा थियो। जब उसले हामीलाई मन्दिर पुर्‍यायो, तब अर्को कुरा थाहा भयो। बालीका ८५ प्रतिशत मान्छे हिन्दु हुन् तर उनीहरूले नेपाल भारत र विश्वमा रहेका अन्य हिन्दुहरूले मान्ने जस्तो शिव, राम, कृष्ण आदि देवताको पूजा गर्दैनन्। उसले हामीलाई हिन्दुहरूको पवित्र तीर्थस्थल भन्दै इम्पुल मन्दिरमा पुर्‍यायो, जहाँ नेपालका बौद्ध धर्म गुरुहरूले गुम्बामा गाड्ने खालका झन्डा र तोरणहरू टांगिएका थिए। ती ठाउँमा नेपाली थारू समुदायका जस्तै लाग्ने मानिसहरू सेतो लुगामा सजिएर ध्यानमग्न देखिन्थे। उनीहरूको ध्यानको तरिका भने मस्जिदमा मुस्लिमको जस्तै लाग्थ्यो। मन्दिरको छेउमा काठमाडौंको बालाजु बाईसधारामा जस्तै पानीका धारा थिए। त्यहाँ कोही नुहाइरहेका थिए, कोही प्रार्थना गरिरहेका थिए। नुहाउनेमा गोरो वर्णका मानिसहरू धेरै थिए। जुनसुकै धर्मावलम्बीलाई पनि विना रोकतोक त्यहाँ जाने, नुहाउने र प्रार्थना गर्ने छुट रहेछ। बहुधर्मको सम्मि श्रणजस्तो हिन्दु संस्कृति त्यहाँ देख्न सकिन्थ्यो। मन्दिरको भित्री तलमा हिन्दु पोसाक गएका मात्र प्रवेश गर्दा रहेछन्। भित्र पस्नेलाई पुजारीले अक्षताको सेतो टीका निधारको बीचमा लगाइदिँदा रहेछन्। लावालस्कर ध्यानमा बसेका तिनीहरूलाई दूबोले काठको कचौराबाट एकजना पुरोहितले अर्घ छर्कंदै हिँड्दा रहेछन्। यसले ध्यानमा रहने सबैलाई आन्तरिक शक्ति नजिक पुर्‍याउँछ भन्ने मान्यता रहेछ।

मन्दिर बाहिर साँढेको मूर्ति र शिवलिंग छ, तर भित्र मन्दिर भने खाली। यहाँ नेपालमा भने पशुपतिनाथ मन्दिरको बाहिर साँढे ६ र भित्र चतुर्मुखी शिवलिंग। सेतो लुगा लगाएर ढोकामा उभिएका पुजारीलाई मैले सोधेँ, यो हिन्दुहरूको पूजा हो ?

उनले हाँस्दै मभन्दा पनि राम्रो अंग्रेजी बोल्दै सोधे, तपाईं कहाँबाट ?

मैले फुल स्माइली पाराले भनेँ, नेपालबाट।

उनको आँखा सरप्राइजले तन्कियो। उत्सुकता भरिएका आँखाले मतिर हेर्दै भने, ‘ए नेपाल ? पशुपतिको देश ? ’

मैले हाँस्दै जवाफ दिएँ, ‘यस्।’ उनको उत्सुकताको पारो झर्न नपाउँदै मैले सोधेँ, ‘तपाईं पुरोहित हुनुहुँदो रहेछ। तपाईंलाई थाहा होला, हिन्दुहरू खासमा शिव–पार्वती, राम–सीता, राधा–कृष्णको मन्दिरभित्रै मूर्ति बनाएर पुज्छन्। तपाईंहरू हिन्दु नै भए पनि ओरिजन यो होइन भन्ने कतिलाई थाहा छ ? ’

उनी एकछिन सेता अक्षता खेलाउँदै अडिए। अनि भने, धेरैलाई थाहा छैन। अठारौं शताब्दीदेखि यहाँ यस्तै चलन छ। यसैलाई हाम्रो कल्चर मानेर निरन्तरता दिइरहेका छौं।

यसरी पूजा हुने मन्दिरमा पैसा र प्रसाद भने नेपालको नेवारी संस्कृतिजस्तै गरी चढाइने रहेछ। हरेक घर अगाडि मन्दिर छन्। बालीवासीहरू बिहान मन्दिरको अघिल्तिर अलिकति ठाउँमा लिपपोत गर्छन्। अनि त्यही पूजा गरेर प्रसाद चढाएपछि मात्र काममा निस्किन्छन्। उनीहरू मन्दिरलाई मनमा सकारात्मक कम्पन ल्याउने स्थानका रूपमा लिन्छन्। बिहानै मन्दिर अगाडि लिपपोत गरेर पूजा गर्दा भगवान्को शक्ति आफूमा सवार हुने कुरामा उनीहरूको विश्वास रहेछ।

त्यसपछि हामी पुग्यौं, समुद्री किनारको बाँदरै बाँदर भएको उलाउटु ट्याम्पल र नुसाडुव बीचतिर। त्यो पनि हिन्दुहरूको पवित्र मन्दिर हो। यहाँका जुन मन्दिरमा प्रवेश गर्न पनि हाम्रो लुंगीजस्तै लाग्ने सारोङ भन्ने लगाउनु अनिवार्य रहेछ।

बदलिएको हिन्दु संस्कृति भए पनि अहिले तिनै रामायण र महाभारतका कथा र पात्रहरूका कलात्मक चित्र, मूर्ति बेचेर, तिनै हिन्दुका कथाहरू भएका सुन्दर नाट्यकला देखाएर मन्त्रमुग्ध बनाउँदै पैसा कमाउँछ बाली। इन्डोनेसियाको नाम कमैले सुनेका छन् तर, बाली टापु संसारभर यसै कारण प्रसिद्ध छ। कारण एउटै छ, बालीले मूर्तिमा प्रस्तर, काष्ठ, पेन्टिङदेखि नाटकमा हरेक तरहले हिन्दु संस्कृति बेचेर कमाएको हो।

बाली प्रसिद्ध हुनको अर्को कारण हो, हरेक गाउँ कलाले भरिपूर्ण हुनु। एउटा गाउँ पेन्टिङले मात्र चिनिन्छ भने अर्को गाउँ काठबाट बनेका कलात्मक मूर्तिका कारण प्रसिद्ध छ। नजिकैको अर्को गाउँ कफी उत्पादनको लागि प्रसिद्ध छ। अलि परको गाउँ ढुंगाको मूर्ति उत्पादनमा प्रसिद्ध छ। यसरी एक गाउँ एक कला देखाएर र तिनै कला बेचेर प्रसिद्ध मात्र हैन, विश्वमै नाम कमाएको छ बालीले।

भूकम्प आउने, ज्वालामुखी विस्फोट हुने, समुद्री आँधी आउने कारण हरेकका एक एक तल्लाका मात्र घर छन्। घरमा ससाना मूर्ति बिनाका मन्दिर र आफूलाई चाहिने जंगल संरक्षणको संस्कृति नै छ। उनीहरू मान्छेले बाँच्नको लागि भगवान् र प्रकृतिसँग सम्बन्ध राख्न जरुरी ठान्दा रहेछन्। र, त्यो व्यवहारमै उतारेका छन्। त्यसैले एक तल्लाका कुटी जस्तै घर। घरका छेउमा टक्रर्‍याक, टुक्रुक्क ससाना मन्दिर र बगैंचा छन्।

यति हुँदाहुँदै पनि यहाँको मुद्राको मूल्य भने धेरै सानो छ। दोस्रो दिन हामी लाइभ ज्वालामुखी आउने किन्तामणि भन्ने ठाउँमा पुग्यौं। जब हामीले बोकेको डलर साट्न गयौं। मैले २० डलर साट्दा दुई लाख ९० हजार पाएँ। अर्थात् हाम्रो नेपाली ११७ रुपैयाँको इन्डोनेसियाको १४ हजार रुपैयाँ आउँदो रहेछ। यसरी धेरै पैसा हुँदा धेरै नोट होला भन्ने लागेको थियो। त्यो पनि हैन रहेछ। त्यहाँ त हजार, दुई हजार, पाँच हजार, १० हजारको त सिक्का हुने रहेछ। त्योभन्दा माथि १०, २०, ५० र लाखका नोट हुने रहेछन्। हुँदाहुँदा मिलियनको पनि नोट।

पैसाको मूल्य कम भएपछि त्यहाँका हरेक सामान किन्दा पनि पैसा धेरै खर्च भएको महसुस हुने रहेछ। पिसाब फेरेको दुई हजार, पानी बोतलको ५० हजार, एक प्लेट भातको एक लाख तिर्दा हामी चकित थियौं।

बाटोमा बुद्धका अनेक रूप र आकारका मूर्तिले हामीलाई उत्साहित बनाइरहेको थियो। हामी बुद्धको जन्मदेशका मान्छे भए पनि आजसम्म नदेखेको मुद्रा र प्रकृतिका बुद्धमूर्ति त्यहाँ देख्न पायौं।

मूर्ति नै मूर्तिहरू भएको उडन भिलेज काटेर हामी चेकुल भिलेज पुग्यौं। जहाँ महिलाहरू ढाकाको र हातले प्रिन्ट गरेका लुगा बुन्दैथिए। त्यहाँको पैसामा १० लाख पर्ने साडीहरू बिक्रीमा थियो। बुन्दै गरेकी एक महिलाले अंग्रेजी कम बुझे पनि उत्तर फर्काइन्, यो सबै युरोपियनहरूले किनेर लैजान्छन्।

यो सबै देखेर मैले गाइडलाई सोधें, ‘यहाँ त २५० मिलियनमा ०.०५ प्रतिशत मात्र बुद्धिष्ट छन् अनि घरैपिच्छे बुद्धका यति धेरै मूर्ति छन्। कसरी यिनीहरूले बुद्धको हरेक आसनको मूर्ति बनाउन जाने होला ? ’

खासमा बुद्धिष्ट नै एकदमै कम भएको देशमा बुद्धका मूर्तिमात्र भएको सिंगै गाउँ हुनुको कारण यस्तो भएको रहेछ। जब फिरन्तेको रूपमा १७औं, अठारौं शताब्दीतिर चिनियाँ र युरोपियनहरू यहाँ आए। बस्नको लागि शान्त र कृत्रिमताले असर नगरेको बालीमा उनीहरू वर्षौंवर्ष बसे। र, चिनियाँहरूले यस्ता कलात्मक चित्र बनाए। कति आफूले लिएर गए, कति छोडे। तिनै कुरा यहाँकाले सिके, अनि अहिले पनि यहाँको व्यापारको स्रोत बन्यो, मूर्ति बनाउने कला, त्यो पनि बुद्धको। यसरी घरमा देखिएका मूर्तिहरू यिनीहरू आफू प्रयोग गर्दैनन्, सबै बेच्नकै लागि हो।

बालीमा हामीले एउटा समुद्रको छालबाहेक नेपालमा नभएको के हेर्‍यौं र ? मनमा यो प्रश्न पनि आयो। त्यही एउटा समुद्र त हो यहाँ नभएको। नभए हामीसँग के छैन ? बाली भूमध्य रेखाको नजिकको भएका कारण त्यहाँ बाहै्रमास एकैनासको मौसम हुन्छ। त्यहाँ वषैभरि २६ देखि २८ डिग्री सेल्सियस तापक्रम रहन्छ। यही कारण एउटै आँपको बोटमा फूलदेखि चिचिला र पाँकेको आँप हुन्छ।

अस्ट्रेलिया बालीबाट झन्डै दुई घन्टाको हवाई दूरीमा रहेछ। मेरो भाइ १० वर्षदेखि अस्ट्रेलिया बस्छ। भाइ भन्छ, बाली नपुगेका अस्ट्रेलियनहरू कमै भेटिन्छन् यहाँ। यिनीहरू बालीको सुन्दरता र बालीको हिन्दु संस्कृतिको प्रशंसा गरेर कहिल्यै थाक्दैनन्। उनीहरूको के कुरा, सिंगो हिन्दु संस्कृतिको उद्गमस्थल, स्वयं बुद्ध जन्मेको देशका हामी बुद्धुहरूलाई तिनै बुद्ध र हिन्दु संस्कृति देखाएर हाम्रो समय र मुद्रा आर्जन गरिरहेको छ, बालीले। हाम्रा वनपाखा तीभन्दा के कम छन् ? हाम्रा हिमाललाई तिनको कुनै सुन्दरताको उचाइले छुन सक्दैन। तर, बाली भने हाम्रै बुद्ध देखाएर हामी बुद्धुहरूलाई बोलाइरहेछ। तर हामी नाभीको कस्तुरी थाहा नपाएर बाहिर भौतारिहेका छौं। ऊ हाम्रो कस्तुरीको जलप लगाएर संसारमा चर्चित छ।


No comments:

Post a Comment