राजकुरमार बानियाँ:- लेखक/स्तम्भकार सौरभ, ५५, को एउटा गोडा घरबाहिरै हुन्छ । कहिले सिन्धुली हुन्छन् त कहिले त्रिशूली । कुन सनकमा कति बेला कता हिँडिहाल्छन् । त्यसैले फेरुवा लुगा, पन्जा, गगल्स, बायनाकुलर, औषधि राखिएको झोला हरदम तयार हुन्छ । जान लागेको ठाउँ घरमा कहिल्यै बताउँदैनन्, बरु गएको ठाउँ छाडेर आएपछि खबर दिन्छन् । फर्केपछि यात्राको विवरण कसैले सोध्दैन पनि ।
तपाईंलाई यायावर भन्न मिल्छ ?
यायावरीमा मेरो रुचि पक्कै छ । तर, मैले यायावरको धाक दिन मिल्दैन । घुमफिरमा रहर भएको मात्र हो । खैरे (विदेशी)सँग जति पैसा र समय छैन मसँग ।
घुमक्कड नेपाली त हो नि तपाईं ?
म बोटनिस्ट, जियोलोजिस्ट र जोग्राफर होइन । टोनी हागनले नेपालको आठ हजार किलोमिटर यात्रा गर्दाको सहयोगीका रूपमा आया शेर्पाको नाम लिएका छन् । मेरो विचारमा आया र योगी नरहरिनाथ घुमक्कड नेपालीमा पर्छन् ।
तपाईंको प्राथमिकता देश हो कि परदेश ?
यति सानो देशको उत्तर–दक्षिण, पूर्व–पश्चिम त घुमेको छैन भने विदेश घुम्नुको के अर्थ ?
एकपटक गएको ठाउँ दोहोर्याउने कि नयाँ ठाउँ जाने ?
बाटोघाटो त दोहोरिइहाल्छ । तर, कुनै कुनै ठाउँ दोहोर्याउन मन लाग्छ । मनाङको हुम्डे, जिरीनजिकको हनुमन्ते डाँडा र जुम्लाको हाटसिञ्जामा हिमानदी बगेको भाग दोहोर्याए हुन्छ ।
जान मन लागेको तर पुग्न नपाएको ठाउँ ?
म ७० जिल्ला घुमेको छु । कालीकोट, हुम्ला, डोल्पा, बझाङ र बाजुरा घुम्न बाँकी छ । कर्ण शाक्यले ‘पृथ्वीको स्वर्ग’ भनेको डोल्पाको ठूलीगाड र खप्तड क्षेत्र पुग्न पाएको छैन ।
पहिलो र पछिल्लो यात्रा ?
०३७ सालमा बाह्रबिसे, तातोपानीतिर पहिलो यात्रा गरेको थिएँ । नौ महिना पहिले लुक्ला–कालापत्थर गएको थिएँ ।
एक्लै हिँड्ने कि साथीभाइसँग ?
म एक्लै हिँड्दिनँ । तर, कहिलेकाहीँ साथी पाइँदैन । बेखर्ची साथीलाई लैजाने हैसियत पनि छैन । परिवारसित घुम्दा ट्रेकिङ गर्न पाइँदैन । घुम्नु भनेको हिँड्नु नै हो ।
हलपाटो मिलेका र नमिलेका सहयात्री ?
कृष्णमुरारि भण्डारीसँग मैले पटकपटक यात्रा गरेको छु । राजनीतिक विचारबाहेक उनीसँग मेरा धेरै कुरा मिल्छन् । कतिपयसँग म मिलिनँ, कतिपय ठाउँमा मलाई मिलेन । मिल्नेसँग त म ३ सय ६६ दिन पनि हिँडिदिन सक्छु । गोसाइँकुण्डमा लेक लाग्दा साथी मलाई छाडेर हिँडिदिए ।
यात्रामा आफ्नो परिचय दिने कि नदिने ?
म बिन्दास पारामा हिँड्छु । नचिनेका मान्छेलाई परिचय दिन्नँ ।
यात्रामा पाएको विशेष सत्कार ?
भोजपुरको ठूलो दिल्पामा भीमबहादुर राईको घरमा पाएको सत्कार अझै बिर्सेको छैन । दंगाली थारू राना र डगौरा, दार्चुलाका ब्याँसी, कर्णालीका मतवाली क्षत्री, थकाली र शेर्पा सत्कारमा गजबै छन् ।
होटलमा बस्ने कि होमस्टे ?
म गाउँघर जाँदा होमस्टेमा कहिल्यै बस्दिनँ । राती १२ बजे तीन कान्लामुनिको शौचालय कसरी जाने ? त्यो त मेरा लागि प्लास्टिकको फूलजस्तो हुन्छ । होटल छान्नुपर्दा नेवारकै छान्छु ।
यात्राका विशेष अनुभव ?
रोल्पा—रुकुममा सुँगुरलाई खोले पकाउन ल्याएको भनेर सिस्नो खुवाएनन् । तेह्रथुमबाट ताप्लेजुङ जाँदा साँघु भन्ने ठाउँमा चुच्चे भनेर बासै दिएनन् । तेमे गाउँमा पानी माग्दा सुकेको धारा देखाए । गजाधर सोतीकै घरमा पुगेको अनुभव भयो । युरिक एसिडले थलिएर १२ दिनसम्म होटलमा बसेको छु ।
घुम्नुको फाइदा के छ ?
तीन–चार साता घुमेर आउँदा बेग्लै ऊर्जा आउँछ । कहिलेकाहीँ जीवनका रहस्य कति ढिलो बुझियोजस्तो लाग्छ ।
यसरी कहिलेसम्म घुम्ने ?
तन बिस्तारै बूूढो हुँदै जान्छ । जहिलेसम्म मन तरुनो रहन्छ, घुमिरहने हो ।
१७ श्रावण २०७३ सोमबार नेपाल म्यागजिनमा प्रकाशित
No comments:
Post a Comment