18.12.21

तहसनहसपछि राष्ट्रियताको संकल्पले उठेका विश्व शक्तिराष्ट्र

विनु प्रोखरेल:- आफ्नो आलेख पढेर आएका प्रतिक्रिया हेर्न सकेसम्म छुटाउन्नँ । केही दिनअघि उदारीकरणका विषयमा प्रकाशित लेखबारे प्राप्त एउटा प्रतिक्रिया खुबै टिठ लाग्दो थियो । एकजनाले भन्नुभएको रहेछ– उदारीकरण बेगर कुन देश धनी भएका छन् ? अर्को एक जना सम्पादकले प्रतिक्रिया दिंदै सञ्जालमा लेख्नुभएको थियो, विदेशीको सामाजिक सञ्जाल चलाएर राष्ट्रियताको कुरा गर्ने सम्पादक ज्यू, तथ्य त यस्तो छ कि खासमा दूरदर्शन यहीं संस्कृतिमा तयार भयो । त्यो पनि आज होइन, चार हजार वर्ष पहिले । जसको प्रमाण हामी महाभारतमा पनि पाउँछौँ । हस्तिनापुर बसेर कुरुक्षेत्रमा भएको युद्धबारे नबिराइ संजयले चर्मचच्क्षु विहीन (आँखा नदेख्ने) धृतराष्ट्रलाई बताएको युद्ध विवरणले यसलाई पुष्टि गर्छ ।

10.11.21

योगी नरहरी नाथको सम्पुर्ण अडियो प्रवचन। भाग १ देखि १४ सम्म।

योगी नरहरिनाथको जन्म वि.सं. १९७१ फागुन १७ गते आइतबारका दिन कालीकोट जिल्ला, तत्कालीन ठाँटीकोट गाउँ विकास समिति, वडा नं. ७, लालुलोखाडा, चाखा, लालुगाउँका भारद्वाजगोत्रीय ललितसिंह ऋक्सेन थापा र माता गौरीदेवी (आत्रेयगोत्री) को माइला पुत्रको रूपमा भएको थियो ।
आठ वर्षकै उमेरमा ब्रतवन्ध गरिएका बलवीरसिंह ऋक्सेन थापाले वि.सं. १९८१ मा जुम्ला चन्दननाथ मन्दिरका महन्त छिप्रानाथ योगीसँग सन्न्यास लिएपछि मात्र उनको नाम योगी नरहरिनाथ रहन गएको थियो अध्ययन पूरा गरेपछि उनी'गौहत्या निषेध आन्दोलन' एवं भारतको स्वतन्त्रता संग्राम सत्याग्रहमा होमिए । यस क्रममा उनी पटकपटक लाहौरको मल्तान, शिन्ध, पञ्जाब, दिल्ली र कलकत्ताका कारागारहरूमा थुनिए ।

27.10.21

के हो वेद ? विश्वका सबै धर्म ग्रन्थहरूको पिता भनेर वेदलाई किन भनिन्छ ?

नागरिक दैनिक :- वेद विश्वका सबै धर्म ग्रन्थहरूको पिता हो । वेद बाट नै साभार गरेर अन्य धर्मशास्त्रका पुस्तकहरू निर्माण गरिएका हुन् । वेद हिन्दूहरूको सबैभन्दा ठूलो ग्रन्थ हो।वेद शब्द संस्कृत भाषाको "विद्" धातु बाट बनेको हो जसको अर्थ हो: जान्नु, ज्ञान इत्यादि । वेद हिन्दू धर्मको प्राचीन पवित्र ग्रन्थहरूको नाम हो ।

वेदहरूलाई श्रुतिपनि भनिन्छ, किनकि पहिले मुद्रणको व्यवस्था नभएकाले यिनको एक अर्का बाट सुनेर सम्झना राखियो यसप्रकार वेद प्राचीन भारतको वैदिक कालको वाचिक/श्रुति = श्रवण परम्पराको अनुपम कृति हो जुन पीढी दर पीढी चार-पाँच हजार वर्ष देखि चली आइ रहेको छ। वेद नै हिन्दू धर्मको सर्वोच्च र सर्वोपरि धर्मग्रन्थ हो ।

25.10.21

थाहा पाउनुहोस् १६ संस्कारको रहस्य, जसले हामीलाई पथभ्रष्ट हुन दिँदैन

अनलाईन खबर:- संस्कार’ यो शब्द सुन्दा हाम्रो कान त्यती ठाडो हुँदैन । किनभने हामीलाई लाग्छ, यी पुराना कुरा हुन् । तर, संस्कार भनेको भनेको अनुशासित जीवनपद्धतीमा डोहोर्‍याउने माध्याम हो । संस्कारले हामीलाई सही मार्गदर्शन गर्छ । त्यसैले त भन्ने गरिन्छ, ‘संस्कारी घरानामा जन्मेहुर्केका व्यक्ति विनयी, विनम्र, अनुशासित, मर्यादित हुन्छन् ।’ संस्कार शब्दको व्युत्पत्ति संस्कृतको ‘सम’ एवं कृञ धातुमा घञ प्रत्यय लागेर भएको हो । ऋग्वेदमा संस्कारको सट्टा संस्कृत शब्दको प्रयोग पाइन्छ, जसको अर्थ शुद्ध गरिएको भन्ने हुन्छ । 

20.10.21

चाबहिलको लिच्छविकालिक शिलालेख–२

डा. महेशराज पन्त :- चाबहिलको लिच्छविकालको शिलालेखको एउटा खण्ड वि.सं. २०२० मा प्रकाशमा आए पनि त्यसको अर्को खण्ड भने हालै फेला परेको रहेछ । यो कुरा चारुमती बुद्धिष्ट मिसन नेपालका भिक्षु तपस्सी धम्म (वि.सं. २०२७ मा जन्म)मार्फत  पाटन संयुक्त क्याम्पसको इतिहास तथा बौद्ध अध्ययन विभागकी लेक्चरर डा. जुनु बासुकला रञ्जितकार (वि.सं. २०३३ मा जन्म)ले यही पुसको आधाआधीतिर थाहा पाइछिन् र उनले मलाई खबर गरिन् ।

अनि, हामी दुईजना यो शिलालेख हेर्न जाने तयारीमा थियौँ । यत्तिकैमा बाहिरियालाई यो शिलालेख अहिलेका लागि नदेखाउने भएको छ भनी त्यहाँका प्रबन्धकहरूले निर्णय गरेका छन् भनेर खबर आएकाले मन मोसेर बसिरहेको थिएँ । 

चाबहिलको लिच्छविकालको शिलालेखको अर्को खण्ड पाइएको खबर ‘धन्दो चैत्यको शिलालेख भेटियो’ भन्ने शीर्षकमा ‘गोरखापत्र’मा जुन दिन छापियो (यलु जोशी, २०७५।९।२६, ५ पृ.), संजोगको कुरा, त्यही दिन ५४ वर्षअगाडि चाबहिलको यस शिलालेखको पहिलो खण्ड पुरातत्व  विभागले फेला पारेको भन्ने खबर त्यही अखबारमा छापिएको थियो ।

18.10.21

अहिंसा र हिंसा : राज्यनीतिमा कसरी अन्तःसम्बन्धित छन् ?

डा. निर्मलमणि अधिकारी :- “वैज्ञानिक सत्ययुग” लक्ष्य लिनेले अहिंसा र हिंसाको अन्तःसम्बन्धलाई कसरी हेर्ने भन्ने सवाल प्रस्तुत लेखको मुख्य विषय हो । राज्यतन्त्रको क्रमविकास मान्ने हो भने राज्यको अस्तित्त्व नहुँदैको अवस्थामा पहिले ‘ऋत’को र दोस्रो चरणमा ‘धर्म’ (‘धम्म’) को शासन चलेको थियो भन्ने साक्ष्य वैदिक, जैन र बौद्ध परम्पराका वाङ्मयहरूबाट पाइन्छ । ‘दण्डनीति’को चरण तेस्रोमा पर्छ । आधुनिक युगमा ‘कानुन’को शासन राज्यतन्त्रको मानक बनेको छ । ‘कानुन’लाई प्रतिमान नमानेर ‘मताग्रह’ (आइडियोलोजी) लाई मुख्य साधन मान्नेहरू पनि आधुनिक युगकै हुन् ।

‘ऋत’को शासनको युगमा अहिंसा र हिंसाको उहापोह गर्नु पर्ने नै थिएन । अझ भनौँ भने ‘ऋत’को युगमा हिंसाको उल्लेखै आवश्यक थिएन । ‘धर्म’को शासनको युगमा कम्तीमा पनि अवधारणात्मक हिसाबले अहिंसा र हिंसाको द्विविध विकल्प मानव समाजमा रहेको बुझिन्छ । तीमध्ये अहिंसा नै श्रेष्ठ हो भन्ने जोड त्यहाँ दिइएको देखिन्छ । ‘धर्म’को युगमा हिंसा पनि एक विकल्प हो भन्ने जानकारी दिइएको भएतापनि अहिंसालाई नै आदर्श व्यवहार मानिएको थियो ।

दशैंबारे जान्नैपर्ने पाँच तथ्य

महेशराज पन्त:- दशैंबारे मैले अखबारी लेखहरू तथा आफ्ना विभिन्न पुस्तकहरूमा लेखिसकेको छु । यद्यपि अहिले पनि दशैंबारे धेरै भ्रम व्याप्त छ । मानिसहरूले तथ्य र प्रमाणविनै आ–आफ्नो तरिकाले यो चाड कसरी सुरु भयो, कहिलेदेखि सुरु भयोजस्ता तर्क पेश गर्दै आएका छन् । यसले गर्दा सामान्यजनदेखि प्रबुद्ध व्यक्तिलाई समेत भ्रम पर्न गएको छ । पाठकको सहजताका लागि दशैंबारे अति सामान्य केही कुरा बुँदागत रूपमा उल्लेख गरेको छु :
१. दशैं मुख्यतः सामरिक चाड हो । समर अर्थात् लडाइँ, काटमार तथा बलिसँग दशैं बढी सम्बन्धित छ । हाम्रो धर्मशास्त्रअनुसार चारै वर्णको आ–आफ्ना प्रमुख चाड छन् । जस्तोः ब्राह्मणको लागि जनैपूर्णिमा, क्षेत्रीको दशैं, वैश्यको लक्ष्मीपूजा र शुद्रको फागुपूर्णिमा । यसर्थ ब्राह्मणले दशैं नमाने पनि अपराध हुँदैन । ब्राह्मणको सबैभन्दा विशिष्ट चाड जनैपूर्णिमा (जसलाई ऋषितर्पणी पनि भनिन्छ) हो ।

1.10.21

अमान्य संज्ञाः 'आदिवासी’

सौरभ:- राम्रै भयो संविधान नबनेको । किनभने जातीय 'इन्जिनियरिङ' गरेर एउटै देशभित्र कसैलाई पहिलो दर्जाको र कसैलाई दोस्रो दर्जाको नागरिक बनाउने माओवादी धृष्टता पहिला गल्नैपर्छ । यद्यपि राज्यले दिएका अधिकार र अवसरमाथि सबैको समान पहुँच हुनुपर्छ भन्ने कुरामा शंका छैन । यथार्थ के भने पटक-पटक 'आदिवासी हौं' भनेर भइरहने एकपक्षको दाबीसँग सहमत हुने ठाउँ छैन ।

कुरा यसरी सुरु गर्दा पाठकहरूलाई बुझ्न सजिलो पर्नेछ । भाग पहिलो सन् १८५० मा पाल्पाबाट एउटा फूल काठमाडौं पुगेर देशैभरि छरियो, 'दहेला फूल' । अंग्रेजीको दालियाबाट नेपालीकरण भएको भए पनि यतिबेला लाहुरे फूलले चिनिन्छ यो, यसको सबैभन्दा ठूलो एसियाइ केन्द्र लाहोरबाट, नकि कुनै लाहुरे विशेषबाट । तर थकाली भाषामा 'पाल्पु मेन्दो' भनिने यसको नाममा परेको पाल्पु शब्द पाल्पाको निम्ति होइन, काठमाडौंका निम्ति हो । 

अनादिवासी खस !

सौरभ:- पहिलो पाटो- काशी गोत्र र ल्हासा गोत्रमा राई-लिम्बु लगायत अनेक जातजातिले आफूलाई विभाजन गरेका छन् । तर यो काशी भारतको उत्तरप्रदेशको काशी होइन । बरु चिनियाँ भाषामा काशगरलाई गरिने सम्बोधन हो । काशगर पर्छ, काशमिरको ठीक उत्तरमा ।
यही काशगरमा चलन थियो, सियान र बेइजिङका प्राचीन दरबारी खलङ्गाहरूमा यत्रतत्रबाट थुपारिने महिलाहरूको पहरेदार बनाउन राजखानी झिकेर कम्मरपेटीमा थन्क्याउने । ऊ मरेपछि उक्त अङ्गसहित सग्लै अन्तिम संस्कार गर्न पाइयोस्, फलस्वरूप पुनर्जन्ममा ऊ सग्लो अङ्गसहित जन्मियोस् भन्ने उद्देश्य राखिन्थ्यो । त्यही चलन दक्षिणको काशमिरमा आइपुग्यो । यही चलनलाई टिपियो अङ्ग्रेजीमा 'क्याष्ट्रेसन' शब्द बनाएर । गि्रक वा लेटिनबाट लिइएको भए 'अर्किष्टोमी' बन्थ्यो होला, 'भास डिफरेन्स' अर्थात् शुक्रनलीबाट 'भ्यासेक्टोमी' बनाएजस्तै । नेवारहरूले पनि यसै चलनबाट राजखानीबोधक क्वासी शब्द बनाए ।

आदिधर्म सापेक्ष संविधान !

सौरभ:- काठमाडौ — 'टिडेन्ट एन्ड थन्डरबोल्ट: कल्चरल डाइनामिक्स इन नेपलिज पलिटिक्स' शीर्षकमा हर्क गुरुङको समाजशास्त्रीय कार्यपत्रको एक पंक्ति यस्तो छ- 'जादुयी तरवार (फुर्बा) बज्र (दोर्जे) मा बदलियो । त्रिशूलचाहिँ हिमालयको महादेवसँग सम्बन्धित छ ।

हिन्दुहरूले उनलाई आफ्नो त्रिदेवमध्ये एक मानेकाले त्रिशूलधारक एक चम्किला शत्रुसरह भएका हुनसक्छन् ।' केही पंक्ति पछाडि पुगेर त्रिशूल र बज्र हिमालयका सांस्कृतिक सम्पदाका भाग भएकाले तिनलाई परस्पर विरोधी प्रतीकहरूका रूपमा चाहिँ लिनु हुँदैन' लेखिए तापनि पछिल्ला यावत् पेटबोलीहरूले परस्पर विरोधी नै हुन् भन्न खोजेका छन् । यसरी नेपाली समाजलाई फुट र वैमनस्यको जग दिन सक्दो प्रयत्नरत यस कार्यपत्रको मूलाधार त्रिशूल र बज्रको उत्पत्तिमाथि नै अब जानुपरेको छ ।

15.9.21

धर्म, धम्म र धर्म निरपेक्षता

विद्यानाथ कोइराला:- धर्म भनेको ऋत हो। ऋग्वेदले ६३ ठाउँमा यो शब्द लेख्यो। ऋतको अर्थ सत्य हो। त्यसो भए धर्म निरपेक्ष भनेको सत्यको विरोध गर्ने भनेको हो त ? ऋतको अर्थ नियमबद्धता पनि हो। त्यसो भए धर्म निरपेक्षता भनेको बेनियममा काम गर्ने भनेको हो त ? ऋतको अर्थ स्वाभाविक गुण पनि हो। त्यसो भए धर्म निरपेक्षता भनेको अस्वाभाविक कार्य गर्ने गराउने हो त ?

 वैदिक चिन्तनको धर्म : निरपेक्ष कि सापेक्ष हुने ? उपनिषदीय अर्थमा धर्म भनेको मेलमिलाप हो। सत्य हो। त्यसो भए धर्म निरपेक्षता भनेको बेमेलको खेल खेल्ने खेलाउने हो  त ? असत्यको खेल खेल्ने खेलाउने हो त ? बृहदारण्यकोपनिषद् (१.४.१४) अनुसार धर्म भनेकै सत्य हो। सत्य भनेकै धर्म हो। अर्थात् यी दुवै शब्द पर्यायवाची हुन्। त्यसैले धर्मराज्य भन्ने शब्द बनेको हो। सत्यको सहाराले राज्य गर भनिएको हो। योगमायाले बोकेको चिन्तन त्यही हो। भगत सर्वजित विश्वकर्माले बोकेको चिन्तन त्यही हो। त्यसो हो भने धर्म निरपेक्ष शासन व्यवस्था भनेको असत्यको बलमा शासन चलाउनुपर्छ भनेको हो त ? वात्स्यायनले धर्मलाई दुई भागमा बाँडे। शरीरको धर्म। मनको धर्म। उनका लागि शरीरको धर्म भनेको दान दिनु हो। 

8.9.21

नागपञ्चमीको वास्तविकता र महत्व

पृथ्वीराज पोखरेल:- कुनै पनि महत्व र अर्थ नबुझी फेसनको रुपमा पर्व तथा उत्सवहरु मनाउनु नेपाली जनजीवनको विशेषता नै बनिसकेको छ । त्यसै क्रममा श्रावण मासको शुक्लपक्षको पञ्चमी तिथिको दिन मनाइने नागपञ्चमी पनि एउटा पर्व हो जसको महत्व महिमा बुझेर सही अर्थमा मनाउन सकेमा जो कोहीले पनि धेरै लाभ प्राप्त गर्न सक्छ तर पनि बजारबाट नागको तस्बिर किनेर ल्याउनु र फोटोमा अबिर छर्कनुजस्ता औपचारिकता निभाएर मात्र नाग देवहरुको आशीर्वाद प्राप्त गर्न सकिँदैन।

 यसको लागी त नागपञ्चमीको महत्व सही अर्थमा बुझेर पूर्ण श्रद्धा, भक्तिका साथ प्राण–प्रतिष्ठित नागको तस्बिरमा विधिपूर्वक पूर्वक पूजन गर्नु आवश्यक हुन्छ । त्यसैले यहाँ नाग र नागपञ्चमी को महत्वको बारेमा केही कुराहरु प्रकाश पार्न खोजिएको छ । वेद र पुराणहरुमा नागको उद्गम महर्षि कश्यप र उहाँकी धर्मपत्नी कद्रूबाट भएको मानिन्छ । नागको मूल स्थानको रुपमा पाताललोक प्रसिद्ध छ । पुराणमा नागलोकको राजधानीको रुपमा भोगवतपुरी विख्यात् छ ।

समाजले चिन्न नसकेका असाधारण झिल्काहरु

पृथ्वीराज पोखरेल:- “नजिकको तीर्थ हेला।” यो उक्ति अद्यापि हाम्रो समाजमा प्रचलनमा नै छ। यसले गहिरो प्रभाव पनि पार्दछ व्यक्त हुँदाका बखतमा। अन्य देशवासीका तुलनामा यो उक्ति हामीसँग ज्यादा मेल खान्छ। हामीलाई नजिकको हेक्का नै छैन। हामी नजिकको नदेख्ने रोगले ग्रस्त छौँ, यसको मतलब यो होइन की हामी दूरदर्शी छौँ। हामी केवल मध्यमदर्शी छौँ। बिचतिर मात्रै देख्छौँ त्यो पनि धमिलो। 

मध्यमदर्शी नै भएपनि हामी बुद्धले भनेझैँ मज्झिमनिकाय वाला पनि होइनौँ। त्यो हाम्रो सामर्थ्यभित्र नै पर्दैन। हामी बडा कठिन छौँ। हामी (नेपाली) भूपी का हामी हौँ। हामीलाई अरु कसैले सम्झाइदिनुपर्छ कि हामी को हौँ? र, हामीसँग के छ? यस्तै अवस्थाले गर्दा श्री स्वस्थानी व्रतकथा सिर्जित हुन्छ र यस्तै अवस्थाहरुले जन्मिन्छ “मिल्केका झिल्का।” भएका जति हिन्दू धार्मिक स्थल र ज्योतिर्लिङ्गादिहरु भारत अर्थात् हालको इन्डियामा मात्रै पार्ने हिन्दू ऋषिमुनिहरुका ग्रान्ड डिजाइनलाई चिर्न र धर्मकर्म र चारधाम गर्न भारतमा नै जानुपर्छ भन्ने अवधारणालाई बदल्नका लागि श्रीस्वस्थानी व्रतकथा बन्यो। नेपालमा पनि छन् धार्मिक स्थलहरु, यहीं छन् शिव भन्नलाई। यहीं छ भक्तिको प्राकट्य स्थल, यही हो शिवको क्रिडास्थल भन्ने बुझाउनलाई बन्यो।

संस्कृतिको आधुनिक हत्या

पृथ्वीराज पोखरेल- आदि लर्ड म्याकालेको एउटा सिद्धान्त बहुप्रचलित छ, ‘कुनै पनि देशमा शासन सत्ता विस्तार गर्नुछ भने त्यहाँको मूल्य, प्रणाली, भाषा र धर्मप्रतिको आस्था खण्डित गर्नु र नयाँ मूल्य प्रणाली लागु गर्नु।’ पश्चिमा समाजले म्याकालेलाई लर्ड पदवी दिएर उनको यो सिद्धान्तलाई प्रमुख मानेर ठूलै जत्था नेपालको मौलिकता मास्न लागिपरेको छ र यसले धेरै कुराहरुमा नेपालीलाई दिग्भ्रमित, खण्डित र विद्रोही बनाएको पनि छ। कसरी गरिन्छ त मौलिकताको हत्या? 

राष्ट्रिय चिह्नमा लालिगुराँसयुक्त मालाको बीचमा महिला र पुरुषले हात मिलाएको चिह्न तर्जुमा गरेर सनातन नमस्कार संस्कृतिको हत्या गरिएको छ, जब कि वैज्ञानिक अनुसन्धानले पनि हात मिलाउनु हानिकारक मान्छ। ताण्डव मूलको पाङ्दुरे नाचको हत्या खयालीले गरेको छ। परम्परागत नृत्यहरुको फ्युजन हाइब्रिड हुन सक्थ्यो तर तथाकथित पश्चिमा कोरियोग्राफीले यसको हत्या गरेको छ। अलिया युरोपियाको अत्यधिक प्रचारले रैथाने अलिया नेपालेन्सिस जिब्राडको हत्या भएको छ, जसरी भारतीय मसलाले नेवारी मसलाको हत्या गरेको छ। शासकको कुबुद्धिले गर्दा विमान पण्डित अच्युतानन्द खरेलको विमान आविष्कारक पदको हत्या भएको छ र त्यसका मालिक राइट दाजुभाइ भएका छन्। हिलेमाछा खाएर रातोमाछा जोगाउने नेवारले आफ्नै संस्कृति खाइरहेका छन्।

रङ्गी–विरङ्गी फिरङ्गी

युवराज गौतम:- पृथ्वीनारायण शाहले प्राचीन धर्म, संस्कृति, परम्परा, मूल्य/मान्यता र आदर्श मास्ने र त्यसका लागि अरूलाई उकास्ने सबैलाई फिरङ्गी भनेका छन्। नेपाली राजनीति, कूटनीति र हरेक संयन्त्रमा धेरथोर आज पनि फिरङ्गीले फन्फनी घुमाएका छन्। यो रिँगडामा परेर वडादेखि सिंहदरवारसमेत बुद्धिभ्रष्ट भइरहेको देखिन्छ।

१८३१ असोज १३ गते गोर्खाली सेनाले इलाम जित्यो। जितेको भूभागमा फिरङ्गीहरूले षडयन्त्र गर्लान् भन्ने औडाहा पनि थियो। स्थानीय सुब्बा, जमिनदार र प्रभावशालीहरूले अंग्रेजसँग ‘भेराईँचो’ बढाएर पृथ्वीनारायणलाई अप्ठ्यारो अवस्थामा पुर्‍याउने हुन् कि भन्ने त्रास पनि थियो। तसर्थ, पृथ्वीनारायणले तमोरपूर्वका किरातीहरूलाई ‘सेयर होल्डर’ बनाए। राष्ट्र हाम्रो हो भन्ने अदम्य उत्साह जगाए।

तिज बहिस्कार ?

लेखक सौरभ:- अहिलेसम्म तीजलाई नेपाली महिलाले मात्र मनाउने पर्व मान्दै आएको थिएँ । बल्ल तत्त्वज्ञान भयो । म कुवाको भ्यागुतो रहेछु ।' २७ भदौको कान्तिपुरको अंकमा एक पाठकको पत्र पढेपछि केही लेख्नुपर्ने हुनगयो । त्यसमाथि 'राई' थर भएको पात्रले नै लेखेपछि अरू जरूरी भयो । नेपालमा हिन्दुकरण भयो र हिन्दुकरण भयो भनेर पश्चिमाहरूले आफ्नो स्वार्थपूर्ति गर्न अनावश्यक नारा उरालिरहेका बेला -१) यो कसरी करिब-करिब राईहरूको मात्रै परम्पराको रूपान्तरित चाड हो र (२) दशैं बहिष्कारको जवाफ तीज बहिष्कारले किन नदिने ? भन्ने यी दुइटा कुरा अगाडि राख्नु यस लेखको उद्देश्य हो ।

पहिलो दर खानबाट तीज सुरू हुन्छ । दहीमा काँक्रोको टुक्रा मिसाएपछि जुन खानेकुरा बन्छ, त्यो दर हो । दरको खास अर्थ यही हो । जसरी महमा बनाएको तिलको धूलोमात्र हलुवा हो, मूल अरेबिक हो । काँक्रो -कुकुमिस स्याटिभस) लाई भाभिलोभले चीनको मानेका छन्, भारतको होइन (र नेपालको सबैभन्दा पुरानो उल्लेख सन् १३८१ को हो, अमरकोशलाई नेपालकै मान्ने हो भने आठौं शताब्दीसम्ममा पुग्छ) । 

5.9.21

‘वैदिक शिक्षा नै शान्तिको सूत्र’

विनु पोखरेल:- अमेरिकाको आयोवास्थित महर्षि यूनिभर्सिटी अफ म्यानेजमेन्ट का अध्यक्ष डा. जोन हेगलिन भौतिकशास्त्री, लेखक र भावातीत ध्यानका अभियन्ता समेत हुन्। स्विट्जरल्याण्डस्थित यूरोपियन सेन्टर फर प्राक्टिकल फिजिक्स र अमेरिकाको स्टानफोर्ड लिनियर एक्सिलेटर सेन्टरमा शोधार्थी रहिसकेका हेगलिन योग र ध्यानबाट तीव्र सामाजिक तनाव, हिंसा र आतंकवादलाई कम गर्न सकिन्छ भन्ने विश्वास राख्छन्।

नेपाल महर्षि वैदिक फाउण्डेसनले फागुन (१७–१९) मा आयोजना गरेको ‘वैदिक तथा आधुनिक विज्ञान’ सम्मेलनमा सहभागी हुन काठमाडौं आएका हेगलिनसँग वैदिक ज्ञान र योगको सेरोफेरोमा हिमाल का लागि बिनु पोखरेल ले गरेको वार्ताको अंशः

डा. जोन हेगलिन ।

तपाईंजस्तो भौतिकशास्त्री के कारणले वेद र योगतर्फ आकर्षित हुनुभयो ?

वेदमा ब्रह्माण्ड अटाउने ज्ञान छ । वैदिक ज्ञान सृष्टिको अन्तिम यथार्थ हो । म वर्तमान विज्ञानको परम्पराबाट आएको हुँ, जसले वेदलाई बुझ्ने प्रयास मात्र गरेको छ । आधुनिक समयमा विज्ञानले सर्वोच्च ज्ञानको झल्को यौगिक चेतनाको क्षेत्रमा प्राप्त गरेको छ । वैदिक भाषामा यही यौगिक चेतनालाई आत्मा भनिन्छ ।

स्वास्नी अर्थात् सुवासिनी

विनु पोखरेल:-  महिलालाई देवीको रूपमा अथ्र्याइएको शब्द हो– आइमाई। भर्खरै समाजशास्त्रकी एकजना प्राध्यापिकाले ‘स्वास्नीमान्छे खराब हुन्छन्’ भन्ने भावको एउटा ट्विट गरिन् । ‘आइमाई’ शब्द राखेर गरिएको त्यस ट्विटका कारण ट्विटरमा धेरै दिन बहस चल्यो । आफूले ‘आइमाई प्रवृत्ति’मा जोड दिएर ट्विट लेखेको उनको तर्क थियो । कसैले उनलाई ‘आफैँ आइमाई भएर आइमाई अर्थात् महिलालाई गाली गरेको’ आरोप लगाए भने कसैले ‘आफैँलाई होच्याउने गरी प्रस्तुत गरेको’ भनेर गाली गरे । कत्तिले ‘आइमाई’ शब्द नै हेप्ने शब्द भएको भन्दै यस्तो नलेख्न सुझाए । 

एकजनाले ‘आइमाई’ शब्दको अर्थ के हो, यसमा विरोध र समर्थन किन हुन्छ भन्ने प्रश्न गर्दै प्रस्ट्याइदिन मलाई आग्रह गरे । केहीले त सीधै म्यासेज पठाएर ‘आइमाई’ भन्न किन नहुने भन्दै प्रश्न गरेका थिए । स्त्री जाति बुझाउने केही शब्द, यसबारे चलेको बहस/विरोध र यसको शाब्दिक अर्थबारे यो लेखमा छलफल गर्ने प्रयास गरेकी छु । 

3.9.21

शरीर मौसमअनुकूल बनाउन स्वर–विज्ञान

रोशन दाहाल:- उच्चकोटिका साधुसन्तहरु एउटा लगौँटीको भरमा हिमाली क्षेत्रमा बस्छन् भनेर हामीले सुन्दै र पढ्दै आएका छौँ । पुसको यो जाडोमा बाक्लो लुगा लगाएर बसिरहेका हामी हिमाली क्षेत्रमा त के, यहीँ पनि लगौँटी मात्रै लगाएर बस्ने कल्पनासमेत गर्न सक्दैनौँ । हिमालको हिउँ सम्झिनेबित्तिकै पनि हाम्रो शरीर जाडोले लुगलुग काँप्न थाल्छ । 

साधुसन्तका यस्तो क्षमताका बारेमा धेरैलाई विश्वास गर्न नै गाह्रो हुन्छ । जतिले अध्यात्मका बारेमा बुझेका छन्, उनीहरुमध्ये अधिकांशले उनीहरु आफ्नो चामत्कारिकक शक्तिका कारण यसरी बस्छन् भनेर सोच्छन् । केही हदसम्म यस्तो सोचाइ सही भए पनि धेरै हदसम्म यसमा चामत्कारिक शक्ति आवश्यक पर्दैन । यो कुरा थोरै मान्छेहरुलाई मात्र थाहा हुन्छ, खासमा उनीहरुले शरीर तातो राख्ने प्राणायाम र ध्यान गर्ने गरेका हुन्छन् ।

वसन्त ऋतु र शास्त्रीय प्रसङ्ग

रोशन दाहाल:- कुनै सुन्दर चिज देख्दा मन त्यसैत्यसै पुलकित भएर आउँछ। अझै पूरै प्रकृति नै सुन्दर देखियो भने त हामीमा त्यसको प्रभाव नपर्ने कुरै भएन। वसन्त ऋतुको जताततै विशेष गुणगान हुनुको कारण पनि पूरै प्रकृति आकर्षित देखिनु हो। 

यसबेला प्रकृतिले काँचुली फेर्छ भन्दा फरक नपर्ला। चिसो मौसम हटिसकेको हुन्छ। गर्मी मौसम सुरु भइसकेको पनि हुँदैन। मन नै लोभ्याउने गरी चारैतिर हरियाली छाउँछ। सबै बोटबिरुवाका पुराना पात झर्छन् र नयाँ पालुवा पलाउँछन्। फूलहरु फुल्छन्। हिउँ पग्लन थाल्छ। अनि यस्तो दृश्य कसलाई पो मन पर्दैन र ? भनिन्छ, वसन्त मन लोभ्याउने ऋतु हो। यो प्रकृतिको यौवनावस्था पनि हो। यौवनावस्था कसलाई मन नपरोस् ! 

राम कसरी मर्यादा पुरूषोत्तम ?

रोशन दाहाल:- तटस्थ दृष्टिले जीवन बिताउनेहरुका लागि आदर्श पात्र हुन् राम । युवराजबन्दा समेत उनको अनुहारमा कुनै रागको भाव थिएन । त्यसबेला उनी खुसीले अहङ्कारी बनेनन् । वनमा जाँदा पनि उनको अनुहारमा कुनै उदासी देखिएन । सबै अवस्थामा उनी सामान्य र सरल बनिरहे ।

सबै विषम परिस्थितिहरुमा रामले आफ्नो नीति उल्लंघन गरेनन् । राजा हुँदा आफ्ना भावना र सुखबाट परै बसेर न्यायपूर्वक शासन गरे । वनबास जाँदा, बालीको वध गर्दा, रावणको संहार गर्दा, सीतालाई तपोवन पठाउँदा– सबै अवस्थामा उनी भावको अधिनमा परेनन् ।

दुर्गाका नौ रूप

रोशन दाहाल:- पौराणिक कथाहरूअनुसार महिषासुर नाम गरेको दानव थियो । उसका पिता रम्भ असुरहरूका राजा थिए । एकपटक जलमा रहने भैँसीसँग रम्भको प्रेम बस्यो र उनीहरूकै योगबाट महिषासुरको जन्म भयो । पुरूष र भैँसीको संयोगबाट जन्मिएकाले उसको नाम महिषासुर रहन गयो । त्यसैले आफ्नो इच्छाअनुसार उसले भैँसी र मान्छेको रूप धारण गर्न सक्थ्यो। 

एकपटक उसले अमर हुने इच्छाले कठिन तपस्या गर्याे । उसको तपबाट ब्रह्मा प्रसन्न भए र इच्छा लागेको वर माग्न भने । महिषासुरले अमर हुने वर माग्यो । ब्रह्माले अमर हुने वर दिन मानेनन्– “कुनै पनि जीव जन्मेपछि मर्नैपर्छ । तिमी त्यसभन्दा अर्को कुनै वर माग ।” महिषासुरले केही समय सोच्यो र भन्यो– “मलाई देवता, असुर र मानवले मार्न नसकून् । कुनै स्त्रीको हातबाट मात्रै मेरो मृत्यु होस् । हजुरले मलाई यही आशीर्वाद दिनुहोस् ।” ब्रह्माले ‘तथास्तु’ भने। 

श्रीकृष्ण र कूटनीति

रोशन दाहाल:- तपाईं भन्नुस्, ‘अध्यात्म मेरो रुचिको विषय हो, त्यसैले आध्यात्मिक साधनामा विशेष ध्यान दिइरहेको छु ।’ अब तपाईंलाई भौतिक संसारमा कुनै रुचि छैन । तपाईं आफूले गरिरहेको पेशामा सफल बन्न चाहनुहुन्न । तपाईंलाई विपरीतलिङ्गीप्रति कुनै आकर्षण छैन । तपाईं पैसा कमाउनतिर पनि लाग्नुहुन्न किनभने पैसालाई महङ्खवहीन सम्झनुहुन्छ । तपाईंका साथीभाइ, इष्टमित्र सबैले यस्तै सोच्छन्।

कतिपय मानिस त आफ्नो घरपरिवारसँगको सम्बन्ध, नोकरी आदि छुट्छ भनेर आध्यात्मिक साधना गर्नदेखि डराउने गरेका पनि पाइन्छन् । उनीहरूको सोचअनुसार जवान होउञ्जेल भौतिक सफलताका पछाडि दौडने हो र बूढेसकाल लागेपछि धर्म–अध्यात्ममा लाग्ने हो।

शिवको मानवीकरणमा लुकेको सृष्टिको रहस्य

रोशन दाहाल:- भगवान् शिव व्यक्ति होइनन्, अध्यात्मका प्रतीक हुन्। साधारण मनुष्यलाई बुझाउनका लागि शिवलाई मानवीकरण गरिएको हो। मानवीकरण नगरिएको हुन्थ्यो भने धेरै पहिल्यै शिवतत्त्वका बारेमा विस्मरण भइसक्ने थियो। तर जुन हाम्रो कल्पनामा आउँछ, ती शिव हुनै सक्दैनन्। अनि शिवको वास्तविक रुप कल्पनामै आउँदैन। आध्यात्मिक प्रक्रियाको मूल आवश्यक कुरा नै कल्पना नगर्नु हो।

शिव त चारैतिर व्याप्त हुन्छन् ऊर्जाका रुपमा। शून्यताका रुपमा। कल्पना या विचार नचल्दा शिवतत्त्व शरीरमा प्रवेश हुन्छ। विचार या कल्पना नष्ट हुने चिज हुन्। तर ती नहुँदा बाँकी रहने शून्यता कहिल्यै नष्ट हुँदैन। त्यहीँसम्म पुग्नकै लागि गरिने हुन् सबै आध्यात्मिक साधनाहरु। शिवको मूर्ति परिकल्पना हो, जुन छैन। शिवको मूर्ति एउटा प्रतीक हो आध्यात्मिक यात्राको। शिवको मूर्तिका माध्यमबाट शिवतत्त्वसम्म पुग्ने।

महिनावारी, ऋषिपञ्चमी र सप्तर्षि

रोशन दाहाल:-  वैदिककालमा महिलाहरु महिनावारी हुँदा एकान्तमा बस्ने चलन थियो । यसरी एकान्तमा बस्नुलाई अवसरका रुपमा लिइन्थ्यो । महिनावारीका बेला भित्र दबिएको भाव बाहिर निस्कने भएकाले एकान्तमा बसेर आध्यात्मिक अभ्यास गर्न सके त्यस भावलाई जरैदेखि फाल्न सकिन्छ भन्ने सोच हुन्थ्यो । भित्र दबिएको भाव नकारात्मक पनि हुने भएकाले यस्तो भाव आउँदा उनीहरुले पकाएको खानेकुरा नखाँदा राम्रो मानिन्थ्यो । नकारात्मक ऊर्जा बलियो हुने हुनाले अन्य मानिसहरुको छेउमा बस्दा त्यो नकारात्मकता सर्न सक्छ भन्ने मानसिकताले काम गथ्र्यो ।   

महिनावारीको बेला धेरैजसो महिलालाई कष्ट हुने कारणले सोबाट र घरमा बढी नै खटिनुपर्ने अवस्थाबाट केही दिन भए पनि आराम मिल्थ्यो । अर्को कुरा, त्यसबेला महिलाले भित्री वस्त्र लगाउने चलन थिएन । महिनावारीको समयमा जथाभावी फोहोर हुने सम्भावना हुन्थ्यो ।

भाग्य, कर्म र वातावरणको सम्मिश्रणः वर्तमान जीवन

रोशन दाहाल:- जे हुन्छु भनेर सोचिएको थियो जीवनमा त्यो भइराखेको हुँदैन र जे भइराखेको छ, त्यसबारेमा सोचिएकै हुँदैन। हरेक मानिसलाई नियाल्दा यही अवस्था देखिन्छ। त्यस्तै भरपूर क्षमता भएका मान्छेहरु पनि सफल भइरहेका हुँदैनन् र क्षमता नभएकाहरु पनि सफल भइरहेका हुन्छन्। कहिलेकाहीँ कुनै सानो मिहिनेत गर्दा पनि त्यो निकै सफल भइराखेको हुन्छ र कहिले निकै मिहिनेतका साथ काम गर्दा पनि सफल भइराखेको हुँदैन।

सायद त्यसैले पनि भाग्यभन्दा धेरै र समयभन्दा पहिला कुनै पनि चिज प्राप्त हुँदैन भनिएको होला। जीवन भाग्यमा आधारित हुन्छ भनियो भने कर्मको अस्तित्व के त भन्ने प्रश्न उठ्छ। भाग्य छ भन्दैमा डोकोमा दूध दुहुन पनि मिल्दैन। भाग्यलाई हटाइदिने र कर्मलाई मात्रै जोड्ने हो भने पनि जीवनमा सफलता प्राप्त हुन सक्दैन। फेरि भाग्य पनि कर्ममै आधारित हुन्छ।

2.9.21

सूतकको शास्त्रीय विवेचना

आमोदवर्धन कौण्डिन्नयायन:- वैदिकधर्मका आजभोलि समाजमा प्रचलित विभिन्न पक्षमध्ये आशौचव्यवस्था पनि प्रमुख पक्ष हो । यो एउटा सामाजिक र व्यावहारिक विषय पनि भएकाले धेरैको चासो देखिन्छ । यस सम्बन्धमा केही जिज्ञासा र भ्रम समाजमा छन् । त्यसैले यस विषयको शास्त्रीय वस्तुस्थिति जनसमक्ष ल्याउन यो लेख यहाँ प्रस्तुत गरिँदैछ। 

आशौचको अर्थ शुचिको अर्थ शुद्ध हो । अशुचि भनेको अशुद्ध हो । अशुचिको भावलार्र्ई आशौच भन्दछन् । आशौचको सामान्य अर्थ देवकार्य, पितृकार्य र ब्रह्मकार्य गर्नमा अयोग्य हुनु हो । यस्तो अयोग्यता अरू कारणले पनि आउन सक्छ तापनि आशौचशब्द कसैका जन्मले वा मृत्युले गर्दा आउने अयोग्यतामा रूढ भएको देखिन्छ । आशौच जननाशौच र मरणाशौच गरी दुई प्रकारको हुन्छ । मरणाशौचको विवेचना केही विस्तृत हुने हुनाले त्यसको छुट्टै चर्चा गरिनेछ । बार्नै नपर्ने खालको जननाशौचसमेत बारेर धेरैले विवाह-व्रतबन्धजस्ता संस्कार, पूजाआजा र श्राद्धकर्म रोक्ने गरेको तथा दशैँ-तिहारजस्ता चाडपर्व नमनाउने गरेको देखिएकाले यहाँ जननाशौचको (सुत्केराको) चर्चा गर्न खोजिएको हो । 

कौटिल्यको अर्थशास्त्रमा सदाचार

मोहन बन्जाडे :- पूर्वीय जीवन पद्धतिमा सदाचार मानिसको वैयक्तिक, पारिवारिक, सामाजिक र राष्ट्रिय जीवनको अंग हो। मानिस असल जीवन यापनका लागि व्यक्तिगतरूपमा सदाचारी हुनुपर्छ। व्यक्तिगत जीवन सफल बनाउन आफ्नो शरीर र मनसँग सम्बन्धित विषय, आहार, बिहार तथा गर्न हुनेनहुने काम, कुरा र व्यवहारबारे शास्त्रमा चर्चा छ। यस्तै परिवारसँगको सम्बन्ध र कर्तव्य, समाजसँगको सम्बन्ध र कर्तव्य, राष्ट्रसँगको सम्बन्ध र कर्तव्य तथा प्रकृतिसँगको सम्बन्ध र कर्तव्यबारे पनि विभिन्न शास्त्रमा वर्णन छ। 

मानिसको दिनचर्या, आश्रम प्रबन्ध, कानुनको पालना मात्र होइन, राजादेखि जनपदका सेवकसम्मले गर्न हुने, नहुने र गर्नुपर्ने कुरा पनि उल्लेख छ। पश्चाताप र प्रायश्चितको वर्णन छ। राजादेखि राज्यका अन्य अधिकारी र कर्मचारीको योग्यता र अयोग्यताबारे पनि चर्चा छ। समयमा सेवा प्रदान गर्नुपर्नेदेखि भ्रष्टाचार गरेमा के कस्तो सजाय हुने भन्नेसम्मका कुरा शास्त्रमा उल्लेख छ।

दिव्य उपदेशका पक्षमा

मोहन बन्जाडे:- कुनै सन्देशलाई आक्रमण गर्न कठिन भए सन्देशबाहकलाई अपमान गर्नु नौलो चलन होइन। खासगरी भिन्न आस्था, सभ्यता र विश्वास प्रणाली भएका क्षेत्रमा रहेका प्राचीन ज्ञान र ज्ञानका संवाहकदेखि समकालीन व्यक्तित्वसम्मलाई अपमानित गर्ने/गराउने व्यथा पुरानै हुन्। यो चक्रमा विभिन्न सभ्यता पिसिए र विलिनप्रायः भए। पेगनलगायत भिन्न सभ्यता नामेट पार्ने प्रयास भए। उपनिवेश बनाएर भाषा लादिए, विश्वास प्रणाली थोपरिए, साधन सोहोरिए र प्रत्यक्ष दासत्व कानुनीरूपमै लामै समय अघि बढाइयो।

यसै उपमहाद्वीपमा आर्य (आर्य जाति होइन, गुण हो) आक्रमण सिद्धान्त ल्याइयो। आक्रमणका प्रमाण नभेटिएपछि ‘आर्य बसाइँ सराइ’ भनियो। अहिले आर्य भनिएकाहरू पश्चिमबाट पूर्व आएको नभई पूर्वबाट पश्चिमसमेत गएको प्रमाण आउन थालेपछि ‘आर्य पर्यटन’ भन्न थालिएको छ। प्राचीन सरस्वती नदी सेरोफेरोमा हुँदै गरेका उत्खनन र हालै गरिएका डिएनए जाँचले ‘आर्य आक्रमणको सिद्धान्त’ ढल्ने अवस्थामा छ।

सनातन दर्शनमा प्रशासन

मोहन बन्जाडे:- वेद- वैदिक कालखण्डमा जनताको स्थान सबभन्दा माथि थियो ।  त्यो बेला जनताको प्रतिनिधित्व गर्ने संस्था बनाइएको थियो । यो संस्थालाई समिति भनिन्थ्यो । यस्तो समितिमा जनताहरूमध्येबाट कुनै योग्य, वृद्ध, न्यायप्रिय र शासन व्यवस्थाको अनुभवी व्यक्ति चयन वा चुनाव गरिन्थ्यो । समितिमा चुनिएर गएका सदस्यले कुनै निश्चित स्थानमा एकत्रित भई एकमतबाट राष्ट्रमा आइलागेका समस्या समाधान गर्थे । यो संस्था एकपक्षीय नभई राष्ट्रिय चरित्रको हुन्थ्यो । तसर्थ समिति राष्ट्रका सम्पूर्ण प्रकृतिका समस्या सुल्झाउन सक्षम हुन्थ्यो । समितिले जनताको हितलाई  ध्यानमा राखी निर्णय गथ्र्यो, मनपरी गर्दैनथ्यो । (डा. स्वामी प्रपन्नाचार्य, वेदमा के छ ? साझा प्रकाशन, २०५७ पृ. ३९) 

समितिमा सबै सदस्यहरूलाई आ–आफ्नो विचार व्यक्त गर्ने पूर्ण अधिकार हुन्थ्यो । वक्ताहरूले युक्तिद्वारा मतको मण्डन र स्थापन गर्थे । युक्तिपूर्ण प्रस्तावहरूमा सल्लाह दिइन्थ्यो । बहुमत जुन पक्षमा हुन्थ्यो, त्यहीबमोजिम निर्णय गरिन्थ्यो । वैदिक कालमा जनतामा ठूलो संगठन थियो । आर्यहरू समाजमा भएका सुयोग्य व्यक्तिहरू मात्र चयन गर्थे । राज्यलाई संगठित राख्न र समितिलाई कर्म गर्न हृदय र मनबाटै सुसंगठित राख्ने कामना गर्दै एकाकार विचार व्यक्त गरिएको कुरा ऋग्वेदबाट पुष्टि हुन्छ । (वेदमा के छ ? पृ. ३९)