30.1.22

पुर्विय दर्शनका विभिन्न पक्षमा खोजमुलक आलेखहरुको संग्रह:- गोविन्द शरणका फेसबुक सामाग्री

गोविन्द शरण :- वरुण देव वेदमा वरुणका विषयमा प्रशस्त चर्चा गरिएको छ | वरुण जलका स्वामी हुन् र गोहीको सवारी गर्छन् | सूर्यपछि सबैभन्दा बढी वरुणदेवको चर्चा छ | जीवनको लागि जल अर्थात् पानीको कति बढी महत्व हुन्छ भन्ने तत्थ्य मैले भन्न पर्दैन | विश्वको ७२% भाग पानीले भरिएको छ भने मानव शरीरमा समेत ७३% पानी व्याप्त छ |

जल अर्थात् बरुण सबैका हुन् | विश्वका प्राणी मात्रले पानीको प्रयोग गर्छन् | विना पानी बाँच्न सक्दैनन् | वैदिक ऋषिहरूले पानीको एस्तो वैश्विक स्वरूपलाई वरुणका रूपमा पहिचान गरेर प्राणीमात्रले सम्मान गर्नु पर्ने रीत बसाले | तर मान्छेले आधुनिकताको अन्धो दौडमा ऋषिमुनिहरूको यो दृष्टिकोणलाई ओझेलमा पारिदिए | जल हिन्दू, मुस्लिम, इसाई नास्तिक केही हुँदैन | जल केवल जल हुन्छ र उसले सबैको जीवन रक्षा गर्छ | पानी प्राचीन, वर्तमान र आधुनिक पनि हुँदैन, वरुण रोकिए सबै रोकिन्छ - स्तम्भनमसि वरुणम् |

मन्त्रद्रष्टा ऋषिहरूले पानीको महत्वलाई बुझेर नदी, तलाउ, इनार, झरना तथा समुद्र सबैलाई पूजनीय बनाए | तर हामी विकसित भएका मानिसले पानीजन्य श्रोतहरूको कस्तो दुर्दशा गरेका छौँ, सबैले अनुभव गरेका छौँ, देखेका छौं र भोगिरहेका छौँ |

सभ्यताहरू नदीका किनारामा विकसित भए | वैदिकहरूले यिनै सभ्यताका आधारहरूलाई भविष्यका (अहिलेका) मान्छेको अत्याचारबाट जोगाउन देव-देवीकृत गरे | पूजाआजा, आराधना तथा साधनाका रूपमा जोडे | धार्मिकतासंग आराधना जोडेर नदीहरूलाई अमर बनाउने प्रयत्न गरे | धेरै पर जानु पर्दैन केवल ५० वर्ष अघिको बाग्मतीले पिउने पानी लिएर बग्थिन् | अहिलेका हामी तथाकथित आधुनिक र विकसित मान्छेले बागमती, रूद्रमति, विष्णुमति, गोदावरीआदि नदीहरूको कस्तो दुर्दशा गरेका छौँ, हामीलाई थाहा छ |

हामी ढोगी छौँ किनभने एकातिर उपरोक्त नदीहरू प्रदूषित गरेका छौँ अर्कोतिर तिनै प्रदूषित नदीहरूमा गएर आडम्बर पूर्वक श्रद्धा गर्न पनि छोडेका छैनौं | सबैभन्दा उदेकलाग्दो कुरा के हो भने धार्मिकतामा आडम्बर फैलिएको छ, धार्मिकता आडम्वर बनेको छ | तर यसमा धर्म र धार्मिकतालाई दोष दिन मिल्दैन | मान्छेको लोभ नै यी सबैको कारण हो र लोभी बनाउने आधुनिकता हो जसले मान्छेलाई व्यक्तिगत स्वार्थमा केन्द्रीत बनाउँछ |

विकास रोकिंदैन तर यदि वरुणदेवको प्राकृतिक अवस्था सङ्कुचित भयो भने मान्छेको अस्तित्व नै रहन्न | मान्छेको अस्तित्व संगै सम्पूर्ण पृथ्वीनै जर्जर हुने छन् | तेसैले, हामी सबै मिलेर बरुणदेवको वास्तविक सम्मान गरौँ अर्थात् पर्यावरणको प्रकृतिलाई सम्मान गरौँ ।

बटुकसंग गाँसिएका दूई संस्कृति

ब्राह्मणको निन्दा गर्न सजिलो छ तर बाल्यकालदेखि वेदको अभ्यास गरेर ब्राह्मण बन्न सजिलो छैन | बटुकहरूले टुप्पी बाँधेर वेदहरू घोकेर वैदिक संस्कृतिलाई निरन्तरता प्रदान गरेका थिए | अहिले पो छापाहरू आए ! संस्कृत बाग्मयको विशाल भण्डारलाई घोकेर जोगाउने यी ब्राह्मणहरूप्रति सभ्यता सधैं ऋणी रहनुपर्छ |

बौद्धहरूको निन्दा गर्न सजिलो छ तर बाल्यकालदेखि नै श्रमण संस्कृतिको पालन गरेर बौद्ध बन्न सजिलो छैन | विशाल साहित्यमा फैलिएको बौद्ध धर्मलाई यस्तै बटुक सन्यासीहरूले घोकेर जोगाए | आजको बौद्धधर्मले यी निर्दोष श्रमणहरूलाई धन्यवाद दिनुपर्छ |

उस्तै गुरुपरम्परा, उस्तै तपस्यापूर्ण जीवन पद्धति, उस्तै भाषा, उस्तै वेशभुषा, उस्तै घोक्ने र गुरूहरूबाट सिक्ने परम्परा, यही भूमि, उही नदी, उही हिमाल, तराई र पहाडहरू ! वैदिक, बौद्ध र जैनहरूलाई अलग्याउनेहरू पक्कै पनि नेपाली चेतनाभएका प्राणी होइनन् | यो तत्थ्य बुझ्नेहरू असली मित्र हुन् | यो कुरा नबुझ्नेहरू बुझ्नयोग्य छन् तर बुझेर पनि बौद्ध र हिन्दूलाई अलगअलग ठान्नेहरू विखण्डनवादी हुन् |

एउटा बटुकले सानो उकेर देखिनै गुरुबाट वेदहरूको अध्यायन आरम्भ गरेर वैदिक संस्कृतिको संवाहक बन्ने सङ्कल्प लिन्छ भने अर्को बटुकले बाल्यकाल देखिनै त्रिपिटकहरूको व्याबहारिक अध्ययन गरेर बौद्ध धर्म-संस्कृतिको निरन्तरता सुनिश्चित गर्छ | हिन्दू र बौद्ध फरक अवश्य छन् तर यो पार्थक्य मनको होइन चिन्तनको हो | जगत र आफुबिचको सम्वन्धको बुझाई फरक हो | पार्थक्यमा एकता देख्नेहरू ब्राह्मण वा श्रमण हुन् | पर्थ्यक्यमा भिन्नतामात्र देख्नेहरू नेपाली समाजका मूसा हुन् |

सनातनीले बौद्धसंग शास्त्रार्थ गरे, बौद्धहरूले सनातनीसंग शास्त्रार्थ गरे | यस्तो शास्त्रार्थ हारजितका लागि होइन सांस्कृतिक निरन्तरताका लागि थियो | आज सनातनी र बौद्ध दुवै गौरवका साथ आ--आफ्नो संस्कार अनुशरण गरिरहेका छन् | बौद्धले सनातनीका मन्दिर तोडेनन्, सनातनीले बौद्धक चैत्य, विहार र गुम्वाहरू भत्काएनन् | नेपाली समाजको हित चाहनेहरूले चैत्यचैत्यमा संगै पुजिने गणपति, सरस्वती भैरबको दर्शन गर्छन्, शाक्य कुमारीलाई वैदिकहरूले आराधना गरेको देख्छन् | वैदिकहरूले सिङ्गो बुद्धलाई विष्णुको अवतारका रुपमा आराधना गरेको देख्छन् तर राजनैतिक पूर्वाग्रह र रिलिजनको साँगुरो परिभाषामा आफ्नो र परायाको परिभाषा खोज्ने विखण्डनकारीहरूका लागि बुद्ध र विष्णुसंगै आएर एकताको संदेश दिए पनि स्वीकार्य हुनेछैन |

पाश्चात्य (एकेश्वरवादी) दृष्टिकोणले हेर्दा यी दूई बटुकले लगाएको लुगा, पढ्ने पुस्तक, पढाउने गुरू, सिक्ने विषयवस्तु तथा परिवेशका आधारमा केवल भिन्नता दृष्टिगत होला तर पौरस्त्य (वैदिक) दृष्टिकोणले हेर्दा र बुझ्दा फरक पुस्तक भए पनि अक्षर, पढ्ने र बुझ्ने, खाने, कर्मगर्ने सबै प्रक्रिया एकै छन् | दुवै बटुक हुन्, दूवै विद्यार्थी हुन्, दुवै धर्मला विनम्र साधक हुन्, दूवैले धर्म-संस्कृतिको प्रतिनिधित्व गरिरहेका छन् | एउटा धागोमा उनिएका हरेक फूलको नाम "माला" नै हुन्छ | धर्मको नजरियाले हेर्दा हामी एकै घरका दुई सन्तान हौँ तर रिलिजनको नजरियाले हेर्दा हामी एकैघरका विरोधी सन्तान हौँ | फूलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडा संसार" |

दूवै संस्कृतिहरू नेपालका पुर्ख्यौली हुन् | एक अर्काकाका पूरक हुन् | संस्कृत भाषा नै दूवै संस्कृतिका आधार हुन् | दुवै गुरूशिष्य परम्परामा आश्रित छ र दुवैको अन्तिम लक्ष मोक्ष वा महानिर्वाण हो | यी दूवै महान् संस्कृतिहरू गुरुशिष्य परम्परामा आधारित छन् र दुवै संस्कृतिको शिक्षण, दीक्षण र प्रशिक्षणका प्रारम्भविन्दू यी बटुकहरूलाई नमन गरौँ |

भगवद् गीतामा जलको महत्व

अन्नाद्भवन्ति भूतानि पर्जन्यादन्नसम्भवः।

यज्ञाद्भवति पर्जन्यो यज्ञः कर्मसमुद्भवः।।3.14

सम्पूर्ण प्राणी अन्नबाट उत्पन्न (जीवित रहन्छन्) हुन्छन् | वर्षाबाट अन्न प्राप्त हुन्छ | यज्ञबाट पानी निर्मित हुन्छ | वैदिक कर्मले यज्ञ उत्पन्न हुन्छन् |

हरेक प्राणीका लागि उसले प्राकृतिक रूपले जीवन यापनका लागि खाने बस्तु अन्न हुन्छ | मान्छेका लागि धान, गहुँ, कोदो, फलफुल इत्यादि, चराचुरुंगीक लागि फलफुल, धान, गहुँका गेडा र कीरा फट्यांग्रा, बाघका लागि जनावर, माछाका लागि अर्को माछाआदि | हरेक प्राणीको प्राण उसको अन्नमा आश्रित छ | केही अपवादहरू वाहेक प्राणी जगत भोजन तथा पानीमा आश्रित छ |

सबै प्रकारका अन्नहरूको उत्पत्ति पानीबाट हुन्छ | पानीको अभावमा प्राणी र बनस्पति जगत केही जीवित रहन सक्दैन | हामी प्राणीको शरीरमा समेत ७२% पानी नै छ | पानीले अन्नको उत्पत्ति हुन्छ भन्नुको अर्थ हो - हरेक प्राणीले जल, जलाशय र नदीहरूको आफ्नै शरीरसरह सुरक्षा गर्नुपर्छ |

विज्ञानले प्रगति नगर्दा पनि सूर्यका किरणहरूले पानी सुकाएर वादल बनाउँछ भन्ने ज्ञान ऋषिमुनिहरूलाई थियो | अग्निमा गरिने हवन वास्पिकरणको प्रतिनिधि प्रक्रिया हो | यो कर्मकाण्ड यज्ञ हो | जीवनका हरेक कर्महरू यज्ञ नै हुन् | कर्म गर्दा पानी जल्छ | परिश्रम गर्दा पसीना बग्छ | यही यज्ञको प्रक्रिया हो |

ऋषिमुनिहरूले मात्र होइन सम्पूर्ण देवीदेवताहरू यज्ञका आश्रित छन् अर्थात् कर्मन्य छन् | आकर्मन्य व्यक्ति वा समाजले यज्ञलाई "सेक्रीफाइस" अर्थात् त्याग वा हिंसाका रूपमा लिन्छ | गीताले जीवन यज्ञको कुरा गर्छ | शास्त्रीय यज्ञहरूका माध्यमले मोक्षयज्ञको बाटो निर्धारित गर्छ |

 

बाहुनलाई सबैभन्दा बढी दण्ड किन ?

अपराधको (चोरी) दण्ड दिंदा राजाले यदि शूद्र हो भने उसले चोरेको सामानको ८ गुणा, क्षत्री छ भने १६ गुणा, वैश्य छ भने ६४ गुणा र यदि त्यो चोर ब्राह्मण हो भने १२८ गुणा दण्ड दिनुपर्छ र पाप पनि यही रीतले लाग्छ | (मनुस्मृति ८/३३३-३३८) अर्थात् ब्राह्मण हुनु सजिलो छैन | ब्राह्मणले अपराध गर्ने हुँदैन | ब्राह्मणले अपराध गरेमा उसले अन्य सर्वसाधारण भन्दा १२८ गुणा बढी दण्ड पाउनु पर्छ किनभने ब्राह्मण असल आचरणको जीवित प्रतिमान (role model) भएको हुँदा उ क्षमायोग्य हुँदैन |

 

शास्त्रहरूले जन्म र कर्म दूवै आधारमा ब्राह्मणको ब्रह्मत्व तोकेको छ | जन्मका आधारमा होस् वा कर्मका आधारमा ब्राह्मणत्व प्राप्त भएपछि सदाचारको मूर्ति हुन आवश्यक शर्त हो | शास्त्रले तोकिदिएका सदाचार पालन गर्न नसक्ने व्यक्ति जन्मका आधारमा होस् अव कर्मका आधारमा ब्राह्मण रहन सक्दैन | ब्राह्मणलाई शास्त्रले जतिधेरै सम्मान, आदर र उच्चस्थानमा राखेका छन् त्यो साच्चिकै डाहा लाग्दो छ | सम्पूर्ण वैदिक साहित्यमा गौ र ब्राह्मणको जस्तो सम्मान ईश्वरकको पनि छैन | तेसैले इतिहासमा धेरै तपस्या गरेर भए पनि ब्राह्मणपद प्राप्त गर्न चाहनेहरू थुप्रै छन् | आफ्नो तपोवलका कारण शुद्र, वैश्य, क्षत्री तिनै वर्णमा जन्मेकाहरूले ब्राह्मणपद प्राप्त गरेका छन् |

जसले संस्कृतमा लेखिएका संस्कारग्रन्थहरू बुझ्दछन्, उनले जानेका छन् कि तीखो खुकुरीको धारमा हिड्नु सजिलो छ तर ब्राह्मणत्व स्थिर राख्नु सजिलो छैन | मनुस्मृति, याग्यबल्क्य स्मृति, नारद स्मृति तथा पराशर स्मृतिजस्ता ग्रन्थहरूले एउटा ब्राह्मणको लागि जुन सदाचारक सीमाहरू तोकेका छन्, त्यो सीमा नाघ्ने कुनै पनि व्यक्ति ब्राह्मण रहन सक्दैन | एउटा ब्राह्मणबालकको तपस्या ८ वर्षको (ब्रतवन्ध) पछि तुरुत्न आरम्भ हुन्छ | न्यायो आमाबुवाको काख छोडेर जङ्गलवासी आचार्यको इच्छामा आफुलाई समर्पण गर्नुपर्छ | सुखसुविधाहरूको कुरा छोडौं भिक्षा मांगेर ल्याएको अन्न पनि गुरूआज्ञा वाहेक खान मिल्दैन | प्रसिद्ध वैदिक ऋषि उपमन्युको जीवन गाथा पढेकाहरूले ब्रहमचारी बटुकहरूको ब्राहमण बन्ने कठोर साधना बुझेका होलान् | दिनहुँ ब्रह्म-मुहुर्त (विहान ३:३० देखि ४:३०) उठेर स्नानध्यान, तेसपछि सन्ध्या, तेसपछि वेदाध्ययन, तेसपछि एउटा लंगौटी, एउटा दण्ड, एउटा मृगचर्म वा कुसको गुन्द्री हातमा लिएर भिक्षापात्र बोकेर केवल ७ घरबाट प्राप्त भिक्षा पनि गुरूको आज्ञाले प्रयोग गर्न पाइने तपस्या - यदि कसैले ब्राह्मण बन्ने प्रक्रिया जान्न चाहनुहुन्छ भने भागवतको सातौं स्कन्ध पढ्दा हुन्छ वा मनुस्मृतिको पाँचौं अध्याय पढ्नुपर्छ |

विद्याध्यनपछि गुरुको आज्ञाले विवाह गरेर पनि ब्राह्मणले आफ्नो जीवनयापन गर्न केवल सिलोच्छवृत्ति (कृषकले धान, गहुँआदि अन्न घर लागि सकेपछि प्राकृतिक रूपमा छुटेको अन्न) मा जीवन धान्नु पर्ने बाध्यता छ | तर अन्य जातजातिसरह सम्पूर्ण गृहस्थ धर्मका नियमहरू पालन गर्नैपर्छ अर्थात् दान, अतिथिसेवा, पर्वआदिका नियमहरु) पालन गर्नैपर्छ | गृहस्थिका रूपमा ब्राह्मणलाई सेवाकार्यबाट अवकाश छैन |

 

ब्राह्मणहरूको सर्वोच्चता उसको कर्तव्यपालन, सदाचार, उच्चतरको साधना तथा विद्याध्यनसंग जोडिएको छ | यदि कुनै ब्राह्मण शास्त्रले तोकेका नियमहरू पालन गर्न सक्दैन वा तोकिएको कर्म त्यागेर अर्को कर्म अलम्बन गर्छ भने त्यो पापकर्म वा ब्राह्मणत्वबाट च्युत भएको मानिन्छ | जव कुनै ब्राह्मणले अपराध गर्छ, शास्त्रहरूले निजब्राह्मणका लागि अन्यका तुलनामा १२८ गुणा दण्डसजायको व्यबस्था गरेका छन् | तेसैले ब्राह्मणलाई "गल्ति गर्ने वा अपराध गर्ने" छूटछैन |

जव म शास्त्रहरू पढ्नु र अहिलेका बाहुनहरूको कर्महरू विचार गर्छु, बाहुनको रूपमा यदि कुनै समाजले गालीगलौज गर्छ भने कर्मले आर्जित गरेका हौँ भन्ने ठान्छु | जन्मले आफुलाई ब्राह्मण भएको गौरव तेसले मात्र गर्न सक्छ जसले शास्त्रीय सदाचार र मर्यादाको पालन गरिरहेको होस् | यद्यपि जातका रूपमा ब्राहमणहरूलाई कसैले गालीगलौज गर्छ भने जातलाई पहिचान बनाउनेहरूले पनि एस्तो गालीगलौजमा भागिदारी प्राप्त गरिरहेका हुन्छन् | कर्तव्यबाट च्युत भएका ब्राह्मण र शूद्रका बीचमा कुनै फरक हुँदैन भनेर शास्त्रहरूले हजारौं ठाउँमा बोलिरहेका छन् |

मलाई लाग्छ, आजको मुद्दा ब्राह्मण, क्षत्री, वैश्य वा शूद्रको होइन | मुद्दा छुवाछुतमा आधारित सामाजिक, सांस्कृतिक चलनचल्तीको हो | यदि समाजबाट छूवाछुत निर्मूल हुन्छ भने जातिगत रूपमा ब्राह्मण, क्षत्री, वैश्य वा शूद्रसंग कसैको गुनासो रहने छैन | तर छुवाछुतका लागि केवल ब्राह्मणहरूलाई दोष दिनु भनेको अर्को छुवाछुतवादी समाजको स्थापनाको आन्दोलन आरम्भ गर्नुसरह हो | एउटा कमसल कुरा समाप्त पार्न अर्को कमसल कुराले सघाउँदैन |

आजको वास्तविकता के हो भने जातले ब्राह्मणहरू (केही सदाचारी साधक ब्राह्मण बाहेक) अधिकांश शास्त्रीय सदाचारलाई "अन्धविश्वास" ठान्छन् | अन्य कुरा त छोडौं गायत्री मन्त्र समेत शुद्ध पढ्न धौधौ पर्छ | शास्त्रले ब्राह्मणका लागि "हुँदैन" भनेका वस्तुहरू र क्रियाकलापहरू जीवनका अंग बनेका छन् | ब्राह्मण कर्मका नाममा एकरत्ति पनि सदाचारको पालन नगर्ने तर जातीय रूपमा माथिल्लो जात भएको दम्भ गर्नेहरूको कर्मले पतित भैसकेका छन् | आज पनि ब्रह्मतेज र सदाचारले युक्त ब्राह्मण (जाति होस् वा कर्मका कारणले ब्राह्मण होस्) समाजले सम्मान गरेकै छ | शास्त्र निषेध गरेको कर्म गर्नेहरू पापी हुन् र जुन पापी छन् ती सबै शूद्र हुन् |

सदाचारी ब्राह्मणले ब्रह्मकर्म गर्छ किनभने उसको त्यो कर्तव्य हो |

ब्राह्मणत्व प्राप्त भैसकेपछि विश्वनै ब्रह्ममय हुन्छ | एस्तो अवस्थामा छुवाछुत, जात, पन्थ, सम्प्रदायहरू स्वत: गौण हुन्छन् | कुनै पनि व्यक्ति जन्मजात पापी हुँदैन | आफ्नो पापकर्मले शूद्रत्व प्राप्ति हुन्छ र सदाचार तथा साधनाले ब्राह्मणत्व प्राप्ति हुन्छ | यदि कसैले ब्राह्मणलाई केवल कुन्ठा पोख्न गालीगलौज गर्छ भने त्यो गालीगलौजको पापले उसको शुद्रत्व अझैं प्रगाढ हुन्छ | सदाचारले ब्रह्मत्व र दुराचारले शूद्रत्वको अभिप्राप्ति हुन्छ | समस्या जातजाति वा ब्राह्मण, क्षत्री, वैश्य तथा शूद्र होइन समस्या छुवाछुत हो | विश्वलाई आत्मवात् सम्मान गरौँ, सदाचारी जीवन अपनाऔं | श्रद्धाको पात्र बनिन्छ।

सृष्टि सुरुवात कसरी ?

ऋग्वेदको हिरण्यगर्भ, नाशदीय र पुरुष शुक्तहरूले विश्वको सृष्टिवारे अन्य धर्म, सम्प्रदाय भन्दा फरक व्याख्या गरेका छन् | हिरण्यगर्भबाट भगवान् विष्णु (विश्वचराचरमा व्याप्त) प्रकट हुनुभयो | उहाँको नाभीबाट कमल उत्पन्न भयो र तेस कमलमा भगवान् ब्रह्मा प्रकट हुनुभयो | वैदिक सृष्टि मीमांसाले निर्विवाद रूपमा विष्णुको नाभिबाट उत्पन्न कमलबाट ब्रह्माको उत्पत्ति स्वीकार गरेको छ | ब्रह्माले कठोर तपस्या गरेर शक्ति प्राप्त गरी सर्वप्रथम ऋषिहरू, तेसपछि देवता क्रमशः मनुष्यआदिको सृष्टि गरेका हुन् भनिएको छ |

आधुनिक बिगब्यांग सिद्धान्त मात्रै निर्विकल्प सिद्धान्त होइन भन्ने हामीले बुझेका छौँ | जसरी वैदिक चिन्तनहरू विज्ञानकातहमा अरूभन्दा बढी प्रमाणित हुँदैछन्, भविष्यमा महाविष्णुको विशाल सृष्टि पत्तो लाग्न सक्छ | भागवत होस् वा वेद महाविष्णुलाई अनन्तकोटी ब्रह्माण्डहरूको सृष्टिकर्ता भनेर तोकिएको छ | विज्ञानले हरेक ब्रह्माण्डका कणकणमा नपुगी विष्णु सृष्टिकर्ता होइन भनेर निर्णय दिन मिल्दैन |

जसरी ऋषिमुनिहरूले विष्णुलाई पानीमा साक्षात्कार गरे तेसले आधुनिक विज्ञानको सिद्धान्तको जैविक सृष्टिको आधार पानी नै हो भनेको सिद्ध गर्छ | इसाई वा मुस्लिमहरूका ईश्वरले झैं "आकाश बन, पाताल बन भनेर आज्ञा दिएरको भरमा सृष्टि भएको होइन भन्ने सिद्ध हुन्छ | अर्कोतिर, ईश्वरले माटो र खरानी लिएर मान्छेको सृष्टि गरेको हो भन्ने इसाई-मुस्लिम मान्यताका विपरित सम्पूर्ण मानव समाजको सृजना मनु तथा सतारुपाको यौनक्रियाबाट आरम्भ भएको हो" भन्ने विज्ञानसम्मत सिद्धान्तलाई पुष्टि गर्छ |

विश्वको हरेक प्राणी सूक्ष्मतहमा हिरण्य गर्भनै हो किनभने सृष्टिक्रियामा समर्थ छ | नाभी अर्थात् चिन्तनशक्तिबाट अनेकौं चिन्तनहरूको प्रवाहित हुन्छन् | असलमा, चिन्तन त्यो विवेक हो जसले शुभअशुभ, पापपुण्य, दुराचार-सदाचारआदिको निर्णय गर्न सक्छ |

ब्रह्मा सृजकतत्व हो जसले समग्रताको प्रतिनिधित्व गर्छ | शास्त्रहरूले ब्रह्मालाई आदिपिता, वेदका प्रथम साधक तथा राजोगुणका प्रतिनिधि तत्व मानेको छ भने विष्णुलाई पालकका रूपमा स्थापित गरेको छ |

योगीहरूले आफ्नो साधनामा यो प्राथमिक सृष्टिक्रियाको मणिपुर चक्रमा साक्षात्कार गर्छन् | अर्थात् प्राचीन ऋषिमुनिहरूले साधनाका माध्यमबाट समयको आरम्भ साक्षात्कार गर्ने विधि समेत स्थापित गरेका छन् | अष्टचक्रका मध्यमबाट अलौकिक शक्ति प्राप्त गरेका र मोक्ष प्राप्त गरेका अनेकौं ऋषिमुनि, तीर्थंकर तथा लामाआचार्यहरू आज पनि जीवित छन् | विनम्र साधकले गुरूकृपा र आफ्नो तपोवलले समयको यो आरम्भलाई आजका मितिमा पनि साक्षत्कार गर्न सक्छन् |

 

वैदिक सृष्टि मीमांसा : हिरण्यगर्भ के हो ?

वैदिक सृष्टि मीमांसाको चर्चा गर्दा "हिरण्यगर्भको उत्पत्ति कसरी भयो ? भनेर मित्र विद्वान Kamal Upadhaya जिज्ञासा राख्नु भएको छ | उहाँले नजानेर होइन पाठकका लागि प्रश्न गर्नुभएको हो | विद्वानहरू सधैं लोकको कल्याण चाहन्छन् |

उपनिषदहरूले ब्रह्मका चारबटा स्वरूपको चर्चा गर्छन् : अव्यक्त, प्राज्ञ तैजस र वैश्वनर | ब्रह्मको व्यक्त नभैसकेको अवस्था अव्यक्त हो | जव ब्रह्मले आफुलाई व्यक्त गर्ने इच्छा गर्छ यो अवस्था प्राज्ञ हो | ब्रह्मको यो सङ्कल्पले कालशक्तिलाई अङ्गिकार गरेर फैलिएर रहेका प्राकृतिक उपादानहरूलाई एकठाउँमा सम्मिलित हुन प्रेरित गर्छ | आधुनिक विज्ञानले एस्तो अवस्थालाई nuclear dust cloud भनेर बुझ्ने प्रयत्न गरेको छ | जव कालशक्तिले युक्त विवेकीय प्रेरणाले प्राकृतिक उपादानहरू एकठाउँमा सङ्गठित हुन्छन्, त्यो अवस्थामा ती हिरण्य अर्थात् सुनझैं चम्किलो अन्डामा रूपान्तरित हुन्छन् | अनि, एकमात्र “हिरण्यअन्डा” अस्तित्वमा देखिन्छ | आधुनिक भौतिक विज्ञानले यो अवस्थालाई “प्राकृतिक द्रव्यहरूको साधन एकीकृत अवस्था” compact position of nuclear dust particles भनेर व्याख्या गर्छ त्यो निरन्तर खुम्चिरहेको हुन्छ |

जव एस्तो महान् “हिरण्यअन्ड” निर्माण भयो तत्कालै ब्रह्मले त्यसभित्र प्रवेश गरे | हिरण्यअन्डमा ब्रह्मले (जीवशक्ति) प्रवेश गरेपछि त्यो हिरण्यगर्भ बन्यो | यसरी हिरण्यगर्भको उत्पत्ति प्राकृतिक वस्तुवाट भएको हो तर तैजसशक्तिका रूपमा ब्रह्मले तेस अन्डामा निवास गरेपछिमात्र त्यो हिरण्यगर्भ भएको हो | यहाँ, स्मरणीय के छ भने आधुनिक भौतिकशास्त्रले अनुमान गरेको “नाभकीय घनिभूत अवस्थामा”" यो पक्कै पनि सुनझैं चमकिलो रहेको हुँदो हो र ज्यादै घनिभूत भएको हुँदा प्रकाशित हुँदो हो |

आधुनिक विज्ञानका नजरियामा यो "महाविस्फोट”को पूर्वावस्था हो | वैदिक अनुसन्धाताहरूका नजरियामा यो प्रकृतिको साम्यावस्था हो | ब्रह्मको वैश्वनर (जीवशक्ति) साथ सृष्टि आरम्भ हुन्छ | आधुनिक विज्ञानले महाविस्फोटलाई सृष्टिको आरम्भ मान्छ भने वैदिक चिन्तनले प्रकृतिको साम्यावस्था भंग हुनुलाई (विकृति) सृष्टिको आरम्भ मान्छ |

एसको विस्तृत वर्णन श्रीमदभागवतको तेस्रो स्कन्धको छैठों अध्यायमा भएको छ भने दोश्रो स्कन्धको दोस्रो अध्याय पनि हेर्न सकिन्छ |

वैदिक सृष्टि मीमासा : वायुतत्व

सृष्टिका क्रममा वायुको उत्पत्ति ब्रह्माको प्राणबाट भएको हो (प्राणात्वायुरजायत) | ऋग्वेदमा वायुतत्वको ज्यादै प्रशंसा गरिएको छ | वायुतत्वलाई सर्वव्यापि, अन्तरिक्ष, स्वर्ग र पृथ्वीको राजा भनेर सम्वोधन गरिएको छ | बायु शब्दको अर्थ - अविराम गतिवाल हुन्छ | ऋग्वेदमा वायुलाई "वात” पनि भनिएको छ जसको अर्थ प्राणीहरूभित्र जताततै व्याप्त भन्ने हुन्छ | वायु देवतत्व हुन् र यिनको वाहन मृग हो | वायु मृगझैं सरल र सहज रूपमा आवागमन गर्छन् भनेर वेदले वर्णन गरेको पाइन्छ | यसैगरी उपनिषदहरूमा प्राणीहरूको आयु (भूतानामायुः) भनिएको छ | यसैगरी छान्द्ग्योपनिषदमा वायु ब्रहमको चौथो पाद हो भनेर (प्राण एव ब्रह्मणश्वतुर्थः पादः) वायुतत्वको महत्व प्रकाशित गरिएको छ |

उपरोक्त वैदिक कथनहरूले वायुतत्वको जीवनका लागि कतिधेरै महत्व छ भन्ने प्रष्ट हुन्छ | वायुका ४९ बटा सन्तानहरूलाई मरुत् भनिएको छ | दैनिक जीवनमा प्राणवायु, अपानवायु, व्यानवायु, उदानवायु र समानवायुको प्रयोग हुन्छ | ऋषिमुनिहरूले वायुतत्वको शोधन (शुद्धिकरण)को प्रावधान राखेका छन् जसमा एकान्तमा वस्दा, ध्यान गर्दा "वायुतत्व शोधयामि” भनेर वायुको शुद्धतामा ध्यान दिइन्छ | मूलत: उपरोक्त पांच प्रकारका वायुहरू फरकफरक होइन एकै वायुका विभिन्न अवस्था हुन् | ऋषिमुनिहरूले भोजन गर्नुभन्दा पहिला सर्वप्रथम शरीरभित्रका वायुहरूको शुद्धिकरण क्रिया ग्रासद्वारा निर्धारण गरेका छन् | भोजनपूर्व शरीरका बिभिन्न भागमा फैलिए रहेको वायुको शुद्धिकरणको प्रक्रिया वैदिक संस्कृतिमा वाहेक कतै भेटिन्न |

Oxygen नै जीवन वायु हो | एसको अर्थ आपानवायु र उदानवायुमा बढी प्रदूषित वायु हुन् तर केवल प्राणवायुले मात्र जीवन सम्भव हुँदैन | वैदिक ऋषिहरूले साक्षात्कार गरेको यो तत्थ्य विश्वले आज बुझ्दै छ | प्राणवायुको निरन्तर विनाशको कारण रुखहरूको विनाश हो भन्ने कुरा प्रमाणित भैसकेको छ | वरपिपल, स्वामीका रुखहरू सार्नु, ती रुखहरूको आफ्नै छोराछोरी सरह हेरविचार गर्नु र निश्चित उमेर अर्थात् उचाई पुगेपछि तिनको विधिवत विवाह गरिदिने परम्पराले प्राणवायुको संरक्षणको दिगो प्रवन्ध गरेको थियो तर आधुनिकताले अधविश्वास भनेर वहिष्कार गर्दा विश्वको वातावरण नै सङ्कटमा परेको छ |

आयुर्वेदले शरीरमा बायुतत्व विग्रंदा अनेकौं रोगहरू लाग्छन् भन्ने तत्थ्य जताजतै निर्दिष्ट गरेको छ | कफ, पित्त र वात अर्थात् वायुतत्वमा विकार हुँदा मान्छे विरामी पर्छ भन्ने आयुर्वेदको खोज आधुनिक विज्ञानले सिद्ध गरेको शुद्ध Oxygen वा Oxygen अभावमा मान्छे स्वास्थ्य रहनै सक्दैन भन्ने तत्थ्यसंग जस्ताकोतस्तै मिल्छ | एसै मेलोमा नेपाली गाउँगाउँमा वायुको थान नै बनाएर पूजा गर्ने (वायुको थान कुनै ठूलो रुख मुनि हुन्छ र तेहा दिनको समयमा पूजाआजा हुन्छ अर्थात् रुखबाट वायु प्राप्त हुन्छ र अस्वस्थ्य व्यक्तिले दिनको उज्यालोमा रुखमुनि बस्ने हो भने स्वास्थ्यलाभ हुन्छ) भन्ने विज्ञान वायुसंग जोडिएको छ | नेपाली समाजमा वायुले बाण हान्ने कुरा पनि प्रचलित छ र वायुको बाण पनि वायुपूजाबाट नै समाधान गरिने परम्परा आज पनि विद्यमान छ | यो परम्परालाई आधुनिक विज्ञानको नजरिया र प्राचीन वैदिक साक्षात्कारको दृष्टिकोण दूवै विधाबाट पुन: अनुसन्धान आवश्यक ठान्छु |

वैदिक ऋषिमुनिहरूले प्राणवायुको महत्व बुझेर नै वायुलाई देवतत्वका रूपमा आराधना गर्ने परम्परा कायम गरेका हुन् | वैदिक संस्कृतिले विकसित, पल्लवित र विस्तार गरेको वायु-चिन्तन विश्वको जरोकिलो वन्दै छ | प्राणवायुको उत्पत्ति, प्राणवायुको संरक्षण र प्राणवायुको उचित प्रयोगले मान्छे स्वास्थ्य रहन सक्छ भन्ने आधुनिक विज्ञान र वैदिक वायु-विज्ञानका विचमा भाषा र समयगत भिन्नता वाहेक सबै एकसरह छन् | अन्त्यमा, वेदले वायुतत्वको उत्त्पत्ति तोकेको छ तर आजको विज्ञानले वायु र ओजोनतहको उत्पत्ति कसरी भयो ? भनेर ज्ञात गर्न सकेको छैन |

हरेक पटक भोजन गर्नुभन्दा पहिला शुद्ध पानीले आचमन गर्दै पांचबटा स-साना गाँस खाने मन्त्र :

ॐ प्राणाय स्वाहा

ॐ अपानाय स्वाहा

ॐ व्यानाय स्वाहा

ॐ उदानाय स्वाहा

ॐ समानाय स्वाहा

वैदिक सृष्टि मीमांसा : यमराज

ऋग्वेदमा यम एउटा प्रमुख देवता हुन् जसले विश्वका प्राणीहरूको प्राण हरण गरेर मृत्यु दिन्छन् | मृत्यु जीवनको सबैभन्दा अप्रिय तर अनिवार्य सत्य हो | विश्वमा मृत्यु नहुने कुनै प्राणी छैन तर मृत्यु कसैले पनि चाहन्न | जन्म, मृत्यु जरा, व्याधि र बृद्धावस्था जीवनका अनिवार्य सत्य हुन् | असलमा, यम शब्दको शाब्दिक अर्थ "नियमन" हो जुन अष्टांगिक योगको पहिलो खुड्किला पनि हो | जसले आफुलाई नियमन गर्न सक्दैन अर्थात् भौतिक, मानसिक तथा आध्यात्मिक यममा स्थित रहन सक्दैन, तेस्तो व्यक्ति मयराजको हातमा पर्छ |

यम, धर्मराज, मृत्यु, अन्तक, वैवस्वत, काल, सर्वभूतक्षय, औदुभ्बर, दघ्न, नील, परमेष्ठी, वृकोदर, चित्र तथा चित्रगुप्त - यी चौधबटा नाम छन् | वेदमा यी सबै नाम उल्लेख छन् जसको सम्वन्ध जीवनको मृत्युसंग छ | सामान्यतया भगवान् शङ्करलाई महाकाल भनिएको छ तर दक्षिण दिशाका दिग्पालको रूपमा यमराजले नै सम्पूर्ण प्राणीहरूको प्राणलाई कर्मफल अनुसार आहरण गर्छन् |

कसको मृत्यु कसरी र कहाँ हुन्छ ? कसैले पनि जान्न सकेको छैन | प्राणी मात्र मर्छन् वा मारिन्छन् ? भन्ने सोच्नुभएको छ भने गलत हुनुहुन्छ | आत्माको मृत्यु हुँदैन | जडतत्वसंग आत्मतत्व जोदिंदा प्राणी बन्छ | जडतत्वसंगको संयोगलाई कर्मअनुसार मृत्युले तोड्ने काम गर्छन् | कालका रूपमा यमराजले जन्म र मृत्यु दुवै विभागको नेतृत्व गर्छन् भने कालतत्वझैं अजरअमर आत्मतत्वलाई यमराजले मार्न सक्दैनन् | एस्तो आत्मतत्वले जडतत्वको साथ रहंदा गरेका यम, नियमले जडतत्वसंगको संयोग र वियोग निर्धारित हुन्छ | काल, कर्म र जड-चेतनतत्वको यो संयोग र वियोगलाई बुझ्नेहरू निर्भय हुन्छन् | यिनै निर्भयहरू ऋषि, मुनि तथा आप्तपुरुष हुन्छन् | वेदका अनुसार यम आप्तपुरुष हुन् जसले विश्वलाई नियम गर्छन् |

वेदमा यमराजको निकै चर्चा गरिएको छ भने यमराजका सम्वन्धमा १४५ बटा सूक्तहरू छन् | वेदहरूमा यम स्वतन्त्र देवता हुन् तर पुराणहरूमा यमलाई सूर्य तथा छायाका सन्तान भनिएको छ | उपनिषद्हरूले यमलाई धर्मराज पनि भनिएको छ | पुराणहरूले यमराजका रूपमा पापीहरूलाई दण्डित गर्ने र धर्मराजका रूपमा पुण्यकर्म गरेका जीवलाई तिनको कर्मअनुसार शुभ फलको व्यबस्था गर्छन् | उनकी वहिनी यमुना हुन् भने रागो उनको वाहन हो |

उपनिषद्का प्रसिद्ध ऋषि उद्दालक स्वेतकेतुलाई यिनै यमले परमतत्वको उपदेश उपदेश दिएका थिए भने युधिष्ठिरलाई धर्मराजकै अवतार मानिन्छ | वैदिक प्रसंगहरूको विशेषता के हो भने यहाँ मृत्युबाट उपदेश प्राप्त गर्ने, मृत्युलाई जित्ने र मृत्युलाई आफ्नो सेवक बनाएका अनेकौं उदाहरणहरू छन् | विश्वको कुनै पनि साहित्य तथा लोककथामा एस्ता प्रसंगहरू पाइन्नन् | पतिव्रता सावित्रीले मृत्युलाई जितेर आफ्ना पति सत्यदेवको पुनर्जीवन प्राप्त गरेकी थिइन् |

मृत्युका मुखमा परेका स्वेतकेतुले यमराजबाट आत्मसाक्षात्कार गरेका थिए | हनुमान, विभिषण इत्यादि आठबटा व्यक्तित्व मृत्युन्जय हुन् | ध्रुवले आफ्नोअसल आचरणका कारण मृत्युलाई आफ्नो सिंडी बनायेका थिए भने प्रसिद्ध ऋषि मार्कंन्डेयले भगवान शिवको आराधना गरेर मृत्युउपर विजय प्राप्त गरेका थिए | रावणजस्ता महाप्रतापी राजाले यमराजलाई आफ्नो सेवक बनाएका थिए भने भीष्मपितामहजस्ता तपस्वीहरूले मृत्युलाई आफ्नो इच्छामा राखेका थिए |

असलमा, मृत्यु भएको काल अर्थात् समय हो | समय सधैं गतिशील छ, समय परे पनि समय नै छ | भौतिक शास्त्री स्टिफन हकिंसले समयलाई जित्न सकिने, मोड्न सकिने र थाम्न सकिने भनेका छन् | यदि भौतिकशास्त्रीको यो भनाईलाई मान्ने हो भने सावित्री मृत्युजीत हुन् | मार्कंन्डेयले समयको सीमा चिनेका थिए, भीष्मपितामहले काललाई आफ्नो इच्छामा घुमाउन सकेको तथा रावणले "काल"लाई आफ्नो सुविधाअनुसार प्रयोग गर्न सकेको पनि सत्य नै ठहरिन्छ |

भगवान् श्रीकृष्णले आफ्ना विभूतिहरूमा काल"लाई समावेश गरेका छन् र कलयता अर्थात् बिछोड र संयोगको प्रमुख कारकको रूपमा चिन्हित गरेका छन् | जेहोस्, काल, समय (time) एउटा अवछिन्न मानसिक अवस्था र व्यबस्था हो जुन हरेक परिवर्तनको साक्षी हुन्छ | महाकालका रूपमा विश्वब्राह्मणको उद्गम, विकास तर विनाशको साक्षी रहिरहन्छ |

हरिहर संस्कृति अर्थात् समावेशीकरण

मिति २०७८/८/२ का दिन ललितपुरको चामुण्डा मन्दिरमा दर्शनगर्ने क्रममा हरिहरको मूर्तिको दर्शन गरियो | हरिहर अर्थात् भगवान् विष्णु र भगवान् शिव एकै मूर्तिमा आधाआधा भएको प्रतिमा | केही अतिवादी वैष्णव र शैवहरूले विष्णु र शिवलाई फरकफरक ठान्छन् र यही आधारमा शैवले वैष्णवलाई र वैष्णवले शैवलाई होच्याउने गर्छन् | हरिहरको यो विग्रहले सत्य साझा हुन्छ भन्ने संदेश दिन्छ भने समाजको समावेशी चिन्तनको प्रतिनिधित्व गर्छ | उपत्यकामा यस्ता अनेकौं विग्रहहरू छन् जसले नेपाली समाजको वैचारिक उदारतालाई प्रकट गर्छ | एकेश्वरवादी (इसाई तथा मुस्लिम) समाजमा एस्तो सोच्नु पनि अपराध हुन्छ | खै, हाम्रो समाजले यो वैचारिक उदात्तता बुझेको ?

समावेशी संस्कृति, समाज र चिन्तन नेपालीको आत्मा हो | समावेशी कस्तो हुनुपर्छ भनेर हामीले विश्वलाई सिकाउने खुवी राख्छौं | समावेशीपनको आरम्भ समावेशी चिन्तनबाट हुन्छ | यदि चिन्तन वा सिद्धान्तमा नै समावेशीपन छैन भने सम्वेशी संस्कृति, धर्म, दर्शन र समाजको कुनै सम्भावना छैन | एकलकाटे संस्कृतिका वाहकहरूले समावेशीपन र समावेशीकरणको मारम नै बुझेका हुँदैनन् |

समावेशीपन र समावेशीकरण करणको पहिलो चिन्तन ऋग्वेदमा उपलब्ध छ जसले "सहना ववतु" अर्थात् हानी सबै संगै हौँ भनेर उद्घोष गर्छ | यही उद्घोषलाई पुन: चिन्तन र व्यावहारको तहमा संथागत गर्न ऋग्वेद मै सम्गच्छध्वं, संवदध्वं" अर्थात् सबै संगै जाऔँ र सधैं सम्बाद गरौँ भनेर स्थापित गरिएको छ | धेरै ठाउँमा "समानि" अर्थात् सबैसंग समान हुनुपर्छ भन्ने शब्द ऋग्वेदमा २७ पटक आएको छ |

यही "समानि" शब्दनै नेपाली (वैदिक, जैन तथा बौद्ध संस्कृतिको) समावेशी समाजको सूत्राधार हो | व्यक्ति-व्यक्तिको मन जोड्ने यो सूत्रले (समानम् मन: सह चित्त) भारतवर्षमा विकसित भएका, घुमंतेका रूपमा फरकफरक कालखण्डमा भारतवर्ष (नेपालमा) छिरेका र आक्रमणकारीका रूपमा नेपाल आएका तर यहीं निवास गरेका सबै मिलेर वस्न सकेका हुन् | आधुनिक नेपालको ज्ञात इतिहास लगभग ई.पू. ३५०० वर्षबाट आरम्भ भएको मानिन्छ | तेसै बखतदेखि नेपाली समाज समावेशी छ |

विदेशी धार्मिक समूह (इसाई र मुसलमान) नेपालमा प्रवेश गर्नु पूर्व यहाँ स्मार्त, शाक्त, वैष्णव, गाणपत्य तथा सौर्य सम्प्रदायहरू सहित कुनै पनि वैदिक चिन्तनसंग असंलग्न संस्कृतिहरु नेपालमा अस्तित्वशील थिए | एकआपसमा तत्व (ईश्वर, आत्मा, जीव, स्वर्ग, नर्क. पाप तथा पुण्य) आराधना तथा ज्ञानको स्वरूपका विषयमा मतभेद भए पनि सामाजिक, साँस्कृतिक तथा सहअस्तित्वमा केही समस्या थिएन | हरेक व्यक्ति आफ्नो साधना गर्दै अर्काको सम्मान गर्थ्यो | आज पनि नेपाली समाज एस्तै छ |

चिन्तनको तहमा समावेशी चिन्तनको अवधारण ऋग्वेदबाट आरम्भ हुन्छ र ऋग्वेदमै एकै शरीरका फरकफरक अंगका रूपमा समाजलाई बुझ्नु (ब्राहणस्य मुखमा आसिद्,,) र सबैको कर्मअनुसारको पहिचान सुरक्षित गर्नु यसको बलियो उदाहरण हो | एकलकाटे संस्कृतिमा हुर्नेका (इसाई र मुस्लिम)हरूले यसको जे-जस्तो अनर्थ गरूँन् तर समाजको हरेक व्यक्तिलाई समाजकै विशिष्ट अंग मान्नुनै समावेशीकरणको पहिलो दिगो खुड्किलो हो | यो यही चिन्तनले गर्दा आजको मितिमा पनि भारतीय उपमहाद्वीपमा ७७८ बटा जातजातिहरू, भाषाहरू र संस्कृति जीवित छन् |

चिन्तनको तहमा स्थायित्व प्राप्त गरेपछि वैदिक सम्वेशीकरणले कसरी व्याबहारिक रूप धारण गर्यो भनेर बुझ्न उपासना पद्धतिहरु बुझ्नुपर्छ | समावेशी समाजको पहिलो व्याबहारिक रूपान्तरण पंचायन (विष्णु, शिव, शक्ति, गणेश र सूर्य) उप्सनाबाट हुन्छ | जसले जुन देवतालाई प्रमुख ठान्छ उसले उसैलाई प्रमुख मानेर उपासना गर्छ | अन्यले उसको आलोचना गर्दैनन् बरू मान्यता दिन्छन् | यही मान्यताका कारणले उपरोक्त मूलउपासनामा आधारित अनेकौं उपसम्प्रदायहरु विकसित भए | जैन तथा बौद्धलाई पनि वैदिकहरूले आफुभित्र समावेश गरे | इसाई र मुस्लिमको एकलकाटे चिन्तन (असमावेशी)बाट प्रभावित भएका हिन्दू, बौद्ध र जैनहरूले यो सत्यलाई पचाउन सकिरहेका छैनन् |

वर्तमान नेपालको सीमानाभित्र १३१ बटा जातजाति र भाषाभाषीहरूको अस्तित्व पहिचान गरिएको छ | यो हामी सबै नेपालीको लागि गौरवको कुरा हो तर प्राकृतिक समावेसी चरित्रभएका नेपाली जातजातिलाई पश्चिमा दृष्टिकोणको (हामी फरक हौँ, हाम्रो पहिचान प्रमुख कुरा हो, अरूको पहिचान मेटाएर हामी स्थापित हुनैपर्छ भन्ने एकलकाटे चिन्तन) स्थापित गर्ने प्रयन्त हुँदा नेपाली समाजमा एकआपसी सद्भाव विग्रेको छ | पश्चिमा पद्धतिको समावेशीकरण जवर्जस्ती लादिंदा सामाजिक सद्भाव खल्वलिएको छ |

यदि हिन्दूहरूले बुद्ध र महावीरलाई ईश्वरको अवतार ठानेर सम्मान गर्छन् भने यो सोच ऋग्वेदबाट प्राप्त भएको "समानि"को निरन्तरता हो | आज वैदिक समाज धार्मिक कट्टरतातिर उन्मुख हुँदै छ किनभने एकलकाटे (ईसाई र मुस्लिम) संस्कृतिमा हुर्केकाहरुले नेपालीहरूई नक्कली समावेशीकरणका सिद्धान्तहरु सिकाइरहेका छन् | हरिहरको आराधना गर्ने, बूढानीलकण्ठको आराधना गर्ने, योनि मुद्रामा बुद्धलाई विराजमान गराउने, बौद्ध (शाक्य) कन्यालाई आराध्यदेवीका रूपमा उपासना गर्ने, भैरव, सरस्वती, गणेशलाई सहदेवताका रूपमा आराधना गर्ने समाज कसरी असमवेशी हुन्छ ? विदेशी'मूलको समावेशी सिद्धान्तलाई नेपाली समावेशीकरण ठान्नेहरूले जवाफ दिने छैनन् ? किनभने उनीहरूका चिन्तनमा विकल्प नामको कुनै चिंगारी नै छैन |

हरिहर, बूढानीलकण्ठ, मुक्तिनाथ, जीवित कुमारी, गणेश, भैरव, संस्कृत भाषा यी सबै नेपाली समाजका प्राकृतिक समावेशीपनका जीवन्त उदाहरण हुन् | आज पनि हाम्रो समाजले यो समावेशीपनको पालन गरिनेरहेको छ | नेपाली समाजको जरोकिलो अर्थात् समावेशी सिद्धान्तले विश्वलाई नवजीवन प्रदान गर्ने सामर्थ्य राख्छ | भविष्जेो विश्वले वैदिक आधारको समवेशीपन स्वीकार्नै पर्छ | जेहोस्, भगवान् हरिहरले हामी सबैको कल्याण गरुन् र विखण्डवादी समावेशीकरणबाट नेपाली समाजलाई रक्षा गरुन् | (आर्थिक समावेशीकरणमा भने मेरो पूर्णसहमति छ।

आयुर्वेदका प्रवर्तक श्री धनवन्तरी

कुनै वेला नेपाल राष्ट्रले आयुर्वेदका प्रवर्तक श्री धनवन्तरीको राष्ट्रिय सम्मान गरेको रहेछ | २०३४ सालको यो टिकट आयुर्वेद प्रेमी, आफ्नो मौलिक सीप प्रति जिज्ञासु, र नेपाल विश्वको जरोकिलो बन्नु पर्छ भन्ने उत्साहपूर्ण मान्यता राख्नेहरूप्रति गौरवको कुरा हो | छिमेकी भारतमा आजसम्म राष्ट्रले धन्वन्तरीको एस्तो सम्मान गरेको बुझिएन | यस विषयमा हामी अगाडी रहेछौँ र अगाडी रहने छौँ | मात्र स्वतन्त्रतापूर्व भारतको एउटा रियासत जयपुर राज्यले (राजस्थान) वि.स. १९९५ मा भगवान् धन्वन्तरीको टिकट जारिगरेको रहेछ |

चरक संहिताको आधा श्लोक मलाई थाहा छ "आहार: विहार: निहार: योगा | सदैव सिद्धिर्निजिते विधेया: अर्थात् जसले खानपान, यौनक्रिया तथा काम र निन्द्राको संयमित उपयोग-उपभोग गर्छ उसले विधाताले निर्माण गरेको भाग्यलाई समेत जित्न सक्छ" भनेको मान्छु | वैदिक शास्त्रले खानपान, यौनाचार र सन्तुलित निन्द्रालाई स्वास्थ्य जीवनका लागि अनिवार्य मानेको छ | यदि कसैले आयुर्वेदको यो सुझावलाई "अन्धविश्वास ठान्छ" भने अस्वस्थ्य जीवनका लागि स्वयं आफै जिम्मेदार हुन्छ |

आजको यो पुण्य अवसरमा आयुर्वेदको क्षेत्रमा आफ्नो जीवन अर्पित गरेका ज्ञात तथा अज्ञात वैद्य, वैद्यराजहरूप्रति सम्मान व्यक्त गर्दछु | साथै वर्तमानमा आयुर्वेदको सम्मानका खातिर सांस्कृतिक, सामाजिक तथा राजनैतिक युद्ध लडिरहनु भएका बैद्यजीहरूप्रति पनि सम्मान व्यक्त गर्दछु | साथैं वैद्यराजहरूले "डाक्टर" लेख्ने मोह त्यागेर वैद्य, आयुर्वेदाचार्यजस्ता रैथाने परिचय नै पर्योग गर्दा कस्तो होला ? भन्ने सुझाव पनि दिन चाहन्छु | म आयुर्वेदको विद्यार्थी होइन तर स्वस्थ्य जीवन चाहन्छु र मेरो नेपाली शरीरलाई नेपाली रैथाने आयुर्वेद बढी प्रभावकारी छ भन्ने विश्वास पनि राख्छु | आयुर्वेदको गरिमा, प्रभाव र उपयोगिता जीवन्त राख्ने काम वैद्यराजहरूकै हो |

आयुर्वेद नेपालीको रैथाने स्वास्थ्य विज्ञान हो | यसको संरक्षण र विस्तार हुनुपर्छ | एलोपैथी र आयुर्वेद एकआपसमा पूरक हुन सक्छन् तर प्रतियोगी बन्नु हुँदैन | आयुर्वेद र एलोपैथी दूवै स्वास्थ्यका लागि महत्वपूर्ण छन् | स्वास्थ्य जीवनका लागि भगवान् धन्वन्तरीले दिएका उपदेशहरूमा अमल गरौँ | शारीरिक, मानसिक तथा आध्यात्मिक रूपका स्वास्थ्य रहौं | सात्विक भोजन गरौँ | दैनिक योग गरौँ र उमेरअनुसारको दैनिकी बनाएर स्वास्थ्य रहौं | अमेरिका होस् वा वेलायत, जहाँ वसे पनि मान्छे स्वास्थ्य रहनुपर्छ | अस्वस्थ्य खानपान, यौनाचार र अनियमित निन्द्राले रोगी बनाउँछ |

भगवान् धन्वन्तरीको प्रकट्य दिवस तथा यमपंचकको पहिलो दिनको हार्दिक शुभकामना।

 

मृत्युलाई वा काल वा यमराजको आराधना

ॐ धर्मराजाय नम: धर्मं सूर्यः

सुतं प्राप धर्मराजं नमाम्यहम् ।

समता सर्वभूतेषु यस्य सर्वस्य साक्षिणः ॥ ८॥

मृत्युलाई संस्कृतमा काल पनि भनिन्छ | आज तिहारको दोश्रो दिन विश्वभरीका नेपालीहरू तथा हिन्दूले यम चतुर्दशी, नरक चतुर्दशी, कुकुर तिहार, कलि चौदश तथा रूप-चतुर्दशीका रूपमा मनाऊछौं | देशर सामाजिक मान्यताअनुसार त्यौहारका नाम फरक भए पनि यो पर्वले मृत्यु अर्थात् काललाई समेत सम्मान गर्ने, उत्साहपूर्वक स्वागत गर्ने तथा आराधना गर्ने संदेश दिन्छ |

कालको उत्सव मनाउने सम्भवत: विश्वको एकमात्र पर्व यम-चतुर्दशी नै हो र मान्ने र मनाउने वाला हिन्दू नै हुन् | कुकुर, यम, नर्क सबै धर्मका प्रतिक हुन् | मृत्युले कसैलाई पर्खदैन, सानोठूलो, धनिगरीव, नेपाली वा अमेरिकन भन्दैन | काल सवैको लागि निर्विकल्प हुन्छ | यदि काल निर्विकल्प हुन्छ भने यसको खुशी साथ स्वागत गर्नेहरू मृत्युन्जय नै हुन्छन् | नर्क-चतुर्दशी मृत्युन्जयको अभ्यास हो | मृत्युलाई स्वाभाविक रुपमा स्वीकार गर्ने अभ्यास हो |

पण्डित विष्णुशर्माले भनेका छन् "असल अर्थात् परोपकारी काम मृत्युले जुनसुकै बखत ममेरो अवसान गर्न सक्छ भनेर गर्नु तर धनार्जन र ज्ञान भने अजरअमर ठानेर आर्जन गर्नु |" चाहे धनार्जन होस् चाहे सिकाई होस् यदि हामीले "काल"लाई सम्मान गर्दै मनायौं भने सुख, सन्तोष र पूर्णताको आत्मिक अनुभूति हुन्छ | यदि हामी केवल आफ्नो स्वार्थका लागि काम गर्यो भने मृत्युले सवैभन्दा बढी पीडा दिन्छ |

आज श्री भैरव वाहनाय नम: भनेर कुकुरको र ॐ धर्मराजाय नम: भनेर यमराजको आराधना गरौँ | जरोकिलो परिवारका तर्फबाट सवैलाई पुन: शुभकामना।

राजदण्ड र धर्म
प्राचीनकालमा राज्याभिषेक सकेपछि राजालाई राजदण्ड प्रदान गर्दै राजालाई कानुन वाहिरको तर न्यायको संरक्षकका रूपमा प्रतिज्ञा गराइन्थ्यो तर लगत्तै आचार्यले धर्मदण्डले राजाको शिर स्पर्श गर्दै "धर्म र धार्मिकता"नै राजाको मुख्य निर्णायक हुने प्रतिज्ञा गराउनथे | राज बेनले धर्मपूर्वक न्याय गर्न अटेर गरेपछि ऋषिहरूले उनका छोरा पृथुलाई राजा बनाएका थिए |
राजदण्ड अर्थात् न्याय व्यवस्था स्वयंमा शक्तिशाली हुन्छ तर तेसमा सद्गुणहरूको स्वाभाविक स्वीकार्यता रहेन भने राजदण्ड क्रुरतामा परिणित हुन्छ र जघन्य अपराधमा लिप्त हुन्छ | राजदण्डको अर्थ राज्यको न्याय व्यबस्था हो भनेर बुझ्नुपर्छ भने राजाले धर्मको उलंघन गर्न मिल्दैन भन्ने विश्वास जनतामा हुनुपर्छ र राजाले पनि सदाचार त्याग्नु हुँदैन | यदि शासक भ्रष्टाचारी छ भने राजदण्डको प्रयोग आफ्नो स्वार्थका लागि हुन्छ |
धर्मपूर्वक राजदण्डको प्रयोग हुँदा निरङ्कुश नै भए पनि देश, समाज र जनताको भलो हुन्छ, उन्नति हुन्छ तर यदि त्यही राजदण्ड विवेकहीन तवरले प्रयोग भयो भने तेस्तो निरंकुशताले देश, जनता र प्रकृतिको समेत अहित हुन्छ | राजदण्डको संवाहक राजनीतिको अनर्थ लगेर "छलनीति"मा बुझ्न थलिन्छ | राजदण्डको दुरुपयोग गर्नेहरूले राजनीतिलाई माध्यम बनाएर आफ्नो स्वार्थ पुरा गर्छन् |
जव शासकहरूले राजदण्डको प्रयोग र उपयोग धर्म-विपरित आफ्नो निजी त् आफन्तको स्वार्थका लागि गर्छन्, राजदण्डबाट जनताको विश्वास हट्छ | न्यायको आसनमा बस्नेहरू अन्यायी हुन्छन् | न्यायदण्ड अर्थात् राजदण्डमा विचलन आएको देश र तेहाका जनता सधैं अशान्त, अनिश्चित तथा तनावग्रस्त रहन्छन् | न्यायकर्ताहरू अन्यायका मतियार बन्छन् र राजदण्ड "न्याय-व्यवसाय"मा रुपान्तरित हुन्छ | एकपटक राजदण्ड "व्यबसायमा" रुपान्तरित भएपछि "नाफा" नै धर्म बन्छ |
राजा, राष्ट्र, राज्य र राजदण्डको अभिन्न सम्वन्ध छ | जसले आफ्नो ज्ञानशक्ति र क्षात्र शक्तिबाट राष्ट्रलाई प्रकाशित गर्छ, त्यही राजा हुन्छ | संस्कृतमा राजा शब्दको उत्पत्ति "राट"बाट हुन्छ भने राष्ट्र, राज्य र राजदण्ड यसै धातुका विभिन्न रुप र अर्थ हुन् | राजा केवल जन्मसिद्ध हुन्छ भन्नु उचित होइन | जसको बौद्धिक शक्ति र सदाचारले राष्ट्रको भलो हुन्छ, उन्नति हुन्छ उही राजा हुन्छ | प्रजातन्त्रमा जनताले चयन गरेर नेतित्वमा पुग्ने पनि राजा नै हुन् किन भने यिनले राजदण्डलाई नियन्त्रित गर्ने क्षमता राख्छन् | सदाचार, इमान्दारी, करुणा, क्षमा, विवेकआदि सबै थोक नेतामा हुनुपर्छ | के नेपाली राजनीतिको नेतृत्वमा यी सदाचार छन् ? प्रश्न हामीले आफैसंग सोध्ने हो |
धर्म तथा न्यायदण्डको सम्वन्ध विवेकसंग हुन्छ | यदि दण्डधारण गर्ने व्यक्ति विवेकी छ भने सदाचार उसको स्वभाव हुन्छ | न्याय अर्थात् राजदण्ड "व्यवसाय"मा रुपान्तरित हुन पाउदैन | आजको नेपाली समाज धर्म र धार्मिकता विपरित राजनीति र दण्डनीतिमा पनि व्यवसायी बनेको छ अर्थात् नाफा कमाउने व्यापारी बनेको छ | राजदण्ड न्यायको होइन व्यवसायको संरक्षक बनेको छ | अनि, जनता कसरी सन्तुष्ट रहन सक्छन् ? अव आफ्नै ऋषिकुलले स्थापित गरेको धर्म-न्याय स्वीकार गर्ने वखत आएको छ |

यदि तपाईंले धर्म र धार्मिकताको अर्थ रिलिजन मान्नुहुन्छ भने अनर्थ हुन्छ | धर्मका दशबटा केके लक्षण हुन् जान्न मनुस्मृति पढ्नुहोला

 स्रोत : गोविन्द शरणको फेसबुक पोष्टबाट साभार गरिएको।
https://www.facebook.com/gsu300

No comments:

Post a Comment