3.4.22

पूर्वको दियो : पश्चिम उज्यालो ! :- शिव प्रकाश

शिव प्रकाश:- संस्कृतको पुनर्जागरण ‘वेद बहुमूल्य उपहार थियो, पश्चिम सधैँ पूर्वको ऋणी छ !’‘लेक्चर अन द साइन्स अफ ल्याङ्वेगज’मा लेखिएका शब्द हुन् यी । १७औँ शताब्दीका एक महान् फ्रान्सिसी दार्शनिक भोल्तेयरका शब्दलाई फ्रिड्रिच म्याक्स मलरले अक्षरमा अंकित गरे । म्याक्स मलर ऋग्वेदका एक उल्थाकार हुन् । सन् १८७९ मा ‘द सेक्रिड बुक्स अफ इस्ट’को पहिलो भाग छापियो । ५० भाग छन् । बुद्ध, जैन, इस्लाम र कन्फुसियस पनि समेटिएका छन् । संस्कृत भाषा मात्र होइन, विचार र बुद्धिको जीवन्त र सदृष्य भावना हो । 
हामी हेला गरिरहेका छौँ, पश्चिमाहरू पूजा गरिरहेका छन् । एक पूजक उनी पनि थिए, सांसारिक नाम थियो–फ्रान्सुवा मरी अरुएट । हामीले चिन्ने भोल्तेयर,उनको ‘पेन नेम’ हो ।‘इन्लाइटमेन्टका लिडिङ् फिगर’ मानिन्छन् ‘क्यान्डिड’का क्रिएटर भोल्तेयर । धर्म, व्यापार मुक्त हुनुपर्छ भन्ने उदात्त विचारका भोल्तेयरको मागलाई तीनसय वर्षअघि अपराधीको बोली मानिन्थ्यो । भोको बाघलाई जिक्याउनुजस्तो थियो त्यो समयमा अर्थोडक्स क्रिश्चियानिटीसामु धर्मका बारेमा प्रश्न गर्नु । बाइबलमाथि कारण र तर्क खोज्नु । तर, उनले कारण पनि खोजे र तर्क पनि गरे– ‘नट बाई फेथ बट -यादर बाई रिजन’ अर्थात् विश्वासद्वारा होइन, तर्कद्वारा विश्वास गर्न सकिन्छ । 

‘मलाई विश्वास छ हामीलाई सबैथोक गंगाबाट प्राप्त भएका हुन्– खगोल, ज्योतिष र मेटमसाइकोसिस (पूनर्जन्म) !’ पूर्वीय ज्ञान र दर्शनको प्रतीकात्मक मूलका रूपमा गंगालाई मानेका छन् भोल्तेयरले । भोल्तेयरको यो स्विकारोक्तिलाई माइकल डनिनोले आफ्नो किताब ‘द इन्भेजन द्याट नेभर वाज’ मा उल्लेख गरेको तथ्यलाई हामीले कहिले स्विकार्ने ? संस्कृत दर्शन र ज्ञानप्रतिको हाम्रो अज्ञानतालाई के भन्ने ?

१४औँ शताब्दीका डान्टे (दाँते) इलाइहियरी पुनर्जागरणका दूतका रूपमा चिनिन्छन् । उनलाई पछ्याउँदै थिए इटालिकै फ्रान्सिको पेट्रक । पूनर्जागरणको अर्थ मूलतः मानवतालाई प्रतिस्थापन गर्नुभयो । विश्वासलाई पुनर्जीवित गर्नु थियो । रोम–युनानका प्राचीन सभ्यता र संस्कृतिको पुनः उद्धार भयो । वस्तुतःपश्चिममा पुनर्जागरणले जन्माएको मानवतावादको अर्थ के भन्ने प्रश्न जीवितै रह्यो ! 

अथर्ववेदको ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः’ शब्दावलीले सबैको सुख र शान्तिको कामना गरेको छ । मानवतावादको अर्थ र परिभाषा खोज्ने हो भने योभन्दा स्पष्ट, उत्कृष्ट, सार्वभौम र सार्थक अर्को के हुन सक्छ ? धर्मको सनातन परिभाषा के हो ? मानवताभन्दा ठूलो धर्म कुन हो ? यसभित्र लुकेको विचार र दर्शनको असीमित आयतनलाई देख्न सक्ने क्षमता हामीमा भएन । हामी अनेक किताब पल्टाउँछौँ, तर सत्रौँ शताब्दीमा उनै भोल्तेयरले वेदको यही भाष्यलाई मानवतावादको मन्त्र माने । आफ्नै भाषामा प्रस्तुत गर्दै सबैले सबैलाई बन्धु मान्न आग्रह गरे । सबैको सुख र कल्याणको कामना गरे । भोल्तेयरको ‘ट्रिटिज एन्ड टलरेन्स’ साक्षी छ । 

पश्चिमाहरूको विचार र बुद्धिमा परिवर्तन गराउने वेद, उपनिषद् र गीताको भाषालाई हामीले मृत घोषित ग-यौँ । अँगार बनायौँ । उनीहरूले प्राणप्रतिष्ठापन गरे ।
‘संसारका लगभग सबै धार्मिक र दार्शनिक विचारलाई पूर्वीय ग्रन्थले पूर्णता दिएको ठान्छन् अक्सफोर्ड विश्वविद्यालयका संस्कृत प्रोफेसर मोनिअर–मोनिअर विलियम्स् । पूर्वीय ज्ञान–दर्शनप्रतिको यी पश्चिमा गुरुको स्विकारोक्तिले हामीलाई लज्जित हुने स्थान दिएको छ कि छैन ? के आफैँलाई प्रश्न गर्ने साहस छ, हामीमा ?

मस्तिष्कमा निस्चेतनाको मुस्लो मडारिएको स्वाँठ सत्ता र समाजको सिकार भयो पूर्वीय संस्कृत ज्ञान–दर्शन । निम्सरो ठानियो । मृत मानियो । हेला गरियो । एकताका हाम्रा तक्षशीला र नालन्दा थिए– त्रिभुवन विश्वविद्यालय र महेन्द्र संस्कृत विश्वविद्यालय । आज राजनीतिको विषाक्त वीर्य पोतेर कुरूप बनेका ज्ञानका ती मन्दिरले शासकका बुद्धि र वर्गतलाई जिस्क्याइरहेका छन्– निरीह बनेर, नग्न उभिएर ।  

भावगम्य बुद्धि, विवेक र ज्ञानको भण्डार मान्छन् पश्चिमाहरू पूर्वीय संस्कृत ज्ञान–दर्शनलाई । व्यक्तिको सार्वभौम कल्याण नै धर्म हो भन्ने आदर्श वहन गरेको संस्कृत दर्शनले अँगालेको धर्मको सनातन अर्थ पनि यही हो । भोल्तेयरले यही आदर्शलाई धर्म माने । क्रिस्चियानिटीको विरोध गरे– दण्डित भए । तर, संस्कृतप्रतिको निष्ठाबाट पछि हटेनन् । 

संसारका सर्वकालीन प्रभावशाली व्यक्तित्व कार्ल मार्क्सले धर्मलाई अफिम भने । क्राइस्टले आफ्ना भक्तलाई भेडा भने । धेरै मानिसले कार्ल मार्क्सलाई क्राइस्ट ठाने । आफूलाई भेडा बनाए । तर,मार्क्सले धर्मको परिभाषा सायद बुझेका थिएनन्, जसरी उनी स्वयंले मार्क्सवादको परिभाषा बुझेका थिएनन् । आफू स्वयं मार्क्सवादी हैन भन्ने कुरालाई एक सत्यका रूपमा स्वीकार गरेका छन् मार्क्सले । (-‘Ce qu'il y a de certain c'est que moi, je ne suis pas Marxiste.’ [If anything is certain, it is that I myself am not a Marxist. - Letters of Frederick Engels 1882) 

स्पष्ट हुन्छ– कार्ल मार्क्सले पूर्वीय दर्शनको पारख गरेका थिएनन्, जहाँ मानवतलाई धर्म मानिएको छ । अथवा उनलाई मावनताविरोधी विचारक पनि मान्न सकिन्छ । यद्यपि, उनको व्यक्तिगत जीवनशैली सादगी र मानवतावादी थियो । धर्मप्रतिको पूर्वीय ज्ञान–दर्शनको सनातन अर्थलाई नजरअन्दाज गरी क्रिस्चियानिटीभित्रका क्रूर कायर–कर्मलाई मात्र धर्मका रूपमा बुझ्नु यथार्थ हो भने माक्र्समा पनि बुद्धि विस्खलन रोग थियो । 

पश्चिमा स्कलरहरूले संस्कृतलाई भाषामात्र ठानेनन्, आत्मालाई मानव बनाउने माध्यम ठाने । आत्मज्ञान प्राप्तिको अवधारणामा मानवमाथि विश्वास जगाउने पूर्वीय दर्शनलाई आध्यात्मिक जहर ठान्थे बृटिस इतिहासकार डा. अर्नोल टोयन्वी(सन् १८८९–१९७५) । मानव इतिहासको यो सर्वोच्च खतरनाक क्षणमा प्राचीन पूर्वीय संस्कारलाई मुक्तिको एक मात्र माध्यम मान्थे मानव सभ्यताका यी भाष्यकार । 

हाम्रा कथित पण्डित– महात्माले वेदान्तलाई अझै मागीखाने भाँडो बनाएका छन् । यो पाखण्डको जालमा फसेको समाज गुरुका खुट्टा ढोग्छ, तर आफ्नो रित्तो र खोक्रो वास्तविकतालाई स्वीकार्न तयार छैन । हाम्रा महात्मा–पण्डितले पाण्डित्य र वेदान्तको अर्थ पाण्डागिरीमा झारे, पश्चिमा महात्माले त्यही वेदान्तलाई महान् ठाने । जीवनशैली बनाए । 

बेलुका सुत्नुअघि र बिहान उठ्नेबित्तिकै वेदान्त पाठ गर्ने जर्मन दर्शनद्रष्टा अथर सोपेनहावर पश्चिमका विवेकानन्द हुन् । जो बाइबलको साटो सिरानमुनि गीता राख्थे । उनका विचार र दर्शनमा वेदान्त दर्शनको दर्शन पाइन्छ– स्वयंले स्विकारेका छन् । फ्रिड्रिच नित्से र सिग्मन्ड फ्राएडजस्ता दर्शन र मनोविज्ञानका मानक दर्पणहरूले पनि गुरु मान्थे उनलाई ।

‘उपनिषद्का प्रत्येक पंक्तिले यति मजबुत, दृढ, स्थिर र सुसंगत अर्थ कसरी बोकेका छन् ?’ आफैँलाई प्रश्न गर्ने उपनिषद्का साधक सोपेनहावरको यो बोधलाई भाषा दिएका छन्– एडल्फ हिलब्रान्टले ‘उपनिषद् अल्टाइन्डिस् वाइज हाइट’मा । यी चिन्तकले उपनिषद्का हेरक पृष्ठमा गहिरा, मौलिक र उच्च विचार भेटे ।  
‘वेदान्त मेरो जीवनको सान्त्वना हो । वेदान्त नै मेरो मृत्युको सान्त्वना पनि हुनेछ ।’ उनै सेपेनहावरका शब्दलाई लिपिमा कुँद्ने व्यक्ति थिए–जवाहरलाल नेहरू । अक्सफोर्ड युनिभर्सिटी प्रेसले छापेको ‘द डिस्कभरी अफ इन्डियामा’ लेखिएका यी हरफले हाम्रो बाँझो चेतलाई कहिले हराभरा गराउँछ ?

अक्सफोर्डले मानिसका मस्तिष्कका पत्रमा ज्ञानका लिपि मात्र भर्न जानेको थिएन, ज्ञानको व्यापार गर्न पनि जानेको थियो । प्राचीनपूर्वको दर्शन–साहित्यभित्रको ज्ञान बेच्ने मुख्य व्यापारी पनि हो– अक्सफोर्ड । तिनै गुरु मोनिअर–मोनिअर विलियम्स लेखेको संस्कृत–अंग्रेजी डिक्सनरीदेखि वेद, उपनिषद्, गीतालगायत पञ्चतन्त्रसम्म उल्था गरेर बेचेको छ । 

ज्ञानको व्यापारलाई बुद्धिको वैश्वीकरणका रूपमा पनि स्विकार्न सकिन्छ । अर्को विश्वविख्यात क्याम्ब्रिज युनिभर्सिटी प्रेसले पनि पूर्वीय दर्शन–ज्ञानका धेरै किताब छापेर विश्व बजारमा पु-याएको छ । यथार्थतः पूर्वीय ज्ञानको व्यापारसँगै संसारमा बुद्धिको बजार पनि बढाएको छ । भागवत गीतादेखि एन इन्ट्रोडक्सन अफ हिन्दू थियोलोजी, हिन्दुइजम् एन्ड ल, द डान्स अफ शिव, द ओरिजिन्स अफ योग एण्ड तन्त्रसम्मका दर्जनौँ किताब छापेर बेच्ने क्याम्ब्रिज पनि पूर्वीय ज्ञान–दर्शनको एक मुख्य व्यवसायी हो । 

बजारमा पाइने किताबको तुलनामा अब्बल महँगा छन् पूर्वीय ज्ञान–दर्शनका किताब । किनभने संस्कृत भाषाका पूर्वीय ज्ञान–दर्शनका किताबलाई बुद्धिको अब्बल उपज ठान्छन् पश्चिमा विद्वान्हरू । तर, हाम्रा लागि संस्कृतका ती काला अक्षर भैँसीबराबर भएका छन् । वेद, उपनिषद् र गीताका ज्ञानबाट हामी आफैँ वञ्चित छौँ । जडौली सम्हालेर बाँचेका छौँ । अरूका दुई–चारवटा कोटेसन मिसाएर लेख्छौँ आफूलाई विद्वान् देखाउने चेष्टा गर्छौँ– फगत कुचेष्टा हो, त्यो । 
१९औँ शताब्दीका अमेरिकी दार्शनिक तथा इतिहासकार विल डरेन्ट भागवत् गीताका प्रशंसक हुन् । कथा, दन्त्यकथा, सम्मोहन मात्र होइन तर्क र दर्शन पनि पश्चिममा पूर्वले पठाएको स्वीकार गर्छन् ।

फगत भाषा मात्र होइन, मानवीय बुद्धिको सर्वोत्कृष्ट उपज हो संस्कृत ! संस्कृतको संरचना आफैँमा विज्ञान हो । विचारको संवेग हो । चेतनाको संवाद हो । ज्ञान, बुद्धि र दर्शनको जीवन्त दृश्य हो । ब्रह्माण्डको अमूल्य चिन्तन, सत्य र रहस्यको प्रज्ञापन हो । वेदान्त लिपि संस्कृतलाई पश्चिमाले हृदयबाट बुझेका थिए । 
सायद त्यसले ब्रिटिस–इन्डियाका प्रथम गभर्नर लर्ड वारेन हेस्टिङ (सन् १७५४–१८२६)ले गीतालाई मानव जातिका सबै ज्ञात धर्मग्रन्थका बीच एक मात्र अपवाद ठाने । गीताको महान् मौलिकताभित्र तर्क र धारणाको उत्कृष्टतालाई आत्मसात् गर्ने उदार शासक मानिन्छन् हेस्टिङ ।

दानवीर कर्ण कहलिन्छन् कर्णेल जोसेफ बोडन । इस्ट–इन्डिया कम्पनीको सेनाबाट अवकाश लिँदा २५ हजार पाउन्ड थियो । सबै दान दिए अक्सफोर्डमा युनिभर्सिटीलाई– संस्कृत पठन–पाठनका लागि । सन् १८११ मा उनैका नाउँबाट अक्सफोर्डमा संस्कृतको डिपार्टमेन्ट खुल्यो । 

सततः नमन गर्नुपर्ने अर्का पूज्य पात्र हुन् युनिभर्सिटी अफ बोनका प्रोफेसर अगस्ट हिल्हम स्लेगल (सन् १७६७–१८४५) । इतिहास र दर्शनशास्त्रका यी विद्वान् नै संस्कृतको पहिलो प्रोफेसर मानिन्छन्, पश्चिममा । सहोदर भाइ फ्रिड्रिच भोन स्नेलको संस्कृत साहित्य अध्ययनले उनलाई प्रेरित ग-यो । उनैले सन् १८२३ मा ल्याटिन भाषामा उल्था गरेर युरोपमा गीताको ज्ञानको प्रकाश छरे । भागवत् गीतालाई बुद्धिले आविष्कार गरेको ज्ञानको विज्ञान माने ।

‘न हि ज्ञानेन सदृशं’– यो संसारमा ज्ञान समान अर्को केही छैन । गीताको ज्ञानगंगामा डुबुल्की मार्न पाएकोमा ईश्वरलाई धन्यवाद दिन्छन् उनै स्लेगलका समकालीन विल्हम् हम्बोल्ट (सन् १७६७–१८३५) । ‘गीतासँग परिचित हुन ईश्वरले आफूलाई लामो आयु दिएकोमा खुसी थिए, हम्बोल्ट युनिभर्सिटी, जर्मनका यी संस्थापक विद्वान् ।’ आफ्नो किताब ‘वेदान्त– हर्ट अफ हिन्दुइजम्’मा बोल्ड अक्षरमा लेखेका छन्, लेखक हान्स टोरवेस्टर्नले । ब्राड्ली एल हर्लिङ्को ‘द जर्मन गीता’ले पनि बुद्धि विनिमयको बजारलाई पश्चिममा व्यापक बनायो । जर्मनमा विचारको बिरासतमाथि गीताको ‘लेगेसी’लाई उनले प्रस्ट्याए । त्यसलाई एक उत्कृष्ट उपलब्धि मानियो ।

 हिट्लरकालअगाडिसम्म बौद्धिक परम्परामा बाँचेको थियो, जर्मन । दार्शनिक योहाम ग्राटफ्रिड हर्डर (सन् १७४४–१८०३) पूर्वीय दर्शनशास्त्रलाई जर्मन बौद्धिक परम्परामा समाहित गर्ने साधक मानिन्छन् । संस्कृतमा मास्टर्स गर्ने पहिलो जर्मन स्कलर थिए– हाइनरिक रथ (सन् १८२०–१६६८) । गौरीनाथ शास्त्रीको ‘ए कन्साइस हिस्ट्री अफ क्लासिकल संस्कृत लिटरेचर’अनुसार सातौँ शताब्दीमै पश्चिमाहरू भारतीय उपमहाद्वीपमा आउन थालेका थिए । उल्लेख गरिएअनुसार, सन् १६५१ पोर्चुगिस भाषामा भर्तृहरिको उल्था भयो । पहिलो व्यक्ति थिए– हल्यान्डका अब्राहम रोजर, जसले पूर्वीय संस्कृत साहित्यलाई पश्चिमा भूमि टेकाए । 
सुप्रिम कोर्ट कलकत्ता (ब्रिटिस–भारत)का न्यायाधीश मात्र भएर बसेनन् चार्ली विल्किन्स (सन् १७४९–१८३६) । मानवीय अज्ञानताको अँध्यारोमा गीताको ज्ञानको उज्यालोले पोतिए उनी पनि । सन् १७८५ मा गीताको पहिलो अंग्रेजी उल्था गरे तिनै न्यायाधीशले । 

मेस्नरी थिए अस्ट्रियाका पलिनिउस अफ सेन्ट वर्थलोम्यु पनि तर प्राच्यविद् मानिन्छन् । सन् १७७४ मा भारत आए । संस्कृत पुस्तकको सम्पादकको आरोप पनि लाग्यो । एक कार्डनलको सहयोगमा उनले संस्कृतको पहिलो ग्रामर ‘व्याकरणम्’ ल्याटिन भाषामा प्रकाशित गरे । जर्मनकै जर्ज फस्टर सन् १७४५–१७९४ मा कालिदासको शकुन्तला जर्मन भाषामा उल्था गरे । स्यामुल कान्ट, फ्रिड्रिच सिलर, जोसेफ चिलिङ्, योहान हर्डर र योहान गोथेजस्ता पश्चिमा दर्शनशास्त्रका विदुरले पनि पूर्वीय साहित्य–दर्शनलाई ‘द प्रोडक्सन अफ द हाइयेस्ट ह्युमेन विस्डम’का रूपमा लिए । 

इसापूर्व तीन सयका एरिस्टोटललाई पश्चिममा मेटाफिजिक्सका जनक मानिन्छन् । होमरको समय इसापूर्व आठ सयभन्दा अगाडिको सभ्यताको कुनै इतिहास छैन, पश्चिमासँग । प्राचीन पूर्वका मुनिहरूले कहिलेदेखि मेटाफिजिक्स लेखे ? प्रश्नको उत्तर छैन, अनुमान मात्र छन्– इसापूर्व तीनदेखि पाँच हजार वर्ष । मानव मस्तिष्कले कल्पना गरेको वेदान्तभन्दा प्रभावशाली मेटाफिजिक्स अर्को नभएको निचोड निकाल्छन्– ब्रिटिस दर्शनशास्त्री तथा गणितज्ञ अल्फ्रेड ह्वाइट हेड (सन् १८६१–१९४७) ।

पूर्वका पुराना विश्वासले नयाँ भूमि अमेरिकामा आत्मीय आक्रमण कहिलेदेखि गरे ? धेरै भारतीय लेखकले एकांगी शैलीमा एउटै कुरा लेखे– सन् १८८३ । ‘द पार्लियामेन्ट अफ रिलिजियन्स’मा भाग लिन विवेकानन्दले अमेरिकी भूमि टेकेको वर्ष हो, त्यो । प्रतिनिधिमध्ये सबैभन्दा कान्छा थिए, विवेकानन्द । अमेरिकी युवतीहरूले ‘ह्यान्डसम् मंक’ उपाधि पनि दिए ।

 सन् १८९४ मा न्युयोर्कमा वेदान्त सोसाइटीको स्थापना भयो । त्यसपछि अमेरिकामा हिन्दुत्वको प्रभाव बढेको निक्र्योल धेरै भारतीय स्कलर गरेका छन् । परमहंस योगानन्दको प्रभाव पनि बलियो छ, अमेरिकामा । तर, ‘हिन्दुइजम् इन्भेड्स् अमेरिका’मा वेन्डेल थोमसले राल्फ इमर्सनको प्रभावलाई प्रमुख मानेका छन् । 
यसअघि जब इसाई युरोपियनहरूले पहिलो पाइला अमेरिकी भूमिमा राखे, ती पाइलासँगै हिन्दुत्वको भावना पनि भित्रियो । क्याथोलिक र प्रोटेस्टेन्ट सम्प्रदायसँगै हिन्दुत्व पनि मिसिएर आएको मान्छन् उनी । अमेरिकामा विद्यार्थीले प्लोटिनस् पढ्न थालेसँगै हिन्दुत्वको प्रभाव देखिन थाल्यो । जब इमर्सन र थोरोजस्ता दार्शनिकले उदारतापूर्वक यसको विवेचना गर्न थाले, बलियोसँग स्थापित हुन थाल्यो ।

नयाँ दर्शन थियो– ट्रान्सेनडेन्टालिजम् (अतिवाद) । भाषा र भाष्य जटिल छ, तर सामान्य अर्थमा यसले अध्यात्ममा बौद्धिकता र बौद्धिकतामा अध्यात्मको खोजी गर्छ, जसले परम्परागत विश्वासमाथि प्रश्न ग¥यो । यो दर्शनले १८औँ शताब्दीमा अमेरिकामा आकार लियो । जनक मानिन्छन् उनै इमर्सन (सन् १८०३– १८८२), जो अमेरिकामा अहम् ब्रह्मास्मि भनेर बस्थे । साथमा थिए अर्का प्रसिद्ध दर्शनशास्त्री हेनरी डेभिड थोरो ।गीता र उपनिषद्का उपासक थिए हारभार्ड डिभिनिटी स्कुलमा क्रिस्चियानिटी पढाउँदै आएका राल्फ इमर्सन । क्रिस्चियानिटीप्रतिको मोह एकाएक भंग भयो । पूर्वीय ज्ञान–दर्शनले देखाएको नयाँ बाटो थियो– ट्रान्सेनडेन्टालिजम्, सायद । 

‘सत्य बोल्न, सबैसित प्रेम गर्न र तुच्छतालाई समाप्त गर्न सिकाउँछ पूर्वीय ज्ञानले’– पश्चिमलाई शून्य देख्छन् इमर्सन । पूर्वीय साहित्यमा डुब्ने यी अमेरिकी विचारकले पश्चिमा संसारलाई अमूल्य उपहार पनि दिए, त्यो हो– ब्रह्म कविता । वेदान्तको विश्वात्मवादी दर्शनमा लेखिएको कविताले संसारभर प्रचार पायो, त्यो उपक्रम यद्यपि छ । 

पूर्वीय अध्यात्म दर्शनले पश्चिममा कसरी परिवर्तन ल्यायो ? बुझ्न झन् सजिलो बनाइदिएका छन् फिलिप गोल्डबरले ‘अमेरिकन वेद’मा । यो प्रश्नको उत्तरसँग इमर्सनलाई जोड्दै वेदान्तको ज्ञान र योगको प्रभावसँग परिचित गराउँछन्, यी लेखकले । भारतीयहरू राष्ट्रपिता महात्मा गान्धीलाई सत्याग्रहका पिता पनि मान्छन्, तर त्यो सत्य हैन । गान्धीले ग्रहण मात्र गरेका हुन् । जनक हुन् अमेरिकी दार्शनिक उनै हेनरी डेभिड थोरो (सन् १८१७–१८६२०) । नागरिक अवज्ञा आन्दोलनका यी पिताको आफ्नै सर्वाधिक चर्चित किताब साक्षी छ– ‘वाल्डेन एन्ड सिभिल डिसओबिडिएन्स’ । 

‘म हरेक बिहान भागवत् गीताको अलौकिक र अद्भुत ज्ञान–दर्शनमा आफ्नो बुद्धिलाई स्नान गराउँछु ।’ त्यही किताबमा थोरोले गीता र पूर्वीय दर्शनको उल्लेख मात्र गरेका छैनन्, खुलेर प्रशंसा गरेका छन् । जसले पश्चिमा पाठकलाई अलौकिक रोचकता प्रदान ग-यो । पूर्वीय ज्ञानगंगामा नुहाउने अर्का अमेरिकी विद्वान् थिए– मर्क ट्वाइन (सन् १८३५–१९१०) । जसले पूर्वीय साहित्य–दर्शनलाई इतिहासमा सबैभन्दा शिक्षाप्रद र मूल्यवान् सामग्री माने । 

प्राचीन पूर्र्व ज्ञानको पितृभूमि थियो । मूलतः वेद, उपनिषद् र गीतालाई ग्रन्थमान्त्र होइन दर्शनको निधि मानिन्छ । गहनतलाई पारख गर्ने हो भने यी दर्शनग्रन्थ धर्मनिरपेक्ष छन् । यी ज्ञान–दर्शन कुनै धर्म–सम्प्रदाय विशेषका धार्मिक शास्त्र नभई संसारकै सम्पत्ति हुन् । वस्तुतः हिन्दूका मात्र होइनन्, यो जगत्कै साझा सम्पत्ति हुन् । यो पाटोमा विचार र बहस गरौँला । 

अहिलेलाई एउटा कुरा के सोचौँ भने हामीले पढायौँ, तर सिकाएनौँ । हामीले सिकायौँ, तर बुझाएनौँ । महँगा र ठुल्ठूला स्कुल–कलेज बनायौँ । देशलाई चाहिने नेता, शिक्षक, व्यपारी, डाक्टर, इन्जिनियर, वकिल, प्रशासक, न्यायाधीश सबै दियौँ । ती मानिसलाई चाहिने नैतिक शिक्षा दिएनौँ । देशले ती सबै मान्छे पायो, तर ती मान्छेबाट देशले केही पाएन । बरु धेरै गुमयो ? किन ?किनभने, औरंगजेबले हिन्दूका मन्दिर भत्काएजस्तै नेपालका शासककले विद्याका मन्दिर भत्काए । बुद्धिका वधशाला भए शिक्षाका मन्दिर । बौद्धिक विस्खलनको बिरासतले बोकेको विनाशको सिकार भयो देशको भविष्य । 

  • स्रोत:-  वि.सं २०७८ चैत २१ सोमबार नया प्रत्रिकामा प्रकाशित ।

No comments:

Post a Comment