27.8.21

सौरभको अलग धार

यसोधा तिम्सिना:- सौरभका लेखरचना या पुस्तकको प्रसंग चल्नासाथ मान्छेहरू भन्छन्, बुझिन्छ र पढ्ने? गाईको बाच्छो, भैँसीको पाडो या बाख्राको पाठो सानो छँदादेखि हरेक दिन उचाल्ने बानी बसाल्यो भने त्यो वयस्क भइसक्दा पनि गह्रौँ लाग्दैन भन्ने मान्यता छ। त्यही नियम  लागू हुन्छ, असली पाठकको हकमा।

धेरै पहिल्यै सुनिएको हो, केशर महलस्थित पुस्तकालयका सबै पुस्तकको जानकारी सौरभले राखेका छन्। त्यति मात्रै होइन, कुन पुस्तक के बारेमा लेखिएको हो र त्यसका कुन पानामा के जानकारी छ भन्ने पनि यिनलाई कण्ठस्थ छ। यस्ता जानकारीका खानी सौ रभको पछिल्लो पुस्तक हो, असहमति। विचार, आनीबानी र तर्क सुन्दा लाग्छ, सौरभ अलग धारका प्रतिनिधि लेखक हुन्। पुस्तकको शीर्षकले पनि त्यसै कुराको संकेत गर्छ। अझ त्यसभित्रका लेखोटमा छिर्ने हो भने त असहमतिका विषय कति हुन् कति ! आफूलाई  लागेको लेख्न र असहमतलाई ठेगान लगाउन यिनका शब्दका बाण यति धारलिा छन् कि जस्तै बलवान् पनि उठ्न नसक्ने गरी घाइते हुन्छ।

पाँच खण्डमा विभाजित पुस्तक ३१ वटा लामा-छोटा रचनाको संकलन हो। यीमध्ये तीनवटा लेख क्रमशः नेवार संवादबारे, 'जम्बुद्वीप'को विचरण र तौलको आँखा दर्शन मात्रै नवीन हुन्। अरू विभिन्न समयमा अखबार र म्यागेजिनमा प्रकाशित भइसकेका छन्। सौ रभले पहिलो अप्रकाशित लेख एक दैनिक अखबारमा छापिएको माणिकलाल श्रेष्ठको अन्तर्वार्तामा आधारति भएर लेखेका छन्। किराँत, लिच्छवि र मल्लकालमा नेपाल भक्तपुर, पाटन र कान्तिपुर गरी तीन राज्यमा विभाजित थियो भन्ने माणिकलालको भनाइमा  सत्यता नभएको सौरभको जिकिर छ। यक्ष मल्लले तीन छोरालाई राज्य बाँडेपछि उपत्यकामा तीन राज्य बनेको वास्तविकतालाई पनि तोडमरोड गर्ने बुज्रुकप्रति उनले टीठ व्यक्त गरेका छन्। जतिसुकै ठूलो वामपन्थी हुँ भने पनि आफू ठूलो वर्गको नेवार हुँ र ज्यापू  तल्लो वर्गको हो भन्ने सामन्ती सोच माणिकलालमा पाइएको सौरभको कथन छ।

जम्बुद्वीपको विचरण शीर्षक लेख सौरभले हुतराम वैद्यप्रति समर्पित गरेका छन्। मिडियाले हुतरामलाई वाग्मतीका संरक्षक माने पनि बिरुवाको रैथाने प्रजातिप्रति पनि उत्तिकै चिन्तित रहेको उनको भनाइ छ। टुँडिखेल वरपिरि लगाइएका रूखहरू राणाहरूले रोपेका र  तिनलाई काट्न विभिन्न व्यक्ति उद्धत रहेको जानकारी सौरभले दिएका छन्।

चाँपको रूखबारे पनि सौरभको ज्ञान बृहत् छ। भक्तपुरमा रहेको च्यामासिं चाँपको अपभ्रंश हो। पचपन्नझ्याले दरबार सामुन्ने रहेको च्याँसी मण्डप चाँपकै काठले बनेको हो। नजिकैको चाँगु नाम नै चाँपको जंगलबाट बनेको हो। कीर्तिपुरको पुरानो नाम  पदमकाष्ठपुरी हो। त्यसको एभेन्यु पनि चाँपबाटै बन्छ। यस्तै टोखाको चम्पादेवी र चापागाउँ पनि अशुद्ध रूप हो। यस लेखमा उनले नेवार, तामाङ, राईलगायतको खानपान, चालचलन र भाषामा समेत एकरूपता पाइने गरेको सप्रसंग व्याख्या गरेका छन्।

अर्को अप्रकाशित लेख तौलको आँखा दर्शनमा लालगेडी कसरी हाम्रो नापतौलको आधार बन्यो भन्ने रोचक ढंगले उल्लेख गरेका छन् सौरभले। जोखेर परमिाण निक्र्योल गर्ने विधि विशुद्ध नेपाली हो भन्ने अनेकानेक तर्क पेस गरेका छन् लेखकले। १० मास बराबर  एक तोला हुन्छ, यही तुला (तराजु) बोधक तोला नेपाली तौल प्रणालीको सबैभन्दा प्रचलित एकाइ हो। पश्चिमा न्यायप्रणालीले तुला बोकेकी महिलाको आँखामा पट्टी बाँध्ने गरेको छ। यो तुला शब्द २५ सय वर्षअघि मात्र पश्चिम लागेको र तुला शब्द चोरेर न्यायकी  देवीका दुइटै आँखालाई अबुझ पश्चिमाहरूले नदेख्ने बनाइदिएको पनि उनको भनाइ छ। तुला शब्द पहिलोपटक शुक्ल यजुर्वेदमा भेटिन्छ, जसलाई नेपालको जनकपुरमा लेखिएको मानिएको छ। सौरभ प्रश्न गर्छन्, राजा महेन्द्रलाई आधुनिकताको नाममा ०२६  सालमा यो नेपालको मौलिक प्रणाली छाडेर मेटि्रक प्रणालीमा जानुपर्ने आवश्यकता के परेको थियो?

त्यसो त प्रकाशित लेखहरू पनि अत्यन्त बौद्धिक र जनचासोका छन्। नेपालको राष्ट्रिय झन्डा फेर्न नपर्ने तर्क प्रस्तुत गर्दै उनले यो संसारकै अनौठो र बेग्लै भएकाले संरक्षण गर्नुपर्ने भनेका छन्। नेपालको झन्डा पुरातात्त्विक भएको तिथिमिति नै लेखिदिएका छन्।  संघीयता, धर्मसंस्कृति, जातजाति, बीउबिजन, रूखबिरुवाजस्ता विषयमा सौरभको स्पष्ट दृष्टिकोण छ। अचम्म के भने विभिन्न स्वनामधन्य विद्वान्लाई चुनौती दिँदै यिनले प्रश्न गर्दा पनि कसैले त्यसमा प्रतिवाद गर्न सकेका छैनन्। यसले पनि सौरभको जानकारीको  भण्डारण कति गहिरो र गहकिलो छ भन्ने प्रस्टिन्छ।

पुस्तक पढ्दै जाँदा सौरभजस्ता 'इन्साइक्लोपेडिया'ले छापिएका भन्दा नछापिएका विषयमा लेखिदिए हुन्थ्यो भन्ने लाग्छ नै। सौरभमाथि लाग्ने गरेको अर्को आरोप हो, यिनको भाषा क्लिष्ट हुन्छ। आकाश र पाताल जोडेर विषयवस्तुलाई प्रस्ट्याउन सक्ने उनको खुबीको  जति प्रशंसा गरे पनि कम हुन्छ। तर, यिनै विषयवस्तुलाई पनि अलि सरल भाषामा प्रस्तुत गर्ने बाटाहरू हुँदै नभएका होइनन्। आफ्नो स्वभाव अनुरूप सौरभले भन्न सक्छन्, 'बुझिन्न भने जसले बुझ्छ त्यसले पढ्छ।' कुरो पूर्ण गलत होइन पनि ।

असहमति

लेखक    ः    सौरभ

प्रकाशक    ः    अर्किड बुक्स

पृष्ठ    ः    २७१+११

मूल्य    ः    ३७५ रुपियाँ


https://nepalmag.com.np/literature/2014/10/12/7530
२६ आश्विन २०७१ आइतबार नेपाल म्यागजिनमा प्रकाशित


No comments:

Post a Comment