3.4.22

न ज्ञान, न विज्ञान ! :- शिव प्रकाश ।

शिव पोखरेल:-  सेन्सलेस्ली लभ एन्ड माइन्डलेस्ली हेट’ नेपाली समाजको चरित्र बनेको छ(— ‘ननसेन्स्’ चरित्र ! हामी यति आधुनिक र सम्य भयौं कि संस्कृतलाई सिधैं ‘टपरे भाषा’ भनिदियौं  । तर के विश्वविख्यात हारभर्ड विश्वविद्यालयमा पढाउने सामग्री केही नभएर त्यो ‘टपरे भाषा’ संस्कृत पढाइएको हो ? उही दर्जाका क्याम्ब्रिज र अक्सफोर्डमा किन संस्कृत पढाइन्छ ? सिलिकन सिटी नजिकैको युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्क्लीले अरू विषय पढ्ने विद्यार्थी पाएन ? किन त्यही अक्सफोर्डले १८ औं शताब्दीदेखि नै संस्कृत पढाउन थाल्यो ? के ती संस्कृतका पश्चिमा विद्वान् सबै टपरा थापेर खाँदै छन् ? किन लाग्छ, जर्मनका चौध विश्वविद्यालयमा संस्कृत पढ्नेको घुइँचो ? 

एटम बम बनाउँदा अमेरिकाको एउटा वैज्ञानिक गीता र महाभारतमा किन घोत्लिन्छ ? आइन्स्टाइनले परमाणुमा शक्ति पत्ता लगाए । त्यो खोजको स्रोत के हो ? प्रेरणा के हो ? के छ त्यो संस्कृतभित्र ?

जर्मनीलाई आज पनि संस्कृतको ज्वरोले गाँजेको छ । सन् २०१५ अप्रिल, डेलीमेल यूकेले आफ्नो एउटा खोजपूर्ण रिपोर्टमा लेखेको छ, ‘संस्कृत पढ्न चाहने विद्यार्थीको घुइँचो जर्मन युनिभर्सिटीले थेग्न सकेनन् ।’

‘जर्मनीका अधिकांश संस्कृत विद्वान् हारभर्ड, बर्क्ली र इङ्ल्यान्डका युनिभर्सिटीमा पढाउँछन् ।’ युनिभर्सिटी अफ हाइडलवर्गका संस्कृतका गुरु डा. एलेक्स माइकल्स नेपाल र भारतजस्ता देशलाई सुझाव पनि दिन्छन्, ‘राजनीतिक र धार्मिक बहसमा समय बिताउनुको साटो सम्पदा (संस्कृत) लाई संरक्षण गर ।’

विडम्बना ! सुन्ने र मनन गर्ने संस्कृति हामीमा छैन । हाम्रो समाजमा छैन । हाम्रो ‘ननसेन्स’ समाजले जन्माएको ‘सेन्सलेस’ नेतृत्वमा झन् छँदै छैन । वस्तुतः नेतृत्व, आकाशबाट झर्दैन( । देवदूत बनेर आउँदैन । हरेक समाजले आफ्नो योग्यता र हैसियतअनुसारको नेतृत्व जन्माउँछ । हाम्रो समाजले आफ्नै योग्यताअनुसारको नेतृत्व पाएको छ ।

हामी अंग्रेजीलाई भाषा मान्छौ तर संस्कृतप्रति हेयभाव राख्छौं ! अंग्रेजीमा प्रवृत्त भयौं, जरुरी पनि छ । तर, संस्कृतलाई प्रवृत्ति बनाउन सकेनौं । अन्ततः ‘मेन्युअल’ विहीन भयो नेपाली समाज ।

अंग्रेजी विज्ञापनको भाषा हो तर संस्कृत ज्ञानको भाषा हो, बुद्धिको भाषा हो, चेतनाको भाषा हो । अंग्रेजी आफूलाई बेच्ने भाषा हो, संस्कृत आफूलाई चिन्ने भाषा हो । हामीले सोचेनौं, खोजेनौ, बुझेनौ ।

वास्तवमा हामी सोच्दैनौं, खोज्दैनौं, बुझ्दैनौं तर पनि सबै जान्ने भएका छौं । त्यसैले हामी केही नबुझी सबै जान्ने र केही नजानी सबै बुझ्ने भएका छौं । गीताको किताब घरमा पूजा गरेर राख्छौं तर त्यही गीताको भाषा संस्कृतलाई ‘टपरे भाषा’ भन्छौं । हेला गर्छौं । कहिल्यै पढ्दैनौं ।

यद्यपि संस्कृत नै पढ्नुपर्छ, जान्नुपर्छ, बुझ्नुपर्छ भन्ने पनि छैन । जान्दा र बुझ्दा झन् राम्रो । तर, संस्कृतको ज्ञान(–दर्शन जनुसुकै भाषामा पढ्न सकिन्छ । उल्था गरिएका किताब नेपाली र अंग्रेजीमा प्रशस्त छन् ।

पुराना ज्ञानसँग नयाँ विज्ञानको के सम्बन्ध छ ? १९ औं शताब्दीको सुरुआतसँगै यो प्रश्नले संसारका बौद्विक मस्तिष्कलाई गिजोल्न थाल्यो । फिलोसफीमाथि ‘रिलिजन एन्ड साइस’ थपियो । युरोपका युनिभर्सिटीमा अध्ययन र अध्यापन पनि थालियो । विषयले झन् व्यापकता त्यतिबेला पायो, जतिबेला अल्बर्ट आइन्स्टाइनले ऐलान गरे, ‘धर्मबिनाको विज्ञान लंगडो छ ! विज्ञानबिनाको धर्म अन्धो छ ।’

सन् १९४० सेप्टेम्बर, न्युयोर्कमा ‘साइन्स, फिलोसफी एन्ड रिलिजन’ मा बोलेका कुरा आइन्स्टाइनको आफ्नै किताब ‘रिलिजन एन्ड साइन्स’ मा पनि छापिएको छ ।
फरक थियो आइन्स्टाइनको आध्यात्मिक विश्वास । ‘कस्मिक रिलिजन’ (ब्रह्माण्डीय धर्म) भन्थे उनी । ‘जसले मलाई वैज्ञानिक कार्यमा स्थिर गर्‍यो,’ उनकै शब्द हुन् यी पनि, ‘हामीले एक–अर्काबाट अलग गर्नु दृष्टिगत भ्रम मात्र हो ।’ दर्शन र विज्ञानलाई जोड्दै आइन्स्टानले थपेका यी शब्दले के संकेत गर्छन् ? । ‘ब्रह्माण्डीय’ शब्दले पूर्वीय संस्कृत दर्शन–ज्ञानलाई संकेत गर्छ कि गर्दैन भन्ने बहस निरन्तर छ । ‘कस्मिक रिलिजन’ को अवधारणा आइन्स्टाइनभन्दा अरू कसैमा पाइँदैन ।

प्राचीन पूर्वको वैदिक ज्ञान, संसारको बौद्विक बजारमा ‘संस्कृत फिलोसफी’ का नाउँले पनि चिनिन्छ ।

ज्ञान–दर्शन र विज्ञानको स्रोतमा एउटा बौद्विक बाझाबाझ चलिरहेको थियो । त्योसँगै दोस्रो विश्वयुद्ध पनि । अमेरिकाले भित्रभित्रै डरलाग्दो मिसन चलाइरहेको थियो । हिट्लर साम्राज्य जर्मनीसँग मिलेको जापानलाई थेग्ने शक्तिको खोजी गर्दै थियो, अमेरिका । त्यो मिसन थियो, ‘द मेन्ह्याटन प्रोजेक्ट ।’ मिसन सफल भयो— संसार विनाशक अस्त्र, एटम बम बन्यो !

त्यो अस्त्र अगस्ट ६, १९४५ मा जापानको हिरोसिमा खस्यो । तीन दिनपछि नागासाकीमा । जापान आत्मसमर्पण गर्न बाध्य भयो । दोस्रो विश्वयुद्ध समाप्त भएको घोषणा भयो ।

एकै घानमा लाखौंलाई जलाएर जसले दोस्रो विश्वयुद्ध समाप्त गराए( ती थिए— जे रोबर्ट ओपनहाइमर (सन् १९०४–१९६७) । त्यो अमेरिकी मिसनको मुली ।
एटमबमले हिरोसिमा र नागासाकी खरानी बनायो । आकाशमा बारुदको बादल मडारिरहको थियो । एटम बमका पिता जे रोबर्ट ओपनहाइमरले मुख खोले । गीता सम्झँदै संसारलाई सन्देश दिए, ‘म भागवद् गीताको त्यो हरफ सम्झन्छु । म संसारलाई नास गर्न सक्ने मृत्यु बनेको छु ।’

जुन वचन श्रीकृष्णले विश्वरूप देखाउँदै अर्जुनलाई भनेका थिए— कालोऽस्मि लोकक्षयकृत्प्रवृद्धो लोकान्समाहर्तुमिह प्रवृत्तः (अध्याय ११ श्लोक २५ श्रीमद्भागवद् गीता) । म संसारलाई नास गर्ने काल हुँ । सबैलाई नास गर्न यहाँ आएको छु ।
ओपेनहाइमरको बोलीलाई शब्दमा उतारेका छन् अस्ट्रियन लेखक रबर्ट जंकले । अमेरिकाको ‘द मेन्ह्याटन प्रोजेक्ट’ र ‘जर्मन एटोमिक बम प्रोजेक्ट’ का कथा र वैज्ञानिकका गाथा कोरेका छन्, उनले, ‘ब्राइटर देन थाउजेन्डस् सन्स : ए पर्सनल हिस्ट्री अफ द एटमिक साइन्सटिस्ट्’ मा ।

एउटा वैज्ञानिकको खोजको गहिराइ, सोचको गहनता र चिन्तनको आयतन कति विशाल छ ?

ओपनहावरले दुःसाध्यलाई कसरी उल्टाएर साध्य बनाए ? दुःसाहसलाई साहसमा कसरी उल्था गरे ? के थियो यसको सूत्र ? किन त्यतिबेला उनले गीताको त्यो श्लोक सम्झिए ? किन जोडे त्यहाँ महाभारत र गीता ? ती महान् वैज्ञानिक, जसले संसार दग्ध गर्ने सामर्थ्य प्राप्त गरे— अर्जुन र कर्णजस्तै ! श्रीकृष्णको उद्घोषकै उच्चारण किन गरे ? के यी प्रश्नले अर्को एउटा मूल प्रश्न जन्माउँदैन— के यी सबै प्रश्न वैदिक–ज्ञान र विज्ञानको सम्बन्धको सेतु बन्न सक्दैनन् ?

अनुमान लगाउनु, प्रस्ट हुनु वा नहुनु स्वयंमा निर्भर हुन्छ । तर के उनको स्वीकारोक्तिले जन्माएका यी प्रश्नले प्रस्ट हुन सहयोग गर्दैन ?

‘एटम बमका पिता’ ओपनहाइमरले गीता(, महाभारत र वेद–उपनिषद् पनि पढेका थिए । उनले ती पूर्वीय दर्शनशास्त्रमा भएका ज्ञानसँगै कृष्ण, कर्ण र अर्जुन पनि पढेको थिए । कर्णको भार्गवास्त्र र अर्जुनको ब्रह्मास्त्र पनि पढेका थिए । प्राचीन पूर्वका बुद्धि र ज्ञानका शास्त्र र सागरभित्र पनि डुबेका थिए । नत्र ती अस्त्रको स्वामी बन्ने थिएनन्, जुन महाभारत कल्पित अर्जुन र कर्णको अस्त्रजस्तै अजेय छन् । े

ओपनहाइमरका अभिव्यक्तिलाई सूक्ष्म अध्ययन गर्दा यो पनि स्पष्ट हुन सक्छ— एटम बमको खोजको स्रोत गीता र महाभारत हो— दिव्यास्त्र र भार्गवास्त्र हो । नत्र फेरी पनि प्रश्न उठ्छ— किन गए त संस्कृत सिक्न युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्क्ली ?
अर्को गीता लेखे युनिर्सिटी अफ म्यासेच्युसेट्स्का प्रोफेसर जेम्स ए हाजियाले– ‘द गीता अफ जे रबर्ट अपनहाइमर ।’ पूर्वीय दर्शनशास्त्रका प्रोफसर अर्थर राइडरसँग सन् १९३३ मा उनले मूलभाषा (संस्कृत) मा गीता पढेको प्रमाण बोकेर बसेको छ, हालियाको यो किताब ।

उस्तै लाग्छ तर बुद्धि र ज्ञानको स्थान आ–आफ्नो ठाउँमा अग्रणी छ । बुद्धिको स्थान ज्ञानले लिन सक्दैन । न ज्ञानको स्थान बुद्धिले लिन सक्छ । सम्बन्ध कुखुरा र अण्डाजस्तै— बुद्धिको बीज ज्ञान हो कि ज्ञानको बीज बुद्धि ? एटम बमका आविष्कारको त्यो ज्ञान र बुद्धिको ‘बीज’ के हो ?

उही ‘द गीता अफ जे रबर्ट अपनहाइमर’ मा एउटा लाईन यस्तो छ, ‘बम बनाउने उनको संकल्पलाई दृढ बनाउन ओपनहाइमले गीताको सहारा लिए ।’ प्रोफेरसर हाजियाको यो लाइनले के संकेत गर्छ ?

वाँण अर्थात् अस्त्रलाई मिसाइल र धनुष अर्थात् शस्त्रलाई लन्चरका विम्बका रूपमा बुझ्न सकिन्छ । विज्ञानले त्यही विम्बज्ञानको प्रयोग गरेन भन्ने ठोकुवा पनि गर्न सकिँदैन ।

स्टिफन थमसन अक्सफोर्ड युनिभर्सिटीका वेदान्त लिट्रेचरका प्रोफेसर हुन् । उनी थप्छन्, ‘उनको कामले बोध गराउँछ, पूर्वीय दर्शनमा ओपनहइमरको रुचि साउन्डबाइटभन्दा धेरै बढी थियो ।’

वैज्ञानिकहरू आध्यात्मिक र धार्मिक हुन्छन् । आध्यात्म र धर्म भनेको घन्टी बजाउनु र भजन गाउनु हैन । विज्ञानलाई फिलोसफी नै भनिन्थ्योरू नेचुरल फिलोसफी । आध्यात्मकै एउटा ‘टर्म’ हो, दर्शन अर्थात् फिलोसफी । त्यसैलाई तत्त्वज्ञानका रूपमा बुझिन्छ ।

ब्रिटिस तत्त्वज्ञानी विलियम ह्विवेल (सन् १७९४–१८६६) हुन् त्यो शब्द ‘क्वाइन’ गर्ने । सन् १८३३ मा जुन शब्दलाई उनले ‘सासन्स’ भन्दिए । त्यसैलाई हामी विज्ञान भन्छौं । ‘विज्ञान’ शब्दको किस्सा रमाइलो छ । उनी शब्दका आविष्कारक पनि थिए र कवि पनि । एक कवि मित्रले नै ह्विहेललाई ‘विज्ञान’ शब्दको आविष्कार गर्न वाध्य बनाए । कवि स्यामुअल टी कुलरिज, जसले ‘नेचुरल फिलोसफी’ को ठाउँमा नयाँ शब्द खोज्न ‘च्यालेन्ज’ गरेका थिए ।

ज्ञानलाई प्रयोग गरियो भने त्यो विज्ञान हुन्छ । सजिलो गरी बुझ्नका लागि विज्ञानले प्रमाण खोज्छ, ज्ञानले तर्क । बुद्धिले तिनलाई अगाडि बढाउँछ ।

विज्ञानका विशेषण हुन् अल्बर्ट आइन्स्टाइन (सन् १८७९–१९५५) । केहीले उनै अमेरिकी वैज्ञानिक ओपनहाइमरलाई देखाए पनि एटम बमका पिताका स्थानमा आइन्स्टाइनलाई नै राखिन्छ । आइन्स्टाइनले आग्रह मात्र गरेनन्, नाजी जर्मनीभन्दा पछि परे अमेरिका ध्वस्त हुन सक्ने चेतावनी पनि दिए । एडल्फ हिटलर पनि आणविक हतियारको खोजीमा जुटेका थिए । शरणार्थी ‘स्ट्याटस’ मा अमेरिकी नागरिक बनेका आइन्सटाइनले चेतावनी नदिएको भए सायद अमेरिका पहिलो ‘एटोमिक पावर’ राष्ट्र हुने थिएन । अमेरिकाको नापनक्सा पनि फरक हुन सक्थ्यो ।

उनै आइन्स्टाइन, जसले एउटा इक्वेसन निर्माण गरे— ई इक्वेएल एम सी टू । भौतिक विज्ञानमा नयाँ युग सुरु भयो । परमाणुको त्यही शक्ति (एटोमिक पावर) प्रयोग गरेर एटम बम बनाइयो । अणु–परमाणुमा शक्ति छ भन्ने कुरा साबित भयो ।
आइन्स्टाइन, जसले जीवनभर भौतिक संसारलाई खोतले, उत्खनन गरे । हामी उनको एउटा पाटोलाई खोतलौं । उनको सोच र खोजको एउटा भागलाई उत्खनन गरौं । अणु–परमाणुमा शक्ति छ भन्ने खोजलाई आइन्स्टाइनले साध्य बनाए तर के त्यो नयाँ थियो ? अवश्य नयाँ थियो तर तिनका लागि झन् नयाँ भयो जति बाँकी संसारले नयाँ ठानेको थियो ।

आइन्सटाइन इराकै हुन् ब्रिटिस दर्शनशास्त्री एल्डुस् हस्ली, स्विट्जरल्यान्डका मनोविज्ञ कार्ल युंग, जर्मन कवि हर्मन ह्यास, जर्मनकै मानवतावादी दर्शनशास्त्री अल्बर्ट स्वेचर, नोबेल विजेता अमेरिकी कवि टीए एलिएट र स्वयं ओपनहाइमर । यी सबैले वेद(–उपनिषद् र गीताजस्ता संस्कृत साहित्य(–दर्शनको गहिरो अध्ययन गरेका थिए । प्राचीन पूर्वको जुन ज्ञानले कणकणमा ईश्वरको उपस्थितिलाई दर्साएको छ, आइस्टाइनको खोजले त्यसलाई प्रमाणित मात्र गरेन, त्यो विश्वासमाथि नयाँ विश्वास थपिदियो ।

यहाँनेर आइन्स्टाइनले ईश्वरलाई ‘इनर्जी’ को ‘सिम्बल’ मानेर परमाणुमा शक्ति खोजेको संकेत भेट्न सकिन्छ कि सकिँदैन ? यो प्रश्न गतल हुन सक्छ तर हुँदै होइन भन्ने ठोकुवा झन् गलत हुन सक्छ ।

अथर सोपेनहावरको दर्शनमा विश्वास गर्ने आइन्स्टाइनले यो पनि भनेका छन्, ‘दशर्नज्ञान र विज्ञान एकअर्कामा निर्भर छन् ।’ । गीता र उपनिषद्का उपाशक थिए— प्रसिद्ध जर्मन दर्शनशास्त्री सोपेनहावर । संस्कृत–दर्शन परम्परामा जर्मन बुद्धि विकसित भएको यथार्थसामु त्यही जर्मनीमा जन्मिएका आइन्स्टाइन संस्कृतसँग ज्ञान नजिक थिएनन् भनेर पत्याउन सजिलो छैन ।

तर के थियो त्यो, जुन जानेर सबै कुरा थाहा हुन सक्छ ? वास्तवमा आइन्स्टाइनको खोजको स्रोत र संकेत के थियो ? । विज्नेस इनसाइडरले एउटा प्रश्न उठाउँदै बहस पनि चलाएको छ, ‘किन महाभारत र वेदले आज पनि आधुनिक हतियार र युद्धविज्ञानलाई प्रभावित पार्छन् ?’

एटम अर्थात् कण, अणु–परामणु अथवा विन्दुको पनि विन्दु । जुन अणु–परमाणुमा आइन्स्टाइनले ‘इनर्जी’ भेटे, त्यही अणु–परमाणुदेखि ब्रह्माण्ड र ब्रह्मसम्मका कुरा प्राचीन पूर्वका दर्शनशास्त्रमा किन लेखियो ? पूर्वका पुराना ज्ञानले आधुनिक विज्ञानको आविष्कारलाई संकेत गर्छ कि गर्दैन ?

महाभारतको वाई–प्रडक्ट हो गीता । महाभारत मिथ हो भन्ने कुरामा अझै मलाई विश्वास छ । तर, महाभारत र गीतामा कुँदिएका दर्शन–ज्ञान–विज्ञान–बुद्धि र विवेकको खोपीबाट म आफूलाई बाहिर निकाल्न सक्दिनँ । जसरी क्वान्टम सिद्धान्तका एक सिद्धान्तकार अर्विन स्रोडिन्जर सक्दैनन् ।

द न्युयोर्क टाइम्स (७ जनवरी १९९०) ले क्वान्टम मेकानिक्स शीर्षकमा लेखेको छ– अर्विन स्रोडिन्जरको जीवनमा दुई प्रमुख स्थिर विचार थिए— वेदान्त र यौनको पूर्वीय दर्शन । द टेलिग्राफले पनि उनका शब्दलाई न्यारेट गरेको छ, ‘वैदिक दर्शनले ऊर्जाको रूपमा रेहको पदार्थको पहिचान गरेको छ ।’ नोबेल विजेता यी अस्ट्रियन भौतिक विज्ञानी पनि अथर सोपेनहावरका सच्चा प्रशंसक थिए ।

युनिभर्सिटी अफ क्यालिफोर्निया अंग्रेजीको प्रोफेसर थिए— एकनाथ ईश्वरन । भारतीय मूलका यी अमेरिकी लेखक ठोकुवा गर्छन्, ‘आइन्स्टाइनको खोज हिन्दु ग्रन्थमा भएको विषय हो ।’ एक तहमा आध्यात्मिक गुरुका रूपमा पनि आफ्नो परिचय बनाएका ईश्वरनले धम्मपद, भागवद्गीता र उपनिषद्लाई अंग्रेजीमा उल्था गरेका छन् ।
‘गीता मेरो प्रेरणाको मुख्य स्रोत हो, वैज्ञानिक अनुसन्धानको उद्देश्य र मेरा सिद्धान्तहरूको गठनका लागि मार्गनिर्देशक पनि ।’ अल्बर्ट आइन्स्टाइनको भनाइका रूपमा ‘ए वर्ड अफ गड–भागवद् गीता’ र ‘गिल्म्पसेस अफ हिन्दु जिनियस्’ किताबमा बोल्ड अक्षरमा छापिएका छन् । तर, भारतीय लेखक अजय गुप्ता र रवि कुमारका यी किताब ‘फेब्रिकेटेड’ हुन् भन्ने बलिया खण्डन पनि त्यति नै भेटिन्छन् । धेरै छन् यस्ता ।
यथार्थतः बुद्धको ‘अनैतिक व्यापार’ गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीदेखि कतिपय भारतीय लेखक र वैज्ञानिकहरूको ‘इन्डो–सेन्ट्रिक’ अनुहार सबैसामु छ । विश्वास गर्नुअघि स्टिफन हकिन्सले हिन्दु ग्रन्थका बारेमा बोलेको कुरालाई प्रमाणित गर्न नसक्दा इन्डियन साइन्स कंग्रेसको समेत बेस्सरी आलोचना भएको थयार्थलाई पनि बिर्सनुहुँदैन ।

सबै विश्वासयोग्य छैनन् । खप्पिस छन् भारतीयहरू– प्रोपोगान्डा, मिथ र सुपरस्टिसनलाई बजारीकरण गर्न । पूर्वमा ज्ञान छ, पश्चिममा विज्ञान ! तर, आज हामीसँग न ज्ञान छ, न विज्ञान ! हामी कति आधुनिक र सभ्य भयौं— योग्यताबिनाको हाम्रो सभ्यता ? 



स्रोत:-  पुस १९, २०७६ कान्तिपुर कोसेलीमा प्रकाशित ।

No comments:

Post a Comment